प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सीबीच विदाई भेट, ९ बुँदे सहमतिमा के के छ ?
ABC News
काठमाडौं १८ मंसिर । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच शिष्टाचार भेटवार्ता भएको छ।
मंगलबार दिउँसो बेइजिङस्थित देउताइ स्टेट गेस्ट हाउसको भिल्ला नम्बर १२ मा दुवै देशका कार्यकारी प्रमुखबीच द्विपक्षीय भेट भएको र त्यस अवसरमा नेपाल–चीन सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
भेटवार्ताका क्रममा दुवै देशका प्रतिनिधिमण्डल सहभागी थिए। नेपाली प्रतिनिधिमण्डलमा प्रधानमन्त्री ओलीका साथ परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल र आर्थिक सल्लाहकार डा युवराज खतिवडा, मुख्य सचिव एकनारायण अर्याल, परराष्ट्र मन्त्रालयका कायममुकायम सचिव अमृतबहादुर राई र सहसचिव कृष्णप्रसाद ढकाल तथा चीनका लागि नेपाली राजदूत कृष्णप्रसाद ओलीलगायत सहभागी थिए।
मंगलबार नै बिहान प्रधानमन्त्री ओली र समकक्षी ली छ्याङबी ग्रेट हल अफ पिपलमा भेट वार्ता भएको थियो । यस अघि भन्दा फरक यसपटक ओलीको भ्रमण राष्ट्रपतिसँग अन्तिममा विदाई भेट जस्तो भएको छ ।
यसभन्दा पहिले बेइजिंगको भ्रमणमा जाने कार्यकारी प्रमुख प्रधानमन्त्रीले पहिले राष्ट्रपति सीसँग र त्यहां भएको सहमति प्रोटोकल समान देखाउन प्रधानमन्त्रीसंग भेटवार्ता हुने गर्दथ्यो । तर यसपटक भने ठीक उल्टो भएको ओलीको भ्रमण टोलीका एक सदस्यले बताए ।
बहु प्रचारित विआरआई सम्वन्धी इम्पिलिमेन्टसन सम्झौतामा हस्ताक्षर भने हुन सकेन । ओली र उनका समकक्षीका बीचमा विभिन्न विषयका ९ बुंदे समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
टोखा छहरे सुरुङमार्ग सम्बन्धी पत्रको आदानप्रदान, नेपाल चीन व्यापार अभिवृद्धि सम्बन्धी समझदारी पत्र, ९ तले बसन्तपुर दरबार पुनर्निर्माण सम्पन्न प्रमाणपत्र आदानप्रदान, थर्मल्ली प्रोसेस्ड बफेलो मिट निर्यात सम्बन्धी प्रोटोकल, विकास योजना सम्बन्धी समझदारी पत्र, आर्थिक तथा प्राविधिक सहयोग सम्बन्धी समझदारी पत्र, नगद सहयोग सम्बन्धी पत्र आदानप्रदान, स्वयंसेवी चिनियाँ भाषा शिक्षक सम्बन्धी समझदारी पत्र तथा एनटिभी र चाइना मिडिया ग्रुपबीच सन्चार प्रविधि सम्बन्धी समझदारीपत्रमा सहमति भएको छ ।
‘कनेक्टिभिटी, पूर्वाधार विकास, मेडिकल सहकार्य, कृषि, पर्यटन, व्यापार, लगानी, विज्ञान प्रविधि, खेलकुद, गरिबी निवारण, जनसम्पर्कजस्ता विषयमा सहकार्य आदानप्रदान गर्ने समझदारी भयो ,यो वार्ताले दुई देशको सम्बन्धलाई अझै उचाईमा लैजान सहयोग पुर्याएको छ ।
यस्ता छन् सहमतिहरू :
टोखा छहरे सुरुङमार्ग सम्बन्धी पत्रको आदानप्रदान
नेपाल चीन व्यापार अभिवृद्धि सम्बन्धी समझदारी पत्र
नौ तले बसन्तपुर दरबार पुनर्निर्माण सम्पन्न सम्बन्धी प्रमाणपत्र आदानप्रदान
फर्मली प्रोसेस्ड बफेलो मिट निर्यात सम्बन्धी प्रोटोकल
विकास योजना सम्बन्धी समझदारी पत्र
आर्थिक तथा प्राविधिक सहयोग सम्बन्धी समझदारी पत्र
नगद सहयोग सम्बन्धी पत्र आदानप्रदान
स्वयंसेवी चिनियाँ भाषा शिक्षक सम्बन्धी समझदारी पत्र
नेपाल टेलिभिजन र चाइना मिडिया ग्रुप बिच सञ्चार प्रविधि सम्बन्धी समझदारी पत्र
प्रधानमन्त्री ओलीलाई चिनियाँ समकक्षी लीले ग्रेट हल अफ पिपलमा स्वागत गरेका थिए । प्रधानमन्त्री ओलीको सम्मानमा चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’ प्रस्तुत गरेको थियो । समारोहमा अन्य चिनियाँ नेताहरू पनि सहभागी थिए । त्यसपछि दुई मुलुकका प्रधानमन्त्रीस्तरमा द्विपक्षीय भेटवार्ता र त्यसपछि हस्ताक्षर समारोह भएको थियो ।
९ बुँदे सहमति–पत्रमा हस्ताक्षरपछि प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटवार्ता गरेका छन् । ‘करिब २० मिनेट दुई जनाबीचमा मात्रै छलफल भएको छ,’ छलफल सकिएलगत्तै भ्रमणमा सहभागी ती अधिकारीले भने ।
सीसँगको भेटवार्तामा पनि बीआरआई सम्झौताको विषयले स्थान नपाएपछि यस पटक ओलीको चीन भ्रमणका दौरानमा सहकार्य फ्रेमवर्कमा हस्ताक्षर नहुने भएको छ ।
नेपालले सन् २०१७ मा बीआरआईको समझादारी–पत्रमा हस्ताक्षर गरेको थियो । चीनले यसपटक नेपालका प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा ‘बीआरआई कार्यान्वयन कार्ययोजना’मा हस्ताक्षरको प्रस्ताव गरेको थियो । चीनले पठाएको कार्यायोजनाको नाम परिवर्तन गरेर बीआरआई सहकार्य फ्रेमवर्क भन्दै नेपालले ऋण नलिने गरी प्रस्ताव फिर्ता पठाएको थियो । नेपालले पठाएको उक्त फ्रेमवर्कभित्रका ‘ऋण’, ‘लगानी’, ‘अनुदान’ जस्ता शब्दहरुमा चिनियाँ र नेपाल पक्षबीच लामो छलफल भएको थियो ।
नेपालले ऋण नलिने र चीनले लगानी भन्ने शब्द राख्नुपर्ने जनाएपछि आयोजनागत रुपमा मात्रै समझदारी तथा सहमति–पत्रमा हस्ताक्षर भएको हो ।
चीनले ५ अर्ब ६० करोड अनुदान दिने
चीनले नेपाललाई विभिन्न परियोजना सञ्चालन गर्न ५ अर्ब ६० करोड रुपैयाँ अनुदान दिने भएको छ ।
चिनियाँ सहयोगमा निर्माण हुने परियोजना सञ्चालन गर्न नेपाल र चीनबीच प्रधानमन्त्रीको भ्रमणका क्रममा आर्थिक तथा प्राविधिक सहयोग सम्बन्धी सम्झौता भएको छ ।
यो सहायताबाट चीन र नेपालले पहिचान गरेका परियोजनाहरु चिनियाँ सहयोगमा बन्ने अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्माले अनलाइन खबरलाई जानकारी दिए ।
यसअघि सन् २०१७ मा पनि यस्तै सम्झौता भएर खासगरी उच्च पहाडी र हिमाली क्षेत्रमा चिनियाँ सहयोगमा परियोजनाहरु निर्माण भएका थिए । त्यसैको निरन्तरता स्वरुप यो सम्झौता भएको उनले बताए ।
त्यस्तै, चीनले नेपाल सरकारलाई बजेटरी सहयोग गर्ने गरी नगद सहयोग सम्बन्धी सम्झौता पनि भएको छ । यो सम्झौताअन्तर्गत कति नगद सहयोग प्राप्त हुने भन्ने चाहिँ खुलेको छैन ।
‘बजेटरी सहायताअन्तर्गत आउने यो रकम सरकारले आफ्नो कोषमा राखी आफ्नो आवश्यकताअनुसार खर्च गर्न पाउनेछ,’ प्रमुख शर्माले बताए ।
यसका अतिरिक्त चीन सरकारसँग नेपालसँग सन् २०२४ देखि २०२९ सम्म विभिन्न विकास योजनामा सहयोग लिने सम्बन्धी एमओयू पनि भएको छ । यो एमओयूमा कति रकम नेपालले प्राप्त गर्ने भन्ने उल्लेख नभए पनि त्यसरी प्राप्त हुने रकम अनुदान नै हुने विषय उल्लेख भएको सहसचिव शर्माले बताए ।
साथै, चीनले लामो समयदेखि निर्माणको प्रतिबद्धता गरेको टोखा–छहरे सुरुङमार्गको सम्भाव्यता अध्ययनका लागि पनि सघाउने भएको छ । यससम्बन्धी समझदारीपत्रमा पनि नेपाल र चीनबीच हस्ताक्षर भएको छ ।
असोज २०७६ मा चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणमा आएका बेला टोखा–छहरे–गुर्जुभञ्ज्याङ र बेत्रावती–रसुवागढी (घट्टेखोला) सुरुङमार्गको अध्ययन गर्ने जिम्मा चीनले लिने सहमति भएको थियो । तर, अहिलेसम्म पनि परियोजनाको सम्भाव्यता अध्ययन हुन सकेको छैन ।
आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) भने नेपाल गर्नुपर्नेछ ।
साथै, नेपाल र चीनबीच व्यापार प्रवद्र्धन गर्ने सम्बन्धी समझदारी पनि भएको छ । बाणिज्य मन्त्रालयका एक अधिकारीका अनुसार चीनको प्रस्तावमा व्यापार प्रवद्र्धनमा पारस्परिक सहयोगसम्बन्धी सम्बन्धित समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
सन् २०१६ मै नेपाल र चीनबीच स्वतन्त्र व्यापार सम्झौता गर्ने सहमति भए पनि हालसम्म त्यो हुन सकेको छैन । प्रधानमन्त्रीको चीन भ्रमणमा क्रममा स्वतन्त्र व्यापार सम्झौता भने एजेन्डामै थिएन ।
प्रतिक्रिया दिनुहोस्