सिरियामा दशकभन्दा लामो रक्तपातपूर्ण गृहयुद्ध झन अन्धकारउन्मुख
सिरियाली राष्ट्रपति बशर अल–असदको शासनको पतनले मध्यपूर्वमा इरानको “प्रोक्सी मानिने साम्राज्य ध्वस्त भएको छ । गाजा, लेबनानलाई यस अघि नै इजरायलले ध्वस्त पारिसकेको छ । गाजामाथिको नरसंहार जारी नै छ । तर, मध्यपूर्वमा सत्ता रिक्तताले स्थिर शासनको निरन्तरतामा गएको दुई वर्षमा गम्भीर खाडल बनाउँदै गएको देखिन्छ । अब सिरियामा एक लोकतान्त्रिक र समावेशी सरकार बन्न निकै कठिन छ।
दमास्कस कब्जाः अचानकजस्तै गरी आइतबार, बशर अल–असद मास्को भागेका छन् । उनले राजधानी दमास्कसलाई टर्की समर्थित जिहादी संगठन “हयात तहरीर अल–शाम“ (एचटीएस) को नियन्त्रणमा छोडेका छन् । अरब स्रोतहरूले पुष्टि गरेअनुसार एचटीएसले सिरियाली गुप्तचर मुख्यालयको सुरक्षा सम्हालिरहेको छ र राजधानीमा हिंसा नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । तर, असदको यातना जेलबाट हजारौं सिरियाली कैदीहरू एकैचोटि छुटेपछि उनीहरुले बदला लिने प्रवृत्ति विस्फोट हुने सन्त्रासले पुनः एचटीएस कमाण्डर गोलानीलाई बेचैन बनाएको हुनु पर्छ ।
कुनै सम्भावित रासायनिक हतियारहरूको भण्डारण वा सम्बन्धित सामग्रीहरू सुरक्षित गर्नुपर्छ,“ टर्कीका परराष्ट्रमन्त्री हाकान फिदानले आइतबार एक पत्रकार सम्मेलनमा भने। इजरायली वायुसेनाले सिरियाको रासायनिक हतियारको कारखानामा हमला गरेको छ । उसले यसो गर्नुको कारणमा त्यो विद्रोहीहरूको हातमा नपाओस् भन्ने हो,जेरुसलेम पोस्टले आइतबार लेखेको छ ।
अरबी क्षेत्रीय शक्तिहरूको भूमिका
अरबी क्षेत्रीय शक्तिहरू यो संक्रमणलाई स्थिर बनाउन प्रयासरत छन् । संयुक्त अरब इमिरेट्स (यएई) ले महिनौँसम्म असदलाई इरानबाट अलग हुन र अरबी गठबन्धनमा सामेल हुन मनाउने प्रयास गर्दै आएको थियो । तर, असदले ढिला गरे, र अन्ततः उनका पुराना मित्रहरू (रुस र इरान) ले पनि उनलाई छोडिदिए । एक पूर्व सिआइए अधिकारीका अनुसार “अन्तमा, सिरियाली सेनाले लड्न मानेन, र इरान र रुसले साथ दिएनन्(वाशिंगटन पोष्ट, ८ डिसेम्वर)।“
अमेरिकी धारणा
राष्ट्रपति जो बाइडेन “अन्ततः, असदको शासन ढल्यो।“भन्ने प्रतिक्रिया दिन ह्वाइट हाउसबाट भिडियो सन्देश जारी गरेका छन् । तर मौजुदा बाइडेन प्रशासनलाई नै अब के गर्ने भन्नेमा कुनै स्पष्ट रोडम्याप नभएको देखिन्छ । अमेरिकी प्रशासनका एक अधिकारीले दाबी गरेअनुसार “मस्को र तेहरान समर्थित एक निरंकुश शासकको पराजय अमेरिकी रणनीतिक विजय हो।“ अमेरिका २०११ देखि असदलाई सत्ताच्युत गर्न खुला र गोप्य रूपमा प्रयासरत थियो । तर शनिबारको घटना अमेरिकाले चाहेको र उसको योजनाले मूर्त रुप पाएको दिन पनि होइन । त्यही भएर बाइडेनले भिडियो सन्देशमा सावधानीपूर्वक भनेका छन् “यो क्षेत्रमा जोखिम र अनिश्चितताको क्षण हो।“
एचटीएसले सिरियाली अन्तरिम सरकारलाई सञ्चालन गर्न, सिरियाली वर्तमान प्रधानमन्त्रीलाई काम गर्न दिने निर्णय गरेपछि, दमास्कसको अवस्थालाई केही सहज बनाएको अमेरिकी प्रशासनले प्रतिक्रिया जनाएको छ । तर एचटीएसले सैन्य बलसहित प्रशासनिक संस्थाहरूलाई कायम राख्ने दावी गरेको छ ।
कतारको भूमिका
कतारले लामो समयदेखि एचटीएसलाई गोप्य रूपमा समर्थन गर्दै आएको छ । संयुक्त राष्ट्रसंघको संरक्षकत्वमा संक्रमणकालीन सरकार बनाउन कतार नेतृत्वको प्रयास गरिरहेको छ । कतारले भनेको छ, “राष्ट्रिय संस्थाहरूको संरक्षण र राज्यको एकता आवश्यक छ, ताकि अराजकता नफैलियोस्।“
परिदृश्य
टर्की समर्थित विद्रोही समूहहरू पश्चिम सिरियाबाट दमास्कससम्म नियन्त्रण लिएका छन्। अमेरिकी समर्थित कुर्द मिलिसियाले उत्तरपूर्वमा नियन्त्रण कायम गर्दैछ । जोर्डन समर्थित मिलिसिया दक्षिण क्षेत्रमा हावी छन् । यस्तो अवस्थामा सर्वपक्षीय समावेशी अन्तरिम सरकार बनाउन कसले पहल गर्ने भन्ने गम्भीर समस्या उत्पन्न भएको छ । मध्यपूर्वका देशहरुमा युएई, टर्की र कतार मुख्य शक्तिका खेलाडी हुन् ।
टर्कीले एचटीएस नेतृत्वमा विद्रोही आक्रमणको अनुमोदन गरेको छ । असदको अंकारासँग संवाद नगर्ने रबैयाबाट थाकेपछि एर्दोआन अर्कोतिर मोडिएका हुन् । टर्की सरकारको प्रमुख प्रोक्सी विजयी विपक्षी शक्तिहरू मध्ये सिरियाली राष्ट्रिय सेना हो । यो मिलिशियाहरूको एक गठबन्धन हो जसको एचटीएससँग जटिल सम्बन्ध बनाएको छ, र अंकारा भविष्यमा सिरियामा महत्वपूर्ण प्रभाव पर्ने तानावानमा रहेको छ ।
“नयाँ ृसिरियालीे प्रशासन व्यवस्थित तरिकामा स्थापना हुनुपर्छ। समावेशी हुनुपर्ने सिद्धान्त कहिल्यै सम्झौता नगर्नुहोस् । बदला लिने इच्छा कहिल्यै हुनु हुँदैन,“ भन्दै टर्की सरकारसँग असदसँग कुनै सम्पर्क थिएन भन्ने अंकाराले स्पष्टीकरण दिंदै आएको छ ।
सिरियाको भविष्यमा कुर्द–नेतृत्वमा सिरियाली डेमोक्रेटिक फोर्सेस (एसडीएफ) का लागि कुनै स्थान नभएको बताए अमेरिकाले समर्थन गरेको यस समूहलाई टर्कीले सिरियाको उत्तरपूर्वी भागको लगभग एक तिहाइ भूभागमा नियन्त्रण राख्न सघाउँददै अएको छ । यसलाई विरोधी कुर्दिस्तान वर्कर्स पार्टी (पीकेके) को विस्तारको रूपमा हेरिन्छ । सिरियामा कुर्दहरू, जस्तै समग्र देश, अनिश्चित भविष्यको सामना गर्दै छन् ।
शनिबार दोहा फोरममारुसका परराष्ट्रमन्त्री सर्गेई लावरोभले मास्को सिरियामा “आतङ्ककारीहरू“ विजयी नहुने सुनिश्चित गर्न सबै प्रयास गर्दैछ भन्दै गर्दा असद उनकै देशतिर लागिसकेको थिए । एचटीएसलाई आतंकवादी समूहको रूपमा संयुक्त राष्ट्रसंघ र संयुक्त राज्य अमेरिकाले तिरस्कार गरेका छन् । तर यसका नेताहरूले हालका वर्षहरूमा अधिक मध्यस्थ दृष्टिकोण प्रस्तुत गर्न खोजेका छन्।
क्षेत्रीय शक्ति र अमेरिकी भूमिका
विश्व शक्तिका मुख्य केन्द्र अमेरिका र रुसले कूटनीतिक भूमिका खेल्नुको कुनै विकल्प नभएको अवस्था खडा भएको छ । इजरायल, टर्की, साउदी अरब, युएई र जोर्डन जस्ता क्षेत्रीय शक्तिहरू पनि निर्णायक त हुनेछन् नै । एक पूर्व सिआईअधिकारी विश्लेषण गरेअनुसार “पहिले त महान शक्तिहरूले के हुन्छ भन्ने निर्णय गर्थे, तर अहिले यो इजरायल, टर्की, साउदी, युएईर जोर्डनको जिम्मामा छ (टाइम्स, डिसेम्वर ८)।
ट्रम्पको प्रतिक्रिया
राष्ट्रपति–निर्वाचित डोनाल्ड ट्रम्प ले शनिबार सामाजिक सञ्जालमा लेखेका छन् “यो हाम्रो लडाइँ होइन‘ संलग्न हुनु छैन !“ आइतबार, ट्रम्पले सुझाव दिएका छन् “असदलाई छोडेपछि, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको विनाशको अन्त्य गर्न वार्ता गर्नुपर्छ।“ उनले सोसल मिडियमा विस्तृतमा लेखेका छन् “म पुटिनलाई राम्रोसँग चिन्छु। यो उनको काम गर्ने समय हो । चीनले मद्दत गर्न सक्छ । संसार कुर्दैछ !“ ट्रम्प खुला र स्पष्ट देखिन्छन् । जतिसुकै वाइडेन प्रशासनले नाम नलिए पनि अहिले मध्यपूर्वका मुख्य खेलाडी रुस, चीन नै हुन् ।“तुरुन्तै युद्धविराम हुनुपर्छ र वार्ता सुरु गर्नुपर्छ“ किनभने अब “यो पागलपन रोक्न सकियोस्,“ ट्रम्पले ट्रुथ सोसलको एक पोस्टमा भनेका छन् “धेरै जसो ज्यान अनावश्यक रूपमा गुमिरहेका छन्, धेरै परिवारहरू ध्वस्त भएका छन्, र यदि यो यसरी नै जारी रह्यो भने, यो अझ ठूलो र धेरै खराब कुरामा परिणत हुन सक्छ,“ उनले भने। “म भ्लादिमिरलाई राम्ररी चिन्छु। यो उनको कदम चाल्ने समय हो। चीनले सहयोग गर्न सक्छ । संसार पर्खिरहेको छ!“
ट्रम्पले शनिबार पेरिसमा फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रों र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग भएको त्रिपक्षीय बैठकपछि यी टिप्पणीहरू गरेका थिए । जेलेन्स्कीले यसलाई “राम्रो र उत्पादनमूलक“ बैठकको रूपमा उल्लेख गरे तापनि कीएभले “न्यायपूर्ण शान्ति“ सुनिश्चित गर्न खोज्ने आफ्नो अडानलाई कायम राख्ने संकेत दिएका छन् ।
“हामी सबै चाहन्छौं कि यो युद्ध यथासक्य छिटो र न्यायपूर्ण तरिकाले समाप्त होस् । हामीले हाम्रो जनता, स्थलस्थितिको अवस्था, र न्यायपूर्ण शान्तिका लागि छलफल गर्यौं,“ जेलेन्स्कीले शनिबारको बैठकपछि एक वक्तव्य जारी गर्दै स्पष्ट गरेका छन् “हामीले सँगै काम गर्न जारी राख्ने र सम्पर्कमा रहने सहमति गरेका छौं। शक्ति मार्फत शान्ति सम्भव छ।“ पेरिसको बैठकको केही घण्टा पछि, सिरियाली विद्रोहीहरूले दमास्कस प्रवेश गरे र बशर अल–असदको शासन ढलेको दाबी गरे । ट्रम्पले यसलाई क्रेमलिनलाई सम्झाउन प्रयोग गर्दै भनेका छन्रूस अहिले “कमजोर अवस्थामा“ छ, जसको एक हिस्सा “युक्रेन र खराब अर्थतन्त्र“ को कारण हो(पोलिटिकोः डिसेम्वर ७, २०२४)।
सिरियाको १०–दिने परिवर्तन
सिरियामा १० दिनमा भएको यो परिवर्तनले तीनवटा प्रमुख घटनाहरूको स्मरण गराएको छ ।
१. अफगानिस्तानको पतन (२०२१)
२१ बर्ष लामो अमेरिकी वमवारी आक्रमणका बावजुद उत्कर्षमा तालिबानको तीव्र आक्रमणले अमेरिकी समर्थित काबुल सरकारलाई ९ दिनमै ढालेको थियो । त्यस्तै, सिरियाली सेनाले पनि असहाय महसुस गर्दै अन्तिममा लड्न मानेन । असद भाग्नु पर्यो ।
२. गाजामा हमासको आक्रमण (अक्टोबर २०२३)
हमासले गाजाको बारपार गरेर इस्राएली सैन्य शिविरहरूमा हमला गरेर विश्व चर्चित इजरायली खुफिया सञ्जाललाई नकाम बनाइदिएको थियो । एचटीएसले पनि हमासकै शैलीमा संरचना गरिरहेकोे सेनाको आक्रमणमा दमस्कसलाई मात्र होइन, विश्व शत्तिका केन्द्रहरुलाई नै चक्मा दिन सफल भएको छ । एचटीएसलाई टर्की र कतारको सहयोग रहँदै आएको छ । गत दुई वर्षजति देखि टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोआनको सुझावलाई असदले आनाकानी गरेका कारण नै उनी भाग्नु परेको बताउन थालिएको छ ।
३. इराकी शासन परिवर्तन (२००३)
अमेरिकी हमालबाट सद्दाम हुसेनको पतनपछि इराक अराजकताको दलदलमा फसेको थियो । त्यसको घाउ अझै निको भएको छैन। सिरियामा पनि अहिले यस्तै अवस्था देखिएको छ, जहाँ विभिन्न शक्तिहरूले आफ्नो प्रभुत्व जमाउने प्रयास गरिरहेका छन् ।
आतंककारी चुनौती
२०११ मा सुरु भएको सिरियाली विद्रोहको समयमा, जिहादी समूहहरू सबैभन्दा बलियो सैन्य शक्ति थिए । असदलाई हराउन सफल भएको एचटीएसी तिनै जिहादी समूहहरूमध्ये एक हो । २०१२ मा, जब एक पश्चिमी पत्रकार सिरियाको अलेप्पो पुगे, उनले एक सेक्युलर विद्रोही नेतासँग प्रश्न गरे— “अल–नुस्रा फ्रन्ट (अल–कायदाको शाखा) तिमीहरूसँग लडिरहेका छन् ?“ उनले भने, हो, उनीहरू सबैभन्दा राम्रा लडाकुहरू हुन् (वाशिंगटन पोष्ट, ५ डिसेम्वर) ।
एचटीएसको नेतृत्व
अबु मोहम्मद अल–गोलानी, पहिले अल–नुस्रा फ्रन्ट को नेता थिए। एटीसी अल–नुस्रा फ्रन्टको उत्तराधिकारी संगठन हो, जसले सिरियाको उत्तरी इद्लिब प्रान्त कब्जा गरेको थियो। अहिले, दमास्कसमा सत्तामा उनीहरूको प्रभुत्व देखिन्छ । तर अब के गर्ने भन्ने कुनै रोडम्याप उनीहरुले अघि सारेका छैनन्। गृहयुद्धको समयमा असद प्रशासनसँग दिनहुँ भिडिरहेका टर्कीका राष्ट्रपति एर्दोआन पनि यतिबेला मौन देखिएका छन् । शायद उनीसँग पनि कुनै योजना छैन ।
संभावना र खतरा
मध्यपूर्वमा शान्तिको नयाँ सम्भावनासँगै सिरिया एक नयाँ अराजकतन्त्र बदलिने खतरा मुख्य रुपले उपस्थित भएको छ ।
एटीसीको नियन्त्रणमा रहेको सिरिया कुनै वैध राज्य बन्ने सम्भावना निकै कम भएको अमेरिकी अधिकारीहरुले विश्लेषण गरिरहेका छन् । ह्वाइटहाउस र पेन्टागनका अनुसार दमास्कसका विद्रोही समूहले धार्मिक कट्टरपन्थी विचारधारा त्यागेका छैनन् ।
सिरियामा असदको शासन ढलेपछि एटीसीको नेतृत्वमा संक्रमणकालीन सरकार त बन्ने नै छ । तर त्यसले सिरियाली राज्यभरि नियन्त्रण कायम गर्ने सम्भावना निकै कम छ । सिरियाको प्रशासनका लागि दावी गर्ने मुख्य ४ वटा र अन्य धेरै जिहादी समूहहरुले विभिन्न प्रान्त देखि दुर्गम इलाका कव्जा गरेर कविलाई राज्यजस्तो प्रशासन चलाउँददै आएका छन् । यद्यपि, क्षेत्रीय शक्तिहरू — कतार, युएई, टर्की, साउदी अबर र जोर्डन — मिलेर स्थिरता कायम गर्ने कोशिश सफल हुने सम्भावना आधाआधीजस्तो देखिन्छ । यदि अमेरिका र रुसले गर्ने कूटनीतिक प्रयासहरूले अनौपचारिक एकता कायम गर्न सकेमा भने द्धन्द्धका बीच पनि अन्तराष्ट्रिय रुपले वैधानिक प्रशासन स्थापित हुनसक्छ ।
अबको मुख्य चुनौति मध्येको एक हो इस्लामिक स्टेटको सम्भावित गतिविधि । आइएसले एक समय सिरिया र इराकको ठूलो भूभागमा आफ्नो रक्तपातपूर्ण प्रशासन चलाएको थियो । आगामी दिनका वार्तामा एचटीएसले आइएसप्रति कस्तो व्यवहार गर्छ भन्ने प्रश्न बाँकी छ ।
शनिबार, युएनका दूत पेडर्सनले जेनेभाबाट तत्काल वार्ता आह्वान त गरेका छन् तर त्यो बार्ताका पक्षहरु को को, कुन कुन देश र गुटहरू हुन् भन्ने अनिश्चित छ । एचटीएसलाई तत्कालै आतंकवादी सूची बाट हटाउने विषयलाई यूएनले अस्वीकार गरेको छ । तर पनि मैदानमा रहेको वास्तविकता “सधैं परिवर्तन भइरहन्छन् ।
सिरियाको गृहयुद्धले विभिन्न देशहरूका विविध गुटहरूको संलग्नतालाई एक दशकदेखि संलग्न गराउँदै आएको तथ्यलाई नजरअन्दाज गर्न सक्ने अवस्था छैन । यही कारण विद्रोही समयले सत्तारुढ हुने आतुरता नदेखाएको हुनसक्छ । “हामी अहिले त्यस अवस्थामा पनि छौं जहाँ धेरै बाह्य तत्वहरू आफ्नो मनपर्ने पार्टी र प्रोक्सीलाई सिरियाली समुदायमा फेरि चयन गर्नेछन्, र यो पनि एक खतरनाक बिन्दु हो( चाल्र्स लिस्टर, फरेनपोलिसी, डिसेम्वर ८) ।
रूसको २०१५ मा सिरियामा हस्तक्षेपले विद्रोही नियन्त्रण क्षेत्रहरूमा कडा हवाई हमला गरेको थियो । इरानको सबैभन्दा शक्तिशाली प्रोक्सी हिजबुल्लाह सिरियाली सरकारको सेनासँगभने लडिरहेको थियो । तेहरान र मस्को धेरै नजिक भए पनि जमिनको अवस्था फरक थियो । इरानले दीर्घकालीन मित्र असदलाई उसको भाग्यमा छोडेर शुक्रबार सिरियाबाट आफ्नो सैन्य कमान्डर र कर्मचारीहरूलाई फिर्ता गरेको छ । इरानले “आफ्नो घाटा घटाउने निर्णय गरेको“ भन्ने चथम हाउसको मध्यपूर्व र उत्तर अफ्रिका कार्यक्रमकी निर्देशक सनाम वाकिलले टिप्पणी बढी यथार्थपरक छ ।
अमेरिकाले २०१४ मा इराकको इस्लामिक स्टेट विरुद्ध हवाई हमला गर्दै हस्तक्षेपमा सहभागी भएको थियो । पेन्टागनले सिरियाको उत्तरपूर्वी भागमा ९०० सैनिकको सानो टुकडी राखेर एसडीएफलाई समर्थन गर्दै आएको छ । ट्रम्पले आफ्नो पहिलो कार्यकालमा सिरियाबाट अमेरिकी सैनिकलाई फिर्ता गर्न खोजेका थिए । तर उनलाई सैन्य सल्लाहकारहरूले रोकेका थिए । इरान र रूसले त्यस खाली ठाउँको फाइदा लिन पेन्टानगनको निष्कर्षपछि ट्रम्पले असद प्रशासन विरुद्धमा हवाई हमला गर्न आदेश दिएका थिए । अहिले ट्रम्पले सिरियालाई “अराजकता“को मैदान भन्दै यो “संयुक्त राज्य अमेरिकाको मित्र“ नभएको मात्र भनेन् कि अमेरिकाले यससँग केही गर्ने र यो हाम्रो लडाइँ होइन भन्ने प्रतिक्रिया दिएर पन्छिन खोजेपनि अमेरिका मध्यपूर्वको भूराजनीतिक नाभीबाट अलग हुन सक्दैन ।
सिरियाको भविष्य गहिरो अनिश्चिततामा रहिरहे पनि, यो स्थिति नजिकका लेबनानको लागि पनि “विशाल प्रभावहरू“ छाड्ने बाइडन प्रशासनका इजरायल र हिजबुल्लाह बीच शान्ति वार्ताका लागि प्रमुख प्रतिनिधि अमोस होचस्टाइनले बताएका छन् (हारेज्ट टाइम्स, ८ डिसेम्वर) । सिरिया इरान समर्थित हिजबुल्लाहलाई हतियार आपूर्ति गर्ने मुख्य भूमि हो ।
इजरायली प्रधानमन्त्री बेंजामिन नेतान्याहुले असदको चमत्कारी राजनीतिक पतनको उत्सव मनाइरहँदा इजरायल र हिजबुल्लाह बीचको युद्धविरामको भविष्य थप अन्योलमा पर्ने चेतावनी उनले भुल्न खोजेजस्तो छ । इजरायल र हिजबुल्लाह हालसम्म युद्धविराम सम्झौतासँगे नरसंहारकारी आगोका लप्कासँगै इजरायली सेना खेल्दैछ । सिरियाली संकटे केवल इजरायलको मात्रख चासो नभएर अन्तर्राष्ट्रिय चासो प्रमुख रणमैदान बन्न आइपुगेको छ ।
निश्चित के छैन भने अब पनि टेबुलको युद्धले जित्छ कि पुनः जमिनी युद्धमा मध्यपूर्व फस्छ ? तर, यो संक्रमण सहज हुने सम्भावना छैन । विभिन्न शक्तिहरूको आपसी टकरावले सिरियालाई अर्को इराक वा अफगानिस्तान जस्तो अवस्थामा पुर्याउन सक्छ ।
सीरियामा असद शासनको चमत्कारिक पतनले विश्वभर विजेताहरू र पराजित शक्तिहरु सिर्जना गरेको भन्दै न्यूयोर्क टाइम्समा निकोसल क्रिस्टोफले लेखेका छन् ।
पराजितहरु
ईरान ठूलो हार्ने शक्ति बनेको छ । सीरिया लामो समयदेखि यसको नजिकको साझेदार र लेबनान– हिज्बुल्लाहसँगको महत्वपूर्ण स्थलमार्ग परिवहनका रुपमा थियो । ईरानले सीरियामा राष्ट्रपति बाशर अल–असदको क्रुर शासन कायम गर्न लडिरहेको थियो ।पछिल्ला दिनहरुमा ईरान पहिलेदेखि नै कमजोर भएको भइरहेको छ । चिन्तको विषय यस घटनाले ईरानी नेतृत्वभित्र परमाणु हतियारको विकासको बृद्धिलाई महत्व दिन सक्छ ।
रूस : यसले पनि एउटा महत्वपूर्ण सिरियाली साझेदार गुमाउने भएको छ । साथै सीरियामा रुसको महत्वपूर्ण सैनिक आधार पनि गुमाउनेछ । २०१५ मा, मास्कोले असद शासनको पक्षमा गृहयुद्धमा सैन्य रूपमा हस्तक्षेप गर्दै सिरियाको टार्टसमो नौसेना आधारर राखेको छ । यसले भूमध्य सागरमा युद्धपोतहरूलाई अनुगमन गर्दछ ।
हिज्बुल्लाहः सीरियामा असदको पक्षमा लड्दै आएको हिजबुल्लाह इरानबाट सीरिया हुँदै लेबनानमा पठाइने हतियारहरूमा निर्भर रहेको थियो। हिज्बुल्लाह कमजोर भए पनि लेबनानको एक महत्वपूर्ण शक्ति रहिरहने छ ।
सीरियाका अलवाइट सम्प्रदायः यो शिया इस्लामको एक उपसम्प्रदाय हो र सम्भवतः १० प्रतिशत भन्दा सीरियाली जनसंख्याको प्रतिनिधित्व गर्छ । अल–असदहरू अलवाइट थिए, र अलवाइटहरूले पाएको विशेषाधिकारको लागि त्यहाँ विरोध हुँदै आएको थियो ।
सीरियाली क्रिस्चियनहरू : यो समुददायलाई केही हदसम्म अल–असदहरूले सुरक्षा दिएको थियो । यिनीहरुमाथि लक्ष्य र उत्पीडनको शिकार बनाइन सक्छ । र महिलाहरूले आफ्ना अधिकार गुमाउन सक्छन् । विजय प्राप्त गर्ने शक्तिहरू तालिबान नभए पनि त्यस दिशामा अघि बढ्न सक्छन् । सीरियाको गृहयुद्धले सबै महिलाहरू र क्रिस्चियनहरूलाई क्षति पु¥याएको छ ।
विजेताहरू
सुन्नी मुस्लिम इस्लामिस्टहरु : यो समुददायलाई दशकौंसम्म सीरियामा निर्दयतापूर्वक दमन गरिएको थियो । तिनीहरू अब प्रमुख स्थानमा आएका छन् । नयाँ नेतृत्वका गुटहरुमा इस्लामिक स्टेट र अल कायदामा संलग्नहरुको बर्चस्व छ । यद्यपि तिनीहरूले त्यो अतिवादबाट पछि हटाएको बताउँददै आएका छन् । अब वास्तविक परीक्षणको चरणमा आइपुगेका छन् ।
इजरायल : ईरान र हिज्बुल्लाहजस्ता शत्रुहरूको कमजोर भएका बेला असद शासन ढल्नु इजरायलका लागि राहतको घटना हो । तर भावी शासन कस्तो हुन्छ भन्ने कुराले इजरायलको फाइदा र घाटाको हिसाब हुनेछ ।
टर्की : टर्की अर्को शक्ति हो जसले असद शासन ढल्दा जितेको महसुस गरेको छ । यसले त्यो प्रभाव प्रयोग गरेर क्षेत्रभरिका कुर्दलाई नियन्त्रणमा राख्ने प्रयास गर्न सक्छ ।
अमेरिका : रूस र ईरान पराजित भएका शक्तिमा पर्नेवित्तिकै अमेरिका विजेता जस्तो देखिएको छ । तर आगामी घटनामा के हुने भन्ने कुरामा धेरै निर्भर हुनेछ । कहिलेकाहीं एक भयानक शासनको पतनपछि के आउने हो हुने हो भन्दा त्यो पनि उस्तै खराब, वा अझ खराब हुन पनि सक्छ भन्ने अहिले नै भुल्न मिल्दैन ।
(९ डिसेम्वर विहान अपडेट गरिएको ।)
सिरियाली तानाशाहको पतन : सवत्र अब के भन्नेमा सन्त्रास, ट्रम्प पन्छिए !
प्रतिक्रिया दिनुहोस्