ल्याटिनोबारोमेट्रो सर्वेक्षणले एक यस्तो क्षेत्र देखाएको छ, लोकतन्त्रप्रति खुशी भए तापनि, अलोकतान्त्रिक प्रवृत्तिहरूसँग सहज, डोनाल्ड ट्रम्पभन्दा सी जिनपिङप्रति बढी सकारात्म्क
२०१५ पछाडिको पहिलो पटक, त्यहाँ बढी ल्याटिन अमेरिकीहरू छन् जसले आफ्नो देश प्रगतिमा छ भन्ने सोच राख्छन्, उनीहरूले भन्दा जसले देश पछाडि धकेलिएको छ भन्छन्, तिनीहरु प्नि आधजस्तै देखिएका छन् । (चार्ट १ हेर्नुहोस्)।
अन्य शासन प्रणालीहरूभन्दा लोकतन्त्र नै राम्रो हो भन्ने विश्वास गर्नेको संख्या थोरै भए पनि बहुमतमा छ, तर यो पछिल्ला वर्षहरूमा केही सुधार भएको हो। आफ्ना राजनीतिज्ञ र संस्थाहरूलाई लिएर कठोर आलोचना गर्ने ल्याटिन अमेरिकीहरू आफ्नो राजनीतिक प्रणालीको व्यवहारिक कामकाजसँग थोरै कम असन्तुष्ट छन्। निर्वाचित तानाशाह नायिब बुकेले, जो एल साल्भाडोरलाई कठोर शासनमा राखेका छन्, त्यस क्षेत्रका सबैभन्दा प्रशंसित नेता हुन्। ल्याटिन अमेरिकी क्षेत्रका १७ देशहरूमा गरिएको सर्वेक्षणलाई द इकोनोमिस्टमा विशेष महत्वका साथ प्रकाशित भएको छ । यी तथ्यहरू पछिल्लो ल्याटिनोबारोमेट्रो सर्वेक्षणका नतिजाहरू हुन् । १९९५ देखि नियमित रूपमा गरिएको यस सर्वेक्षणले यस क्षेत्रमा जनमत कसरी विकसित भइरहेको छ भन्ने राम्रो झलक दिन्छ। यद्यपि ल्याटिन अमेरिका वर्षौंसम्म आर्थिक स्थिरताको अभाव, राजनीतिक उथलपुथल र संगठित अपराधको भयावहरुपले भएको वृद्धि भोग्दै आएको छ, यस वर्षको सर्वेक्षण तथ्याङ्कले केही हदसम्म सहनशीलता देखाउँछ ।
२०२३ को सर्वेक्षणपछि लोकतन्त्रप्रति समर्थन अलिकति बढेको छ, यद्यपि यो अझै पनि २०१७ अघि कायम रहेको स्तरभन्दा तल छ (चार्ट २ हेर्नुहोस्)।
महत्वपूर्ण कुरा के छ भने, ल्याटिन अमेरिकीहरूले अझै पनि मतदानमा विश्वास गर्छन्; अघिल्लो पटक झैं, सर्वेक्षणले देखाएको छ –नयाँ राष्ट्रपतिहरूले लोकतन्त्रलाई बल पु¥याउँछन्। यो अर्जेन्टिनामा लागू हुन्छ, जहाँ गत वर्ष हाभियर मिलेई राष्ट्रपति चुनिए, र मेक्सिकोमा पनि, नयाँ राष्ट्रपति क्लाउडिया शेइनबाम चुनिइन् । उनी २०१८ देखि यो वर्षसम्म लोकप्रिय शासक रहेका आन्द्रेस म्यानुएल लोपेज ओब्राडोरकी प्रशिष्य हुन्। इक्वेडर, ग्वाटेमाला, र पानामाको चुनावहरूले पनि लोकतन्त्रप्रति विश्वास पुनःस्थापित गरे। यसको समर्थन पेरुमा घटेको छ, जहाँ हल्का–फुल्का राष्ट्रपतिद्वारा, दीना बोलुआर्ते, र स्वार्थी संसद्ले शासन गर्दै आएको छ । बोलिभियामा पनि समर्थन घटेको छ, जहाँ राष्ट्रपति लुइस आर्से र उनका पूर्व राजनीतिक गुरू एभो मोरालेसबीचको सत्तासंघर्षले निर्णय प्रक्रियालाई पंगु बनाएको छ । यस वर्षको सर्वेक्षणले यी दुई देशमा व्यापक असन्तोष देखाएको छ ।
अविवादित लोकतन्त्र
थोरै गहिराइमा जाँदा, लोकतन्त्रप्रतिको धारणा अस्पष्ट हुन्छ । आधाभन्दा बढी—र आफूलाई उच्च वर्गको परिभाषा दिने ६१% ले—भन्छन् कि यदि एक अधिनायकवादी सरकारले देशका समस्याहरू समाधान ग¥यो भने, त्यसले उनीहरूलाई चिन्ता छैन । ल्याटिनोबारोमेट्रोकी निर्देशक, मार्टा लागोसका अनुसार, “ल्याटिन अमेरिकी लोकतन्त्रको सबैभन्दा ठूलो कमजोरी भनेको चारमध्ये करिब एक जनाले लोकतन्त्र राजनीतिक दल, संसद वा विपक्षबिना पनि काम गर्छ भन्छन्।” मेक्सिकोमा लोकतन्त्रप्रति समर्थन बढ्नु, त्यहाँको नयाँ राष्ट्रपतिले कार्यकारीमा शक्ति केन्द्रित गरिरहे पनि, यस विरोधाभासको उदाहरण हो ।
लोकतन्त्रले काम गर्ने तरिकासँग सन्तुष्टि पनि थोरै बढेको छ, यद्यपि दुई–तिहाइ सहभागीहरू अझै असन्तुष्ट छन् (चार्ट ३ हेर्नुहोस्)। २००९ मा, जब वस्तु (कमोडिटी) बृद्धि(बुम)ले क्षेत्रका धेरै अर्थतन्त्रहरूलाई माथि उठायो, त्यतिखेर खुशी हुनेहरूको संख्या असन्तुष्टहरूको संख्यासँग लगभग बराबर थियो।
आय र सम्पत्तिमा देखिएको अत्यन्त असमानताले ग्रस्त यस क्षेत्रमा, ७२% मानिसहरू आफ्नो देश शक्तिशाली समूहहरूले आफ्नै फाइदाका लागि चलाउँछन् भन्ने सोच राख्छन्, यद्यपि यो प्रतिशत २०१८ मा ७९% थियो। एल साल्भाडोर र मेक्सिकोले यस प्रवृत्तिमा अपवाद देखाएका छन्, जहाँ क्रमशः ६२% र ४७% ले आफ्नो देश सबैका हितका लागि सञ्चालित भएको मान्छन् । ७६% ले आफ्नो देशमा आयको वितरण अन्यायपूर्ण छ भन्ने विश्वास राख्छन्, तर चिलीमा यो संख्या ८९% र कथित समाजवादी भेनेजुएलामा ८५% पुगेको छ ।
कोभिड–१९ महामारी अगाडिका वर्षहरूमा, ल्याटिन अमेरिकामा सामाजिक विस्फोटहरू देखिएका थिए, त्यस क्षेत्रमा यदाकदा हिंसात्मक सडक प्रदर्शनहरू समेत भए, विशेषगरी निराश युवा पुस्ताले नेतृत्व गरेका प्रदर्शनहरुमा । अहिलेको जनमत अलि बढी धैर्यशील देखिन्छ । २६% ले मात्र आफ्नो समाजलाई मूलभूत परिवर्तन आवश्यक भएको ठान्छन् । यो गत वर्षको ३०% भन्दा घटेको छ । ३५% ले साना सुधारले पनि समाजमा सुधार ल्याउन सकिने विश्वास गर्छन् । तर, बहुमतले वर्तमान स्थिति (यथास्थिति) अस्वीकार गर्छन् । संस्थाहरूप्रति उनीहरुको विश्वास कम हुँदै गएको छ । क्याथोलिक चर्च अझै पनि सबैभन्दा विश्वासिलो संस्था मानिए पनि, यसप्रति झन्डै दसमा एक जनाले विश्वास गुमाएका छन्। यसको विपरीत, प्रहरीप्रति विश्वास बढेको छ, जसले अपराधको डरका बीच सुरक्षाको मागलाई झल्काउँछ । तर, अझै पनि लगभग दोब्बर सहभागीहरूले आफ्नो देशको सबैभन्दा ठूलो समस्या सुरक्षा नभई अर्थतन्त्र हो भन्ने मान्छन् ।
यस क्षेत्रको औसत आर्थिक वृद्धिदर मध्यम भए पनि, ६०% ले आफू र आफ्नो परिवारले गत दश वर्षमा प्रगति गरेको बताउँछन्। अहिले ४८% ले आफूलाई मध्यम वर्गको रूपमा परिभाषित गर्छन्, जुन २०२३ को ४१% र २०२० को ३२% भन्दा वृद्धि भएको हो । अर्कोतर्फ, २५% ले कहिलेकाहीँ वा प्रायः खान पर्याप्त भोजन नपुग्ने बताउँछन् । ९२% ले मोबाइल फोनको पहुँच पाएका छन्, ६९% ले इन्टरनेटको र ३५% ले गाडीको पहुँच पाएका छन्। बजार अर्थतन्त्रप्रति समर्थन पनि स्थिर रूपमा बढेको छ, २००७ मा ४७% बाट अहिले ६६% पुगेको छ (चार्ट ४ हेर्नुहोस्)। यसले राजनीतिक दृष्टिकोणमा केही हदसम्म दक्षिणपन्थी झुकाव देखाउँछ ।
पश्चिम अझै पनि पहिलो रोजाइ
यदि रोज्नुप¥यो भने, ल्याटिन अमेरिकीहरूले संयुक्त राज्य अमेरिकासँग निकट सम्बन्ध चाहन्छन्, चीनसँग भन्दा । तर यो धारणा डोनाल्ड ट्रम्पको निर्वाचन विजयअघि हो । र उनीहरूको राष्ट्रपति सी जिनपिङप्रति डोनाल्ड ट्रम्पको तुलनामा बढी सकारात्मक दृष्टिकोण राख्छन् । तैपनि, अन्य केही ग्लोबल साउथ क्षेत्रहरूको विपरीत, ल्याटिन अमेरिकीहरू पूर्वभन्दा पश्चिमसँग बढी पहिचान जोड्ने चाहना व्यक्त गर्छन्। ■
पद्धति सम्बन्धी टिप्पणीः
ल्याटिनोबारोमेट्रो चिलीको सान्तियागोमा आधारित एक गैर–नाफामूलक संस्था हो, जसले १९९५ देखि ल्याटिन अमेरिकामा नियमित रूपमा जनमत, दृष्टिकोण र मूल्यहरूको सर्वेक्षण गर्दै आएको छ। यो सर्वेक्षण १७ देशहरूमा स्थानीय जनमत–अनुसन्धान संस्थाहरूले सञ्चालन गरेका थिए, जसमा २०२४ अगस्ट २३ देखि अक्टोबर ९ सम्म १९,२१४ सँग प्रत्यक्ष अन्तर्वार्ता गरिएको थियो । सर्वेक्षणको औसत त्रुटि ३% को हाराहारी छ । यो सर्वेक्षण अब निकारागुवामा गरिँदैन, किनकि त्यहाँको तानाशाहीले सर्वेक्षणकर्ताहरूलाई सुरक्षित रूपमा काम गर्न अनुमति दिँदैन।
थप विवरणका लागिः www.latinobarometro.org
द इकोनोमिष्टबाट
प्रतिक्रिया दिनुहोस्