निना एल. ख्रुश्चेवा
न्यूयोर्क – कुनै पनि रुसी सहरमा घुम्नुस्, चाहे मस्को र सेन्ट पिटर्सबर्ग होस् वा येकाटेरिनबर्ग र कजान, तपाईंले गाढा नीलो वा रातो स्वेटशर्ट लगाएका मानिसहरू देख्नुहुनेछ, जसमा त्यो अविस्मरणीय सोभियत प्रतीक – हथौडा, हसियाँ, र तारा – छापिएको हुन्छ। त्यस्तै, परम्परागत फर ह्याटहरू पनि प्रशस्त मात्रामा देख्न सकिन्छ, जसको माथि अक्सर रातो तारा हुन्छ, यद्यपि पछिल्ला जाडो यामहरू अहिलेसम्मकै सबैभन्दा न्यानो भएका छन्।
एउटा उपहार पसलमा प्रवेश गर्नुस्, तपाईंले लेनिन, स्टालिन, वा अन्य सोभियत गर्वका प्रतीकहरू, जस्तै अन्तरिक्ष यात्री यूरी गगारिन, भएका मगहरू फेला पार्नुहुनेछ। यहाँसम्म कि १९६० र १९७० को दशकमा सोभियत अधिकारीहरूले सेन्सर गरेका चर्को गीत लेख्ने गायक भ्लादिमिर भिसोट्स्की पनि रुसी स्मृतिवादको यस यात्रा सूचीमा सामेल छन्। उनको समावेशीकरण अझ बढी उपयुक्त छः विगतको आदर्शीकृत संस्करणलाई प्रोत्साहित गर्नुले अहिलेको दमनकारी वर्तमान र भविष्यलाई वैधता दिन्छ।
मस्कोको केन्द्रमा एक पत्रिका बिक्रेताले मलाई भर्खरै भने, धेरै रुसीहरू दोस्रो विश्वयुद्धलाई रूसीहरूले ठूलो साहस देखाएको समयको रूपमा सम्झन्छन्, युद्धपछिको प्रारम्भिक समयलाई तुलनात्मक शान्तिको समयको रूपमा हेर्छन्, र १९७० को दशकलाई स्थिरताको युगको रूपमा सम्झन्छन्। ती “स्मृतिहरू,” उनले निष्कर्ष निकाले, “सोभियत–प्रकारको” बलियो नेताको लागि उनीहरूको चाहनालाई थप उर्जा दिन्छन्।
बिक्रेता प्रचलित कथाहरूमा त्रुटि रहेको कुरा राम्रोसँग जानकार थिए। उनले सम्झिए, “म बच्चा थिएँ, जब मेरो परिवार साझा अपार्टमेन्ट – पाँच कोठामा २५ जना भरिएका – बाट छुट्टै फ्ल्याटमा सरेको थियो।” यो परिवर्तन – जुन निकिता ख्रुश्चेभ (मेरो पितामह, यद्यपि बिक्रेतालाई यो सम्बन्धको बारेमा केही थाहा थिएन) ले सम्भव बनाएका थिए – अन्ततः उनको परिवारलाई “स्वतन्त्र मानिस” का रूपमा बस्न सक्षम बनायो, “स्टालिनवादी सोभियत सामूहिक” मा भएका “कमिला” का रुपमा होइन।
तर आजको रुसमा ख्रुश्चेभ – जसले स्टालिनलाई आलोचना गरे – वा मिखाइल गोर्बाचेभ र बोरिस येल्त्सिनलाई (जो अत्यधिक खुला र विश्वसँग सम्बन्ध बनाउने चाहनाकासाथ अघि बढे) प्रशंसा गर्नु असामान्य छ। स्वयं बिक्रेताले आफ्नो कियोस्कलाई सपना टोली – लेनिन, स्टालिन, गगारिन, भिसोट्स्की – साथै रूसका सोभियत शैलीका बलियो नेता भ्लादिमिर पुटिनका चित्रहरूले सजाएका थिए। मैले किन यसो गरेको भनेर सोध्दा उनले जवाफ दिए, “जनताको लागि।”
मेरो वार्तालापकर्ता, एक सेवानिवृत्त बिजुली मिस्त्री, आफ्नो पत्रिका स्टलमा बस्दै चलचित्र हेर्ने धेरै समय राख्छन्। उनले आफ्नो अन्तर्राष्ट्रिय चलचित्र सम्बन्धी ज्ञानले मलाई चकित पार्दै, स्मृतिवादका परिभाषाहरूको मेनु प्रस्तुत गरे। पाओलो सोरेन्टिनोको द ग्रेट ब्यूटी मा, यो भविष्यमा विश्वास नगर्नेहरूका लागि सान्त्वना हो। अमेरिकी टेलिभिजन शो म्याड म्यान – उनको मनपर्ने – मा, यो आफ्नो उत्पत्तिमा फर्कने पीडादायी चाहना हो। यी दुवै व्याख्याहरू आजको रुसमा लागू गर्न सकिन्छ।
तर हालका रुसी चलचित्रहरू, “स्मृतिवादलाई खमिरजस्तै फुलाउँछन्,“ बिक्रेताले थपे। उनी परीकथाहरू र सोभियत क्लासिकहरूका पुनर्निर्माणहरू, जस्तै द लास्ट वारियर, द इनच्यान्टेड टिन्डरबक्स, र चेबुराश्का (मिकी माउसको सोभियत संस्करण) साथै नयाँ चलचित्रहरू, जसले रुसी लोक कथाका पात्रहरू र ऐतिहासिक नायकहरूलाई आधार मानेका छन्, प्रति इंगित गर्दै थिए। दोस्रो विश्वयुद्धको विजयको कथामा आधारित चलचित्रहरू र टेलिभिजन शृंखला पनि तीव्र रूपमा बढिरहेका छन्। हालका शीर्षकहरूमा मिसनः स्काइ, मूनशाइन, द इनच्यान्टेड, र द डगआउट समावेश छन्।
यो योजना अनुसार नै होः पुटिनले लामो समयदेखि स्मृतिवादलाई जनतालाई आश्वस्त गर्ने र वशमा राख्ने शक्तिशाली साधनका रूपमा हेरेका छन्। सन् २००० मा, जब उनी पहिलो पटक राष्ट्रपति बने, त्यतिबेला रूसीहरूले एक साम्राज्यको पतन, आफ्नो देशको विश्वव्यापी स्थानको गिरावट, र अनियन्त्रित पूँजीवादलाई जन्म दिने आक्रामक “शक थेरापी“ भोगेका थिए। धेरै मानिसहरूले विगतको सरलता मिस गरेका थिए, जब उनीहरूले आफ्नो स्थान थाहा पाउने र आफ्नो जीविकाका लागि प्रतिस्पर्धा गर्नुपर्दैनथ्यो। उनीहरू फेरि गर्व, सुरक्षा, र सम्मानको अनुभूति गर्न लालायित थिए।
यस चाहनालाई बुझ्दै, पुटिनले सोभियत गानलाई पुनःस्थापित गरे, जसलाई १९४३ मा स्टालिनले व्यक्तिगत रूपमा स्वीकृत गरेका थिए, र रेड आर्मीको झण्डालाई सेनाको आधिकारिक प्रतीकका रूपमा पुनःस्थापना गरे। उनले भिस्टोस्कीलाई पनि अपनाए, जो विद्रोही हुन सक्छन्, तर देशभक्त पनि थिए। क्रेमलिनका सोभियत युगका सेपिया–टोनले चित्रणहरू मानिसहरूको मनोविज्ञानमा विस्तारै बस्दै गए।
आज, प्रख्यात कलाकारहरू टेलिभिजन कार्यक्रमहरूमा सोभियत गीतहरू गाउँछन्, सोभियत चलचित्रहरू देखाउने टिभी च्यानलहरू छन्, र विज्ञापनहरूले सोभियत वीरताको प्रशंसा र पश्चिमी प्रभावहरूको अस्वीकार गर्दछन्। एउटा हालैको विज्ञापनमा, एक वृद्ध मानिसले आफ्नो नातिलाई सोभियत पात्रहरू, जस्तै एभेन्जर्स वा एक्वाम्यान का स्थानमा, देखाउँछन् – ती फ्रेन्चाइजहरू, जसमा रूसले २०२२ मा युक्रेनमाथि पूर्ण आक्रमण गरेपछि पहुँच गुमायो। “हामी यी चलचित्रहरू रुसका प्यानकेकसँग हेर्नेछौं, अमेरिकी पपकर्नसँग होइन,“ नातिले खुसी हुँदै भन्छ।
कला प्रदर्शनीहरू अहिले सोभियत विषयवस्तुसँग जोडिएका हुन्छन्। विद्यालयहरूमा प्रत्येक सोमबार बिहान रुसी गान बजाइन्छ – यो स्टालिनकालीन अभ्यास हो, जुन मैले १९७० को दशकमा स्कुलमा हुँदा अत्यधिक मानिन्थ्यो, तर २०२२ मा युक्रेन युद्ध सुरु भएपछि पुनःस्थापित गरियो। त्यही वर्ष, अलेक्जान्डर फाडेभको १९४६ को उपन्यास द यङ गार्ड – जसलाई साधारण कामका रूपमा हेरिन्छ, तर जर्मन–आकृत युक्रेनमा संघर्ष गर्ने सोभियत युवाहरूको वीरताका बारेमा छ – स्कुलको पाठ्यक्रममा समावेश गरियो। सोभियतकालीन कोम्सोमोल र यङ पायोनियरहरूको छायाँमा नयाँ राज्य–प्रायोजित युवा आन्दोलन, मुभमेन्ट अफ द फस्र्ट, पनि स्थापना गरियो।
अनिश्चितताको समयमा स्मृतिवादले मानिसहरूलाई शान्त बनाउँछ, तर यसले उनीहरूलाई आज्ञाकारी पनि बनाउँछ। तर्कअनुसार, रूसीहरूले आफूले पेटमा पटुका कस्नुपरे पनि गुनासो गर्नु हुँदैन; उनका पुर्खाहरूले अझ ठूलो त्याग गरेका थिए, त्यो पनि गुनासो नगरीकन । अनि हेर, मातृभूमिका लागि उनले गरेको अद्भुत वीरता र हासिल गरेका महान विजयहरू!
कजानमा भएको हालैको प्रतियोगितामा खराब बसोबास अवस्थाबारे ओलम्पिक पदक विजेता एक स्कीयरले गुनासो गरेपछि, स्की महासङ्घका अध्यक्षले कडा प्रतिक्रिया जनाउँदै भने, “अघिल्लो पुस्ताका खेलाडीहरूले अझ खराब अवस्थाको सामना गरेका थिए।”
यहीं छ स्मृतिवादको खतरा र पुटिनलाई यसको आकर्षणः यदि रूसीहरू काल्पनिक विगतप्रति लालायित भए भने, उनीहरूले राम्रो भविष्यका लागि संघर्ष गर्दैनन्। यसले क्रेमलिनलाई वास्तविक विगतका अवांछनीय तत्वहरू पुनःस्थापना गर्न र संस्थागत गर्ने स्वतन्त्रता प्रदान गर्दछ। गुलाग र जबर्जस्ती हराएका व्यक्तिहरूजस्ता घटनाहरूले कसैलाई पनि स्मृतिवादको मोहमा फस्नबाट झस्काउन सक्छ।
प्रोजेक्ट सिन्डिकेटबाट,जनवरी २२, २०२५
प्रतिक्रिया दिनुहोस्