पछिल्ला केही दशकहरूमा, क्यान्सर र मुटुरोगजस्ता घातक रोगहरूलाई परास्त गर्न चिकित्सा विज्ञानले उल्लेखनीय प्रगति गरेको छ। शल्यक्रिया, औषधि, विकिरण, आनुवंशिक थेरापी, र स्वस्थ जीवनशैलीजस्ता उपचारका विभिन्न विधिहरूले यसमा योगदान पु¥याएका छन्। यी रोगहरू, जसले संयुक्त राज्य अमेरिकामा सबैभन्दा बढी मृत्यु गराउँछन्, तिनका मृत्युदरहरूमा उल्लेखनीय कमी आएको छ। तर, बुढ्यौली जनसंख्याको वृद्धि भएसँगै, अल्जाइमरबाट हुने मृत्युदरले यसको ठीक उल्टो दिशा लिएको छ।
यो रोगले करिब ७० लाख अमेरिकीलाई प्रभावित गर्छ, जसमा ६५ वर्षभन्दा माथिका प्रत्येक नौ व्यक्तिमध्ये एकजना छन्। यो वृद्ध व्यक्तिहरूमाझ मृत्युको एक प्रमुख कारण बनेको छ। जीवनको प्रमुख समयावधिमा रहेका ४ लाख २० हजार व्यक्तिहरू — जसमा ३० वर्ष जतिको उमेरका युवा पनि समावेश छन् — प्रारम्भिक अल्जाइमरको शिकार भएका छन्। डिमेन्सियाका नयाँ घटनाहरूको वार्षिक संख्या २०५० सम्म दोब्बर हुने अनुमान गरिएको छ।
तर, दशकौंसम्मको अनुसन्धानको बाबजुद पनि, अल्जाइमरको संज्ञानात्मक ह्रासलाई रोक्न त परै जाओस्, त्यसलाई उल्ट्याउने उपचार अहिलेसम्म विकसित भएको छैन। यस्तो निराशाजनक प्रगति अभावको कारण मानव मस्तिष्कको अत्यधिक जटिलता हो, जसले हालसम्म अपराजेय चुनौती प्रस्तुत गरेको छ। वैज्ञानिक, अनुदानकर्ता, र औषधि कम्पनीहरूले अरबौं डलर खर्च र वर्षौंको मेहनत व्यर्थै ठहरिने जटिल बाटाहरूमा लगानी गर्नुपरेको छ। तर, यसमा अर्को गम्भीर र नकारात्मक कारक पनि छ।
पछिल्ला २५ वर्षहरूमा, अल्जाइमर अनुसन्धानले विश्व–प्रसिद्ध अनुसन्धानकर्ता र कम चिरपरिचित वैज्ञानिकहरूसमेत संलग्न भएर झूट र अन्य गलत कार्यहरूको लामो श्रृंखला झेल्नुपरेको छ। ती सबै प्रतिस्पर्धात्मक क्षेत्रभित्र माथि उक्लने प्रयासमा थिए। अनुसन्धान पत्रकारिताका वर्षौंका अनुभवले मलाई यस्ता धेरै घटनाहरू पत्ता लगाउन सक्षम बनायो, जसमा केही घटनाहरू मेरो आउँदो पुस्तकमा पहिलो पटक विस्तृत रूपमा समेटिएका छन्।
एलाइजर मास्लियाहको कथा
एलाइजर मास्लियाहजस्तो सम्मानित न्यूरोसाइंटिस्टलाई लिऔं, जसको क्रान्तिकारी अनुसन्धानले स्मृति ह्रास र पार्किन्सन रोगको उपचारको विकासलाई आकार दिएको छ। उनलाई सन् २०१६ मा नेशनल इन्स्टिच्युट अन एजिङ्गको अल्जाइमरविरुद्धको विस्तारित प्रयासको नेतृत्व गर्न नियुक्त गरियो। करिब ८०० अनुसन्धानपत्रका लेखक, जसमध्ये धेरैलाई अत्यन्त प्रभावकारी मानिन्छ, डा. मास्लियाह यस परियोजनाको नेतृत्व गर्न सबै दृष्टिकोणबाट उपयुक्त देखिन्थे । उनले यस क्षणलाई “अल्जाइमर रोग अनुसन्धानको सुनौलो युगको सुरुवात“ भनेर स्वागत गरे ।
तर, गत सेप्टेम्बरमा साइन्स पत्रिकामा मैले उनको अनुसन्धानमा लामो समयदेखि मस्तिष्कको तन्तु र अन्य प्रविधिगत तस्बिरहरूलाई अनुचित रूपमा परिमार्जन गरिएको प्रमाण प्रस्तुत गरें, जुन स्पष्ट रूपमा धोखाधडीको संकेत थियो। उनका धेरै अध्ययनहरूमा पश्चिमी ब्लट्स (रक्त वा तन्तु नमूनामा प्रोटिनको उपस्थिति देखाउने वैज्ञानिक तस्बिरहरू) नक्कली जस्तो देखिएका थिए। केही तस्बिरहरू विभिन्न अनुसन्धानपत्रहरूमा बारम्बार प्रयोग गरिएका छन्, जुन गलत रूपमा मौलिक रूपमा प्रस्तुत गरिएका थिए। (मैले डा. मास्लियाहलाई यसबारे प्रतिक्रिया माग्दा उनले कुनै प्रतिक्रिया दिन अस्वीकार गरे।)
यो सत्य हो कि केही तस्बिर असमानताहरू प्रकाशन प्रक्रियाका क्रममा आएका त्रुटिहरू हुन सक्छन्। अन्य केहीमा सामान्य दृश्यात्मक त्रुटिहरू वा मानवीय कमजोरीहरू पनि हुन सक्छन्, जसलाई कहिलेकाहीं तस्बिर हेरफेरको रूपमा बुझिन्छ। तर, केही मामिलामा, प्रमाणको मात्रा र प्रकृतिले (र कुनै पनि अन्योल हटाउनका लागि लेखकहरूले मौलिक कच्चा डेटा र तस्बिर प्रस्तुत गर्न असफल भएपछि) बाह्य विशेषज्ञहरूलाई थप गम्भीर समस्या भएको विश्वास दिलाएको छ। मेरो स्टोरी प्रकाशित भएको दिन, नेशनल इन्स्टिच्युट्स अफ हेल्थले घोषणा ग¥यो कि डा. मास्लियाह अनुसन्धानद्वारा गलत आचरणमा संलग्न रहेको पाइएको छ, र उनी अब नेशनल इन्स्टिच्युट अन एजिङ्गमा नेतृत्वको पदमा नरहेको बतायो।
डा. मास्लियाहले यस क्षेत्रभित्रको गहिरो समस्या झल्काउँछन् — यस्तो संकट जुन उनीसम्म सीमित छैन। धेरै अल्जाइमर अनुसन्धानकर्ताहरू, केही समयका लागि प्रभावशाली मानिएका व्यक्ति पनि, हालसालै विश्वसनीय धोखाधडी वा गलत आचरणका आरोपहरूको सामना गरिरहेका छन्। यी छलकपटहरूले अल्जाइमर अनुसन्धान र औषधि विकासको मार्गलाई विकृत बनाएको छ, जसले खराब व्यवहार, सामूहिक सोच, र विकृत अनुसन्धान प्रोत्साहनहरूले उपचार र निको पार्ने प्रयासलाई कसरी कमजोर बनाएको छ भन्ने गम्भीर चिन्ता निम्त्याएको छ। यो सोचले मलाई सताइरहेको छ कि यसले बिरामीहरूको भलाइलाई खतरामा पार्न सक्छ।
मेरो अनुसन्धानमा, मैले मस्तिष्क र वैज्ञानिक तस्बिर विश्लेषणका विशेषज्ञहरूको एक टोलीलाई ४६ प्रमुख अल्जाइमर अनुसन्धानकर्ताहरूका शंकास्पद अध्ययनहरूको मूल्याङ्कन गर्न सहयोग गर्न आग्रह गरें। हाम्रो परियोजनाले ती ४६ अनुसन्धानकर्ताहरूको अध्ययनलाई मात्रै नभई उनीहरूले संलग्न गरेका अन्य कैयौं अल्जाइमर विशेषज्ञहरूको कामलाई पनि समेट्न सकेन। यो कार्य पूरा गर्न अनुसन्धानकर्ताहरूको ठूलो टोली र वर्षौं समय लाग्न सक्छ। तर, कुनै रोगको अनुसन्धानमा प्रमुख वैज्ञानिकहरूको तस्बिर परिमार्जनको विस्तृत मूल्याङ्कन गर्ने पहिलो संगठित प्रयास भएकोमा म आशावादी छु।
विशेषज्ञहरूको टोलीले सामूहिक रूपमा झन्डै ६०० शंकास्पद अनुसन्धानपत्र पहिचान ग¥यो, जसले यस क्षेत्रमा गम्भीर विकृति ल्याएको छ। ती पत्रहरू वैज्ञानिक साहित्यमा करिब ८०,००० पटक उद्धृत भएका छन्। धेरै सम्मानित अल्जाइमर अनुसन्धानकर्ताहरू — जसको कामले वैज्ञानिक बहसलाई दिशा दिन्छ — बारम्बार ती दूषित अध्ययनलाई आफ्नो विचारको आधार बनाएका थिए । यसले यस क्षेत्रको स्थापित ज्ञानको आधारलाई नै कमजोर बनाइदिएको छ।
कतिपय अवस्थामा, तथ्यांक सम्बन्धी समस्याको निर्दोष स्पष्टीकरण हुन सक्छ। केही अनुसन्धानकर्ताहरू, जसको नाम ती पत्रहरूमा छन्, उनीहरूका सहलेखकहरूले गरेका त्रुटिहरूबारे जानकार नहुन पनि सक्छन्। तर, अन्य धेरै अवस्थामा गम्भीर लापरवाही, गलत आचरण, र स्पष्ट रूपमा धोखाधडी देखिएको छ।
कुनै पनि स्वास्थ्यसम्बन्धी अनुसन्धानमा यस्तो गलत कार्य दुःखद हो। तर, अल्जाइमरको उपचारको खोजीमा भएको धोखाधडी विशेष रूपमा शोकजनक छ। किनभने यो रोग अरू प्रमुख रोगहरूसँग फरक छ। अल्जाइमर बिस्तारै सामान्य गतिविधिहरूको नियन्त्रण ह्रास गर्दै सुरु हुन्छ, त्यसपछि प्रिय स्मृतिहरू चोर्छ, र अन्ततः हाम्रो मानव पहिचानलाई नै समाप्त पार्छ।
वैज्ञानिक सत्यनिष्ठा र अनुसन्धानको विश्वसनीयता कायम गर्न सामूहिक प्रयास गर्नुपर्ने बेला आएको छ।
अल्जाइमर पीडित परिवारहरूको अदृश्य मूल्य
अल्जाइमरका बिरामीका परिवारहरूले अपूरणीय भावनात्मक मूल्य चुकाइरहेका छन्। संयुक्त राज्य अमेरिकामा १ करोड १० लाखभन्दा बढी परिवारका सदस्य र अन्य अवैतनिक हेरचाहकर्ताहरू (जस्तै, साथीभाइ र छिमेकीहरू)ले डिमेन्सिया पीडित आफ्ना बाबु–आमा, श्रीमान–श्रीमती, हजुरबुवा–हजुरआमाको हेरचाह गरिरहेका छन्। धेरैका लागि यसले आर्थिक संकट निम्त्याएको छ। सन् २०२३ मा, यी हेरचाहकर्ताहरूले डिमेन्सिया बिरामीका लागि करिब ३५० अर्ब डलर बराबरको सेवा प्रदान गरे, जुन मेडिकेयर लगायतका अन्य सबै स्रोतबाट व्यय भएको रकमसँग करिब बराबर छ।
विश्वले अल्जाइमरको उपचारको लागि तीव्र आवश्यक महसुस गरिरहेको छ। यस्तो अवस्थामा कुनै पनि अनियमितता वा धोखाधडी झन् घातक देखिन्छ। यसले एक गम्भीर प्रश्न उठाउँछः कुनै वैज्ञानिकले यस्तो किन गर्लान?
एमीलोइड परिकल्पना र अनुसन्धानको एकोहोरो दबाब
वर्षौँदेखि, अल्जाइमर अनुसन्धान एकल परिकल्पनाले निर्देशित भएको छ — एमीलोइड परिकल्पना। यसले मस्तिष्कमा एमीलोइड प्रोटिनले जैविक प्रक्रियाहरूको श्रृंखला उत्पन्न गर्ने र डिमेन्सिया निम्त्याउने दाबी गर्छ। यस परिकल्पनाको प्रभुत्वले वैज्ञानिकहरूलाई एकोहोरो सोचको दिशामा अघि बढ्न दबाब दिँदै आएको छ।
एमीलोइड परिकल्पनाका सबैभन्दा कट्टर आलोचकहरूले पनि एमीलोइड र रोगबीचको केही सम्बन्ध हुनसक्ने विश्वास गरेका छन्। तर सन् २००० को दशकदेखि, चिकित्सक, बिरामी, र तिनका परिवारहरूले यस परिकल्पना आधारित औषधीय असफलताहरूलाई दशकौँसम्म सहनुपरेको छ। यसमा अनुदान र लगानीका रूपमा अर्बौँ डलर खर्च गरिए पनि ठोस नतिजा देखिएको छैन।
यस परिकल्पनाका केही विरोधाभासले आलोचकहरूलाई निराश पारेका छन्। जस्तै, मृत व्यक्तिका मस्तिष्कमा ठूलो मात्रामा एमीलोइडको जमावट देखिए पनि ती व्यक्तिहरूमा अल्जाइमरका कुनै लक्षण थिएनन्। यस्ता घटनाले परिकल्पनाका समर्थकहरूलाई पनि संशय गर्न बाध्य बनाएको छ।
तर पनि, एमीलोइड परिकल्पनाले अझै ठूलो प्रभाव राख्छ। अल्जाइमर डिमेन्सियाका लक्षणहरूलाई लक्षित गर्दै स्वीकृत गरिएका लगभग सबै औषधि यही परिकल्पनामा आधारित छन्, यद्यपि ती औषधिले अत्यन्त कम प्रभावकारी नतिजा दिन्छन्। संयुक्त राज्य अमेरिकामा स्वीकृत गरिएको एन्टी–एमीलोइड एन्टिबडी औषधिको वार्षिक लागत प्रति बिरामी लाखौँ डलर पर्छ, तर तिनले संज्ञानात्मक गिरावटलाई यति सानो मात्रामा कम गर्छन् कि धेरैजसो चिकित्सकहरूले त्यसलाई ’नगण्य लाभ’ भन्ने व्याख्या गरेका छन्। यी औषधिहरू सुरक्षित पनि छैनन्, किनकि तिनले मृत्यु वा गम्भीर मस्तिष्क क्षतिको जोखिम निम्त्याउन सक्छन्। अल्जाइमरले मस्तिष्कलाई क्षति पुर्याउनु अगावै, यी औषधिहरूले मस्तिष्कलाई झनै तीव्र गतिमा सुकाउन सक्छन्।
एमीलोइड परिकल्पनाको गहिरो जरोले एउटा किसिमको ‘समूह सोच’ (ग्रुपथिंक) लाई जन्म दिएको छ। अनुदान, कर्पोरेट आम्दानी, करियरको उन्नति र व्यावसायिक प्रतिष्ठा धेरैजसो संस्थागत अधिकारीहरूले विश्वास गरेको केन्द्रीय विचारमा निर्भर हुने अवस्था सिर्जना भएको छ। त्यसैले मेरो रिपोर्टिङमा फेला परेका धेरैजसो धोखाधडीपूर्ण वा शंकास्पद अनुसन्धान पत्रहरू एमीलोइड परिकल्पनासँग सम्बन्धित हुनु अनौठो छैन। परम्परागत ज्ञानसँग मेल खाने शंकास्पद विज्ञान प्रकाशित गर्न सजिलो हुन्छ।
डा. मस्लियाहको धोखाधडीबारे अनुसन्धान
मैले डा. मस्लियाहको सम्भावित ठगीबारे पवपीअर नामक वेबसाइटमा झण्डा उठाइएका शंकास्पद अनुसन्धान पत्रहरूको समीक्षाका क्रममा थाहा पाएँ। यो वेबसाइटमा विद्वान र अनुसन्धानकर्ताहरूले वैज्ञानिक पत्रहरूको आलोचना र चुनौती दिन्छन्। उनको कामबारे केही पोस्टहरूले मेरो ध्यान खिच्यो। मैले व्यान्डरबिल्ट विश्वविद्यालयका न्यूरोसाइन्स विज्ञ मैथ्यु श्राग, कोलम्बिया विश्वविद्यालयकी न्यूरोबायोलोजिस्ट मू याङ, स्वतन्त्र फरेन्सिक–इमेज विश्लेषक केभिन प्याट्रिक, र अनुसन्धान अखण्डताका विज्ञ एलिसाबेथ बिकलाई उनीहरुको काम नजिकबाट अध्ययन गर्न आग्रह गरेँ। (डा. श्राग र डा. याङले आफ्नो विश्वविद्यालयको कामबाट स्वतन्त्र रूपमा काम गरे।)
केही महिनाको मेहनतपछि, उक्त समूहले १३२ वटा शंकास्पद पेपरहरूको ३००–पृष्ठको डोसियर तयार गर्यो, जुन सबै डा. मस्लियाहका थिए। (यी पेपरहरू सहकर्मीहरूसँग लेखिएका भए पनि, डा. मस्लियाह सबैमा सामान्य लेखक र प्रायः प्रमुख भूमिकामा हुनुहुन्थ्यो।) यी पत्रहरूको प्रयोगका आधारमा शैक्षिक र चिकित्सा जर्नलहरूमा १८,००० भन्दा बढी उद्धरण गरिएका थिए। एमीलोइड परिकल्पनासँग सम्बन्धित धेरैजसो पत्रहरूसहित डा. मस्लियाहको कामको एउटा सानो अंशमा भेटिएको सम्भावित अनियमितताको स्तरले प्रमुख विज्ञहरूलाई चकित बनायो।
डा. मस्लियाहको उदाहरण चरम हो, तर उनी अनुसन्धानकर्ताहरूको एउटा प्रवृत्तिलाई प्रतिनिधित्व गर्छन्, जसको काममा प्रश्न उठाइएको छ।
अन्य शंकास्पद अनुसन्धानकर्ताहरूको खुलासा
जस्तै, बोरिसलाभ ज्लोकोभिक, जो साउथर्न क्यालिफोर्निया विश्वविद्यालयका प्रख्यात अल्जाइमर विशेषज्ञ हुन् । उनको अनुसन्धानले ठूलो संघीय वित्त पोषित स्ट्रोक परीक्षणको आधार तयार पारेको थियो। सन् २०२३ मा मैले साइन्स मा गरेको अनुसन्धानले तीव्र छविहरू हेरफेर गरिएको उनको दशकौँ पुरानो अनुसन्धान प्रकट ग¥यो। यसपछि एनआइएच ले तुरुन्तै स्ट्रोक परीक्षणलाई स्थगित गर्यो। डा. ज्लोकोभिकका वकिलले दाबी गरे कि उनको अनुसन्धानप्रति उठाइएका केही चिन्ताहरू “पूर्ण रूपमा गलत जानकारी वा आधारमा आधारित“ थिए वा उनको प्रयोगशालामा नगरिएका प्रयोगहरूसँग सम्बन्धित थिए।
स्टानफोर्ड विश्वविद्यालयका पूर्व अध्यक्ष मार्क टेसियर–लाविग्ने, जो अल्जाइमर र अन्य न्यूरोलोजिकल अवस्थाहरूमा मस्तिष्कको सर्किट्रीको अनुसन्धानमा विश्वव्यापी नेता मानिन्थे, २०२३ मा पदबाट राजीनामा दिए । एक साहसी विद्यार्थी पत्रकारले उनको अनुसन्धानमा छविहरूमा गरिएका अनियमितताहरू उजागर गरेपछि उनले राजीनामा दिनु पर्यो । डा. टेसियर–लाविग्नेले व्यक्तिगत रूपमा डाटा विकृत नगरेका हुन् वा जुनियर सहकर्मीहरूलाई यसो गर्न बाध्य बनाएका थिएनन्। तर उनले शंकास्पद नतिजाहरूलाई सही नगर्ने र आफ्नो प्रयोगशालामा अपर्याप्त निगरानी दिन असफल भए, जसको परिणामस्वरूप स्पष्ट रूपले हेरफेर गरिएका अध्ययनहरू उनको प्रतिष्ठा निर्माण गर्न सहयोग पुर्याए र वैज्ञानिक अभिलेखमा कायम राखिएका थिए, यसबारे विश्वविद्यालयको बोर्ड अफ ट्रस्टीहरूले नियुक्त गरेको विशेष समितिले गरेको अनुसन्धानमा भनिएको छ। आफ्नो राजीनामाको पत्रमा, डा. टेसियर–लाविग्नेले कुनै अनैतिक अनुसन्धानमा संलग्न भएको अस्वीकार गरे पनि केही अवसरमा उनी “सुधारको लागि बढी चौकस हुनु पथ्र्यो।“भन्ने स्वीकार गरे ।
संशयजनक र सम्भावित धोखाधडीपूर्ण अनुसन्धानहरू
डा. मस्लियाह र अरू धेरैजसो अनुसन्धानकर्ताहरूका शंकास्पद र सम्भावित धोखाधडीपूर्ण अध्ययनहरूले अल्जाइमर र पार्किन्सन उपचार र प्रविधिहरूसँग सम्बन्धित सयौँ पेटेन्टहरूको आधार तयार गरेका छन्, जुन अहिले प्रमुख फार्मास्युटिकल कम्पनीहरूले अनुसरण गर्दैछन्।
उदाहरणका लागि, होउ–यान वाङ, जसको कामले सिमुफिलामको विकासमा योगदान पुर्यायो — जुन एक अल्जाइमर औषधि हो जसको परीक्षण हजारौँ बिरामीहरूमा गरिएको थियो — उनीमाथि छविहरूको हेरफेर र परीक्षण नतिजाहरूको हेरफेरको विश्वासिलो आरोप लगाइएको छ। डा. वाङलाई २०२४ को जुन महिनामा अमेरिकी न्याय विभागले ४१६ मिलियन अनुदानको धोखाधडीको आरोपमा आरोपित गरेको छ। उनले दोष अस्वीकार गरेका छन्। यो औषधिको समर्थन गर्ने बायोफार्मास्युटिकल कम्पनी क्यासाभा साइन्सेसले अमेरिकन सेक्रिटिज एण्ड एक्सचेन्ज कमिसनसँग सहमति गरेको छ, जसमा कम्पनी र प्रमुख कार्यकारीहरूले औषधिको अनुसन्धानबारे लगानीकर्ताहरुलाई गुमराह पारेको आरोप लगाइएको थियो। कार्यकारीहरूले गलत काम गरेको स्वीकृति जनाएका छैनन्।
वैज्ञानिक इज्जत र अनुसन्धानको प्रभाव
जब वैज्ञानिक पोर्टफोलियोमा व्यापक र विश्वासिलो शंका उत्पन्न हुन्छ, तब अनुसन्धानकर्ताको सम्पूर्ण कार्यको इज्जतप्रति प्रश्न उठ्नु स्वाभाविक हो। तर मैले विश्लेषण गरेको सबै अनुसन्धान शंकास्पद अनियमितताबाट प्रभावित थिएन; केहीले त मस्तिष्क विज्ञानको क्षेत्रलाई अगाडि बढाउन सक्ने योगदान गरेका छन्, जसले यसलाई अझ जटिल बनाउँछ।
धेरैजसो अल्जाइमरका अनुसन्धानकर्ताहरू दृढता र इज्जतका साथ काम गर्दछन्, र धेरै स्वतन्त्र सोच भएका वैज्ञानिकहरूले मस्तिष्क र सम्झनाको हानीको हाम्रो बुझाइलाई अगाडि बढाइरहेका छन्। हालैमा, एमीलोइड परिकल्पनाको विकल्पहरू समर्थन पाउन थालेका छन्। आशाप्रद विधिहरूमा भाइरसहरूको भूमिका, मस्तिष्क संक्रमणको उपचार र मस्तिष्कको सूजन घटाउने उपचारहरू समावेश छन् — जसमा वजन घटाउने जिएलपी–१ औषधिहरूको प्रयोग पनि सम्भाव्य छ। त्यस्तै, स्वस्थ जीवनशैलीको छनोट, र रक्तचाप र कोलेस्ट्रोलको नियन्त्रणले रोगको प्रगति रोक्नमा मद्दत पुर्याउन सक्ने प्रमाण बढ्दो छ।
तर, व्यापक अनियमितता समय बर्बाद गर्छ, अमूल्य स्रोतहरू चोरी गर्छ र इमानदार वैज्ञानिकहरूको सोचलाई बिगार्छ। यसबीचमा, अल्जाइमरको प्रभावको अचम्मको आकार हरेक वर्ष बढिरहेको छ।
वैज्ञानिकहरूले धोखाधडीको बाटो किन अपनाउँछन ?
यो प्रश्न, “कसरी कुनै वैज्ञानिक धोखाधडीमा लिप्त हुने सोच्छ?“ गहिरो प्रश्न छ। अल्जाइमर रोग चिकित्सा क्षेत्रमा सबैभन्दा जटिल चुनौतीहरूको रूपमा अझै रहन्छ, र यसमा प्रगतिको निरन्तर अभावले गहिरो व्यक्तिगत असफलताको जस्तो महसुस गराउन सक्छ। यस्तो निराशा प्रायः सामान्यतया इमानदार व्यक्तिहरूलाई छविहरूमा हेरफेर गरेर उत्तेजक नतिजाहरू प्रकाशित गर्न प्रेरित गर्न सक्छ। प्रतिष्ठा, प्रसिद्धि र आपतकालीन रूपमा आवश्यक औषधिहरू विकास गर्ने सम्भावित सम्पत्ति — ती मध्ये धेरैले कसम खाएर यो विश्वास गरेका छन् कि यिनले कम वा कुनै वास्तविक फाइदा पुर्याउँदैनन् — ले सचेतनाका साथ सत्यको खोजीमा प्रवेश गरेका धेरैलाई गुमराह गरेको छ। अन्ततः क्यासाभा साइन्सेसका शीर्ष कार्यकारीहरूले लाखौँ डलर तलब र स्टक व्यापार मार्फत कमाएका छन्, यद्यपि सिमुफिलामको असफलताले यस क्षेत्रका धेरै विशेषज्ञहरूले लामो समयदेखि भविष्यवाणी गरेका थिए।
“हामीलाई एक क्षेत्रको रूपमा धेरै मृतअन्त्य पाइएका छन्,” इन्डियाना विश्वविद्यालयकी न्यूरोसायनिकी डोना विलककले बताइन्, उनले ‘अल्जाइमर र डिमेन्सिया’ जर्नलको सम्पादन गर्छिन् । “कसैले आफ्नो इगो र प्रसिद्धिलाई कडा विज्ञानको पालना गर्ने भन्दा अघि राखेका छन्।”
यो परिघटना केवल अल्जाइमर अनुसन्धानमा मात्र सीमित छैन। विज्ञानका व्यापक प्रोत्साहन संरचनाहरू — जहाँ प्रकाशन, अनुदान प्राप्ति र नयाँ खोजहरू प्राप्त गर्ने दबाव अत्यधिक छ — ले इमानदार वैज्ञानिकहरूलाई चकित पार्ने निर्णयहरू गर्न प्रेरित गर्न सक्छ।
कुनै वैज्ञानिकले मस्तिष्कका अंशहरूको अत्यधिक ठूलो चित्रलाई सौन्दर्यपूर्ण बनाउन परिवर्तन गर्दा यो धारा सुरू हुन सक्छ — जो कि जैविक भ्रम र अस्पष्टता स्पष्ट पार्नको लागि “निरापद“ हेरफेर जस्तो देखिन्छ। सुन्दर चित्रहरू प्रकाशकहरूका लागि कागजातको अपील बढाउँछन्। (यो प्रलोभन विशेष गरी प्रकाशन–र–पेरिशको दबावको बीचमा आकर्षक भएको छ, जुन अत्यधिक भएकाले यसले एक “पेड–टु–प्ले“ पेपर मिल उद्योगको जन्म दिएको छ। शेडी कम्पनीहरूले झूटा शैक्षिक कार्यपत्रहरू उत्पादन गर्छन्, त्यसपछि लेखकको स्थान बेच्ने काम गर्छन् जुन विपन्न वा नैतिक रुपमा चुनौती दिइएका प्राज्ञिकलाई बेचिन्छ।)
वैज्ञानिकहरूले सायद एउटा छविमा परिवर्तन गर्न सक्छन् ताकि यसको कमजोर समर्थनलाई प्रयोगात्मक निष्कर्षका लागि बलियो बनाउन सकियोस्। उनीहरूले आफ्नो व्यवहारलाई एक संभाव्य महत्वपूर्ण नतिजालाई मात्र सुधार्नुको रूपमा औचित्य दिन सक्छन्। शैक्षिक जर्नलहरूले बारम्बार यस्ता धोखाधडीहरूलाई नजरअन्दाज गरेको छ या ति धोखाधडीहरूमा धोखा खाएको छ। जो वैज्ञानिकहरू आफ्ना अनुमानहरूमा समर्पित छन्, प्रमाणको बावजुद — वा स्पष्ट रूपले निन्दकहरू — ती वैज्ञानिकहरूले अब ति धोखाधडीलाई अर्को स्तरमा पुर्याउँछन्। तिनीहरूले आफ्ना छविहरूलाई आफ्नो परिकल्पनाहरूलाई मेल खाने तरिकाले परिवर्तन गर्छन् । यो अनैतिक कार्य हो।
अनुदानदाता, जर्नल र शैक्षिक संस्थाहरूको दशकौंको सन्तुष्टि, जसले अनुसन्धानको व्यवस्थापन गर्छन्, यसको अर्थ धेरै थोरै धोखाधडीका मामिलाहरू समातिएका छन्। उदाहरणको लागि, थोरै समिक्षकहरूले कार्यपत्रहरुको वैज्ञानिक गुणस्तर प्रमाणित गर्छन्, छवि हेरफेर जाँच गर्नको लागि दक्षता राख्छन्। वर्षौंको घोटालाहरूको बावजुद, धेरै जर्नल सम्पादकहरूले पनि छविहरूको सत्यापन गर्दैनन्। र थोरै अपराधीहरूलाई ठोस परिणामहरूको सामना गर्नुपर्छ।
त्यसैले, जहाँ पेशेवर पुरस्कारहरू सम्भावित रूपमा ठूला छन्, धेरै वैज्ञानिकहरू, जसमा उच्च स्थान भएका व्यक्तिहरू पनि छन्, जुवा खेल्न जाँदैछन्। उनीहरूले पक्का थाहा पाएका छन् – अनैतिकताको जाँच प्रायः आरोपित अनुसन्धानकर्ताको आफ्नै विश्वविद्यालयद्वारा गरिन्छ, जसले तीव्र, बलियो र खुलेको प्रक्रियामा पिठ्युँ गुमाउने डर राख्छ। यस्ता जाँचहरू — प्रायः महिनौं वा वर्षौंसम्म चल्ने — प्रायः एक प्रशासनिक पर्दाको पछाडि सुरू हुन्छ र समाप्त हुन्छ, सार्वजनिक दृष्टिमा लुकेको हुन्छन् ।
डा. म्याथ्यू श्राग, भ्यान्डरबिल्टका न्यूरोसाइन्टिस्टसँग मैले वैज्ञानिक धोखाधडीका मामिलाहरू पत्ता लगाउन काम गरेको छु, उनले भने अल्जाइमर अनुसन्धानमा धोखाधडीलाई दुर्लभ मान्ने गर्थे, तर त्यसपछि उनले “ग्रहणको अवस्था“ प्रक्रिया पार गरिसकेका छन्।
“यस क्षेत्रको धोखाधडीको प्रतिशत उच्च नहुनु पर्छ, तर यदि यो रणनीतिक रूपमा राखिएको छ भने यसले ठूला समस्याहरू निम्त्याउन सक्छ,“ उनले थपे। “रोगीहरूले मलाई सोध्छन् कि हामी धेरै प्रगति किन गर्न सकिरहेका छैनौं। म उनीहरूलाई निरन्तर भनिरहेको छु कि यो एक जटिल रोग हो। तर अनैतिकता पनि समस्याको एक हिस्सा हो।“
अनैतिकता उजागर गर्नु मार्गदर्शनको लागि पहिलो आवश्यक र पीडादायक कदम हो, वैज्ञानिक अभिलेख सफा गर्न र यस क्षेत्रमा कति धेरै समझौता भएको छ भन्ने कुरा मानिसहरूलाई सचेत गराउन । एउटा भत्किएको प्रणालीलाई सुधार्नु — र प्रभावकारी अल्जाइमर उपचारहरूको खोजीलाई तीव्र बनाउनु — नयाँ सोचको आवश्यकता हुनेछ, जसले शैक्षिक प्रोत्साहन र संस्कृतिको पुनरावलोकन गर्न मद्दत पुर्याउँछ। सुरु गर्नको लागि एउटा स्थानः युवा अनुसन्धानकर्ताहरूलाई नैतिक आचरणलाई विज्ञानको मौलिक आधारको रूपमा मूल्याङ्कन गर्न र तिनीहरूको आलोचनात्मक सोचको क्षमतालाई सुधार्न प्रशिक्षण दिनु। उनीहरूलाई आफ्नो अनुसन्धानको उत्पादनको मात्रामा होइन, गुणस्तरमा आधारित रूपमा अगाडि बढाउनुहोस्।
अल्जाइमर अनुसन्धानको निगरानी गर्ने र यस क्षेत्रमा ठूलो प्रभाव पर्ने सरकारी एजेन्सीहरूले पनि आफ्ना कार्यप्रणालीहरूको पुनरावलोकन गर्ने तत्परता देखाउन आवश्यक छ। नेशनल इन्स्टिच्युट्स अफ हेल्थका अधिकारीहरू, जसको हिस्सा नेशनल इन्स्टिच्युट अफ एइजिङ (एनआइए) हो, मेरो २०२४ को अनुसन्धानको क्रममा डा. मस्लियाहसँग सम्बन्धित सोधिएका प्रश्नहरूको उत्तरमा विश्वास निर्माण गर्न असफल भए। एनआइएचले स्वीकारेको छ कि एजेन्सीले नियमित रूपमा वैज्ञानिकहरूको काम धोखाधडीको लागि जाँच गर्दैन जब उनीहरूलाई काममा राखिन्छ। “यस्तो सक्रिय जाँचले एनआइएच मा अनुसन्धान वातावरण सुधार गर्न मद्दत पुर्याउने कुनै प्रमाण छैन, वा यसको आवश्यकता छैन,“ एजेन्सीका एक प्रवक्ता भन्छन्।
धोखाधडीको बारेमा घमण्ड र आलस्य — जुन अन्य कोषदाता र नियामक, जर्नल र विश्वविद्यालयहरूले साझा गरेका छन् — परिवर्तन गर्नुपर्छ। अल्जाइमर अनुसन्धानले आफ्नो आन्तरिक निगरानी प्रभावकारी तरिकामा गर्न थाल्नु पर्छ। यसको अर्थ जर्नल र कोषदाताहरूले लेख र अनुदान सबमिशनमा सम्पादित छविहरू पत्ता लगाउनको लागि सफ्टवेयर उपकरण र विशेषज्ञहरूमा बढी लगानी गर्नु पर्नेछ, जसले वैज्ञानिक साहित्यलाई प्रदूषित गर्नुअघि तिनीहरूलाई पहिचान गर्न मद्दत पुर्याउँछ। र यसका लागि गम्भीर धोखाधडीको आरोपहरूको समीक्षा अनुसन्धानकर्ताको गृह संस्थान बाहेकका विशेषज्ञहरूको पास गर्न आवश्यक हुनेछ।
यदि यस क्षेत्रका संस्थागत प्राधिकृतहरू कारवाही गर्न असफल भए भने, विज्ञानको स्वयंको संदेह गर्नेहरू, जसमा सम्भाव्य रूपमा ट्रम्प प्रशासनका सदस्यहरू पनि पर्न सक्छन्, त्यसको पालना गर्नेछन्। प्रायः, यसको परिणामस्वरूप अत्यधिक प्रतिक्रिया हुनेछ जसले अस्पष्टता वा निर्दोष मानव त्रुटिलाई धोखाधडीको रूपमा वर्णन गर्नेछ र न्यूरोसाइन्समा के साँच्चिकै महत्वपूर्ण र सत्य रहेको छ भन्ने कुरा बचाउनको लागि आवश्यक विचारशील सम्मान र उचित प्रक्रियालाई बेवास्ता गर्नेछ। यसले सबैलाई नयाँ संकटमा पर्न बाध्य पार्नेछ, जसले बुढो हुन चाहनेछ।
द न्यूयोर्क टाइम्स, जनवरी २४, २०२५ बाट
पिलर साइन्स का अन्वेषणात्मक पत्रकार हुन्। यो निबन्ध उनको आउँदो पुस्तक,“Doctored: Fraud, Arrogance, and Tragedy in the Quest to Cure Alzheimer’s बाट लिइएको हो ।
प्रतिक्रिया दिनुहोस्