यो हप्ता चिनियाँहरूले कृत्रिम बुद्धिमत्तामा अविश्वसनीय प्रगति गर्दै भने अमेरिकीहरूले मानवीय मुर्खतामा अविश्वसनीय प्रगति गरे। माफ गर्नुहोस्, तर ट्रम्प प्रशासनले गत हप्तामा देखाएको व्यवहारलाई हेर्दा एक शब्दमा भन्नुपर्दाः मुर्खता ।
मैले भन्न खोज्दै छैन कि ट्रम्प प्रशासनका सदस्यहरू बुद्धिहीन छन्। हामी सबैले उच्च आइक्यू भएका व्यक्तिहरू देखेका छौं, जसले ढुंगो जत्तिकै मुर्खतापूर्ण व्यवहार गर्छन्। मलाई विश्वास छैन कि मुर्ख व्यक्तिहरूले मात्र मुर्खतापूर्ण व्यवहारहरू गर्छन् । इटालियन इतिहासकार कार्लो सिपोल्लाले भनेजस्तैः ‘कुनै व्यक्ति मुर्ख हुने सम्भावना उसको अन्य कुनै पनि विशेषताहरूबाट स्वतन्त्र हुन्छ।’
र म यो पनि भन्न खोज्दै छैन कि डोनाल्ड ट्रम्पका समर्थकहरू अरूभन्दा कम बुद्धिमान छन्। वर्षौंदेखि मैले देखेको छु धेरै उच्चवर्गीय डेमोक्र्याटहरू बौद्धिक विविधतालाई घृणा गर्छन्। जब उनीहरूसँग कुनै प्रणाली (शैक्षिक संस्था, मुख्यधाराका मिडिया, गैर–नाफमूलक संस्था, वा नागरिक सेवा जस्तै) मा शक्ति हुन्छ, तिनीहरूले एक ढुलमुले रूढीवाद थोपर्छन् जसले समाजलाई नीरस, कृत्रिम, र संकीर्ण बनाउँछ। यदि रिपब्लिकनहरू यसलाई चुनौती दिन चाहन्छन् भने, मेरो भनाइ छः जाऊ, गर !
मेरो परिभाषामा, मुर्खता भनेको ‘अर्को के हुनेछ ?’ भन्ने प्रश्नलाई बेवास्ता गरेर काम गर्नु हो। यदि कसैले तपाईंलाई भन्छ, ‘म बिजुली चम्किँदा तामाको एन्टेना टाउकोमा राखेर हाइक जाने सोचिरहेको छु,’ मुर्खताले जवाफ दिन्छ: ‘त्यो त अत्यन्तै राम्रो विचार हो!’ मुर्खता भनेको आफ्नो र आफ्नो वरिपरिका मानिसहरूलाई नोक्सान पुथ्याउने कार्य गर्ने प्रवृत्ति हो।
यस हप्ता ट्रम्प प्रशासनले मुर्खताको बाढी नै ल्यायो । उनीहरूले क्यानडा र मेक्सिकोमा विनाशकारी ट्यारिफ लगाउने धम्की दोहोर्याए, जसले अमेरिकामा मुद्रास्फीति बढाउनेछ। उनीहरूले सरकारी कर्मचारीहरूको व्यापक शुद्धीकरण गर्ने प्रयास गरे, तर सरकारले यसले कार्यप्रणालीलाई कसरी असर गर्छ भन्ने प्रश्न गरेन। तर म एक अन्य घटनामा केन्द्रित हुन चाहन्छुः सहयोग कार्यक्रममा संघीय खर्च फ्रिज गर्ने प्रयास र ट्रम्पले पछि पल्टी मार्ने निर्णय गर्दै फिर्ता लिनु।
खर्च फ्रिज गर्ने घोषणामा, ट्रम्प प्रशासनले स्पष्ट लक्ष्य राख्यो—डाइभर्सिटी, इक्विटी, र इन्क्लुजन जस्ता कार्यक्रमहरू (जसलाई ट्रम्पले अस्वीकार गर्छन्) लाई विधिबाटै बञ्चित गर्ने। सावधानीपूर्वक काम गर्ने प्रशासनले आफूले विरोध गरेका कार्यक्रमहरू छानेर ‘रिसिसन अथोरिटी’ (निधि रद्द गर्ने प्रक्रिया) प्रयोग गर्न सक्थ्यो। तर ट्रम्प प्रशासनले संघीय खर्चको ३ ट्रिलियन डलरभन्दा बढी रकम रोक्का गर्ने अस्पष्ट, अधुरो निर्णय गर्यो। यसले एनआईएचमा क्यान्सर उपचारमा संलग्न बिरामीहरू, हेड स्टार्ट कार्यक्रमका प्रशासकहरू, र राज्य तथा सहरहरू (पुलिस, स्कूल, पोषण कार्यक्रम, राजमार्ग मर्मत जस्ता आधारभूत सेवाहरूको लागि खर्च) लाई अनिश्चिततामा छाड्यो।
ट्रम्पको यो नीति झाडापखाला लाग्दा मुटु काट्ने जस्तो थियो। कसैले पनि सोधेनः ‘यदि हामीले सबै अनुदान रोक्का गर्यौं भने त्यसपछि अर्को के हुनेछ?’ जब यस मुर्खताको नकारात्मक प्रभाव स्पष्ट भयो, ट्रम्पले निर्णय फिर्ता लिए। यही हो मेरो ठूलो भविष्यवाणीः यो प्रशासनले मुर्खतापूर्ण नीतिहरू बनाउँदै जानेछ, र जब तिनीहरूको असर ट्रम्पको लोकप्रियतामा पर्न थाल्छ, उनी फेरि नीति परिवर्तन, कमजोर वा त्याग्नेछन् । उनले कुनै पनि विचारलाई भन्दा आफ्नो लोकप्रियतालाई माया गर्छन्।
अर्को चार वर्षसम्म हामीले मुर्खताको बारेमा धेरै कुरा सिक्नुपर्ने छ। मैले अहिलेसम्म सिकेका कुराहरूलाई यसरी ६ सिद्धान्तमा संक्षेप गरेको छुः
सिद्धान्त १ः विचारधाराले मतभेद उत्पन्न गर्छ, तर मुर्खताले भ्रम पैदा गर्छ। यस हप्ता, अमेरिकाभरका संस्थाहरूले ‘यो के भइरहेको छ?’ भनेर खोज्न केही दिन विताए। यस्तो हुन्छ जब सरकारले २ पृष्ठको अस्पष्ट मेमो (इन्टर्नले लेखेको जस्तो) मार्फत ३ ट्रिलियन डलर रोक्का गर्छ। साहित्यका प्राध्यापक प्याट्रिक मोरियोले भनेजस्तैः ‘मुर्खताको शासनमा शब्दहरू वास्तविकताबाट टुक्रिन्छन्।’
सिद्धान्त २ः मुर्खता प्रायः व्यक्तिहरूमा होइन, संस्थाहरूमा हुन्छ। जब तपाईंले एउटा संस्था बनाउनुहुन्छ जहाँ एक जनाले सबै शक्ति राख्छन् र अरूले उनक पूर्वधारणाहरूमा चाप्लुसी गर्छन्, तब मुर्खता निश्चित रूपमा उत्पन्न हुन्छ। जर्मन धर्मशास्त्री डिएट्रिच बोनहोफरले भनेजस्तैः ‘एकजनाको शक्तिलाई अर्काको मुर्खताको आवश्यकता हुन्छ।’
सिद्धान्त ३ः मुर्खतापूर्ण व्यवहार गर्ने व्यक्तिहरू दुर्भावनापूर्ण व्यवहार गर्नेभन्दा बढी खतरनाक हुन्छन्। दुष्ट व्यक्तिहरू आफ्नो स्वार्थ बुझ्छन्, जसले तिनीहरूलाई नियन्त्रण गर्न सक्छ। तर मुर्खताले निरंकुश साहस गर्छ, मुर्खतासँग सबै उत्तरहरू पहिल्यै तयार हुन्छन् ।।
सिद्धान्त ४ः मुर्खतापूर्ण कार्य गर्ने व्यक्तिहरू आफ्नो कार्यको मुर्खता बुझ्दैनन्। ‘डनिंग–क्रुगर प्रभाव'(अक्षम व्यक्तिले आफ्नो अक्षमता बुझ्न सक्दैन) लाई ‘हेगसेथ–गबार्ड परिणाम’ सँग जोड्न सकिन्छः ट्रम्प प्रशासनले विशेषज्ञता भएका सरकारी कर्मचारीहरूलाई हटाएर मागाप्रति निष्ठावान तर अनुभवहीन व्यक्तिहरू राख्न खोजेको छ। तर यसले मागा समूहले आशा गरेजस्तो नतिजा दिनेछैन।
सिद्धान्त ५ः मुर्खतालाई विरोध गर्न लगभग असम्भव हुन्छ। बोनहोफरले भनेजस्तैः ‘मुर्खताविरुद्ध हामी हतियारविहीन छौं।’ किनभने मुर्खतापूर्ण कार्यहरू कुनै तर्कमा आधारित हुँदैनन्, यिनीहरू सधैं आकस्मिक रूपमा आउँछन्। तर्कसंगत कुराहरू बहिरा कानमा पर्छन्। प्रमाणलाई बेवास्ता गरिन्छ। तथ्यहरू अप्रासंगिक ठहरिन्छन्। बोनहोफरले यसलाई थप भनेका छन्ः ‘मुर्ख व्यक्ति दुर्भावनापूर्ण व्यक्तिभन्दा फरक हुन्छन्—उनीहरू आत्ममुग्ध हुन्छन् र चिढिँदै आक्रमक हुँदै खतरनाक बन्छन्।’
सिद्धान्त ६ः मुर्खताको विपरीत बुद्धिमत्ता होइन, तर्कसंगतता हो। मनोवैज्ञानिक कीथ स्ट्यानोभिचको परिभाषामा, तर्कसंगतता भनेको लक्ष्य प्राप्त गर्न सहयोगी निर्णय गर्ने क्षमता हो। पपुलिस्ट मनस्थितिका व्यक्तिहरूले अनुभव, सावधानी, र विशेषज्ञतालाई घृणा गर्छन्—जुन तर्कसंगतताको आधार हो। यसले तिनीहरूलाई कुनै पनि कुरा (षड्यन्त्र सिद्धान्त, लोककथाहरू, इन्टरनेटका मिथ्या विश्वास, वा ‘भ्याक्सिनले बच्चालाई नोक्सान पुर्याउँछ’ जस्ता भ्रम) मात्र विश्वास गर्न उत्साहित गर्छ। तिनीहरू विचारको संरचनाभित्र होइन, पूर्वाग्रहहरूको अराजक नृत्यभित्र बस्छन्।
समय बित्दै जाँदा, मैले पपुलिष्टहरूको लक्ष्यप्रति सहानुभूति बढाउँदै गएको छु। अमेरिकाको नेतृत्व वर्गले पछिल्ला पुस्ताहरूमा देशको ठूलो जनसमूहलाई उपेक्षा, अस्वीकार, र अपमान गर्दै आएको छ। यस्तो व्यवहार भयानक हो। तर यो अझ नराम्रो हुन्छ जब तपाईंले अन्ततः शक्ति प्राप्त गर्नुहुन्छ र आफैंमाथि र वरिपरिका सबैमाथि आक्रमण सुरु गर्नुहुन्छ। वास्तवमा, यो मुर्खता नै हो।
द न्यूयोर्क टाइम्स, जनवरी ३०, २०२५ प्रकाशित यो लेखको भावानुवाद गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्