राष्ट्रपति ट्रम्पको दोस्रो कार्यकालका पहिलो दुई साता र आधा समयलाई छुट्टाछुट्टै संवैधानिक र कानूनी संकटहरूको श्रृंखला मात्र ठान्नु गल्ती हुनेछ। यो एउटै संकट हो, जसका धेरै रूपहरू छन्। ट्रम्पको दोस्रो कार्यकाललाई कानूनी हाइड्रासँग तुलना गर्न सकिन्छ, जसमा संविधानका रक्षकहरूले एउटै शरीरका धेरै टाउकाहरूको सामना गरिरहेका छन्, र ती टाउकाहरू संयोजनमा काम गरिरहेका छन्।

ट्रम्प केवल आदेश जारी गरेर नीति लागू गरिरहेका छैनन्, उनले संवैधानिक क्रान्ति सुरू गर्दै छन् । यसको उद्देश्य अमेरिकी राष्ट्रपतिको स्वरूपलाई नै परिवर्तन गर्नु हो।
ट्रम्पको जन्मसिद्ध नागरिकताको अधिकार अन्त्य गर्ने असंवैधानिक प्रयासले अमेरिकी कार्यकारी सत्ताका सीमाहरूलाई पुनर्परिभाषित गर्ने प्रयासभन्दा फरक कानूनी प्रश्नहरू उठाउँछ, तर यी दुवै समान संवैधानिक अभिप्रेरणामा आधारित छन्।
यस्तै, गाजामा कब्जा जमाउने र लाखौं गाजावासीहरूलाई बलपूर्वक स्थायी रूपमा विस्थापन गर्ने उनको प्रस्तावले फरक कानूनी सिद्धान्तहरूलाई उधारो पनि ल्याएको छ । (यो अन्तर्राष्ट्रिय कानुनअनुसार मानवताविरोधी अपराध ठहरिनेछ, उदाहरणका लागि), तर यसको उत्पत्ति पनि उही प्रवृत्तिबाट भएको हो, चाहे ट्रम्प प्रशासनका अन्य सदस्यहरूले अहिले यसलाई मत्थर पार्ने प्रयास गरिरहेका किन नहुन्।
त्यसैगरी, संघीय सरकारमा इलन मस्कको भूमिकादेखि लिएर कांग्रेसले स्वीकृत गरेको बजेट रोक्ने वा कार्यकारी निकायहरू विघटन गर्ने असाधारण प्रयासहरू पनि यही संवैधानिक क्रान्तिसँग सम्बन्धित छन्।
ट्रम्पको भन्सार अधिकार विस्तार गर्ने र कांग्रेसले परिकल्पना गरेभन्दा बाहिर गएर व्यापारसम्बन्धी कानुन लागू गर्ने प्रयास पनि त्यही संवैधानिक रणनीतिभित्र पर्छ।
उनको प्रशासनमा नियुक्त भइरहेका धेरै व्यक्तिहरूको निच र प्रतिशोधी स्वभाव समेत यस संवैधानिक क्रान्तिसँग जोडिएको छ। ट्रम्पलाई यस्ता मानिसहरू चाहिन्छन्, जो केवल कानूनी र नैतिक सीमाहरू उल्लंघन गर्न मात्र इच्छुक नभएर त्यसमा खुशी पनि हुनेछन्।
उदाहरणका लागि, विदेशमन्त्री मार्को रुबियोले सार्वजनिक कूटनीतिका लागि कार्यवाहक उपविदेशमन्त्रीको रूपमा ड्यारेन बिट्टीलाई नियुक्त गरेका छन्। बिट्टी खुलेआम जातीय भेदभावको घृणित इतिहास बोकेका व्यक्ति हुन्। जनवरी ६, २०२१ मा उनले धेरैजसो अश्वेत सांसदहरू र सार्वजनिक व्यक्तित्वहरूलाई ट्वीट गर्दै “आफ्नो ठाउँ सिक्न” र “मागा अघि घुँडा टेक्न” आदेश दिएका थिए।

अक्टोबरमा उनले एक्स(ट्विटर) मा लेखेका थिए, “यदि तपाईं कुनै काम सही रूपमा गर्न चाहनुहुन्छ भने, सक्षम गोरा पुरुषहरू नेतृत्वमा हुनुपर्छ। दुर्भाग्यवश, हाम्रो सम्पूर्ण राष्ट्रिय विचारधारा महिलाहरू र अल्पसंख्यकहरूको भावनालाई सन्तुष्ट पार्नमा केन्द्रित छ, जसले सक्षम गोरा पुरुषहरूलाई हतोत्साहित गरिरहेको छ।”
यदि तपाईं समाचारलाई ध्यानपूर्वक पछ्याउनुहुन्छ भने, यहाँ उल्लिखित घटनाहरू अपूर्ण मात्र छन् भन्ने बुझ्नसक्नुहुन्छ ट्रम्पका अनगिन्ती असंवैधानिक, गैरकानुनी वा अनैतिक गतिविधिहरूको लेखाजोखा राख्न महिनौं समय लाग्न सक्छ।
यी विषयहरूलाई छुट्टाछुट्टै रूपमा विश्लेषण गर्नु महत्वपूर्ण हुन्छ। प्रत्येक मामिला अमेरिकी कानुनका भिन्न आयामहरूसँग सम्बन्धित हुनेछ। तर हामीले बृक्षको कारण जङ्गल देख्न छोड्नु हुँदैन। जब राष्ट्रपतिको भूमिकामै प्रश्न उठ्छ, अमेरिकी संविधानकै अस्तित्व संकटमा पर्छ।
इतिहास विजेताहरूले लेख्छन् भन्ने भनाइ प्रचलित छ, तर कहिलेकाहीं पराजितहरूले भनेका कुरा पनि सुन्न आवश्यक हुन्छ। अधिकांश अमेरिकीहरूले ‘फेडेरलिस्ट पेपर्स’ को बारेमा अध्ययन गर्छन्— एलेक्जेन्डर ह्यामिल्टन, जेम्स म्याडिसन र जोन जे द्वारा लेखिएका ती निबन्धहरू, जसले संविधान अनुमोदनको पक्षमा तर्क प्रस्तुत गरे।
तर फेडेरलिस्टहरू मात्र सार्वजनिक बहसमा सहभागी थिएनन्। उनीहरूका विपक्षमा एन्टि–फेडेरलिस्टहरू थिए, जसले संविधानले संघीय सरकारलाई अत्यधिक शक्ति दिने विश्वास गर्थे र मूल संविधानमा अधिकारपत्र (विल अफ राइट्स) नभएकोमा चिन्तित थिए।

पूरै पराजित भएको भन्नु एन्टि–फेडेरलिस्टहरूका लागि अन्याय हुनेछ। आखिर, अमेरिकाले संविधान अनुमोदन गरेको तीन वर्षपछि अधिकारपत्र पारित गर्यो। तर उनीहरू संविधानकै मूलभूत स्वरूपविरुद्धको बहसमा पराजित भए।
म त्यो पुरानो बहस दोहोर्याउन चाहन्नँ। म अझै पनि फेडेरलिस्टहरूको पक्षमा छु (संविधान, ‘आर्टिकल्स अफ कन्फेडेरेसन’ भन्दा निकै सुधारिएको थियो), तर एउटा गुमनाम एन्टि–फेडेरलिस्ट, जसले आफूलाई ‘एन ओल्ड व्हिग’ को रूपमा चिनाए, आज पनि हामीलाई केही सन्देश दिन सक्छन्।
नोभेम्बर १, १७८७ मा प्रकाशित उनको एक निबन्धमा उनले अधिकारपत्रको लागि जोडदार माग गरे, तर साथसाथै राष्ट्रपति पदको खतराबारे एक गहिरो चेतावनी दिंदै लेखेका थिएः
“संयुक्त राज्यको राष्ट्रपति पदलाई म यति शक्तिशाली देख्छु कि यो नै खतरनाक छ। सम्मान प्रदान गर्ने एकमात्र स्रोत, सेनाको सर्वोच्च कमान्डर, सन्धि गर्ने, क्षमा दिने अधिकार हुने, र यदि दुई–तिहाइ सांसदहरूले कुनै कानुन अनुमोदन गर्न अडान लिएनन् भने, त्यसलाई रोक्न सक्ने क्षमता राख्ने पद वास्तवमा राजाको जस्तै हो। ब्रिटेनको राजासरह, र झनै खतरनाक प्रकारको— निर्वाचित राजा।”
एन ओल्ड व्हिगले आफ्ना भनाइहरू केही बढाइचढाइ गरेर लेखेका थिए । संविधानले राष्ट्रपतिलाई ठुलो शक्ति दिए पनि, ब्रिटेनका राजा वा झन् शक्तिशाली फ्रान्सका राजाजस्तो बनाएको थिएन। तर उनले उठाएको मूल बुँदा एकदम सही थियो— अमेरिकी संविधानले राष्ट्रपतिलाई यति धेरै शक्ति प्रदान गर्यो कि यदि कुनै अनैतिक व्यक्ति ओभल अफिस (राष्ट्रपति कार्यालय) मा पुग्यो भने देशमा अभूतपूर्व संकट उत्पन्न हुन सक्छ।
आजका दिनमा यो चेतावनी सामान्य जस्तो लाग्न सक्छ। राष्ट्रपतिका शक्तिहरूको विस्तारले अमेरिकी लोकतन्त्रमा पहिले नै तनाव उत्पन्न गरिसकेको छ। तर जहाँ अघिल्ला राष्ट्रपतिहरू अधिकार विस्तारको सानो पाइला चाल्थे, ट्रम्प भने दौडिरहेका छन्— राष्ट्रपतिका शक्तिहरू विस्तार गर्ने क्रम अब साना साना चरणहरूमा सीमित छैन।
एन ओल्ड व्हिगको अर्को महत्वपूर्ण तर्क थियो— निर्वाचित निरंकुशताको अद्वितीय खतरा। यदि राष्ट्रपति अत्यधिक शक्तिशाली भए, प्रत्येक चुनाव झन्डै पूरै गणतन्त्रको नियन्त्रणको लागि लडाइँ बन्नेछ। यसले चुनावी प्रतिस्पर्धाको जोखिमलाई असह्य बनाउँछ र अन्ततः लोकतन्त्रलाई त्याग्ने प्रलोभनलाई असह्य बनाउँछ।
एन ओल्ड व्हिगको चिन्ताको प्रारम्भिक अमेरिकी जवाफ दुई कुरामा केन्द्रित थियो— एक व्यक्ति र एक संस्था।
व्यक्ति थिए – जर्ज वासिङ्टन।
संस्था थियो – कांग्रेस।
वासिङ्टनको भूमिका केवल कार्यकारी शाखा सञ्चालन गर्ने मात्र थिएन, उनले एउटा नजीर (प्रिसिडेन्ट) सिर्जना गर्नुपथ्र्यो। उनको मर्यादा र संयम (विशेषगरी दुई कार्यकालपछि स्वेच्छिक रूपमा सत्ताबाट बाहिरिने निर्णय) ले मात्र एउटा परम्परा स्थापित गरेन, उनले एउटा ‘सम्मान संहिता’ (अनर कोड) पनि निर्माण गरे।

धेरै अमेरिकी राष्ट्रपतिहरूले आफ्नो अधिकारलाई केही हदसम्म पर सार्ने प्रयास गरेका छन्, तर गृहयुद्ध वा विश्वयुद्ध बाहेक कुनै पनि अमेरिकी राष्ट्रपतिले आफ्नो शक्तिको सीमा यति पूर्ण रूपमा यति धेरै टाढा धकेलेको थिएन।
रिचर्ड निक्सनलाई ट्रम्प अघि सबैभन्दा भ्रष्ट राष्ट्रपति मानिन्थ्यो, तर उनले आफ्ना गैरकानुनी कामहरू गुपचुप रूपमा गरेका थिए। उनलाई थाहा थियो कि यदि उनका काम सार्वजनिक भए भने, उनले ठूलो मूल्य चुकाउनु पर्छ।
तर ट्रम्प फरक छन्। उनी खुल्ला रूपमा चुनौती दिन्छन्। उनीसँग न सम्मान छ, न संयमता। उनमा केवल शक्ति लिप्सा छ।
संस्थागत रूपमा राष्ट्रपतिलाई नियन्त्रण गर्ने शक्ति न्यायपालिका, कांग्रेस र संसदसँग छ। तर, जब आफ्नै पार्टीका सांसदहरूले राष्ट्रपतिलाई रोक्न चाहँदैनन्, तब गणतन्त्र संकटमा पर्छ। यदि हिंसात्मक राज्य कू (जस्तै ६ जनवरीको क्यापिटल आक्रमण) लाई पनि महाभियोगको आधार मानिँदैन भने, अर्को के आधार हुन सक्छ?
निक्सनको उदाहरण फेरि हेर्ने हो भने, उनले आफ्नै पार्टीका नेताहरूले साथ छाडेपछि राजीनामा दिए। उनी द्विदलीय महाभियोग र हटाउने प्रक्रिया सामना गर्न बाध्य थिए। तर ट्रम्प त्यस्तो अवस्थामा छैनन्।
अन्तिम संवैधानिक रक्षक—न्यायपालिका मात्र बाँकी छ। म्यारबुरी बनाम् मेडिसन मुद्दाले जुडिसियल रिभ्यूको सिद्धान्त स्थापित गर्यो, जसअनुसार सर्वोच्च अदालतले असंवैधानिक कानून वा कार्य खारेज गर्न सक्छ।
तर अहिलेको अवस्थामा यो पनि संकटमा पर्न सक्छ। संविधानविद्हरू ज्याक गोल्डस्मिथ र बब बउर ले चेतावनी दिएका छन्ः ट्रम्पले आफ्नो कार्यकारी आदेशहरूद्वारा सर्वोच्च अदालतलाई धम्क्याउने रणनीति अवलम्बन गरिरहेका छन्।
उनले आफ्ना समर्थकहरूको मनोविज्ञानमा अन्तिम लक्ष्य नै मुख्य हो(इन्डस् जस्टिफाइ द मिन्स), जसका लागि कुनै पनि साधन उचित हुन्छ भन्ने अवधारणालाई गहिरोसँग स्थापित गरिसकेका छन्।
यदि न्यायपालिकाले पनि हार मान्यो भने, अमेरिकामा गणतन्त्र समाप्त हुने खतरा रहन्छ।
यो लडाइँ केवल कानुनी छैन—यो अमेरिका कस्तो बन्नेछ भन्ने बहसको लडाइँ हो।
निश्चय नै ट्रम्पवादको त्यो पक्ष अझै जीवित छ। यो राजनीतिमा सर्वव्यापी प्रलोभन हो र लगभग हरेक लोकप्रियतावादी आन्दोलनको अभिन्न तत्व हो। तर अब मलाई लाग्न थालेको छ ः यहाँ साधन नै उद्देश्य बन्दैछ। अरू शब्दमा भन्नुपर्दा, उनले संवैधानिक संरचना तोडेर ठोस नीतिगत लक्ष्यहरू प्राप्त गर्न खोजिरहेका छैनन्; संवैधानिक संरचना भत्काउनु नै नीति उद्देश्य हो।
सन् २०१९ मा प्रकाशित आफ्नो पुस्तक द कन्जरभेटिभ सेन्सिविलीटीमा जर्ज विल लेख्छन्, “संरक्षणवादका लागि उचित प्रश्न यो होः तपाईं के संरक्षण गर्न चाहनुहुन्छ? यसको उचित उत्तर संक्षिप्त तर भ्रामक रूपमा सरल छः हामी अमेरिकी स्थापनाको संरक्षण गर्न चाहन्छौं।”
म आशा गर्दछु कि लेखमा गरिएको तर्क गलत होस्—हामीले अमेरिकी स्थापनामाथि सीधा आक्रमण देखिरहेका छैनौं, बरु लोकप्रियतावादी अक्षमताको एक अव्यवस्थित विस्फोट देखिरहेका छौं। म आशा गर्दछु कि ट्रम्पले आफ्नो पहिलो कार्यकालको अधिकांश समयमा गरेझैं सर्वोच्च अदालतलाई मानेर अघि बढ्नुहुनेछ, जसले आधुनिक इतिहासमा कुनै पनि राष्ट्रपतिभन्दा बढी उनका कानुनी तर्कहरू अस्वीकार गरिएको थियो।
तर आशा रणनीति होइन। जब राष्ट्रपतिको निकटतम सहयोगीहरूले २०० वर्ष पुराना परम्परा र कानुनी संरचनाहरू “उल्टाउने” घोषणा गर्छन्, र जब राष्ट्रपतिको आचरण पूर्ण रूपमा त्यही चरमपन्थी लक्ष्यसँग मेल खान्छ, त्यतिबेला सामान्य राजनीतिक परिप्रेक्ष्यबाट सोच्नु मूर्खतापूर्ण हुन्छ। ट्रम्पका गतिविधिलाई नियुक्ति पछिका नियुक्ति वा कार्यकारी आदेश पछिका कार्यकारी आदेशको मूल्यांकन गर्नु व्यर्थ छ।
सामुन्ने स्पष्ट बाटो छैन। कुनै चार–बुँदे योजना छैन जसले यस संकटलाई अन्त्य गर्छ, तर कुनै पनि प्रभावकारी प्रतिकारका लागि खतरा कति ठूलो छ भन्ने बुझ्नु आवश्यक छ। हाम्रो राष्ट्रिय संकटको गाम्भीर्य स्पष्ट छ—यदि अमेरिकीहरूले यसलाई देख्न चाहे भने।
केही अन्य कामहरू
आईतबार मैले एफ.बी.आई. निर्देशकको रूपमा काश पटेलको मनोनयनबारे लेखेँ। उनी नैतिक र व्यावसायिक रूपमा अनुपयुक्त छन्, तर यसभन्दा गम्भीर कुरा के छ भने—उनी ट्रम्पको प्रतिव्यवस्थामा मिसिनको एक महत्ववपूर्ण हिस्सा बनेका छन् ।
काश पटेलका घोटाला र अतिवादी विचारहरूको सूची मात्र प्रस्तुत गर्दा समस्या रहन्छः ती कुराहरूले वास्तवमा उनले अमेरिकी कानूनी प्रणाली र न्याय प्रणालीमा ल्याउन सक्ने खतराको मापन गर्न सक्दैनन्। उन कुनै साधारण सार्वजनिक अधिकारी होइनन्। उनी अमेरिकी सरकारको सबैभन्दा शक्तिशाली कार्यालयहरूमध्ये एक सम्हाल्ने तयारीमा छन्, र उनी एक्लै काम गर्दैनन् ।
वास्तवमा, पटेलप्रति धेरै अमेरिकीहरूलाई त्रसित पार्ने र चिन्तित तुल्याउने कुराहरू नै ट्रम्प समर्थकहरूलाई उनीप्रति आकर्षित गर्ने कारक हुन्। ट्रम्प आन्दोलनका सदस्यहरूले माथि उल्लिखित सूची पढ्नेछन् र हरेक बुँदामा ताली बजाउनेछन्। यही कारण पटेल मागा आन्दोलनका लागि नायक भएका छन्, र यही कारण उनी ट्रम्पको ह्वाइट हाउसको संस्कृतिमा सजिलै घुलमिल हुन सक्नछन् ।
रिपब्लिकन सिनेटरहरूले यो क्षणलाई वास्तविक रूपमा बुझ्नुपर्छ—संविधानको भूमिका कायम राख्न आवश्यक साहस देखाउने अवसरका रूपमा।
रिपब्लिकन सिनेटरहरू संवैधानिक परम्पराका उत्तराधिकारी हुन्, जसअनुसार उनीहरूले आफ्नो स्वतन्त्र निर्णय लिनुपर्छ। राष्ट्रपतिको शक्तिलाई नियन्त्रण गर्नुपर्छ, विशेष गरी आफ्नो पार्टीकै राष्ट्रपतिलाई।
काश पटेलको पक्षमा कुनै तर्क छैन। यदि उनी केवल ट्रम्पप्रति अन्धभक्त र अनुगामी मात्र हुन्थे भने पनि यो समस्या हुने थियो। तर उनी त आक्रामक रूपमा अनुगामी छन् । उनी ट्रम्पका शत्रुहरूको शिकार गर्न चाहन्छन् ।
जो कुनै पनि रिपब्लिकन सिनेटरले काश पटेलको पक्षमा मतदान गर्छ, उसले आफ्नो संवैधानिक जिम्मेवारी त्यागेको ठहर्नेछ। र केका लागि? एउटा शक्तिहीन धम्कीबाज राष्ट्रपतिलाई खुसी पार्नका लागि? प्राथमिक चुनावमा आफ्ना दक्षिणपन्थी प्रतिस्पर्धीहरूबाट जोगिनका लागि? हाम्रो संवैधानिक गणतन्त्र निर्माण गर्न ठूलो साहस आवश्यक परेको थियो, र अहिले विशाल कायरताले हाम्रो न्याय प्रणालीलाई संकटमा पार्दैछ।
फेब्रुअरी ६, २०२५,द न्यूयोर्क टाइम्समा प्रकाशति लेखको भावानुवाद ।
प्रतिक्रिया दिनुहोस्