क्यारोलिन लेविटको तीव्र उन्नति ह्वाइट हाउससम्मको यात्रामा उनको असाधारण क्षमता र परम्परागत मिडियासँगको टकराव झल्काउँछ।
डोनाल्ड ट्रम्पको संसारमा अघि बढ्न वफादारी आवश्यक पर्छ। र शनिबार, जुलाई १३ मा, क्यारोलिन लेविटले असामान्य रूपमा प्रमाणित गरिन् ।

तस्वीरः क्यारोलिन लेविट, इतिहासकै कान्छी ह्वाइट हाउस प्रेस सचिव।

उनको भनाइअनुसार, ट्रम्पको त्यतिबेला चुनावी अभियान प्रवक्ताका रूपमा रहेकी लेविटले आफ्नो ३ दिनको नवजात छोरालाई अस्पतालबाट घर ल्याएको केही समयमै टेलिभिजन गर्दा बट्लर, पेन्सिल्भेनियामा भएको ट्रम्पको चुनावी सभा हेरिरहेकी थिइन् ।

त्यही सभामा एक आक्रमणकारीको गोली ट्रम्पको कानमा लाग्यो। लेविटका अनुसार, यो घटना भएलगत्तै उनले र उनको श्रीमानले निर्णय गरे— उनले आफ्नो सुत्केरी बिदाको योजना रद्द गर्नेछिन् र चार दिनपछि नै काममा फर्किनेछिन्।
“राष्ट्रपतिले यो चुनाव जित्नका लागि आफ्नो जीवन नै जोखिमा राख्नुभयो,“ उनले पछि कन्जर्भेटर नामक रूढिवादी नारी ब्लगसँग भनेकी थिइन्“मैले गर्न सक्ने न्यूनतम कुरा भनेको चाँडै काममा फर्किनु हो।“

यो समर्पणको इशाराले नै ट्रम्पले लेविटलाई इतिहासकै सबैभन्दा कान्छी ह्वाइट हाउस प्रेस सचिव बनाउने एउटा कारण हो—तर, एक मात्र कारण होइन।
२७ वर्षीय लेविटको पहिलो दुई हप्ताले उनको असाधारण प्रतिभा देखाएको छ, साथै उनका हाकिमका अतिरञ्जनाहरूलाई बल प्रदान गर्ने प्रवृत्ति पनि देखाएको छ। ट्रम्प उनलाई मन पराउँछन् भन्ने गरिन्छ, र हालैको एक ह्वाइट हाउस कार्यक्रममा उनले “एउटा नयाँ स्टार जन्मिएको छ“ भन्ने घोषणा गरे। तर ट्रम्पको पहिलो कार्यकालमा चार जना प्रेस सचिव परिवर्तन भइसकेको हुँदा, यो सम्बन्ध कति लामो टिक्छ भन्ने ग्यारेन्टी छैन।

लेविटले ह्वाइट हाउस प्रेस सचिवको रूपमा रेकर्ड इतिहास बनाएकी छिन्।
लेविट तीक्ष्ण र जोशीली छिन्, र विभिन्न विषयहरूका प्रश्नहरूको जवाफ दिन नोट वा ब्रिफिङ डायरी बिना नै तयार हुन्छिन्। विशेष गरी तथाकथित “लीगेसी मिडिया“ (जसलाई धेरै ट्रम्प समर्थकहरूले घृणा गर्छन्) सँग उनको व्यवहार कडा देखि ठाडै अवज्ञासम्म पुग्न सक्छ।
“त्यसोभए तपाईं त्यस्ता कार्यक्रमहरूमाथि अनुमान गरिरहनुभएको छ जुन तपाईं आफैंले चिन्न सक्नुहुन्न?“ उनले एक पत्रकारको प्रश्नलाई खारेज गर्दै भनिन्।
लेविटले आफ्नो पहिलो प्रेस ब्रिफिङ सुरु गर्दै पत्रकारहरूलाई जानकारी दिइन्ः अब ब्रिफिङ रूममा टिकटकर्स, प्रभावशाली व्यक्तित्वहरू, र अन्य “समाचार–सम्बन्धित सामग्री“ सिर्जना गर्नेहरूका लागि पनि ठाउँ दिनुपर्नेछ।
उनले अर्को चेतावनी पनि थियो : “यदि हामीले तपाईंको रिपोर्टिङ गलत ठान्यौं वा ह्वाइट हाउसबारे कुनै गलत सूचना फैलिएको देख्यौं भने, हामी त्यसलाई सार्वजनिक रूपमा प्रकट गर्नेछौं।“
केही दिनमै, ह्वाइट हाउसले एसोसिएटेड प्रेस (एपी) का पत्रकारहरूलाई विभिन्न कार्यक्रमहरूमा भाग लिन प्रतिबन्ध लगायो। त्यसको कारण थियो— उक्त सञ्चारमाध्यमले ‘गल्फ अफ मेक्सिको’ लाई ‘गल्फ अफ अमेरिका’ नाम दिनु पर्ने ट्रम्पको आग्रह मान्न अस्वीकार गर्नु । शुक्रबार, एपीका पत्रकारहरूलाई ‘एयर फोर्स वन’ मा चढ्न समेत रोक लगाइयो, जहाँ उनीहरूका लागि दशकौंदेखि सीट राखिंदै आएको थियो ।
एपीकी कार्यकारी सम्पादक जुली पेस ले यस निर्णयलाई “ट्रम्प प्रशासनले स्वतन्त्र पत्रकारितालाई दण्ड दिएको खतरनाक संकेत“ भनेकी छिन्। ह्वाइट हाउस संवाददाता संघ (डब्वलुएचसीए) का अध्यक्ष युजिन डेनियल्सले भनेका छन् “यो निर्णय मात्र ‘पहिलो संशोधन’को उल्लंघन होइन, राष्ट्रपति आफैंले ‘स्वतन्त्र अभिव्यक्ति र संघीय सेन्सरशिप अन्त्य गर्न जारी गरेको कार्यकारी आदेश’को पनि उल्लंघन हो।“
तर लेविट टसमस भइनन्।
“यो ह्वाइट हाउस कभर गर्नु एउटा विशेष अधिकार हो र ? “ उनले पत्रकारहरूलाई सोधिन्। “ल्युइजियानाको तटको छेउमा रहेको पानीको क्षेत्रलाई ’गल्फ अफ अमेरिका’ भनिन्छ भन्ने तथ्य हो। मलाई थाहा छैन किन सञ्चारमाध्यमहरूले यसलाई स्वीकार्न चाहँदैनन्। तर सत्य भनेको यही हो।“उनले व्याख्यान शैलीमा बताइन् ।
’ट्रम्पको भाषा धाराप्रवाह’
लेविटको प्रवक्ताका रुपमा नियुक्त कार्यकाल उनका पूर्ववर्तीहरूसँग निकै फरक हुने लगभग निश्चित छ। यसको कारण हो— ट्रम्प र उनका दाहिने हात इलोन मस्क ‘कुनै पनि बेला सोशल मिडिया वा ह्वाइट हाउस कार्यक्रमहरू मार्फत सिधै विश्वसँग संवाद गर्छन्’, कुनै फिल्टरबिना नै ।

तर उनीहरूले कहिलेकाहीँ यथार्थसँग कमजोर सम्बन्ध राख्छन्— जसलाई लेविटले प्रवक्ता रूपमा कसरी सम्हाल्नेछिन् भन्ने चासोको विषय हुनेछ।
यस्ता व्यक्तिहरूको तर्फबाट मिडियासँग सामना गर्नु कति जोखिमपूर्ण हुन सक्छ भन्ने कुरा त्यतिबेला स्पष्ट भयो जब क्यारोलिन लेविटले ब्रीफिङ रुममा उभिएर आत्मविश्वासका साथ इलोन मस्कको गलत दाबी दोहोयाउँदै भनिन् “अमेरिकी अन्तर्राष्ट्रिय विकास एजेन्सी (युएसएआइडी) ले गाजाबासीहरूलाई कण्डम आपूर्ति गर्न ५० मिलियन डलर खर्च गर्यो।“ तर केही क्षणमै, उनको दाबी गलत प्रमाणित भयो र सामाजिक सञ्जालमा उनी व्यापक रूपमा आलोचित भइन्।
यस भूमिकालाई झन् जटिल बनाउने अर्को कारक ट्रम्प प्रशासनको सुरुको अशान्तपूर्ण दौड हो । ट्रम्पले व्यापार युद्ध सुरू गरेका छन्, कार्यकारी आदेशहरूको ओहिरो लगाएका छन्, ग्रीनल्यान्ड र गाजालाई नियन्त्रण लिने धम्की दिएका छन्, संघीय सेवाविरुद्ध इलोन मस्कलाई ‘विनाशकारी हतियार’ का रूपमा प्रयोग गरिरहेका छन्, र रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनसँगको वार्ता पुनः सुरु गरेका छन्। यी सबै घटनाक्रम तीव्र गतिमा अगाडि बढिरहेका छन्, जसका कारण लेविटको भूमिकामा थप चुनौतीहरू थपिएका छन्।
यसबाहेक, ट्रम्प र मस्कले अमेरिकी सार्वजनिक धारणा निर्माण गर्ने ठूला सञ्चारमाध्यमहरूलाई लगातार आफ्नो प्रहारको लक्ष्य बनाउने बानीले गर्दा पनि लेविटको यो भूमिकालाई कठिन बनाएको छ। यो रणनीतिले ट्रम्प समर्थकहरूलाई खुसी पार्छ, तर लामो दौडमा ट्रम्प, मस्क र लेविटलाई समेत महँगो पर्न सक्छ। पूर्व राष्ट्रपति बिल क्लिन्टनका प्रेस सचिव जो लोखार्ट भन्छन्, “यदि परम्परागत प्रेस सचिवका मापदण्डअनुसार उनलाई ग्रेड दिनुप¥यो भने, उनी ’एफ’ पाउँथिन्। तर यदि मापदण्ड ट्रम्पलाई खुसी पार्नु हो भने, उनी ’ए प्लस+’ पाउँछिन्।“ उनका अनुसार, “ट्रम्प प्रशासनका मानिसहरू सधैं आफ्ना समर्थकहरूसँग मात्र कुरा गर्छन्। उनीहरू अरू कसैलाई पर्वाह गर्दैनन्, किनकि रिपब्लिकनलाई सत्तामा राख्न ती अरू मान्छेहरू उनीहरूलाई आवश्यक नै छैनन्।“
हालका लागि, ट्रम्पसँग यस्ती प्रवक्ता साथमा छिन, जसले केही निश्चित प्रगतिशीलहरूलाई अधिकतम असहज महसुस गराउन प्रयोगशालामै डिजाइन गरिएको जस्तो देखिन्छ। उनलाई चिनेका व्यक्तिहरूले उनलाई बौद्धिक, कठोर, र अत्यधिक परिश्रमी भनेर वर्णन गर्छन्। उनी एक युवा श्रमिक आमा हुन्, जो कट्टर रूढीवादी पनि हुन्। आफ्नो प्लाटिनम रंगको कपाल, झल्किने क्रसको लकेट, र असाधारण आत्मविश्वासका साथ, क्यारोलिन लेविट नयाँ ‘मागा सिस्टरहुड’ का लागि एउटा प्रतीक जस्तै देखिन्छिन्।
लेविटले आफ्नो प्रशिक्षण केली म्याकइनानी—पूर्व ट्रम्प प्रवक्ता, हाल फक्स न्यूजका “आउटनम्बरड“ शोकी सह–होस्ट—र एलिस स्टेफानिक—न्यूयोर्ककी सांसद, जो अब राष्ट्रपति ट्रम्पको संयुक्त राष्ट्रसंघ राजदूत बन्ने तयारीमा छिन्—को मार्गदर्शनमा पाइन् ।
बिहीबार बेलुका, लेविट र उनका श्रीमान्, ५९ वर्षीय रियल स्टेट व्यवसायी निकोलस रिकियो, वासिङ्टन डीसीमा जर्जियाकी सांसद मार्जोरी टेलर ग्रिनसँग डिनर गर्दै गरेको समया देखिएका थिए ।

“जब मैले करोलिनलाई नियुक्त गरेँ, त्यही दिनदेखि मलाई थाहा थियो कि उनको भविष्य उज्ज्वल छ र उनी तीव्र गतिमा उचाइ चढ्नेछिन्,“ स्टेफानिकले आफ्नी पूर्व सञ्चार निर्देशकबारे बताइन् । स्टेफानिककै जस्तै, लेविट पनि जनवरी ६, २०२१ को अमेरिकी संसद आक्रमणपछि ट्रम्पको समर्थनमा अडिग रुपले उभिएकी हुन्—त्यो समयमा धेरै रिपब्लिकनहरूले ट्रम्पको राजनीतिक करियर समाप्त भएको ठानेका थिए र उनको निर्वाचनबारेको झूट अस्वीकृत गर्न लायक रहेको ठान्थे ।

“लेविटको सबैभन्दा उल्लेखनीय विशेषता के हो भने उनी राष्ट्रपति ट्रम्पसँग दिनभर ओभल अफिसमा बस्छिन्,“ पूर्व राष्ट्रपति जर्ज डब्ल्यु बुसका प्रवक्ता एरी फ्लेइशरले भने। “म यो भनिरहेछु किनकि उनी ट्रम्पको भाषा पूर्ण रूपमा बोल्न सक्छिन्। उनलाई थाहा छ, के भन्नुपर्छ, के भन्नु हुँदैन । अनि उनी त्यस भूमिकामा सहज महसुस गर्छिन्।“
लेविट स्वयं पनि यसमा सहमत छिन्।
“म मेरो काममा सफल हुने सबैभन्दा राम्रो तरीका भनेको ‘राष्ट्रपति ट्रम्पलाई सकेसम्म धेरै सुन्नु, उनले सार्वजनिक रूपमा भनेका प्रत्येक शब्द बुझ्नु, अनि निजी रूपमा उहाँसँग कुरा गरेर उहाँको सोच बुझ्नु हो। यसले मलाई उहाँको सन्देश सकेसम्म प्रभावकारी रूपमा व्यक्त गर्न मद्दत गर्छ,“ लेविटले भनिन्।
प्रेस सचिव क्यारोलिन लेविटले यस महिना ओभल अफिसमा राष्ट्रपति ट्रम्पले कागजातहरू हस्ताक्षर गर्नु अघि पर्दा बन्द गर्दै फोटोः एलिजाबेथ फ्रान्ट्ज÷रायटर्स
’मभित्र आत्मविश्वास भरिएको थियो’
लेविटको दिन बिहान ५ बजे घरबाटै सुरु हुन्छ, जहाँ उनी समाचार–लेखहरू पढ्छिन् र टिभीमा बिहानका शोहरू हेर्छिन्। त्यसपछि उनी बिहान ७ः३० बजे कार्यालय पुग्छिन्।
उनले कहिलेकाहीँ आफ्नो दिनको छनोट गरिएका झलकहरू आफ्नो इन्स्टाग्राममा शेयर गर्छिन्, जहाँ उनका ६,३८,००० भन्दा बढी फलोअर्स छन्।
प्रेस ब्रिफिङका क्रममा देखिने उनको आत्मविश्वासबारे लेविट भन्छिन्ः “मेरो बाल्यकालदेखि बनाइएका आधारहरू, मेरा असल अभिभावकहरू, मेरो आस्था, अनि खेलाडी भएको अनुभवबाट आएको हो। मलाई सानो उमेरमै आत्मविश्वासको महत्व सिकाइएको थियो।“
लेविट न्यू ह्याम्पशायरको दक्षिणपूर्वी किनारामा रहेको एउटा सानो सहर एटकिन्सनमा दुई दाजुभाइहरूसँगै हुर्किएकी थिइन्। उनी क्याथोलिक परिवारकी सदस्य हुन्। उनका बाबुआमा दुबै कलेज नगएका भए पनि, उनले अक्सर चुनावी अभियानमा भनेझैँ, सानो व्यवसाय सञ्चालन गर्दा उनीहरूले भोगेका संघर्षहरूले उनको विश्व दृष्टिकोणलाई आकार दिएको थियो। उनका अभिभावकहरूले आइसक्रिम पसल र पुराना कारहरूको व्यापार गर्थे, जसले उनलाई व्यवसाय, संघर्ष, र अवसरहरूको महत्व सिकायो।
लेविट सेन्ट्रल क्याथोलिक हाई स्कूलमा सफ्टबल टोलीकी जोशिली थर्ड बेसम्यानको रूपमा चिनिन्थिन्। उनले नजिकैको सेंट एन्सेल्म कलेजमा छात्रवृत्ति पाएकी थिइन् । समयसँगै, उनको झुकाव राजनीतितर्फ सर्दै गयो। म्यानचेस्टरमा आधारित बेनेडिक्टिन कलेज सेंट एन्सेल्म भावी राजनीतिक अभियानकर्मीहरूका लागि प्रसिद्ध प्रशिक्षण केन्द्र हो। प्रत्येक निर्वाचन वर्षमा, कलेजको न्यू ह्याम्पशायर इन्स्टिच्युट अफ पोलिटिक्स प्राइमरी चुनावअघि हुने टाउन हल बैठकहरू र उम्मेदवार कार्यक्रमहरूको केन्द्र बिन्दु हुने गर्दछ ।
“उनी साँच्चै मेहनती थिइन्,“ इन्स्टिच्युट अफ पोलिटिक्सका कार्यकारी निर्देशक नील लेवेस्कले भने। उनले लेविटलाई उनको विचारधाराभन्दा बढी ऊर्जा र सकारात्मक दृष्टिकोणका लागि सम्झन्छन्।
लेविटको ह्वाइट हाउस प्रवेश २०१८ मा पत्राचार कार्यालयको इन्टर्नशिपबाट भयो, जहाँ उनले जनताबाट आएका पत्रहरूको ठूलो चाङसँगै काम गरिन्। उनले यो अवसरलाई उपयोग गर्दै प्रेस अफिसमा पूर्णकालीन जागिर सुरक्षित गरिन्। त्यसका लागि उनले त्यतिबेला ट्रम्पकी प्रेस सचिव केइली म्याकएनानीलाई सम्पर्क गरिन्, जसले लेविटलाई “सधैं नयाँ विचारहरू ल्याउने“ व्यक्ति भनेर सम्झन्छिन्।
ट्रम्पको २०२० को पराजयपछि, लेविट न्यूयोर्ककी सांसद एलिस स्टेफानिकसँग काम गर्न गइन्। त्यहाँ उनले लिज चेनीविरुद्धको मिडिया लडाइँमा महत्वपूर्ण भूमिका खेलिन्। उक्त लडाइँ अहिले जनवरी ६ दङ्गापछिको रिपब्लिकन पार्टीको आत्माको संघर्षका रूपमा चिनिन्छ ।
२०२० को निर्वाचन परिणाम उल्ट्याउने ट्रम्पको प्रयासलाई सार्वजनिक रूपमा आलोचना गरेपछि चेनी रिपब्लिकन पार्टीबाट बाहिरिइन्। जबकि, स्टेफानिक हाउस नेतृत्वमा उक्लिन सफल भइन्।
लेविटका सहकर्मीहरूलाई थाहा थियो कि उनी भविष्यमा राजनीतिक पदका लागि माथि उक्लिन चाहन्छिन्। अन्ततः, २०२२ मा उनले आफ्नो गृह जिल्लाको कंग्रेस सिटका लागि उम्मेदवारी दिइन्। न्यू ह्याम्पशायरको दक्षिणी क्षेत्रमा उनले रिपब्लिकन प्राइमरी चुनावमा दुई चर्चित प्रतिस्पर्धीलाई हराउँदै जित हासिल गरिन्। “तपाईंलाई मानिसहरूले कम आँक्दा, त्यसलाई प्रेरणाको रूपमा प्रयोग गर्नुहोस्,“ लेविटले गत वर्ष आफ्नै पुरानो कलेजका विद्यार्थीहरूलाई भनेकी थिइन्।
तर, आम निर्वाचनमा उनी डेमोक्रेटिक उम्मेदवार तथा तत्कालीन कंग्रेस सदस्य क्रिस पापाससँग पराजित भइन्।
यद्यपि, ट्रम्पका पहिलो प्रेस सचिव सीन स्पाइसरका अनुसार, चुनावी प्रतिस्पर्धा गर्ने अनुभव र प्रेस तथा पापाससँग प्रत्यक्ष बहसमा उत्रिने क्षमताले उनलाई धेरै फाइदा पुर्यायो।
“समग्रमा, मलाई लाग्छ उनी यो भूमिकामा निकै उत्कृष्ट रूपमा काम गरिरहेकी छिन्,“ स्पाइसरले भने, जो ट्रम्पको पहिलो कार्यकालमा छ महिनासम्म प्रेस सचिव थिए। “साँचो भन्नुपर्दा, म अलि डाह गर्छु।“
द वालस्ट्रिट जर्नलबाट
प्रतिक्रिया दिनुहोस्