यूरोपेली संघको भ्रम चकनाचूर, जब अमेरिका अघि बढ्यो
यो वर्षको म्युनिख सुरक्षा सम्मेलनले १८ वर्षअघि जत्तिकै ध्यान केन्द्रित गर्यो। त्यो बेला, भ्लादिमिर पुटिनले हलचल मच्चाए; यस पटक, अमेरिकी उपराष्ट्रपति जे.डी. भान्सले। यी दुई भाषणहरू लगभग दुई दशकको अन्तर भए पनि एउटा महत्वपूर्ण समानता छः दुबैले शीत युद्धको विरासतमा निर्मित ट्रान्सअटलान्टिक व्यवस्थालाई चुनौती दिएका छन् । दुबै अवसरमा, पश्चिमी नेतृत्वले ठोस प्रतिक्रिया दिन सकेन।
सन् २००७ मा, नेटो विस्तार र पश्चिमी अतिक्रमणबारे पुटिनले दिएको चेतावनीलाई खस्कँदै गरेको शक्तिको गुनासो भन्दै उपेक्षा गरियो। कतिपयले झिनो स्वरमासतर्क रहन आग्रह गर्दै थिए, तर वाशिङ्टन र ब्रसेल्समा प्रमुख धारणा आत्मसन्तुष्ट थियो — उनीहरू विश्वास गर्थे कि रूस अन्ततः लाइनमा आउनेछ। तर अहिले आएर त्यो गलत गणनाका् बुझाई स्पष्ट देख्न सकिन्छ।
अहिले, अमेरिकी उपराष्ट्रपतिले फरक प्रकारको चुनौती प्रस्तुत गरेका छन्। उनको भाषणले पश्चिमभित्र नै गहिरो वैचारिक विभाजन देखाएको छ, जसलाई पश्चिमी यूरोपेली नेताहरूले सामना गर्न नसक्ने जस्तो देखिन्छ। फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंले साझा धारणा निर्माण गर्न आकस्मिक सम्मेलनको आह्वान गरेका छन्। तर, के ईयूले साँच्चै चुनौतीको गहिराइ बुझिरहेको छ? प्रारम्भिक प्रतिक्रियाले त्यस्तो देखाउँदैन। अझै पनि केहीलाई यो आँधी, समय बितेपछि शान्त हुन्छ भन्ने भ्रम छ।
प्रतिशोध, विचारधारा, र बदलिंदो विश्व व्यवस्था
भान्सको म्युनिख भाषणका धेरै कारणहरू छन्। सबैभन्दा तत्कालीन कारण भनेको प्रतिशोध हो। पश्चिमी यूरोपेली नेताहरूले वर्षौंसम्म ट्रम्प र उनका सहयोगीहरूको सार्वजनिक रूपमा आलोचना गरे, लाग्थ्यो कि त्यसको कुनै असर हुने छैन। तर ट्रम्प पुनः सत्तामा फर्किएपछि तिनले देखेको हुनुपर्छ, उनले ती आलोचनका शब्दहरू बिर्सिएका थिएनन्।
तर गहिरो रूपमा, यो एक वैचारिक टकराव हो। धेरै हदसम्म, भान्सको यूरोपप्रतिको आलोचना उही कारण हो जसले नयाँ संसारका बसोबासीहरूलाई पुरानो संसारबाट अलग गरायोः अत्याचार, पाखण्ड, र परनिर्भरता। उनी र इलन मस्क जस्ता अन्य व्यक्तिहरूले खुलेआम रूपमा यूरोपेली मामिलामा हस्तक्षेप गर्ने सोच राख्छन् — जुन कुरा उदारवादी विचारधाराका मान्यताहरूले लामो समयदेखि लोकतन्त्र प्रवर्धनको नाममा स्वीकार गरिरहेको थियो। अहिले, लोकतन्त्रको सही परिभाषाबारेको बहस अमेरिका बाहिर निस्केर पूरै ट्रान्सअटलान्टिक गठबन्धनमा फैलिएको छ। यो वैचारिक सङ्घर्षले आउँदो दशकहरूमा पश्चिमको दिशा निर्धारण गर्नेछ।
बदलिंदो शक्ति सन्तुलन
सबैभन्दा ठूलो कारण भनेको विश्वव्यापी शक्ति सन्तुलनको पुनःगठन हो। विश्व फेरिएको छ। अझै पनि नयाँ व्यवस्थाको स्पष्ट परिभाषा दिन धेरै बाँकी छ, तर एउटा कुरा निश्चित छः पुराना तरिकाहरूले अब काम गर्न छाडिसकेका छन्। जनसांख्यिकीय परिवर्तन, आर्थिक ध्रुवीकरण, प्रविधिगत प्रतिस्पर्धा, र सैन्य पुनःसंयोजनहरूले नयाँ शक्ति सन्तुलन सिर्जना गर्दै छन्।
यस परिवर्तनको केन्द्रमा एक मुख्य प्रश्न छः पश्चिमले अन्ततः शीत युद्धलाई समापन गर्नेछ कि नयाँ सन्दर्भमा यसलाई जारी राख्नेछ? पश्चिमी यूरोपको जवाफ अहिलेसम्म संघर्षलाई निरन्तरता दिने देखिन्छ — किनकि उसले पूर्ववर्ती प्रतिस्पर्धीलाई आफ्नो सुरक्षाको पक्षमा समाहित गराउन सकेको छैन। तर अमेरिका भने बिस्तारै अघि बढ्न इच्छुक देखिन्छ।
पश्चिमी यूरोपको दुविधाः अतीतलाई अँगाल्ने कि भविष्यलाई स्वीकार्ने?
पश्चिमी यूरोप अहिले पनि शीत युद्धको विचारधारात्मक र भू–राजनीतिक संरचनालाई जोगाइराख्न खोजिरहेको देखिन्छ। यो केवल सुरक्षा सम्बन्धी मुद्दा होइन; यो त यसको आफ्नै अस्तित्व जोगाउने प्रयास हो। ईयू एक उदारवादी विश्व व्यवस्थाको उत्पादन हो, जसलाई आफ्नो एकता कायम राख्न निश्चित दुश्मन चाहिन्छ। त्यो दुश्मन रूस हुन सक्छ, चीनभन्दा बढी परिचित रुपमा।
शीत युद्धको अन्तिम लडाइ?
म्युनिखमा भान्सको भाषण केवल अमेरिकी–यूरोप विवादमा थपिएको अर्को बयान मात्र थिएन। यो ट्रान्सअटलान्टिक विचारको विकासक्रममा एउटा महत्वपूर्ण मोड थियो।
यदि अमेरिका पछाडि हट्छ र आफ्नो प्राथमिकता अन्य क्षेत्रहरूमा केन्द्रित गर्छ भने, ब्रसेल्सले आफ्नो रणनीति पुनः मूल्यांकन गर्नुपर्नेछ। के यो पुरानो शीत युद्धको ढाँचामा टिकिरहन्छ, वा नयाँ यथार्थ स्वीकार गरेर आफूलाई पुनःपरिभाषित गर्छ?
हालका संकेतहरू हेर्दा, ट्रान्सअटलान्टिक विभाजन गहिरिँदै छ। आउँदो महिनाहरूमा गरिने निर्णयहरूले निर्धारण गर्नेछ कि यो दरार स्थायी विभाजनमा परिणत हुन्छ वा पश्चिमी यूरोपले आफ्नो स्वतन्त्र अस्तित्व खोज्न थाल्छ।
–––
यो लेख पहिलो पटक रुसी पत्रिका च्यककष्थकपबथब न्बशभतब मा प्रकाशित भएको लेख हो । जारी विश्व मन्थनका सन्दर्भमा उपयोगी देखेर त्यसको भावानुवाद यहाँ दिइएको हो।
लेखकः रसियन नेशनल रिसर्च विश्वविद्यालय हायर स्कूल अफ इकोनोमिक्स अन्तर्गतको विश्व अर्थतन्त्र र अन्तर्राष्ट्रिय मामिला संकायका अनुसन्धान प्राध्यापक हुन् ।
प्रतिक्रिया दिनुहोस्