अमेरिकाले ट्रान्सएटलान्टिक सम्बन्धलाई पुनःपरिभाषित गर्ने प्रयासको पहिलो संकेत देखिएको छ। लोकतन्त्रको भविष्य नै दाउमा परेको छ।
गत हप्ता, अमेरिका–युरोप सम्बन्धको जग नाटकीय रूपमा हल्लिएको छ।
डोनाल्ड ट्रम्प प्रशासनले युरोपप्रति नयाँ अमेरिकी दृष्टिकोण स्पष्ट पार्ने एकपछि अर्को विवादास्पद हस्तक्षेप गरेका छन् यो रणनीति तीन मुख्य बिन्दुहरूमा केन्द्रित छः युक्रेन–रुस युद्धलाई छिट्टै अन्त्य गर्ने वार्ता, युरोपलाई आफ्नै सुरक्षाको प्रमुख जिम्मेवारी दिने, र दक्षिणपन्थी लोकप्रियतावादी शक्तिहरूबीच नयाँ ट्रान्सएटलान्टिक गठबन्धन निर्माण गर्ने।
पछिल्ला २५ वर्षदेखि ट्रान्सएटलान्टिक सम्बन्धमा काम गरिरहेको व्यक्तिका रूपमा, म थाह छः यस्ता संकटहरू सामान्यतः समयसँगै सेलाउँछन् र सम्बन्ध फेरि पुरानो स्वरूपमा फर्कन्छ। तर यसपटक अवस्था फरक छ।
म्युनिख सुरक्षा सम्मेलनमा अमेरिकी अधिकारीहरूले युरोपेली नेताहरूलाई कडा आलोचनात्मक प्रतिक्रिया दिए।
बायेरिशर होफ होटलका साँघुरा कोठाहरूमा तीव्र राजनीतिक तनाव महसुस गरियो। ऐतिहासिक रूपमा महत्त्वपूर्ण यी प्रश्नहरू उब्जिएः – के युरोपले वर्षौंको छलफलपछि अन्ततः आफ्नो सुरक्षा आफ्नै बलमा जोगाउन सक्षम हुनेछ, वा अमेरिका–रुसको खेलमा केवल प्यादा बन्नेछ ? के युक्रेनले रुसको सैन्य हमलाबाट बचेर आफ्नो सार्वभौमिकता कायम राख्न सक्नेछ? यदि पश्चिमेली गठबन्धन टुट्यो र रुस पुनःस्थापित भयो भने, र युक्रेन युद्ध समाप्त भयो भने, विश्व राजनीतिमा यसको प्रभाव के हुनेछ ?
बुधबार, अमेरिकी राष्ट्रपतिले घोषणा गरे अनुसार उनले भ्लादिमिर पुटिनसँग युद्ध अन्त्य गर्ने योजना बनाएका छन्। यस घोषणाले युरोप र युक्रेनलाई भयभित बनायो, किनकि तिनीहरूको सुरक्षा भविष्यबारे निर्णय उनीहरूबिना नै गरिँदै थियो।
यसैबीच, अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले ब्रसेल्सस्थित नेटो मुख्यालयमा भनेका थिएः युद्ध समाप्त भएपछि युक्रेनको सुरक्षाको लागि युरोपले नै जिम्मेवारी लिनुपर्नेछ—अमेरिकाको सीमित समर्थन मात्र रहनेछ। युरोपेली नेताहरू यस कार्यका लागि पर्याप्त रूपमा तयार नभएको डर व्यक्त गर्दै छन्।
आश्चर्यजनक रूपमा, हेगसेथले आधिकारिक अमेरिकी नीतिलाई उल्टाउँदै घोषणा गरेका थिएः युक्रेन नेटो सदस्य बन्ने छैन। विरोधाभाष यहि छ कि सन् २००८ मा रिपब्लिकन राष्ट्रपति जर्ज डब्ल्यु बुसले नै युक्रेनलाई नेटो सदस्य बनाउने पहल गरेका थिए, जुन बेला जर्मनी र फ्रान्सले यसले रुसलाई उक्साउने घटनाका रुपमा चेतावनी दिएका थिए।
जब अमेरिकी उपराष्ट्रपति जे.डी. भान्स म्युनिख मञ्चमा उक्लिए, सबैजना ट्रम्पको युक्रेन रणनीति सुन्न आतुर थिए। तर उनले दिएको भाषण अमेरिकी नेतृत्वको सबैभन्दा विवादास्पद अभिव्यक्तिहरू मध्ये एक बन्न पुग्यो।

युक्रेनको भविष्यबारे विशेष रूपमा चर्चा गर्नुको साटो, भान्सले युरोपमाथि कडा आरोप लगाए। उनले युरोपले अभिव्यक्ति स्वतन्त्रता दबाउँदैछ र लोकप्रियतावादी दक्षिणपन्थी समूहहरू—जस्तै “अल्टर्नेटिभ फर डयचल्यान्ड“—लाई रोक्दै लोकतन्त्रलाई नै कमजोर बनाउँदैछ भन्न पुगे ।
उनको भनाइ युरोपेली श्रोताहरूका लागि चिसो फलाम झैं भारी बन्यो। त्यहाँ प्रस्तुत लोकतन्त्रको दृष्टिकोण युरोपेली मान्यतासँग पूर्ण रूपमा असंगत थियो। भान्सको अभिव्यक्तिले हलचल मच्चायो, तर अपमान उद्देश्य थियो वा संयोग, स्पष्ट छैन।
अन्ततः उनले दुवै गरे।
युरोपेली नेताहरूले तुरुन्तै आफ्नो वक्तव्य परिमार्जन गर्दै भान्सलाई कडा प्रतिक्रिया दिए। अमेरिकी “विश्वासघात“ को सामना गर्न युरोपको एकताको आह्वान गरियो। यद्यपि, केही नेताहरू यथार्थवादी थिए, भने केही अझै आक्रोशको अवस्थामा थिए।
फिनल्यान्डका राष्ट्रपति अलेक्जान्डर स्टब्ब यथार्थवादी पक्षमा थिए। उनले विभिन्न मञ्चहरूमा सार्वजनिक रूपमा भनिरहेका थिए कि यो समय “याल्टा क्षण“ (जहाँ अमेरिका र रुसले युरोपेली सुरक्षाबारे निर्णय लिएका थिए) बाट “हेलसिन्की क्षण“ (भविष्यको शान्ति र समझदारीको आधार निर्माण गर्ने) मा रूपान्तरण गर्नुपर्छ।
तर केही अन्य नेताहरू अझै झट्कामा थिए। तिनीहरूले अमेरिका बिरूद्ध प्रतिकार गर्न, युरोपले आफ्नो बाटो आफैं तय गर्न, र युक्रेनलाई स्वतन्त्र रूपमा युद्ध जिताउन आग्रह गरे। तीन वर्षअघि यस्ता भनाइहरू लोकप्रिय थिए, तर अहिलेको यथार्थमा यी विचारहरूले युरोपको एकता र रणनीतिक हितलाई नै कमजोर पार्न सक्छ।

एशियाका दुई शक्ति—चीन र भारत—पश्चिमको यो पुनर्संरचनालाई सकारात्मक रूपमा हेरिरहेका छन्।
चिनियाँ विदेशमन्त्री वाङ यीले शान्त र सहानुभूतिपूर्ण स्वरमा प्रतिक्रिया दिए, किनभने चीनले पश्चिमी एकतामा फाटो ल्याउन लामो समयदेखि प्रयास गरिरहेको थियो।
भारतका विदेशमन्त्री एस. जयशंकर पनि सावधानीपूर्वक प्रतिक्रिया जनाउँदै यथार्थवादी आशावादी देखिए। यी देशहरूका लागि, पश्चिमी गठबन्धनको टकराव अर्को संकेत हो कि यो शताब्दी अब उनीहरूको हुनेछ।
यसैबीच, अमेरिकी विदेशमन्त्री मार्को रुबियोले साउदी अरेबियामा रुसी विदेशमन्त्री सेर्गेई लाभरोभसँग भेट गरे। यसको उद्देश्य पुटिन र ट्रम्पबीच युक्रेनको भविष्य—र विस्तारमा युरोपको अवस्थाबारे छलफलको तयारी गर्नु थियो।
फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोंले संकटको घडीमा युरोपलाई एकताबद्ध गर्ने प्रयासस्वरूप युरोपेली नेताहरूलाई भेला गराएका थिए। तर साझा दृष्टिकोण बनाउन कठिन भएको छ ।

पश्चिमी कूटनीतिको निर्णायक मोड
एक पर्यवेक्षक र सहभागीका रूपमा मैले अमेरिका–युरोप सम्बन्धको उतारचढ़ाव लामो समयदेखि नियाल्दै आएको छु। सामान्यतः यस्ता संकटहरू गहिरो जरा गाडेका संरचनात्मक सम्बन्धहरूमार्फत फेरि सन्तुलनमा फर्कन्छन्—चाहे त्यो इराक, लिबिया, वा इरानको विवाद नै किन नहोस्।
तर यसपटक, अमेरिकाले युरोपसँगको सम्बन्ध पुनःपरिभाषित गर्ने ठोस प्रयास गरिरहेको देखिन्छ। ट्रम्प प्रशासन कति टाढासम्म जानेछ, थाहा छैन।
तर एउटा कुरा निश्चित छ—यो सम्बन्ध, जसले आधुनिक लोकतन्त्रलाई दिगो राख्न मद्दत ग¥यो, अब नयाँ दिशामा परिवर्तन हुँदैछ।
नयाँ विश्व व्यवस्था उदाउँदैछ।
(क्रिस्टोफर चिभ्भिस कार्नेगी एन्डाउमेन्ट फर इन्टरनेशनल पिसका वरिष्ठ फेलो तथा अमेरिकी कूटनीति कार्यक्रमका निर्देशक हुन्। उनले २०१८ देखि २०२१ सम्म अमेरिकी राष्ट्रिय गुप्तचर अधिकृत (एनआइओ) का रूपमा काम गरेका थिए।
प्रतिक्रिया दिनुहोस्