सहयोगीहरूलाई टाढा पार्दै, प्रतिस्पर्धीहरूलाई प्रशंसा गर्दै, ट्रम्प अमेरिकी विदेश नीतिको दशकौं पुरानो मार्ग परित्याग गर्ने तयारीमा देखिन्छन्
राष्ट्रपति डोनाल्ड ट्रम्पले केवल चार साताभित्र अमेरिकी विदेश नीतिको दिशा नाटकीय रूपमा परिवर्तन गरेका छन्। यसले अमेरिकालाई कम भरपर्दो सहयोगी बनाएको छ र वैश्विक प्रतिबद्धताबाट पछाडि हट्दै अमेरिका र विश्वबीचको सम्बन्धलाई आधारभूत रूपमा पुनः परिभाषित गर्ने संकेत दिएको छ।
ट्रम्पका उच्च कूटनीतिक दूतहरूले शान्ति वार्तामा रसियालाई केही सहुलियत दिने प्रस्ताव गरेका छन्, जसले युरोपेली सहयोगीहरूलाई आश्चर्यचकित बनायो। त्यसपछि ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई “तानाशाह“ भने। विकासशील देशहरूलाई सहयोग गर्ने अमेरिकी एजेन्सीको विघटन गर्दै, उनले चीनले प्रभाव विस्तार गर्ने प्रयास गरिरहेको क्षेत्रमा अमेरिकी उपस्थितिलाई कमजोर बनाए। गाजामा फिलिस्तिनीहरूको पुनर्वासको योजना सार्वजनिक गर्दै, उनले दुई–राज्य समाधानको लागि वाशिंगटनको दशकौं पुरानो प्रयासलाई समाप्त गरे। र उच्च ट्यारिफको योजना ल्याउँदै, उनले अमेरिकी–नेतृत्वमा रहेको वैश्वीकरणको युग समाप्त गर्ने संकेत दिए।
ट्रम्पले आफ्नो पूर्ववर्ती राष्ट्रपतिहरू जस्तै अन्तर्राष्ट्रिय मामिला सञ्चालन गर्लान् भन्ने कसैले अपेक्षा गरेको थिएन। तर यति छिटो अमेरिकी विदेश नीतिलाई १९४५ यताकै सबैभन्दा ठूलो परिवर्तनमा लैजाने कुरा धेरैका लागि अकल्पनीय थियो।
नयाँ परिभाषाः अमेरिका अब भरपर्दो साझेदार होइन
दोस्रो विश्वयुद्धको अन्त्यदेखि अमेरिकी–नेतृत्वमा रहेको गठबन्धन प्रणालीले अमेरिकी शक्ति मजबुत बनाएको थियो। युरोप, मध्यपूर्व र एसियामा आफ्ना सहयोगीहरूलाई सुरक्षा दिने वाचा गर्दै अमेरिका स्वतन्त्र व्यापार र स्थायित्वको विश्वव्यापी ग्यारेन्टर बन्यो। पहिले सोभियत संघलाई, र पछिल्लो समय चीनलाई नियन्त्रणमा राख्ने कूटनीति अमेरिकाको प्राथमिक लक्ष्य रह्यो।
तर ट्रम्पको दृष्टिकोण फरक छ—उनी सहयोगीहरूलाई आर्थिक तथा सैन्य रूपमा आत्मनिर्भर बनाउन चाहन्छन्। उनका अनुसार, अमेरिका अरू देशहरूको सुरक्षा सुनिश्चित गर्ने दायित्वमा हुनुहुँदैन, बरु ती देशहरूले अमेरिकालाई आर्थिक लाभ दिने गरी सम्झौताहरू गर्नुपर्छ।
“यो होइन कि राष्ट्रपति ट्रम्प दोस्रो विश्वयुद्धपछिको व्यवस्था त्यागिरहेका छन्,“ हेरिटेज फाउन्डेसनकी राष्ट्रिय सुरक्षा तथा विदेश नीति उपाध्यक्ष भिक्टोरिया कोट्स भन्छिन्। “बरु, हामी अब त्यो युगमा छैनौं, र भू–राजनीतिक परिदृश्य परिवर्तन भइसकेको छ भन्ने कुरा स्वीकार गर्नुपर्नेछ।“
ट्रम्पको विदेश नीतिः भू–भाग विस्तारको सपना?
ट्रम्पको पहिलो कार्यकालमा पनि यस्तै दृष्टिकोण देखिएको थियो, तर उनको दोस्रो कार्यकालमा यो अझ टड्कारो देखिएको छ। अहिले उनले अमेरिकी सीमाहरू विस्तार गर्ने तथा विदेशमा क्षेत्रहरू नियन्त्रणमा लिने प्रस्ताव अघि सारेका छन्।
ह्वाइट हाउस फर्किनु भन्दा पहिल्यै, उनले पनामाले पुनः नियन्त्रण गर्न, डेनमार्कबाट ग्रिनल्यान्ड कब्जा गर्न, र क्यानडालाई अमेरिका अन्तर्गत ल्याउने कुरा गरेका थिए। पुनः राष्ट्रपति बनेपछि उनले यी प्रस्तावहरू दोहोर्याए, जसले एकपटक असम्भव देखिएका कुराहरूलाई सम्भावित अमेरिकी नीतिका रूपमा स्थापित गरिदिएको छ।
रसियासँगको निकटता र युरोपको असन्तोष
गत हप्ता, ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको फोन वार्तापछि रसियाको अन्तर्राष्ट्रिय अलगाव अन्त्य गर्न वार्ताका लागि सहमति जनाए। यसै क्रममा, अमेरिकी रक्षा सचिव पिट हेगसेथले युक्रेनको युद्ध अन्त्य गर्ने वार्तामा नाटो सदस्यता प्रवेश गर्ने विषय नउठाइने संकेत दिए, जसले वार्ता सुरु हुनुअघि नै मास्कोलाई ठूलो जित दिलायो। पछि, हेगसेथले आफ्ना भनाइ सच्याए, तर सहयोगी राष्ट्रहरूले ट्रम्प प्रशासनको ट्रान्स–अटलान्टिक ऐक्यबद्धताप्रति गम्भीर शंका व्यक्त गरे। म्युनिख सुरक्षा सम्मेलनमा उपराष्ट्रपति जे.डी. भान्सले युरोपेली सहयोगीहरूमाथि प्रजातन्त्र कमजोर पार्ने आरोप लगाए, तर युक्रेन–रसिया युद्ध समाधान गर्नेबारे केही बोलेनन्।
पूर्व अमेरिकी रक्षा सचिव चक हेगेल भन्छन्, “दोस्रो विश्वयुद्धपछिको विश्व व्यवस्थाका लागि यो गम्भीर चुनौती हो। म अहिलेसम्म हाम्रो देश र विश्वको भविष्यप्रति यति चिन्तित कहिल्यै भएको थिइनँ।“
ट्रम्पको विदेश नीति अहिले पनि अनिश्चित र विवादास्पद देखिन्छ। सहयोगीहरू टाढिन थालेका छन्, विरोधीहरू नजिकिन थालेका छन्, र अमेरिकी नेतृत्वको विश्व व्यवस्थाको भविष्य अनिश्चित बन्दै गएको छ।
ट्रान्स–अटलान्टिक विभाजन झन् गहिरिंदै
यस हप्ताको सुरुमा, साउदी अरेबियामा अमेरिकी र रुसी अधिकारीहरूबीच वार्ता सम्पन्न भएपछि ट्रम्पले युक्रेनलाई युद्ध सुरु गरेको आरोप लगाए। तर वास्तविकता के हो भने, तीन वर्षअघि रुसी सेनाहरूले सीमा पार गर्दै आक्रमण गरेका थिए, जब भ्लादिमिर पुटिनले पूर्ण–स्तरीय आक्रमणको आदेश दिए। ट्रम्पका ती भनाइहरूपछि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले ट्रम्पलाई “क्रेमलिनको प्रचार दोहोर्याउने“ आरोप लगाए।
बुधबार, ट्रम्पले युक्रेनविरुद्धको अहिलेसम्मकै कठोर टिप्पणी गरे, जेलेन्स्कीलाई “चुनावविनाका तानाशाह“ भनेर सामाजिक सञ्जालमा आलोचना गरे। जेलेन्स्कीको कार्यकाल गत वर्ष नै समाप्त भइसकेको थियो, तर युक्रेनी कानुनअनुसार मार्शल ल का अवस्थामा चुनाव गराउन प्रतिबन्ध लगाइएको छ।ओबामा प्रशासनका बेला नेटोका लागि अमेरिकी राजदूत रहेका इभो डाल्डरका अनुसार ट्रम्पको रुसी झुकावले मास्कोलाई फाइदा पुर्याएको छ।
“उनी (ट्रम्प) ले पुटिनका कुरा जसका तस स्वीकारेका छन्,“ डाल्डरले भने। “पुटिन अहिले निकै सहज स्थितिमा छन्, किनभने उनलाई केवल ‘दा’ भन्नु मात्रै पर्याप्त छ। यदि युक्रेनले ‘न्येत’ भन्यो भने ट्रम्पले सधैं कीभलाई दोष दिनेछन्।“
तर ट्रम्प प्रशासनले भने यो दृष्टिकोण अस्वीकार गर्छ। राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता ब्रायन ह्युजले भने, “राष्ट्रपति ट्रम्पको नेतृत्वले केही सातामै युक्रेनका लागि वार्ताको ढोका खोलिदिएको छ। अघिल्लो प्रशासनले यो प्रयास गर्न पूर्ण रूपमा असफल भएको थियो।“
वाशिंगटनस्थित लिबर्टेरियन थिंक ट्यांक क्याटो इन्स्टिच्युटका रक्षा तथा विदेश नीति अध्ययन निर्देशक जस्टिन लोगनका अनुसार अब अमेरिकी नेताले युरोपेलीहरूलाई आफ्नो सुरक्षाका लागि थप जिम्मेवार बनाउनुपर्ने समय आएको छ।
“ट्रम्पले अमेरिकाको पुरानो दृष्टिकोणलाई अघि बढाइरहेका छन्,“ लोगनले भने। “१९५९ मा राष्ट्रपति ड्वाइट आइजनहावरले नै चिन्ता व्यक्त गरेका थिए कि युरोपको लापरबाहीले अमेरिका ’अङ्कल सकर’ (मूर्ख संरक्षक) बन्दैछ।“
“वाशिंगटनका थिंक ट्याङ्कहरू ट्रम्प प्रशासनका नीतिहरूले पुराना कूटनीतिक सिद्धान्तहरू भत्काइरहेकोमा रिसाएका छन्,“ उनले थपे। “यदि अमेरिकीहरू भाग्यमानी भए, भने यो असन्तोष अझै जारी रहनेछ।“
तर अमेरिकी विदेश नीति केवल युक्रेन मामिलामा मात्र परिवर्तन भएको होइन।
ट्रम्प प्रशासनले आफ्नो कार्यकालको पहिलो हप्तामा नै अमेरिकी अन्तर्राष्ट्रिय सहायता एजेन्सी (ग्क्ब्क्ष्म्) को विघटन ग¥यो, जसले एड्स उपचार, महामारी निगरानी, मातृ तथा शिशु स्वास्थ्य जस्ता कार्यक्रमहरूमा लगानी गर्दै आएको थियो। लाटिन अमेरिका, अफ्रिका र एसियाका कार्यक्रमहरू रोकिए, जसले यी क्षेत्रमा अमेरिकाले बनाएको दशकौं पुरानो विश्वास कमजोर बनाएको छ।
यसैबीच, विदेशमन्त्री मार्को रुबियो, जो अमेरिकी सिनेटर हुँदा ग्क्ब्क्ष्म् को समर्थन गर्थे, अहिले सहायता बजेट घटाउने पक्षमा छन्। डेमोक्र्याटहरू र सहयोग संस्थाहरूका अनुसार, यसले अमेरिकी विरोधी राष्ट्रहरूलाई फाइदा पुर्याउनेछ।
चीनले पहिले नै नेपालका कम्युनिस्ट नेताहरूलाई USAID हटेपछि नेपालमा लगानी गर्न तयार रहेको सन्देश दिएको छ।
“नेपाल र अन्यत्र अमेरिकाको फिर्तीको प्रभाव विश्वभरका मानिसहरूले कसरी अमेरिका हेर्छन् भन्ने कुरामा असर पार्नेछ,“ अमेरिकी सिनेटर तथा सिनेट विदेश मामिला समितिका बरिष्ठ सदस्य जीन शाहिन (डेमोक्र्याट, न्यु ह्याम्पशायर) ले भनिन्। “यसले यस्तो खाली स्थान छोड्नेछ, जसलाई चीन, रुस र हाम्रा प्रतिस्पर्धीहरूले भरिनेछन्।“
यस्तैमा, ट्रम्प प्रशासनका अधिकारीहरू भने राष्ट्रपति ट्रम्पको दृष्टिकोणले प्रारम्भिक सफलता प्राप्त गरेको दाबी गर्छन्। पनामा नहर नियन्त्रण गर्ने चर्चा चलेपछि पनामाका राष्ट्रपतिले चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ (द्यच्क्ष्) परित्याग गरे, जसले पश्चिमी गोलार्धमा बेइजिङको प्रभाव कम गर्यो।
त्यस्तै, गाजाबाट प्यालेस्टिनीहरूलाई हटाएर अमेरिकाले समुद्री किनारको क्षेत्रमा पुनर्निर्माण गर्ने प्रस्ताव राख्दा पनि ट्रम्पले मध्यपूर्वी नेताहरू, जसमध्ये इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र जोर्डनका राजा अब्दुल्लाह द्वितीयसँग, “उत्पादक बैठकहरू“ गरेको ट्रम्प प्रशासनका अधिकारीहरू बताउँछन्।
तर ट्रम्पका सबै आलोचकहरूले भने उनको विदेश नीति स्थायी रूपमा अमेरिकी रणनीतिलाई परिवर्तन गरिरहेको मान्दैनन्।
ट्रम्पका पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार तथा उनका कट्टर आलोचक जोन बोल्टनका अनुसार ट्रम्पसँग कुनै स्पष्ट विदेश नीति सिद्धान्त नै छैन, जसले अमेरिकी नेतृत्वको विश्वव्यवस्थालाई ध्वस्त पार्न सक्छ।
“यो केवल एक व्यक्तिको विचार हो, तर दुर्भाग्यवश उनी राष्ट्रपति छन्,“ बोल्टनले टिप्पणी गरे। “मेरो सल्लाह के छ भने, हामीसँगका साझेदारहरूले दाँत किटेर भए पनि सहनुपर्छ।“
फेब्रुअरी १९, २०२५ । द वाल स्ट्रिट जर्नल
प्रतिक्रिया दिनुहोस्