कंग्रेस र राज्य विधायिकाहरूका लागि २०२४ का अधिकांश निर्वाचनहरू कम मतदान वा अर्थहीन प्राइमरीहरूबाट निर्णय भएका थिए। यो प्रवृत्तिले राजनीतिलाई थप ध्रुवीकृत बनाउँदैछ र जनताको विश्वासलाई कमजोर पार्दैछ।
राष्ट्रपति ट्रम्पको वाशिंगटन फर्काइले राष्ट्रपति पदको शक्तिको सीमालाई परीक्षण गरेको छ र डेमोक्र्याटहरू, इतिहासकारहरू, र कानुनी विद्वानहरूबीच चिन्ता उत्पन्न गरेको छ, जसले देशको प्रजातान्त्रिक व्यवस्था खतरामा रहेको चेतावनी दिएका छन्।

तर २०२४ को निर्वाचनको नजिकबाट समीक्षा गर्दा देशका विधायी निकायहरू पहिल्यैदेखि कति अलोकतान्त्रिक भइसकेका छन् भन्ने देखाएको छ ।
दशकौंसम्मको जेरीम्यान्डरिङ र राजनीतिक ध्रुवीकरणपछि, कंग्रेस र राज्य विधायिकाका अधिकांश सदस्यहरूले गत वर्ष प्रतिस्पर्धात्मक आम निर्वाचनको सामना नै गर्नुपरेन।
बदलामा, उनीहरू प्रभावकारी रूपमा कम मतदान वा अन्यथा अर्थहीन प्राइमरी प्रतिस्पर्धाहरूमार्फत निर्वाचित भए । न्यूयोर्क टाइम्सको विश्लेषण अनुसार, गत वर्ष आयोजित ९ हजार भन्दा बढी कंग्रेस र राज्य विधायी प्राइमरी निर्वाचनहरूमा थोरै मतदाताहरूले मतदान गरे। औसतमा, अमेरिकी हाउस प्राइमरीहरूमा जम्मा ५७ हजार व्यक्तिहरूले मतदान गरे जसले आम निर्वाचन जिते—यो संख्या ती विजेताहरूले प्रतिनिधित्व गर्ने ७ लाख भन्दा बढी अमेरिकीहरूको तुलनामा निकै कम हो।
कंग्रेसका सदस्यहरूले प्राइमरी चुनौतीको सामना गर्नुपर्ने अवस्था पनि घट्दै गएको छ। हालका कंग्रेसका सदस्यहरूमध्ये करिब एक तिहाइले आफ्नो प्राइमरीमा कुनै प्रतिस्पर्धाको सामना गरेनन्। तीमध्ये १२ बाहेक सबै जिल्लाहरू “सुरक्षित“ सिट थिए, अर्थात् १२४ हाउस सदस्यहरूलाई आफ्नो निर्वाचनमा कुनै चुनौती थिएन।
राज्य विधायिकाहरूमा प्राइमरीको अभाव झन् उल्लेखनीय छ। द एसोसिएटेड प्रेसको मतदान डेटा अनुसार, २०२४ मा ती प्राइमरी निर्वाचनहरूको तीन चौथाइभन्दा बढीमा कुनै प्रतिस्पर्धा थिएन।
प्राइमरीको सामना गर्ने विधायकहरू प्रायः थोरै संख्यामा वैचारिक रूपमा लामवद्ध, र कट्टर पक्षपातपूर्ण मतदाताहरूप्रति जवाफदेही हुन्छन्—यो समूह निर्वाचित प्रतिनिधिहरूलाई चरमपन्थी बनाउन र विपक्षीसँग सम्झौता गरेकोमा सजाय दिन तयार हुन्छ।
“दुवै पार्टीका अधिकांश सदस्यहरू, उदारवादी र रूढिवादी, उनीहरू आम निर्वाचन हार्नुभन्दा प्राइमरी हार्नेबारे बढी चिन्तित छन्,“ राष्ट्रपति रोनाल्ड रेगनका एक समयका सहयोगी तथा रिपब्लिकन नेशनल कमिटीका पूर्व अध्यक्ष ह्याले बार्बरले भनेका छन् ।
शताब्दीभरि कंग्रेस र राज्य विधायिकाहरूका निर्वाचनहरूमा प्रतिस्पर्धा घट्दै गएको प्राज्ञिक अध्ययनहरूले देखाएका छन् । तर २०२४ मा प्रतिस्पर्धात्मक निर्वाचनहरूको न्यून संख्याले यो समस्या समाधान हुनुभन्दा झन् खराब हुँदै गएको संकेत गर्छ।
यो वास्तविकताले ट्रम्पलाई कंग्रेसमा आफ्ना वफादार विधायकहरूको संख्या विस्तार गर्न र आफ्नो पार्टीभित्र लगभग सबै असहमतिलाई कुचल्न सहयोग गरेको छ। हालैका महिनाहरूमा, उनले र उनका सहयोगीहरूले प्राइमरी चुनौतीको धम्की बारम्बार प्रयोग गरेर रिपब्लिकन विधायकहरूलाई संघीय कोष र राष्ट्रपतिको मन्त्रिपरिषद् मनोनयन जस्ता मुद्दाहरूमा ट्रम्पको लाइनलाई पछ्याउन बाध्य पारेका छन्।
तर प्राइमरी चुनौतीको डरले स्थानीय राजनीतिलाई पनि बङ्ग्याउन सक्छ, जहाँ राज्यका शक्तिका दलालहरू र राम्रोसँग वित्त पोषित स्वार्थ समूहहरूले विधायकहरूलाई व्यापक रूपमा अलोकप्रिय अडान लिन धक्का दिन सक्छन्।
उदाहरणका लागि, इडाहोमा, जहाँ नोभेम्बरमा १०५ राज्य विधायी निर्वाचनहरूमा केवल चारवटा मात्र प्रतिस्पर्धात्मक भएका थिए, विधायकहरूले छ वर्षसम्म मेडिकेडको पहुँच विस्तार गर्ने प्रस्तावलाई अस्वीकार गरे। जब यो मुद्दा २०१८ मा मतपत्रमा पुग्यो, १० मध्ये ६ जनामतदाताहरूले यसको समर्थन गरे ।
निर्वाचनहरूमा प्रतिस्पर्धाको अभावले अमेरिकीहरूको सरकारप्रतिको विश्वासलाई खस्काएको छ। हालैको टाइम्स÷इप्सोस सर्वेक्षणले देखाए अनुसार ८८ प्रतिशत वयस्कहरूले राजनीतिक प्रणाली भत्किएको विश्वास गर्छन् र ७२ प्रतिशतले सरकारलाई मुख्य रूपमा अभिजनहरूको लागि देख्छन्। केवल २५ प्रतिशतले मात्र सरकारलाई देशको भलाइको लागि काम गरेको ठान्छन् ।

“उनीहरूले आफ्ना मतदाताहरूसँग सम्पर्क गुमाएका छन्,“ ६५ वर्षीय रोरी डंकनले भने, जो वाशिंगटन काउन्टी, मेरील्याण्डका रिपब्लिकन र अवकाश प्राप्त सैन्य भेट्रान हुन्। “उनीहरूले सबै कुरालाई जेरीम्यान्डर गरेका छन्। हामीसँग पहिले रिपब्लिकन थिए, तर उनीहरूले यति धेरै जेरीम्यान्डर गरे कि अब रिपब्लिकन निर्वाचित हुन सक्ने कुनै उपाय छैन।“
’चरमपन्थी उम्मेदवारहरू विजयी हुँदैछन्’
प्राइमरीमा आम निर्वाचनको तुलनामा धेरै कम अमेरिकीहरूले मतदान गर्छन्। गत वर्ष, करिब ३० मिलियन मतदाताहरूले कंग्रेस निर्वाचनमा प्राइमरी मतपत्र खसाले (यो आँकडामा लुइसियाना समावेश छैन, जसको प्राइमरी विधि अनौठो छ)। आम निर्वाचनमा कुल मतदान १५६ मिलियनभन्दा बढी थियो।
अप्रतिस्पर्धी र कम मतदान भएका प्राइमरीहरू रेड र ब्लु दुवै राज्यहरूमा व्याप्त छन्। जर्जियामा, जुन रिपब्लिकनहरूले मुख्य रूपमा नियन्त्रण गरेको प्रतिस्पर्धी क्षेत्र हो, राज्यका १४ अमेरिकी हाउस सदस्यहरूमध्ये १० जनाले प्राइमरी चुनौतीको सामना गर्नुपरेन। बलियो ब्लु न्यूयोर्कमा, राज्यका २६ हाउस सदस्यहरूमध्ये २१ जनाले प्राइमरीमा कुनै प्रतिस्पर्धा गरेनन्।
सत्तामा रहनुले निर्वाचनको मौसममा नेताहरूलाई ठूलो फाइदा दिन्छ। तर सत्ताधारीहरू प्राइमरी चुनौतीका लागि बढ्दो रूपमा आकर्षक लक्ष्य बन्दैछन् किनभने यी निर्वाचनहरू धेरै हदसम्म बेवास्ता गरिन्छन्—जसले बाहिरियाहरूलाई थोरै वफादार मतदाताहरूलाई लक्षित गर्ने अभियान चलाउन सजिलो बनाउँछ।

२०२० यता पुनर्निर्वाचन प्रतिस्पर्धाहरू हारेका ५९ हाउस सदस्यहरूमध्ये झन्डै आधा—२८ जना—प्राइमरीमा पराजित भएका थिए । राजनीतिक डेटाबेस बलोटपेडियाका अनुसार राज्य विधायिकाहरूमा, गत वर्ष प्राइमरीमा आम निर्वाचनको तुलनामा बढी सत्ताधारी विधायकहरूले पुनर्निर्वाचन हारे ।
“सत्ताधारीहरूले चिन्ता गर्ने एउटा कुरा यो हो कि तपाईंलाई मन नपराउने कसैले सुपर प्याक जम्मा गरेर पैसा प्राप्त गर्न सजिलो छ,“ रोबर्ट जी. बोटराइटले भने, जो वर्सेस्टर, म्यासाचुसेट्सको क्लार्क विश्वविद्यालयमा निर्वाचनबारेका विद्वान हुन् । उनले २०१३ मा कंग्रेस प्राइमरीहरूका बारेमा किताब लेखेका छन् ।
दुई दशकअघि, बोटराइटले भनेका थिए –सत्ताधारीहरू घोटाला, उमेर, वा स्थानीय वफादारीलाई ओझेलमा पार्ने राष्ट्रिय मुद्दाहरूका कारण प्राइमरी हार्थे। आज, उनीहरू वैचारिक प्रतिद्वन्द्वीहरू वा मुद्दा–उन्मुख स्वार्थ समूहहरूबाट पराजित हुन्छन्, जसलाई प्रायः धनी संरक्षकहरू वा साना दाताहरूको समूहले समर्थन गर्छ जसको उनीहरूले वित्त पोषण गर्ने निर्वाचनहरूसँग थोरै सम्बन्ध हुन्छ।
२०१० को दशकमा, टेक्सास राजनीतिमा सबैभन्दा शक्तिशाली शक्तिहरूमध्ये एक एम्पावर टेक्सन्स नामक समूह थियो, जुन तेल र ग्यासका अर्बपतिहरूको राजनीतिक परियोजना हो । समूहको राजनीतिक कार्य समितिले मध्यम टेक्सास रिपब्लिकन नेताहरूलाई सामाजिक रूढिवादीहरूसँग प्रतिस्थापन गर्न लाखौं खर्च ग¥यो, सामान्यतया प्राइमरी निर्वाचनहरूमा विद्रोहीहरूलाई समर्थन गरेर।
यद्यपि समूहको ट्र्याक रेकर्ड मिश्रित थियो, आज टेक्सासको राजनीतिमा दक्षिणपन्थी नेताहरूले प्रभुत्व जमाएका छन्, जस्तै लेफ्टिनेन्ट गभर्नर ड्यान प्याट्रिक, जो यसका लाखौंको प्रारम्भिक लाभार्थी थिए।

Voter turnout is calculated as the number of ballots cast divided by the number of registered voters. Source: Virginia Department of Elections.
वामपन्थमा, जस्टिस डेमोक्र्याट्स जस्ता समूहहरूले सावधानीपूर्वक छनोट गरिएका थोरै प्राइमरी प्रतिस्पर्धाहरूमा परम्परागत डेमोक्र्याटहरूको विरुद्धमा प्रगतिशील श्रमिक वर्गका उम्मेदवारहरूलाई लगभग विशेष रूपमा समर्थन गरेर ठूलो प्रभाव पारेका छन्। समूहको पहिलो उम्मेदवार सूची २०१८ मा, देशभरका दाताहरूबाट साना योगदानहरूबाट धेरैजसो वित्त पोषित, मा एलेक्जान्ड्रिया ओकासियो–कोर्टेज समावेश थिए, एक डेमोक्रेटिक सोशलिस्ट जसले त्यो वर्षको प्राइमरीमा १० कार्यकालका सत्ताधारीलाई हराइन् र त्यसपछि हाउस डेमोक्र्याट्समध्ये एक प्रमुख बनेकी छन्।
जबकि जस्टिस डेमोक्र्याट्सको विश्वास अनुसार उनीहरूले पार्टीको केन्द्रवादी नीतिहरूलाई वामपन्थतिर धकेलिरहेका छन्, समूहका सञ्चार निर्देशक उसामा अन्द्राबीका अनुसार चरमपन्थ उदारवादी बनाम रूढिवादीको कुरा मात्र होइन। “हाम्रा प्राइमरीहरू वाम बनाम दक्षिणपन्थ होइनन्। तिनीहरू तल बनाम माथि हुन्,“ उनले भने। “यदि हामीले कर्पोरेट नेताहरूलाई श्रमिक जनताको लागि लड्न डराउनुपर्छ भन्न सक्ने हो भने उनीहरू डराउनुपर्छ।“
तथापि, मिसौरीको सेन्ट लुइस विश्वविद्यालयमा राज्य राजनीतिका विशेषज्ञ स्टिभन रोजर्सले भने अनुसार राजनीतिक चरमपन्थतिर नजिकिने नेताहरूले प्राइमरी चुनौतीको सामना गर्ने सम्भावना कम हुन्छ। “यो समयसँगै स्पष्ट हुँदै गएको छ कि बढी अतिवादी उम्मेदवारहरू राज्य विधायी र कंग्रेस दुवै स्तरमा विजयी हुँदैछन्,“ उनले भने।
अर्थपूर्णताको भ्रम
प्रतिस्पर्धी प्राइमरी निर्वाचनहरू पनि कहिलेकाहीं भ्रम मात्र हुन सक्छन्, जसले सत्ताधारी वा राज्यको प्रभावशाली पार्टीको उम्मेदवारलाई थोरै खतरा उन्पन्न गर्छ।
माइकल पोडहर्जर, एक रणनीतिकार र ए.एफ.एल.–सी.आई.ओ. का पूर्व राजनीतिक निर्देशक, ले हालै निर्वाचन डेटा विश्लेषण गरेर गत वर्ष कति राज्य विधायी प्राइमरीहरू प्रतिस्पर्धी र “अर्थपूर्ण“ थिए भनेर निर्धारण गरेका छन्ः १० प्रतिशत अंक वा कमले निर्णय भएका र विजेताले आम निर्वाचनमा जितेको हुनु पर्छ ।
उनले पत्ता लगाए अनुसार गत वर्ष दुवै राज्य विधायी सभाहरूका लागि निर्वाचन भएका ३५ राज्यहरूमा, ४,६०० भन्दा बढी प्राइमरीहरूमध्ये केवल २८७ ले यो परिभाषा पूरा गरे।
यसले धेरै मतदाताहरूलाई वास्तविक प्रतिनिधित्वबिना छोड्छः पोडहर्जरका अनुसार, गत वर्ष अर्थपूर्ण प्राइमरी वा आम निर्वाचन नभएका जिल्लाहरूमा करिब १५८ मिलियन नागरिकहरू छन्, जबकि अर्थपूर्ण प्राइमरी भएका जिल्लाहरूमा केवल करिब १० मिलियन छन्।
विशेषज्ञहरूले तुरुन्तै औंल्याउँछन् कि जेरीम्यान्डरिङभन्दा बाहिर, समान विचार भएका मतदाताहरू एकै समुदायमा सर्ने राजनीतिक “छनोट“ ले प्रतिस्पर्धाको अभावलाई बढाएको छ।
लिन्डा स्याक्रिपान्टी, ५८, पश्चिम भर्जिनियाको बलियो रातो उत्तरी प्यानह्यान्डलमा बस्ने डेमोक्र्याट हुन् , उनले यी दुवै राजनीतिक वास्तविकताहरू अनुभव गरेकी छन्।
प्राइमरी निर्वाचनहरूमा भाग लिनुको अर्थ उनको लागि केवल “मसँग कुन डेमोक्र्याट हार्ने उमेद्वार मध्ये केही छनोट छ“ भन्ने मात्र हो।
तर करिब २० वर्षसम्म, बिक्रीमा काम गर्ने सुश्री स्याक्रिपान्टी उत्तरी क्यारोलिनाको चार्लोट नजिक बसिन्। उनले डेमोक्रेटिक राज्य विधायी प्राइमरीहरूमा जेफ ज्याक्सनलाई मत दिएको सम्झिछिन्, जब ज्याक्सनले राज्य सिनेटमा गहिरो नीला जिल्लाको प्रतिनिधित्व गर्थे। उनले २०२२ मा कंग्रेसको लागि उम्मेदवारी दिए, समान नीलो सिट १८ अंकले जिते।
“चार्लोट आफैंमा निकै नीला छ, त्यसैले प्राइमरीहरूमा मेरो मतको झन् धेरै वजन थियो,“ सुश्री स्याक्रिपान्टीले भनिन्। “त्यसैले मलाई लाग्छ कि यो महत्वपूर्ण थियो।“
२०२४ को शुरुमा, उत्तरी क्यारोलिनाका रिपब्लिकनहरूले कंग्रेस र राज्य विधायी नक्शाहरू पुनः कोर्ने कानुनी चुनौती जिते, जसले ज्याक्सनको जिल्लालाई मेटायो र उनलाई प्रभावकारी रूपमा राजीनामा गर्न बाध्य बनायो (उनी अहिले राज्यको महान्यायाधिवक्ता छन्)। गत वर्ष, पोडहर्जरको डेटा अनुसार, राज्यका १७० विधायी सिटहरूमध्ये केवल १० मा अर्थपूर्ण प्राइमरी भएको थियो, तिनमा ५० मध्ये केवल एक राज्य सिनेट सिट समावेश थियो।
“यो केवल ’जिल्लाहरू परिवर्तन गर्नु र उनलाई त्यहाँबाट हटाउनु्’ जस्तो मात्र थियो,“ सुश्री स्याक्रिपान्टीले भनिन्। “जब तपाईं शब्दकोशमा ’जेरीम्यान्डर’ खोज्नुहुन्छ, यो सिधै उत्तरी क्यारोलिनातिर जान्छ।“
* जेरिम्यान्डरिङको भावार्थ : चुनावी क्षेत्रको कुटिल हेरफेर उपयुुक्त हुनसक्छ । एउटै शब्द नभएकाले अनुवादमा जस्ताको तस्तै हिज्जे प्रयोग गरिएको हो ।
फेब्रुअरी २३, २०२५, द न्यूयोर्क टाइम्सबाट
प्रतिक्रिया दिनुहोस्