अमेरिकाको पहिलो पोष्ट–साक्षर राष्ट्रपतिसँग फर्कनको लागि भूगोल मात्र बाँकी छ।
जुन २०११ मा ब्रसेल्समा दिइएको एक भविष्यवाणीपूर्ण भाषणमा, तत्कालीन अमेरिकी रक्षा मन्त्री रोबर्ट एम. गेट्सले वाशिंगटनका युरोपेली सहयोगीहरूलाई चेतावनी दिएका थिए –यदि उनीहरूले आफ्नो सुरक्षाको लागि पर्याप्त रकम खर्च गर्न शुरू गरेनन् भने, नाटो एक दिन इतिहास बन्नसक्छ। गेट्सले उल्लेख गरे अनुसार उनी “अमेरिकी रक्षा मन्त्रीहरूको शृंखलाका पछिल्ला एक उच्च अधिकारी थिए, जसले सहयोगीहरूलाई निजी र सार्वजनिक रूपमा, प्रायः निराशासहित, नाटोले सहमत भएका रक्षा खर्चको मापदण्ड पूरा गर्न आग्रह गरेका थिए।“

त्यस समयमा, नाटोका २८ सदस्यहरूमध्ये केवल पाँच—अल्बानिया, बेलायत, फ्रान्स, ग्रीस, र अमेरिका—ले आफ्नो कुल गार्हस्थ उत्पादनको कम्तीमा २ प्रतिशत वार्षिक रक्षा खर्चमा खर्च गरिरहेका थिए, जसलाई उनीहरूले २००६ मा प्रतिबद्धता जनाएका थिए। यदि त्यो स्थिति नाटकीय रूपमा परिवर्तन भएन भने, गेट्सले भने, “अमेरिकी राजनीतिक निकायमा युरोपको रक्षा गर्न ’कम हुँदै जाने इच्छा’ हुनेछ।“

युरोपमा परिवर्तन आएको छ, तर सायद पर्याप्त रुपले छिटो भने होइन । आज, नाटोका दुई तिहाइ सदस्यहरूले २ प्रतिशत मापदण्ड पूरा गर्छन्। तर रूसको युक्रेनमा युद्ध र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सहयोगीहरूलाई खर्च ५ प्रतिशतसम्म बढाउनुपर्ने मागको प्रकाशमा, युरोपसँग अझै लामो बाटो बाँकी छ। ट्रम्प लामो समयदेखि नाटोलाई तिरस्कार गर्छन्। गत वर्ष, उनले रूसीहरूलाई “जेसुकै मन लाग्छ त्यही गर्न प्रोत्साहन दिनेछु“ यदि कुनै नाटो देशले आफ्नो रक्षाको लागि थप भुक्तानी गरेन भने भनेका थिए । यसैबीच, उपराष्ट्रपति जे.डी. भान्सले यदि युरोपेली संघले इलोन मस्कको व्यापारिक प्लेटफर्महरू नियमन गर्न खोज्यो भने संयुक्त राज्यले नाटोको समर्थन छोड्न सक्छ भनेका छन् ।
बजेट विनियोजनमा असहमतिले एक गहिरो मुद्दालाई संकेत गर्छः ट्रम्प र भान्सको लोकप्रिय बयानबाजीमा देखिएझैं धेरै अमेरिकीहरू अब युरोपको रक्षा गर्नमा गहिरो चासो राख्दैनन्।
युरोपप्रति अमेरिकी मनोवृत्तिको परिवर्तन आश्चर्यजनक हुनुहुँदैन। नाटो लगभग ८० वर्षसम्म टिकेको छ। यो आधुनिक इतिहासमा लामो समय हो, विशेषगरी द्रुत प्राविधिक परिवर्तनको युगमा जसले जानकारी, अर्थतन्त्र, हवाई यात्रा, आप्रवासन ढाँचा, र पहिचानलाई नै प्रभावित गरेको छ।
जब नाटो दोस्रो विश्वयुद्धपछि स्थापना भएको थियो, संयुक्त राज्यले विश्वको आधाभन्दा बढी उत्पादन क्षमताका साथ प्रभुत्व जमायो। यो आँकडा अब करिब १६ प्रतिशतमा झरेको छ। युद्धपछिको अवधिमा, संयुक्त राज्यले नयाँ गठबन्धनको नेतृत्व र वित्तपोषण गर्नु स्वाभाविक थियो; आखिर, युरोपेली शहरहरू हवाई बमबारीबाट ध्वस्त थिए, र जोसेफ स्टालिनको सोभियत संघ पश्चिमी युरोपको लागि घातक खतरा बनिरहेको थियो। दशकौंसम्म, त्यो गतिशीलता विकसित भयो। संयुक्त राज्यले आफ्नो सुरक्षा धेरै हदसम्म तिरेर, युरोपले ईष्र्यालु सामाजिक कल्याणकारी राज्यहरू निर्माण गरे, जहाँ नागरिकहरूले राम्रो जीवनको आनन्द लिए। स्टालिनको मृत्यु भयो, पश्चिमले सोभियतहरूसँग डिटरेन्स हासिल ग¥यो, र पछि सोभियत संघ ढल्यो।
नाटोले शीतयुद्ध पछिका दशकहरू र रूसी साम्राज्यवादको पुनर्जन्मको अवधिलाई टिकायो—जसमा पश्चिममा उथलपुथल लोकप्रियता र पहिचान राजनीतिको उदय हुन पुग्यो । धेरै हदसम्म गठबन्धनको नेतृत्व गर्ने व्यक्तिहरूसँग दोस्रो विश्वयुद्ध र शीतयुद्धका प्रारम्भिक वर्षहरूको गहिरो सम्झना थियो वा ती व्यक्तिहरूसँग हुर्केका र प्रशंसा गर्नेहरू थिए। तर त्यो जीवित ऐतिहासिक सम्झना वाष्पीकरण भइरहेको छ। यो प्रक्रियामा, अमेरिकीहरूले आफ्नो पहिचानको पुरानो, थप प्राचीन पक्ष पुनः पत्ता लगाएका छन्—जसलाई युरोपेलीहरूले धेरै लामो समयसम्म बेवास्ता गरे। युरोपले सधैं बुझे बमोजिम संयुक्त राज्य एट्लान्टिकको साथै प्रशान्त महासागरको सामना गर्ने महादेश हो, तर यसले आफ्नो व्यवहार प्रभावित गर्न यो ज्ञानलाई पर्याप्त रूपमा आत्मसात गरेको छैन।
कम्तीमा बीसौं शताब्दीको शुरूआतदेखि, अमेरिकी पहिचान दुई व्यापक घटनाहरूले आकार लिएको छः एउटा भौगोलिक र अर्को विल्सोनियन । भौगोलिक एक स्पष्ट लाग्छ, तर धेरै मानिसहरूका लागि—विशेष गरी युरोपेली अभिजात वर्गका लागि—यो वास्तवमा त्यस्तो होइन।

An undated portrait of U.S. President Woodrow Wilson. Hulton Archive/Getty Images
उत्तर अमेरिकाको समशीतोष्ण क्षेत्र, जुन धेरै हदसम्म संयुक्त राज्य समेत गरी, राष्ट्रियताका लागि पूर्ण रूपमा विभाजित छ, पूर्वी तटमा गहिरा पानीका बन्दरगाहहरू र प्रेरीको विशाल समृद्ध माटोसम्म एपलाचियन मार्गहरू छन्। पानीको अभाव भएको ग्रेट अमेरिकन डेजर्ट, जसलाई अहिले ग्रेटप्लेन्स भनिन्छ, एउटा साँचो प्राकृतिक अवरोधको रूपमा उदायो, तर रकी माउन्टेनहरूमार्फत प्रशान्त महासागरसम्म जनसंख्या पु¥याउन ट्रान्सकन्टिनेन्टल रेलमार्ग बनाइयो। भूगोलले दुई महासागरहरूद्वारा बाहिरी संसारबाट अलगिएको एकीकृत राष्ट्र बनायो, र यसभित्र धेरै कुरा भइरहेको थियो—यसका सबै समस्याहरू र सम्भावनाहरूसँग— जस्तो कि बाँकी विश्व अस्पष्ट रहन सक्थ्यो।
तर एकचोटि प्रशान्त पुगेपछि, एउटा मात्र होइन, दुई तटहरू विचार गर्नुपर्ने भयो, फ्लोरिडा र टेक्सासबीचको गल्फकोस्टको उल्लेख नगर्ने हो भने । यसले युरोप र एशिया दुवैसँग ठूला समुद्री संचार रेखाहरू खोल्यो र बाहिरी संसारसँग बलियो व्यापार सक्षम बनायो।
यहाँबाट अमेरिकी पहिचानको अर्को पक्ष आउँछः विल्सोनियनवाद—संयुक्त राज्यको आफ्नो सुरक्षाको लागि अमेरिकी तटभन्दा पर स्वतन्त्रताको उपलब्धिलाई आवश्यक ठान्ने विचारधाराको संक्षिप्त रूप । यद्यपि अठ्ठाइसौं अमेरिकी राष्ट्रपति वुड्रो विल्सनले प्रथम विश्वयुद्धपछि संयुक्त राज्यलाई अन्तर्राष्ट्रिय व्यवस्थामा ल्याउन असफल भए, उनले देशको लागि प्रयास गर्न एउटा लक्ष्य सिर्जना गरे—जसरी स्टीमशिप र विमानहरूले यसलाई युरोपसँग धेरै नजिक ल्याउन शुरू गरेका थिए। दोस्रो विश्वयुद्ध र त्यसको परिणामले वाशिंगटनलाई विश्वको अग्रणी शक्ति बनाएर विल्सोनियन आदर्श—युरोप महादेशको ठूलो हिस्सामा स्वतन्त्रता र लोकतन्त्रको गढ स्थापना गर्न—त्यो लक्ष्य हासिल गर्न समय लाग्यो।
युद्धपछिका वर्षहरूमा यो सबै स्पष्ट र वाञ्छनीय लागे पनि, यो भौगोलिक दृष्टिकोणमा पूर्णरूपमा स्वाभाविक थिएन । यसले संयुक्त राज्यले राम्रो संसारको खातिर गरेको बलिदानको ज्ञान र वाशिंगटनको युरोपेली जडहरूमा आधारित ऐतिहासिक सम्बन्ध—रक्त र माटोभन्दा दार्शनिक जडहरू—आवश्यक थियो। यो सबैको अध्ययन आवश्यक थियो, जुन अभिजात वर्गले हल्कासँग लिन्छ, तर लिनुहुँदैन । किनभने आठ दशक बितिसकेपछि, यो परम्परालाई अब पुस्तक र अध्यनमार्फत मात्र मूल्याङ्कन गर्न सकिन्छ, किनभने एट्लान्टिक गठबन्धनको स्थापनाको जीवित सम्झना हराएको छ, जसरी शीतयुद्ध चेतनाबाट मेटिँदै गएको छ।
ट्रम्प यो परम्पराका उत्तराधिकारी होइनन् । उनी वास्तवमा पढ्दैनन् । उनी पोष्ट–साक्षर छन—अर्थात्, उनी सामाजिक सञ्जाल र स्मार्टफोनको संसारमा अवस्थित छन् तर कथात्मक इतिहासको अध्ययनमा, सतही रूपमा पनि, डुबेका छैनन्।
त्यसैले, उनी युद्धपछिको पश्चिमको गाथाप्रति कृतज्ञ छैनन्। नाटो उनको लागि केवल संक्षिप्त रूप हो, नाजी फासीवादविरुद्धको संघर्षबाट उत्पन्न मानवजातिको सबैभन्दा ठूलो सैन्य गठबन्धनको संकेत होइन । उनलाई सम्भवतः एट्लान्टिक चार्टरबारे केही थाहा छैन—जुन अमेरिकी राष्ट्रपति फ्र्याङ्कलिन डी. रुजभेल्ट र बेलायती प्रधानमन्त्री विन्स्टन चर्चिलले अगस्त १९४१ मा क्यानडाको न्यूफाउन्डल्यान्ड तटमा हस्ताक्षर गरेका थिए—जसले युद्धपछिको विश्वको लागि प्रेरणादायी दृष्टिकोण राखेको थियो, वा महान अमेरिकी कूटनीतिज्ञ र राजनेताहरु जस्तै एभरेल ह्यारिम्यान र जर्ज केननद्वारा युद्धपछिको व्यवस्थाको निर्माणबारे ।
ट्रम्पको नीतिहरूले अमेरिकाका साझेदारहरूलाई अमेरिकाबाट अलग गर्न धम्की दिन्छ—र वाशिंगटनले पीडा भोग्नुपर्ने हुन्छ ।
अमेरिकी विदेश नीति अभिजात वर्गले यस्तो प्रेरणादायी इतिहासमा आफ्नो दाँत किटेको छ। ट्रम्प र उनका अनुयायीहरू सम्भवतः यसमा धेरैजसो अपरिचित छन्। र प्रविधिको विकासका कारण, उनी आफ्नो प्रकारका अन्तिम राष्ट्रपति नहुन सक्छन्।
किनभने ट्रम्प इतिहासविहीन छन्, उनीसँग फर्कनको लागि भूगोल मात्र छ। उनी संयुक्त राज्यलाई आफैंमा अवस्थित महादेशको रूपमा कल्पना गर्छन्, र उनले ग्रीनल्यान्ड र पनामाजस्ता स्थानहरूको तुलनात्मक निकटता दर्ता गर्छन्, जसलाई उनले अधिग्रहण गर्ने प्रतिज्ञा गरेका छन्। ट्रम्पको मनमा, ग्रीनल्यान्ड र पनामा नहर अमेरिकी भूगोलको तर्कको जैविक विस्तार हुन्, विशेषगरी त्यसयुगमा जसले आर्कटिकमा थप नौसैनिक गतिविधि देख्न सक्छ।
अर्को विचार गर्नुपर्ने कारक यो हो कि प्रविधिले भूगोललाई नै संकुचित गरिरहेको छ। यो परिवर्तन बुझ्न सजिलो छैन, किनभने यो धेरै क्रमिक छ । विश्वको एक भागको संकटले अर्को भागका संकटलाई पहिलेभन्दा बढी प्रभाव पार्न सक्छ। राम्रोसँग पढेको, ऐतिहासिक दिमागले यो विकासलाई संयुक्त राज्यले विश्वभर गठबन्धनलाई बलियो बनाउनुपर्ने कारणको रूपमा देख्छ। तर ट्रम्पको अधिक प्राचीन र नियतिवादी विश्वदृष्टिमा, यो साँघुरो विश्वमा क्षेत्रीय प्रभाव क्षेत्रहरूलाई बलियो बनाउने समय हो जुन निरन्तर द्वन्द्वमा रहनेछ।
ट्रम्पले मनमा राखेको कुरा उत्तर अमेरिका ठूलो क्षेत्र हो, पनामा नहरदेखि ग्रीनल्यान्डसम्म, क्यानडा समेत संयुक्तराज्यको अधीनस्थ भएको । ट्रम्पको पौराणिक कथनअनुसार प्रकट नियति अब पूरा हुन शुरू हुन्छः जुन एक पटक उत्तर अमेरिकाको समशीतोष्ण क्षेत्रलाई पूर्वदेखि पश्चिमसम्म जित्नुको अर्थ थियो, अब उत्तरदेखि दक्षिणसम्मको विजय समावेश छ । ट्रम्पले मेक्सिकोको खाडीलाई “अमेरिकाको खाडी“ नामकरण गर्ने प्रयासले यी सबै बताउँछ ।
युरोपको कुरा गर्नुपर्दा, यो कमजोर र विभाजित बन्दैछ, पूर्वमा रूस र दक्षिणमा मध्य पूर्व र अफ्रिकाबाट आप्रवासनको जवाफमा राजनीतिक अशान्तिको चपेटामा छ । मैले मेरो २०१८ को पुस्तक ‘द रिटर्न अफ मार्को पोलोज वल्र्ड’ मा लेखेका थिएँ, “जसरी युरोप हराउँदैछ, युरेशिया एकजुट बन्दैछ“ मैले व्याख्या गरेको थिएँ कि युरोप अन्ततः युरेशियाली शक्ति प्रणालीसँग मिसिनेछ । युक्रेनको युद्ध, जसले रूसलाई चीन, इरान, र उत्तर कोरियासँग गहिरो गठबन्धनमा ल्याएको छ, यो सिद्धान्तलाई प्रमाणित गरेको छ । आजको सानो विश्वमा, युरोप आफूलाई अफ्रो–युरेशियाको उथलपुथलबाट अलग गर्न सक्दैन, जसले ट्रम्पको नयाँ नक्शामा यसको मूल्यलाई कमजोर बनाउँछ। यो तब हुन्छ जब विल्सोनियनवाद मर्छ ।
धेरै वर्षसम्म, युरोपेलीहरूले संयुक्तराज्यले चीन र बाँकी पूर्वी एशियामा धेरै ध्यान दिएकोमा चिन्ता गरेका छन्। समस्या त्योभन्दा गहिरो छ। ट्रम्पले चीनलाई आफ्नै महादेश र शक्ति समूहको रूपमा देख्छन्, जस्तै संयुक्त राज्य । अमेरिकी राष्ट्रपतिले चीनसँग व्यापार युद्ध गर्न सक्छन्, वा नगर्न सक्छन्। उनले बेइजिङसँग सम्बन्ध सुधार गर्न पनि प्रयास गर्न सक्छन्। कुरा यो हो कि चीन ट्रम्पको क्षेत्रअनुसार विभाजित पृथ्वीको दृष्टिकोणमा दर्ता हुन्छ—जबकि युरोप, नाटो र युरोपेली संघको बाबजुद, धेरै कुराको लागि पर्याप्त रूपमा एकीकृत छैन।
ट्रम्पले अभिजात वर्ग र उनीहरूका परियोजनाहरूलाई घृणा गर्छन्, र नाटो अन्तिम अभिजात परियोजना हो। यदि गठबन्धनका सदस्यहरूले २०११ मा गेट्सको तितो बचनलाई मनन गरेर आफ्नो रक्षा बजेट धेरै चाँडो बढाएका भए, ट्रम्पले अहिले फरक महसुस गर्न सक्थे। र यदि उनले गरेनन् भने पनि, कम्तीमा उनले नाटो सहयोगीहरूविरुद्ध तुलनात्मक रूपमा साना युरोपेली रक्षा बजेटको हतियार प्रयोग गर्न सक्ने थिएनन्, जसले उनको तर्कलाई गम्भीर रूपमा कमजोर बनाउँथ्यो।
यसैबीच, संयुक्तराज्यको पहिलो पोष्ट–साक्षर राष्ट्रपतिले युरोपले १९४१ मा वाशिंगटनले उद्धारमा आएदेखि सामना नगरेको चुनौतीको संकेत गर्छ। शीतयुद्ध र त्यसको परिणाम, जब मध्य र पूर्वी युरोपका पूर्व बन्दी राष्ट्रहरू नाटोमा सामेल भए, भविष्यमा सुखद समयको रूपमा देखिन सक्छ।
फेब्रुअरी २५, २०२५ । फरेन पोलिसीबाट
लेखकः रोबर्ट डी. क्याप्लान, फरेन पोलिसी रिसर्च इन्स्टिच्यूटमा भूराजनीति रोबर्ट स्ट्राउस्ज–हुपे चेयर हुन्।
प्रतिक्रिया दिनुहोस्