तर नयाँ नियमहरू अमेरिकाको लागि उपयुक्त छैनन्
सन् १९४५ पछिको व्यवस्थाको भंग हुने गति बढिरहेको छ। यो हप्ता संयुक्त राष्ट्रसंघमा भएको असाधारण दृश्यमा, अमेरिकाले युक्रेन र युरोपको विरुद्धमा रुस र उत्तर कोरियाको पक्ष लिएको छ। जर्मनीका सम्भावित नयाँ चान्सलर फ्रेडरिक मर्जले चेतावनी दिएका छन् कि जुनसम्म नाटो मृत्युको अवस्थामा पुग्न सक्छ। शक्ति नै सही हुने संसार छिट्टै आउँदैछ जहाँ ठूला शक्तिहरूले सम्झौता गर्छन् र साना देशहरूलाई दबाउँछन्। ट्रम्प टोलीले दाबी गर्दैछ, यसको सम्झौता–निर्माणले शान्ति ल्याउनेछ र ८० वर्षसम्म ठगिएको अमेरिकाले आफ्नो महाशक्ति स्थिति नाफामा परिणत गर्नेछ। तर यसले संसारलाई थप खतरनाक बनाउनेछ, र अमेरिकालाई कमजोर र गरिब बनाउनेछ।
तपाईंलाई विश्व व्यवस्थामा रुचि नहुन सक्छ—तर यसले तपाईंप्रति रुचि राख्छ। अमेरिकाको डन कोर्लियोन दृष्टिकोण युक्रेनमा प्रदर्शनमा आएको छ। सुरुमा ५०० अर्ब डलरमाग गरेपछि, अमेरिकी अधिकारीहरूले युक्रेनी खनिजहरू विकास गर्न संयुक्त राज्य कोषको लागि अस्पष्ट सम्झौतामा सहमति जनाए। अमेरिकाले बदलामा सुरक्षा ग्यारेन्टी प्रदान गर्ने नगर्ने कुनै स्पष्ट छैन।
यो प्रशासन विचार र अहंकारको भँवर हो, तर यसका मानिसहरू एउटा कुरामा सहमत छन्ः सन् १९४५ पछिको नियम र गठबन्धनको ढाँचामा, अमेरिकीहरू अनुचित व्यापार र विदेशी युद्धहरूको लागि भुक्तानी गर्न ठगिएका छन्। ट्रम्पलाई लाग्छ कि उनले अति सक्रिय लेनदेन मार्फत राष्ट्रिय हितलाई थप प्रभावकारी रूपमा पछ्याउन सक्छन्। सबै कुरा छलफलको लागि खुला छः क्षेत्र, प्रविधि, खनिज र थप । “मेरो सम्पूर्ण जीवन सम्झौताहरूमा छ,“ उनले फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोनसँग युक्रेनबारे कुराकानी गरेपछि फेब्रुअरी २४ मा व्याख्या गरेका थिए । ट्रम्पका विश्वासपात्रहरू, जस्तै व्यापारिक कौशल भएका स्टिभ विटकफ, साउदी अरबलाई इजरायलसँग मान्यता दिलाउनेदेखि क्रेमलिनको पुनर्जनन सम्मका लक्ष्यहरू जोड्ने सम्झौताहरू खोज्न विभिन्न राजधानीहरूबीच उडिरहेका छन्।
यो नयाँ प्रणालीमा नयाँ पदानुक्रम छ। अमेरिका नम्बर एक छ। त्यसपछि स्रोत बेच्ने, धम्की दिने र लोकतन्त्रले बाधा नपुगेका नेताहरू भएका देशहरू छन्। भ्लादिमिर पुटिन रुसलाई महान साम्राज्य शक्तिको रूपमा पुनस्र्थापना गर्न चाहन्छन्। मुहम्मद बिन सलमान मध्य पूर्वलाई आधुनिकीकरण गर्न र इरानलाई रोक्न चाहन्छन्। शी जिनपिङ एक प्रतिबद्ध कम्युनिस्ट र राष्ट्रवादी दुवै हुन् जो बलियो चीनको लागि उपयुक्त संसार चाहन्छन्। तेस्रो स्थानमा अमेरिकाका सहयोगीहरू छन्, उनीहरूको निर्भरता र वफादारीलाई शोषण गर्न सकिने कमजोरीको रूपमा हेरिन्छ।

यो क्षेत्र छलफलको लागि खुला छ, जसले सन् १९४५ पछिको नियमहरूलाई विस्फोट गराउँछ। युक्रेनको सीमा ट्रम्प–पुटिन हात मिलाइले निर्धारण हुन सक्छ। इजरायल, लेबनान र सिरियाको सीमाहरू १७ महिनाको युद्धले धमिलो बनाएको छ। केही बाह्य शक्तिहरू यसप्रति उदासीन छन्। तर ट्रम्पले गाजा, साथै ग्रीनल्याण्डमा आँखा लगाएका छन् र कुनै पनि सिनो–अमेरिकी वार्तामा, शीले पनि कुनै क्षेत्रका लागि दाउ लगाउन सक्छन्, उदाहरणका लागि ताइवान, दक्षिण चीन सागर वा हिमालयमा रियायतहरूको बदलामा निर्यात सीमित गर्ने प्रस्ताव राखेर।
अर्थतन्त्रमा मोलमोलाई कर (ट्यारिफ) भन्दा धेरै टाढा गएर राज्य शक्ति र व्यवसायको संयोजनलाई अंगाल्छ। यसले व्यापारलाई तटस्थ नियमहरूले शासन गर्नुपर्छ भन्ने विचारबाट पछि हट्ने संकेत गर्छ। अमेरिका र रुस, साउदी अरब, ताइवानी कार्यकारीहरू र युक्रेनबीचको द्विपक्षीय छलफलमा तेल उत्पादन, निर्माण ठेक्का, प्रतिबन्ध, इन्टेल प्लान्ट, इलन मस्कको स्टारलिंक स्याटेलाइट सेवाको प्रयोग र मरुभूमिको गल्फ टूर्नामेंट समावेश छन्।
नयाँ सम्झौता निर्माताहरूले दाबी गरे अनुसार उनीहरूको दृष्टिकोणले संसारलाई फाइदा पु¥याउनेछ। ट्रम्पले तर्क गर्छन् कि यो अमेरिकाको हितमा पनि छ। के उनीहरू सही छन् ? ट्रम्प र विश्व दक्षिणका नेताहरूले सन् १९४५ पछिको व्यवस्था बिग्रिएको थियो भन्दै आएको कुरा ठीकै हो। जब कूटनीति स्थिर हुन्छ, अपरम्परागत विचारहरूले काम गर्न सक्छन्—इजरायल र केही अरब राज्यहरूबीचको अब्राहम सम्झौताको बारेमा नै सोचौैं ।
तर त्यहाँबाट सम्झौता–निर्माणलाई संगठनात्मक सिद्धान्तको रूपमा प्रयोग गर्न ठूलो छलांग छ। जटिलता भारी छः साउदी अरबले इरानलाई रोक्न रक्षा सम्झौता चाहन्छ, जुन अमेरिकाले इजरायललाई मान्यता दिएमा प्रदान गर्न सक्छ। तर त्यसको लागि इजरायल र प्यालेस्टाइनीहरूले दुई–राज्य भविष्यलाई समर्थन गर्नुपर्छ, जुन ट्रम्पले गाजामा शान्ति ल्याउने आफ्नो योजनामा अस्वीकार गरेका थिए। रुसले तेल प्रतिबन्ध हटाउन चाहन्छ, तर यसले साउदी अरबको आय घटाउन र भारतको खर्च बढाउन सक्छ। र यस्तै यस्तै । यता, जब सीमाहरू विवादास्पद हुन्छन्, युद्धहरू हुन्छन्। भारत जस्ता विशाल देशहरू पनि असुरक्षित महसुस गर्न सक्छन्। किनभने ट्रम्पले शक्तिलाई व्यक्तिगत रूपमा हेर्छन् न कि अमेरिकाको संस्थाहरूमा आधारित शक्तिकारूपमा, उनलाई आफ्ना समकक्षीहरूलाई सम्झौताहरू टिक्नेछन् भनेर मनाउन गाह्रो हुन सक्छ—यो एक कारण हो कि उनी हेनरी किसिन्जर होइनन्।
त्यसैले संसारले कष्ट भोग्नेछ। ट्रम्पले बुझ्न नसकेको कुरा के हो भने अमेरिकाले पनि कष्ट भोग्नेछ। यसको विश्वव्यापी भूमिकाले सैन्य बोझ र व्यापारको खुलापन थोपरेको छ जसले केही अमेरिकी उद्योगहरूलाई हानि पु¥याएको छ। तर लाभहरू धेरै ठूला छन्। व्यापारले उपभोक्ता र आयात गर्ने उद्योगहरूलाई फाइदा पु¥याउँछ। डलर वित्तीय प्रणालीको केन्द्र हुनाले अमेरिकाले ब्याज खर्चमा वार्षिक १०० अर्ब डलरभन्दा बढी बचत गर्छ र उच्च वित्तीय घाटा चलाउन सक्छ। अमेरिकी फर्महरूको विदेशी व्यवसाय १६ ट्रिलियन डलरको छ। ती फर्महरू विदेशमा फस्टाउँछन् किनभने वाणिज्यमा उचित रूपमा अनुमान गर्न सकिने र निष्पक्ष वैश्विक नियमहरू छन्, न कि भ्रष्टाचार र क्षणिक विशेष सुविधाहरू—यो नैतिकता जुन चिनियाँ र रुसी फर्महरूलाई धेरै उपयुक्त हुन्छ।
ट्रम्पलाई विश्वास छ कि अमेरिकाले युरोप र सायद यसका एशियाली सहयोगीहरूलाई आंशिक वा पूर्ण रूपमा त्याग्न सक्छ। उनले भनेकै छन्, अमेरिकासँग “सुन्दर समुद्र छुट्ट्याउने रूपमा छ।“ तर अब युद्धहरूले अन्तरिक्ष र साइबरस्पेसलाई समेट्छन्, त्यसैले भौतिक दूरीले १९४१ मा भन्दा पनि कम सुरक्षा प्रदान गर्छ, जब जापानको पर्ल हार्बरमा आक्रमणले अमेरिकाको अलगाववाद समाप्त ग¥यो। थप रूपमा, जब अमेरिकाले कठोर शक्ति प्रदर्शन गर्न वा मातृभूमिको रक्षा गर्न चाहन्छ, यो सहयोगीहरुको सहयोगमा निर्भर हुन्छ, जर्मनीको रामस्टाइन एयरबेस र अष्ट्रेलियाको पाइन ग्याप सिग्नल स्टेशनदेखि क्यानडाको आर्कटिकमा मिसाइल ट्र्याकिंगसम्म। ट्रम्पको संसारमा, अमेरिकाले अब तिनीहरूमाथि निःशुल्क पहुँच नपाउन सक्छ।
सम्झौता–निर्माणका वकालतकर्ताहरूले ठाने अनुसार अमेरिकाले मोलमोलाई गरेर आफूले चाहेको कुरा प्राप्त गर्न सक्छ। तर ट्रम्पले दशकौं पुरानो निर्भरताहरूको शोषण गर्दा, अमेरिकाको प्रभाव तीव्र रूपमा घट्नेछ। विश्वासघातको अनुभव गरेर, युरोप र बाहिरका सहयोगीहरूले सुरक्षाको लागि एकअर्कातिर फर्कनेछन्। यदि अराजकता फैलियो भने, कमजोर अमेरिकी गठबन्धन र कमजोर वा भंग हतियार नियन्त्रण भएको प्रणालीमा अमेरिकाले नयाँ खतराहरूसँग सामना गर्नुपर्नेछः एशियाली आणविक हतियार दौडको बारेमा सोच्नुहोस्। खतरनाक समयमा, मित्रहरू, विश्वसनीयता र नियमहरू पैसाभन्दा बढी मूल्यवान हुन्छन्। कांग्रेस, वित्तीय बजार वा मतदाताहरूले ट्रम्पलाई पछि हट्न मनाउन सक्छन्। तर संसारले पहिलेदेखि नै नियमविहीन युगको लागि योजना बनाउन थालिसकेको छ। ■
द इकोनोमिष्टको नयाँ छापा संस्करणको कभर स्टोरीको भावानुवाद
प्रतिक्रिया दिनुहोस्