– किशोर पन्थी (तस्विर समेत)
चाइना भन्ने बित्तिकै मलाई चीनिया फूड दिमागमा आउँछ । चाइनिज फुड, कोरियन सुज, जापानिज वाइफ र अमेरिकन लाइफ विश्वमा नै चर्चित छ । कोरियन सुज लगाइएकै छ । अमेरिकन लाइफ पनि अनुभव गरिएकै छ । चाइनिज फुडको वास्तविक अनुभव गर्ने मौका मिलेको थिएन । किनभने छिमेकी देश भएपनि चाइना जाने अवशर मलाई मिलेको थिएन ।
युरोप र अमेरिकाको धेरै कुराको अनुभव गरेको भएपनि मलाई चीन जाने अवशर भने मिलेको थिएन । एसियाका अन्य कैयन देशमा पुगेपनि आफ्नै देश नेपालको छिमेकी देश चीनमा जाने अवशर मलाई अहिलेसम्म प्राप्त भएको थिएन । हुन त म भारतका कैयन स्थानमा पनि युरोप र अमेरिकापछिमात्र पुगेको हुँ । नेपालसँग भारतको खुल्ला सिमाना भएपनि सिमाक्षेत्रका भारतीय स्थानहरुबाहेक अरु स्थानमा पुग्नलाई धेरै बर्ष कुर्नुपरेको थियो । भैरहवाबाट सुनौलीहुँदै नौतनवा रेल हेर्न भने बच्चैमा गएको थिएँ । पछि गोरखपुर पनि धेरैपल्ट गइयो । पानीपुरी लगायत भारतीय खानाको स्वाद पनि धेरैपल्ट चाखियो ।
नेपालीहरुका लागि भारतजान जति सजिलो र सस्तो छ, चीन जान त्यती सस्तो र सजिलो छैन । भिसा प्रकृया र भारतको तुलनामा मँहगो प्लेन टिकटको कारण ब्यापापरिक प्रयोजनका बाहेक अन्य व्यक्ति चीन जानका लागि साइतै जुराउनुपर्छ । मेरो लागि पनि लगभग त्यस्तै भयो । पत्रकारका हिसाबले नेताहरुसँग नजिक भएर चीन भ्रमण गर्ने धेरैले अवशर पाएपनि आफू भने नेताको चाकडी चाप्लुसी गर्ने परिएन, शायद त्यसैले होला नेतासँग म अहिलेसम्म कुनै देश गएको छैन ।
गत मे महिनाको दोश्रो साता चीनको सिचुवान प्रान्तको छेन्दुमा रहेको सरकारी टेलिभिजन सीडीटिभीको निम्ता मान्न पत्रकारको हैसियतमा चीन पुगियो । चीनको विकाश विश्वचर्चित रहेका कारण पनि म युरोप र अमेरिकाका देशको भ्रमण गर्दा भन्दा पनि धेरै एक्साइटेड थिएँ, चीन जाँदा । साथमा चीनीया र नेपालीभाषा दुबै जान्ने मित्र धु्रब साथमा भएकाले मलाई खास आत्तिनुपर्ने केही कुरा थिएन । हुन त मैले चीनमा चीनिया भाषा नजान्ने हो भने धेरै समस्या हुने कुरा सुनेको थिएँ, तर दुबै भाषा जान्ने मित्र साथमा भएकाले मलाई त्योबारे चिन्तित हुनुपर्ने केही थिएन ।
मे ९ को दिउसो निर्धारित समय भन्दा थोरै ढिलो एयर चाइनाको विमान त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्यो । त्यसपछि हामी बोर्डिग पास बोकेर विमान भएतिर हिडेरै लाग्यौं । नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एयरपोर्टभित्रबाटै सिधै विमानभित्र पुग्ने टनेल अर्थात् जेटवेको व्यवस्था छैन । कुनै कुनै विमानले विमानस्थलको बस प्रयोग गर्ने भएपनि एयर चाइना एकसय मिटर भन्दा पनि नजिक अवतरण भएकाले बसको पनि प्रयोग गर्नुपरेन । विमानमा चढेपछि चाइनिज खाना खाँदै र हिमाल पहाड हेर्दैै हामी चाइनातर्फ लाग्यौं । नेपालबाट अरुदेशमा जाँदा मेरो फ्लाइट प्राय बेलुका हुने भएकाले आकाशबाट काठमाडौंलाई त्यती मज्जाले हेर्न पाएको थिएन । तर एयर चाइनाले भने काठमाडौंको आकाशमा केही फन्को मारिदियो । जसका कारण आकाशबाट मज्जाले काठमाडौं हेर्ने धोको पनि पूरा भयो ।
हामी विभिन्न बस्ती, हिमाल र पहाडमाथि उड्नुपर्ने भएकाले बेलाबेलामा रोलरकोस्टर चढेको जस्तो अनुभूती हुने रहेछ । यो अनुभव पनि मेरा लागि रमाइलै लाग्यो । झण्डै तीनघण्टामा हामी सिचुवानको छेन्दु पुगिहाल्यौं । छेन्दुमा इमिग्रेशन क्रस गरेर बाहिर निस्कनासाथ हामीलाई टेलिभिजनबाट पिकअप गर्ने व्यक्ति उपस्थीत थिए । उनले हामीलाई सिधै जिनजियाङ होटलमा पुर्याए । होटलमा हाम्रो भ्रमणको व्यवस्थापनका प्रमुख याङ नै हामीलाई स्वागतका लागि उपस्थीत थिए । उनैले हामीलाई होटलरुम सम्म पुर्याए ।
होटलमा केहीबेर आराम गरेपछि हामीलाई उनले त्यहाँको एउटा पुरानो र ऐतिहासिक क्षेत्रमा लगे । सानो गल्ली, साइड साइडमा स्ट्रीट फूड र तरकारी फलफूलका भेण्डरहरु देख्दा मलाई नेपालकै कुनै गल्लीमा हिडेको महसुस भएको थियो । यो स्थानको ठाउँ मेरो उच्चारणमा चुनयीन जिंग्दी थियो । त्यहाँको एउटा रेष्टुरेण्टमा हामीले अथेन्टिक चाइनिज फुडको डिनर गर्ने निधो गर्यौं । स्टेजमा एकजना टिनएजरले अँग्रेजी गीत गाइरहेका थिए । अँग्रेजी बोल्न र बुझ्न नसक्ने धेरै युवापुस्ताले चाइनमा अँग्रेजी गीत भने गाउँदा रहेछन् । उनले पनि बु्रनो मार्सको जस्ट द वे यु आर भन्ने गीत निकै राम्रो तरिकाले गाइरहेका थिए । हामीले उनको गीत सुन्दै चाइनिज स्पाइसी खानाको स्वाद लियौं ।
हामीले चाइनिज फुड भन्दै युरोप, अमेरिका वा नेपालमा खाने खानाको भन्दा फरक स्वाद थियो । वास्तवमा हामीले चीन बाहिर खाने अधिकांश चाइनजि फुड अथेन्टिक चाइनिज फुड नभएर मिक्स फ्लेवरको फूड रहेछ । त्यो कुरा मलाई चाइना नपुग्दासम्म अनुभव थिएन ।
हुन त हामीलाई चीनमा स्वागत गर्ने मित्रले हामीलाई बेलुकीको खाना होटलको बफेट खाने वा चीनको वास्तविक स्वाद भएको खाना खाने भनेर विकल्प दिएका थिए । म चीनको वास्तविक खानाको स्वाद चाख्न आतुर भएकाले होटलको बफेटको विकल्पलाई छाडिदिएको थिएँ । हुन त म खाना खाने कुरामा स्वादको पारखी नै हुँ । खाना बनाउन भने दालभात र तरकारीबाहेक अरु बनाउन आउँदैन ।
चीन भ्रमणको पहिलोदिनबाटै सुरु भएको चाइनिज फूडको स्वाद चाख्ने शिलशिला चीन भ्रमणको अन्तिम दिनसम्म नै जारी रह्यो । हामीले प्राय डिनरमा फरक फरक खालका चाइनिज फुडको अनुभव गर्न पायौं । हामीले गाइको मासु नखाने भएकाले हाम्रो खानामा गाईको मासु नपरोस् भनेर आयोजकहरु सचेत थिए । तर चाइनामा बाँदर र सर्पको मासु खाइने हल्ला सुनेको मलाई कतै खानामा बाँदर वा सर्पको मासु परेको त छैन भनेर मलाई निकै पिरोलिरह्यो । शंका निवारणका लागि मैले पटकपटक सोधें । उनीहरुले मलाई ढुक्क बनाए । तर धेरै पटक सोधेकाले उनीहरुले मलाई माछा खाने बेलामा पनि सर्पको मासु भनेर जिस्क्याउने गर्थे ।
पहिलो दिनको डिनरपछि चाइनिज, पोल्याण्ड र रुसका पत्रकारसँगका हरेक लन्च र डिनरहरु अवीस्मरणीय रहे । हरेक पल्टका लन्च र डिनरमा चिनिया स्वाद मेरो जिब्रोमा झुण्डिरह्यो । त्यसमध्येपनि छेन्दु नगरका सुचना कार्यालयका डाइरेक्टर जनरल तथा छेन्दु एसोसिएसन फर कल्चरल एक्सचेन्ज वीथ फरेन कन्ट्रीजका अध्यक्ष वेइवेइ जियाङले दिएको दोश्रो दिनको स्वागत डिनर विशेष स्मरणीय थियो । न्यायो स्वागत र आतिथ्य, चीनिया खानाको स्वाद र हरेक चुस्कीमा चियर्स गर्दै लिइएको वाइनको स्वाद विर्सिनसक्नु थियो । मेरो छेउमा बसेका सीडीटिभीका उपप्रमुखले मुस्कानका साथ वाइन र खाना थपीथपी खुवाए । हामीले यो डिनरमा छेन्दु नगरका सुचना कार्यालयका डाइरेक्टर जनरललाई उपहार समेत दियौं । उनले पनि हामीलाई उपहारहरु दिए ।
तेश्रो दिन छेन्दुको साउर्दन टाउनमा रहेको एउटा रेष्टुरेण्टमा हामीलाई हटपटको डिनर दिइएको थियो । त्यहाँ पनि हामी रुस र पोल्याण्डका पत्रकारहरुसँगै थियौं । हुन त मैले अमेरिकामा चाइनिज रेष्टुरेण्टमा धेरैपल्ट पुगेर हटपट खाएको पनि छु । तर चाइनामा नै पुगेर खाएको हटपटको स्वाद विशेष र फरक थियो । अझ हामीले अरु देशमा जाँदा खाने हटपट र चाइनामा जाँदा खाने हटपटको खाने तरिका नै फरक थियो । धेरैपटक हटपट खाएपनि हटपट खाने तरिका भने मैले चाइनामा सिकें ।
पाँचौं दिन हामीले सीचुवानको पुरातात्विक स्ट्रीटमा रहेको वाइड एण्ड न्यारो लेनमा डिनर खायौं । चाइना भ्रमणका क्रममा यो हाम्रो अन्तिम सामुहिक डिनर थियो । डिनरको स्वादपछि हामीले चिया सेरेमोनीमा भाग लियौं । चिया बनाउने र पिउने तरिका पनि निकै फरक थियो । पहिले हामी सबैले चियाको सुगन्ध लियौं । त्यसपछि दुईजना युवतीहरुले मौलिक तरिकाबाट चिया तयार पारेर सबैलाई एकएक सिप दिए । एकएक सिप गर्दै हामीले ग्रिन र ब्ल्याक टिको स्वाद लियौं । वास्तवमा मैले स्वाद लिइलिइ यसरी उत्सवकै रुपमा चिया पिएको यो नै पहिलो पटक थियो । जसको अनुभव पनि भिन्न र अद्धितीय नै रह्यो ।
यसरी यसपटकको चीन भ्रमणका क्रममा चाइनामा मेरो फुड अनुभव साँच्ची उल्लेखनीय रह्यो । एबीसी टेलिभिजनमा कार्यरत एकजना संचारकर्मीको हैसियतले चीन भ्रमणका क्रममा मैले खानाबारेको एउटा भाग पनि छायांकन गरें । चीनिया खानाको स्वादबारेको त्यो विशेष श्रृंखला हामीले हटपटको डिनरमा छायांकन गरेका थियौं । चीन भ्रमणका क्रममा चाइनिज खानाको स्वादको अनुभव जिब्रोमा मात्र होइन, मनमा समेत बोकेर म नेपाल फर्किएँ । र नेपाल फर्केपछि मैले यो अनुभव भेटेर बताउन सम्भव भएजतिका व्यक्तिलाई बताउने गरेको छु । अनि भन्ने गरेको छु , चाइनिज फुडको बास्तविक स्वाद लिनु छ भने चाइना नै जानुहोस् ।
क्रमश ः
प्रतिक्रिया दिनुहोस्