कविराज विसी । संसद जनताको आवाज र आवश्यकता प्रतिबिम्बित हुने थलो हो । जनताको मतबाट निर्वाचित भएर गठित हुने जनप्रतिनिधिमूलक संस्था संसद् (प्रतिनिधिसभा, प्रदेशसभा, नगरसभा, गाउँ सभा) लोकतन्त्रमा सबै भन्दा तागतवर स्थल मानिन्छ । जनताले आफूमा निहित सार्वभौम सत्ताको अधिकारको प्रयोग गर्ने आफ्ना प्रतिनिधि अर्थात् सांसद मार्फत भएकाले यसको छुट्टै गरिमा छ । जहाँ जनता र देशका समस्या, आवश्यकता माथि छलफल, मन्थन मात्र होइन, तत्काल सरकारलाई समाधानका लागि जिम्मेवार, जवाफदेही बनाउने निकाय पनि हो ।
संसदमा सांसदहरुले बोलेका हर कुराहरुको रेकर्ड हुन्छ । हर गतिविधिहरु प्रत्यक्ष निगरानीमा हुन्छन् । यहाँ सीमित समयमा बोलिएका कुराहरुमा राज्य, सरकार बेवास्ता गरेर हिँड्न मिल्दैन । अतः लोकतन्त्रमा संसद निकै शक्तिशाली मानिन्छ । नेपालको संसद भने कतिपय सांसदहरुकै कारण बदनाम छ । गएको संसदीय निर्वाचनबाट नयाँ जोस–जाँगरसहित आएका युवा सांसदहरूले जनभावनाका सवाललाई सदनमा प्रखरित बनाउने अपेक्षा थियो । नयाँ अनुहार संसदमा छिरिरहँदा जिम्मेवारी निकै ठूलो थियो । छनलाई त प्रत्यक्षतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीकी २७ वर्षीया सोबिता गौतमदेखि लिएर ८० वर्षीय राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीसम्म रहेका छन् । समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीकी २५ वर्षीया निशा डाँगीदेखि ८१ वर्ष लागेका राष्ट्रिय प्रजातन्त्र पार्टीका पशुपतिशमशेर जबरासम्म छन् । तर, जनभावनाको पक्षमा बोल्ने सांसद भने औंलामा गन्यसरी छन् ।
नेमकिपाका संसद प्रेम सुवालले यदाकदा जनपक्षीय सवालमा आवाज मुखरित गर्न खोजे पनि उनको एकल आवाज नीरिह बनेको छ । अपेक्षा गरिएका नयाँ दलका नयाँ सांसद राजनीतिक खिचातानीमै व्यस्त छन् । सदनमा देखिने छेउ न टुप्पोको भाषण, आत्मविश्वासको कमी, उपस्थिति, अध्ययनशीलताको कमीले उनीहरूको मूल्यांकन भइसकेकै छ । यसबीचमा नयाँ आएका सांसदले सडकमा चिच्याएजस्तै संसदमा आफ्नो गरिमा राखेर बोल्न सहज छैन भनेर प्रमाणित गरिदिए । धेरै सांसदहरुकै कारण फितलो बनिरहेको छ । मर्यादित संसदमा हुने अमर्यादित गतिविधिका कारण थुप्रै प्रश्न र संशय छ । संसदमा देखिने दृश्य र कैयन अस्वभाविक घटना, परिदृश्यले मर्यादित संसदको प्रतिष्ठामा गम्भिर आँच पु¥याइरहेका छन् । विरोध गर्ने स्वतन्त्रता छ, संसदमै विरोधका अरु अनेकन रचनात्मक उपायहरु पनि छन् । तर, सांसदले बिसिर्नु हुन्न कि संसदको आफ्नै नियम, मर्यादाहरु छन् । संसदमा अशिष्ट, अश्लिल, अपमानजनक, आपत्तिजनक शब्द वा सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकुल हुने गरी बोल्न र कुनै व्यक्ति, जाति, धर्म, भाषा वा लिंगलाई होच्याउने वा अरु कुनै किसिमले असर पर्ने गरी बोल्न र असंसदीय शब्द प्रयोग गर्न नहुने संसदीय मर्यादा छ । त्यसबारे सांसदहरु बेखबर छ अवश्य छैनन् । तर पनि आरोप प्रत्यारोपमा संसदको अधिवेशनहरु वित्ने गरेका छन् ।
आम नागरिकले जनप्रतिनिधिमूलक संसद साँच्चिकै संसद जस्तो चलेको देख्न चाहन्छन् । निर्वाचनबाट निर्वाचित भएर संसद पुगेकाहरुको भूमिका सोही किसिमको होस् भन्ने चाहन्छन् । संसदको मर्म, भावना, आवश्यकता जे छ, त्यसलाई अर्थपूर्ण र उपलब्धिमूलक बनाउन सबै सांसदहरुको सशक्त भूमिका भएको हेर्न चाहन्छन् । दुर्भाग्य भन्नुपर्छ, तिनै सांसदहरु अनेकन विवादास्पद काण्डहरुमा मुछिरहेका छन्, जनताको बिचमा अवैध कर्म र धन्दाहरुले नांगिरहेका छन् । संसद भित्रै पनि संसदको मर्यादामा खलल पुग्ने गतिविधि गरिरहेका छन् । यस तर्फ आम नागरिले समेत अव संसदहरुलाई नै खवरदारी गर्ने समय आएको छ । संसदलाई जनताको सर्वोच्च थलो भनिन्छ । जहाँ कानून निर्माण हुन्छ, नीति तय गरिन्छ र जनताको आवाज बुलन्द गरिन्छ। यो सरकारको जन्मदाता मात्र होइन, सल्लाहकार र मार्गनिर्देशक पनि हा े। तर संसदको बैठक हेर्दा हामी के देख्छौँ ? सांसदहरू बहसमा भन्दा होहल्ला गर्न, एकअर्कालाई आरोप–प्रत्यारोप गर्न, वेल घेर्ने, सभामुखलाई चिच्याएर रोक्न, मोबाइलमा मस्त हुन, कहिले झप्की मारेर सुत्न, व्यस्त देखिन्छन् । संसद नीति निर्माणको थलो हो, तर यहाँ कतिपय सांसदको भाषण सुन्दा बोल्नु र नबोल्नुमा खासै अन्तर नदेखिने अवस्था छ । सत्ता फेरिना साथ सांसदहरुको बोली फेरिन्छ । जुन दलको आन्तरिक कलहभन्दा बाहिर केही होइन । केही सीमित सांसदहरू मात्रै प्रभावकारी बहस गर्छन्, राष्ट्रिय मुद्दा उठाउँछन् । बाँकीले संसदलाई आरोपको जुहारी बनाउने, एकअर्कालाई खेदो खन्ने, सतही बहस गर्ने थलो बनाइरहेका छन् । सांसदहरुको यस्ता चर्काचर्की सुनिरहँदा पक्कै पनि तपाइ हामी सवैलाई रिस पोख्ने थलो हैन संसद जस्तो लाग्दो हो । र यो विल्कुलै सही हो । वास्तावमा संसद विधिको थलो हो, जिद्दीको होइन । तर हाम्रा संसदमा यस्ता चर्काचर्कीका को श्रृखले निरन्तर चलिरहेको छ । सरकारलाई जनता र देशका सवालमा जिम्मेवार, जवाफदेही बनाउने जनउत्तरदायी संसदलाई मजाकको थलो बनाउने खतरा देखिन थालेको छ । यसमा सरकार, सभामुख, सांसद सबै गम्भिर बन्नु आवश्यक छ ।
सदनको कार्य सार्वभौम जनताको प्रतिनिधित्व गरिनु हो । समग्र राज्यको आर्थिक, सामाजिक, सांस्कृतिक र राजनैतिक विषयवस्तुमा छलफल सदनले गर्नुपर्छ । कानून निर्माण र विधायिकी प्रक्रिया यथोचित गर्नुपर्ने हुन्छ तर, सदन अहिले कार्य र कर्मसँग तादम्यता हुन सकेको छैन । सदन वैचारिक छलफल भन्दापनि व्यक्ति आलोचना, राजनैतिक गुटबन्दी र जुहारीमा व्यस्त छ । दक्षता, कार्यकौशलता र प्रखर शैली जनप्रतिनिधिमा हुनुपर्ने गुण हो । तर सदनमा देखिने छेउ न टुप्पोको भाषण, आत्मविश्वासको कमी, उपस्थिति, अध्ययनशीलताको कमीले जन प्रतिनिधि असक्षम भएको स्पष्टै देख्न सकिन्छ । जब एउटा चालक असक्षम भएकै कारण दुर्घटना घट्छ त्यसरी नै असक्षम संसदीय सदस्यका कारण देश दुर्घटनामा पर्छ । संसदीय मूल्य मान्यतालाई यसले घटाई रहेको देखिन्छ ।
व्यवस्थाको सुन्दर पक्ष नै बहस, विश्लेषण र निष्कर्ष हो ।
प्रतिपक्ष ले गरिने सावधानी, होसियारी, प्रश्न प्रतिप्रश्न विकल्प सबै भन्दा उत्तम विषय हो तर, प्रतिपक्ष केवल मूर्तिको रूपमा छ, धरातलबिहीन छ, त्यस कारण सत्तापक्ष चैन स्वेच्छाचारी र आत्म आकांक्षामा चलिरहेको छ । आर्थिक संकट, चरम विभेद, सामुदायिक खलल, शान्ति सुरक्षाको अन्त्य यसको उपजभन्दा अत्युक्ति नहोला । संसद एउटा लगाम लगाएको घोडा जस्तो भएको छ । यसमा हुनुपर्ने विविध कार्यगत क्षमता, विकल्पको बाटो, गन्तव्यको कानूनी स्पष्टता गन्जागोल हुन पुगेको देखिन्छ । जब सदन विकल्प विहीन हुन्छ तब पुरानै शैलीमा यो चलिरहन्छ र उत्पादन मुलक हुन सक्दैन । संसद जनवैधता प्राप्त स्थल हो । यहाँ बोलिने हरेक भाष्य, टिकाटिप्पणी, आचरण र शिष्टताले ठूलो अर्थ राख्दछ । सैद्धान्तिक विचलन, कार्य विचलन जनताप्रतिको छल एवम् कपट हो । एउटा हल कोठा बैठक जहाँ देशको भविष्य तर्जुमा गरिन्छ, सम्भावनालाई दिशा निर्देश गरिन्छ त्यहाँ मर्यादा गुम्नु, दोस्रो वक्ताको अभिव्यक्तिप्रतिको अधैर्यता, असहनशीलता, व्यंग्य, आक्रोश बढ्नु र नीति कानून निर्माणप्रति गौण हुनु जस्ता कुराले संसदको साख उच्च होइन गिर्ने देखिन्छ हरेर सासंदहरुलाई यो कुराको जान्न आवश्यक छ ।
प्रतिक्रिया दिनुहोस्