जिनो जर्मानीको निष्कर्ष छ : अमेरिका ‘प्रेरणाहीन, भावनाहीन, असंलग्न—विचारहीन र एकैसाथ प्रभुत्वशाली’
प्रत्येक पुस्ताले ठूला राजनीतिक मुद्दाहरूको चर्चा गर्छ। तर हरेकले यो आफ्नै तरिकाले गर्छ। कसैले साम्राज्यको बोझ र दुष्टताको बारेमा लेख्छ, कसैले लोकतन्त्रका सम्भावना र समस्याहरूको बारेमा। अर्कोले प्रशासनका कर्तव्य र रोगहरूको अध्ययन गर्छ। यी सबैको पछाडि अधिकार र दायित्व, द्वन्द्व र विद्रोह, स्वार्थ र परोपकारका प्रश्नहरू लुकेका हुन्छन्। तर यी ठूला राजनीतिक मुद्दाहरू जताततै एकसमान भए पनि, तिनीहरू हरेक ठाउँमा समय र स्थानको विशेषतामार्फत फरक तरिकाले अनुभव गरिन्छन्। राजनीति विशुद्ध अमूर्त रूपमा मात्र अस्तित्वमा रहन सक्दैन, यो सधैं वास्तविक स्वार्थ र वास्तविक द्वन्द्वहरूमा मूर्त रूपमा क्रियाशील हुन्छ।
समाज सधैं परिवर्तनशील हुने भएकाले, यसको राजनीतिक ज्ञान पनि परिवर्तन हुनुपर्छ। त्यसैले आफ्नो राजनीतिक सैद्धान्तिकरणको क्रममा, पुस्ताहरूले सधैं आफ्ना अघिल्लाहरूको ज्ञानलाई पन्छाउँछन्। कहिले तिनीहरूले यसलाई बेवास्ता गर्छन्, कहिले औपचारिक रूपमा अस्वीकार गर्छन्, कहिले तिनीहरूले यसलाई पुरानो भव्यतामा संरक्षण गर्छन्। “डिजिटल युग“ मा, विगतका लेखकहरू वर्तमान राजनीतिक अडानका लागि सूचक शब्दहरूमा सीमित हुँदैछन्, विश्वविद्यालयका भवनहरूमा बिर्सिएका पूँजीपतिहरूका नामहरू जस्तै । एक जटिल र सूक्ष्म जीवनकार्य केही “मुख्य शब्दहरू“ मा परिणत भयो; एक भावुक जीवन सतही विश्वकोश प्रविष्टिमा बदलियो।
त्यसैले, विगतलाई आफ्नै लागि पुनः पढ्नु भनेको अर्काको जटिल र भावुकताको वर्तमानमा पुनर्जनन गर्नु हो। हाम्रो वर्तमान पठनले यस्तो अभ्यासको माग गर्छ। १०० वर्षपछि यो आश्चर्यजनक लाग्न सक्छ, तर बीसौं शताब्दीको उत्तरार्धमा “लोकतन्त्रको संकट“ मुख्य चासोको विषय थियो। औपचारिक लोकतन्त्रले कसरी फासीवाद र नाजीवाद जन्मायो? नयाँ सोभियत समाजवादी गणतन्त्र संघलाई कसरी बुझ्ने? बाँकी रहेका थोरै लोकतन्त्रहरूमा पनि म्याकार्थीवाद र एक्सन फ्रान्सेज जस्ता अनिधनायकवादी धाराहरू देखिएका थिए। र पक्कै पनि, उपनिवेशित विश्वका चिन्तकहरूले ती “लोकतन्त्रहरू“ को लोकतान्त्रिकतामाथि जायज प्रश्न उठाइरहेका थिए। चर्चा जताततै तनावपूर्ण, यहाँसम्म कि अतिशयोक्तिपूर्ण थियो। शीतयुद्धमा, राजनीतिको कुनै पनि चर्चा तटस्थ हुन सक्दैनथ्यो।
यो कष्टपूर्ण परिदृश्यमा, जिनो जर्मानीका लेखनहरूले कम यात्रा गरिएको बाटो प्रदान गर्छन्। इटालीबाट अवांछित व्यक्तिको रूपमा खेदिएका जर्मानी चाँडै नै अर्जेन्टिनाको जटिल राजनीतिमा फसे। अर्जेन्टिनाबाट उनी संयुक्त राज्य अमेरिकामा भागे, जहाँ उनले “शुद्ध सामाजिक वैज्ञानिक“ को रूपमा असहज रूपमा काम गरे, त्यसपछि उत्तिकै असहजतासाथ फासीवादपछिको इटालीमा फर्किए। उनको काम फासीवाद र अधिनायकवादको लामो अनुसन्धान हो, जसले उनको शान्त तर अशान्त जीवनको शर्तहरू निर्धारण गरेको थियो। तर उनले ती घटनालाई प्रवासीको दृष्टिकोणबाट हेर्छन्। जर्मानी कहीं पनि घरमा थिएनन्।
समाजवादी दर्जीको छोराको रूपमा, जिनो जर्मानीको जन्म सन् १९११ फेब्रुअरी ४ मा रोममा भएको थियो। १९ मा उनको अनियमित—प्रायः आत्मशिक्षित—शिक्षा फासीवादविरोधी पर्चा बाँड्ने कारणले छोटो समयको लागि जेल सजायले अवरुद्ध भयो। त्यसपछिको प्रहरी निगरानीबाट थकित भएर, जर्मानी र उनकी विधवा आमाले सन् १९३४ मा अर्जेन्टिना प्रस्थान गरे। (त्यहाँको इटालियन दूतावासले सन् १९४५ सम्म उनलाई बारम्बार दुख दिने गथ्र्यो।) ब्यूनस आयर्समा उनले आफ्ना मामाका लागि काम गरे र फासीवाद विरोधी गतिविधिमा सक्रिय भए। (धेरै कारणले, जसमध्ये जटिल प्रक्रियाहरू पनि एक थिए, आप्रवासीहरू सामान्यतया अर्जेन्टिनामा नागरिक बन्दैनथे। त्यसैले उनीहरूले मतदान गर्न पाउने थिएनन् र आफ्नो राजनीतिक गतिविधिलाई आफ्नो मूल देशतर्फ मोड्थे।) सन् १९३८ मा, सरकारी जागिरले जर्मानीलाई ब्यूनस आयर्स विश्वविद्यालयमा अंशकालीन अध्ययन शुरू गर्न सक्षम बनायो। विद्यार्थी राजनीतिमा सक्रिय भएर, उनले सन् १९४४ मा डिग्री हासिल गरे। ती वर्षहरूमा अर्जेन्टिनाको राजनीति उल्लेखनीय रूपमा जटिल थियो, सन् १९४३ र १९४५ मा कू भएको थियो। राजनीतिक अडानहरू अति रूढिवाद र स्वदेशीवाददेखि कम्युनिज्मको चरम सीमासम्म फैलिएका थिए, र तिनले अर्जेन्टिनाका मुद्दाहरू मात्र होइन, विदेशमा फासीवाद र युद्धलाई पनि सम्बोधन गर्थे। तत्कालै, विश्वविद्यालयहरूमा बारम्बार विद्यार्थी प्रदर्शन र सरकारी दमनहरू थिए; जर्मानी दुई पटक जेल जान पुगे ।

लेखकः जिनो जर्मानी
न्यू ब्रन्सविक, एन.जे. ट्रान्ज्याक्सन बुक्स, १९७८। पृष्ठ २९२।

जर्मानीका विश्वविद्यालय वर्षहरूमा, इतिहासकार रिकबचमय लेभेनेले उनलाई समाजशास्त्र संस्थानमा भर्ती गरे। त्यहाँ उनले संयुक्त राज्य अमेरिकाबाट आएका समकालीन समाजशास्त्रीय कामले भरिएका केही खोलिएका बाकसहरू फेला पारे, जसले उनलाई प्रबल अनुभवजन्य दिशातर्फ मोड्यो र डब्ल्यू. आई. थोमस, फ्लोरियन ज्नानिएकी, जर्ज लन्डबर्ग र टाल्कट पार्सन्स जस्ता लेखकहरूसँग परिचय गरायो। विद्यार्थी भए पनि, जर्मानी तीस वर्षका भइसकेका थिए । र संस्थानको अनुभवजन्य कार्यक्रमको नेतृत्वकर्ता बने, मध्यम वर्ग, जनमत र अन्य विषयहरूमा प्रमुख अनुसन्धान परियोजनाहरू शुरू गरे। उनले चौथो अर्जेन्टिना राष्ट्रिय जनगणनामा संस्थानको प्रतिनिधिको रूपमा पनि काम गरे, जहाँ उनले सुझाएका विशेष तीक्ष्ण प्रश्नहरू रूढिवादी आयुक्तहरूले सोझै अस्वीकार गरे। सन् १९४५ मा पहिलो पेरोन प्रशासनले जर्मानीलाई आन्तरिक निर्वासनमा पठायो; उनले प्रकाशनमा काम गरे र कोलेजियो लिब्रे डे एस्टुडियोस सुपेरियरेसमा पढाए, जो एक वैकल्पिक विश्वविद्यालय थियो। सन् १९५५ मा पेरोनको पतन भयो, र जर्मानी विश्वविद्यालयमा समाजशास्त्र संस्थानको निर्देशकको रूपमा फर्किए, जहाँ उनले त्यो क्षेत्रलाई तीव्र रूपमा विकास गरे, संयुक्त राज्य अमेरिकाको समाजशास्त्रसँग समानान्तर एक अनुभवजन्य एजेन्डालाई पछ्याए।
सन् १९६० को शुरूमा, तथापि, अर्जेन्टिनाको उदार विकास परियोजना असफल भयो, र क्युबाली क्रान्तिको प्रभावमा नयाँ वामपन्थी विद्यार्थी राजनीति उदायो । जर्मानीलाई एक तुच्छ अनुभववादीको रूपमा पुनर्परिभाषित गरियो र एकातिर नयाँ अमेरिकी समाजशास्त्रलाई आलोचनाहीन रूपमा स्वीकार गरेको र अर्कोतिर (केही असंगत रूपमा) परिचित अर्जेन्टिनी सिद्धान्तहरूको पुनर्चक्रण गरेको आरोप लगाइयो। माक्र्सप्रति उनको सन्देहपूर्ण स्वीकारोत्तिले गर्दा वामपन्थी विद्यार्थीहरूलाई उनीबाट टाढा बनायो, अर्कातिर उनको खुला फासीवाद विरोधी धारणाले दक्षिणपन्थी सहपाठीहरूलाई पनि अलग ग¥यो। भिसाको कठिनाइ, ढिलाइ र आरोपहरूको धुँवामा, जर्मानीले सन् १९६६ मा अर्जेन्टिना छोडे। उनको प्रस्थानको तीन महिनापछि सैन्य अधिग्रहणको पहिलो घटना भयो जसले अर्जेन्टिनालाई बेपत्ता, यातना र मृत्युको समयतर्फ ढल्काउन शुरू ग¥यो।
जर्मानीमा कुनै भ्रम थिएन। उनकी छोरीको जीवनीमा उनले आफ्नो बुबालाई उद्धृत गर्दै भनेकी छन्ः उनले या त “संयुक्त राज्य अमेरिकामा अत्यन्तै सतही र शान्त जीवन“ वा “अर्जेन्टिनामा अत्यधिक अप्रत्याशित र अराजक जीवन“ को अनुमान गरेका थिए (आना अलेजान्द्रा जर्मानी, एन्टिफासिज्म एन्ड सोसियोलोजी ‘न्यू ब्रन्सविक, एन.जे.: ट्रान्ज्याक्सन प्रेस, २००८’ पृ. १५९)। अमेरिकी विद्यार्थीहरू आफैंमा अशान्त भए पनि, तीन पटक जेल र दुई निर्वासनको अनुभवी भएका कारण त्यसबाट प्रभावित भएनन्“मलाई लाग्छ कि यी अमेरिकी युवाहरू धेरै प्रतिभाशाली छैनन्। म ल्याटिन अमेरिकी शैलीको दंगाको पाठ्यक्रम पढाउन चाहन्छु“ (पृ. १६३)। जर्मानी सामान्यतया हार्वर्डका अलमलमा परेका स्नातकहरूलाई पढाउँदा बाहेक सधैं यात्रामा हुन्थे। क्याम्ब्रिज पनि सहन नसकिने थियो। उनले आफ्नी छोरीलाई लेखेः
“समस्या यो हो कि अमेरिकीहरूको अत्यन्तै गम्भीर अनुहार देखेर म पूर्ण रूपमा उदास हुन्छु। तर के तिमीलाई लाग्छ न्यू इंग्ल्याण्डमा, वा अझ खराब, हार्वर्ड समाजशास्त्रीहरूका बीचमा भावनाहरू व्यक्त गर्न सम्भव छ?… यो सत्य हो कि यहाँ कम हल्ला छ, सबै कुरा सहज देखिन्छ, तर यहाँ जीवन छैन जस्तो लाग्छ, वा कम्तीमा मैले सानैदेखि जीवन भनेर बुझेको कुरा—हाँसो, आँसु, चिन्ता, रिस, झगडा, आवाजहरू।“ (एन्टिफासिज्म एन्ड सोसियोलोजी, पृ. २००)
१९७० को मध्यमा र असाधारण कठिनाइसँग, उनले नेपल्स विश्वविद्यालयमा अंशकालिक पद लिन र आफ्नो जन्मस्थान रोममा घर बनाउन इटालियन नागरिकता पुनस्र्थापित गरे। उनको त्यहीं सन् १९७९ मा देहान्त भयो ।
अधिनायकवाद, फासीवाद र राष्ट्रिय लोकप्रियतावाद जर्मानीको करियरको अन्त्यमा प्रकाशित तीन पुस्तकहरू मध्ये एक हो। मूल पाण्डुलिपि सम्भवतः विभिन्न विद्यमान सामग्रीहरूको संकलन थियो, किनकि जर्मानीले परिचयमा बताएअनुसार यो अंग्रेजी, स्पेनिस र इटालियनको मिश्रणमा लेखिएको थियो। अनुवादकहरूले यो रोमाञ्चक हाइव्रिड भाषालाई कर्तव्यनिष्ठ तर कहिलेकाहीं भ्रामक अंग्रेजीमा समतल बनाएका छन्, जर्मानीले आफ्नो जीवनमा कहिल्यै “पेरोनिज्म“ शब्द प्रयोग गरेनन्।
उनको पुस्तकको मुख्य तर्क के हो भने वास्तविक फासीवादलाई मुख्य रूपमा मध्यम वर्गको प्रतिक्रियावादी आन्दोलनको रूपमा हेर्नुपर्छ, जबकि अर्जेन्टिनी प्रकारको निम्न वर्गको अधिनायकवादले छुट्टै श्रेणीको माग गर्छ, जसलाई जर्मानीले राष्ट्रिय लोकप्रियतावाद भन्छन्। पुस्तकको पहिलो खण्डले सैद्धान्तिक स्थिति प्रस्तुत गर्छ, सामान्य अनुमानहरूसँग शुरू गरेर मध्यम र निम्न वर्गको अधिनायकवादका दुई मुख्य अवधारणाहरूतर्फ मोडिन्छ। दोस्रो खण्डले अर्जेन्टिनामा राष्ट्रिय लोकप्रियतावादको जरा विश्लेषण गर्छ, ऐतिहासिक र सांस्कृतिक अध्ययनदेखि जनसांख्यिकी र विस्तृत राजनीतिक र संस्थागत विश्लेषणसम्मका विधिहरू प्रयोग गर्छ। तेस्रो खण्डमा इटाली र स्पेनमा युवाहरूको राजनीतिक समाजीकीकरणमा एकल अध्याय समावेश छ, जसले युवा जर्मानीलाई उनको लामो यात्रामा शुरू गरेको अनुभवहरूलाई पुनरावलोकन गर्छ।
जर्मानीको शुरूआती खण्डले समकालीन महानगरीय सैद्धान्तिक लेखनको सन्दर्भमा उनको विश्लेषणलाई सम्मानजनक रूपमा राख्छ, जुन त्यस समयमा (स्पष्ट कारणले) संयुक्त राज्य अमेरिकाका सबै शत्रुहरूलाई एउटै श्रेणीमा राख्ने र जर्मनी, इटाली र स्पेनका फासीवादहरूलाई “मूल रूपमा लोकतान्त्रिक“ समाजहरूमा क्षणिक घटनाको रूपमा परिभाषित गर्ने गरी सर्वसत्तावादको परिभाषा खोजिरहेको थियो। जर्मानीले यो वृत्तलाई चौकोस बनाउने प्रयासमा कम चासो राख्थे। धेरै सामाजिक वैज्ञानिकहरू जस्तै, उनी मुख्य रूपमा आफ्नो जीवन बुझ्न र विशेष गरी दुई एकतन्त्रीय आन्दोलनहरू बुझ्नमा रुचि राख्थे, जसले यसलाई रूपान्तरित गरेका थिएः मुसोलिनीको फासीवाद र अर्जेन्टिनी आन्दोलन, जसलाई ल्याटिन अमेरिकी परम्पराअनुसार यसका नेताको नामले चिनिन्छः एल पेरोनिज्मो।
जर्मानीका शुरूआती अध्यायहरूले सन् १९६० को मध्यमा हार्वर्डमा आइपुग्दा प्रचलित राजनीतिक विकासका कार्यात्मक सिद्धान्तहरूलाई पनि व्यक्त गर्छन्। यहाँ टाल्कट पार्सन्स, सिमोर मार्टिन लिपसेट, ग्याब्रिएल अलमन्ड र “संस्थागत सामाजिक परिवर्तन“ मा विश्वास गर्ने अन्यहरूका प्रतिध्वनिहरू सुनिन्छ। तर, रोचक कुरा, यी कार्यात्मक सन्दर्भहरू जर्मानीको अर्जेन्टिनाको अघिल्लो विश्लेषण (पोलिटिका य सोसियदाद एन उना एपोका डे ट्रान्जिसियोन ‘ब्यूनस आयर्सः पाइदोस, १९६८‘) का शुरूआती अध्यायहरूमा भन्दा धेरै कम छन्। परिचयले तिरस्कार जन्माएको देखिन्छ। र यो चाँडै स्पष्ट हुन्छ कि कार्यात्मकता पनि जर्मानीको विश्लेषणसँग ठूलो सम्बन्धित छैन।
हामी वास्तविक जर्मानीलाई अधिनायकवाद को दोस्रो खण्डका अनुभवजन्य अध्यायहरूमा भेट्छौं। यहाँ उनले एल पेरोनिज्मोको राजनीतिक विरासत र यसका मतदाताहरू उत्पादन गर्ने आधारभूत सामाजिक संरचनात्मक परिवर्तनहरूको ढाँचा विस्तृत रूपमा प्रस्तुत गर्छन्। त्यसपछि उनले एल पेरोनिज्मोको उदय र सन् १८९० को मध्यम वर्गको अर्जेन्टिनी लोकप्रियतावाद बीच आन्तरिक तुलना गर्छन्, जुन सन् १९१२ को साइन्ज पेन्या कानूनको सर्वव्यापी पुरुष मताधिकारमा समापन भएको थियो। दोस्रो खण्ड अर्जेन्टिना र इटालीका अवस्थाहरूको तुलनासँग समापन हुन्छ। यी चार अध्यायहरू पुस्तकको मुटु हुन्, सावधानीपूर्वक अनुसन्धान र तर्क गरिएका, एकैसाथ सूक्ष्म र प्रभावशाली।
यी मुख्य अध्यायहरूले स्पष्ट गर्छन् गरेका छन्ः पुस्तक दुई गहन तर्कसहितका अनुभवजन्य अवस्थाहरूबाट लोकतन्त्रको विघटनबाट अधिनायकवादसम्मका दुई मार्गहरूको सिद्धान्त निकाल्ने एक प्रेरक प्रयास होः एउटा मध्यम वर्गको अधिनायकवादबाट फासीवादसम्मको परिचित मार्ग, अर्को निम्न वर्गको अधिनायकवादबाट राष्ट्रिय लोकप्रियतावादसम्मको कम परिचित मार्ग। जर्मानीले आफ्ना अवस्थाहरू भित्र चरणहरूको अनुक्रम वा शक्तिहरूको संरचना खोज्ने प्रयास गर्छन् जसले यी कथाहरूको अनिवार्यता समात्न—यहाँसम्म कि व्याख्या गर्न—सक्छ। चरण सिद्धान्त ढाँचा छनोट गरेर, उनले त्यस समयको महानगरीय सामाजिक विज्ञानको मुख्य धारालाई पछ्याउँछन्, जसले चरण सिद्धान्तहरूलाई धेरै आकर्षक पाएको थियो, सायद किनभने तिनले उपनिवेश मुक्तिको बारेमा सोच्ने पहिलो (र महानगरीय देशहरूको लागि स्वार्थी र आशावादी) तरिका प्रदान गर्थे। तर चरण सिद्धान्तहरू मनोविज्ञानमा पनि सामान्य थिए, सिग्मन्ड फ्रायड र जीन पियाजे प्रसिद्ध अभ्यासकर्ता थिए। तिनीहरू सायद एक व्यापक बौद्धिक प्रचलन थिए, यद्यपि क्षणिकः चरण सिद्धान्तहरू बीसौं शताब्दीको पछिल्ला वर्षहरूमा लगभग पूर्ण रूपमा हराए।
जर्मानीको तर्क अघि बढ्दै जाँदा, उनको चरण अवधारणाहरू पारिस्थितिक तर्कहरूको विशेषता रहेका जटिल आकस्मिकताहरूमा विघटन हुन्छन्। एल पेरोनिज्मोको जनसांख्यिकीय आधार चार कुराहरूको संयोजनमा निहित छः अर्जेन्टिनी तटवर्ती क्षेत्रको ठूलो आप्रवासी श्रमिक वर्गमा नाटकीय उन्नति, सन् १९३० मा बाह्य आप्रवासनको अचानक समाप्ति, साना किसान र किसानहरूको खर्चमा ग्रामीण ल्याटिफन्डिया र गाईवस्तु मैदानको विस्तार, र निरन्तर औद्योगिक माग, जुन अन्तरराष्ट्रिय मन्दीले अर्जेन्टिनालाई आयात प्रतिस्थापनतर्फ धकेल्दा बिस्तारै बढ्यो। जर्मानीले व्यापक जनसांख्यिकीय डेटा (धेरैजसो उनकै वा अत्यन्तै दुर्लभ जनगणना सामग्रीको पुनर्कार्य) मार्फत देखाउँछन् कि यो संयोजनले ग्रामीण कामदारहरूको ठूलो बाढीलाई शहरहरूमा ल्यायो, जहाँ तिनीहरू नयाँ र असमाहित श्रमिक वर्ग बने, आप्रवासीहरूको बलियो युनियनहरूबाट अपेक्षाकृत अलग। आप्रवासीहरूको विपरीत, यी आन्तरिक आप्रवासीहरूले मतदान गर्न सक्थे र गर्थे, र जब पेरोन सन् १९४३ मा श्रम मन्त्री बने, उनले तिनीहरूलाई तुरुन्तै जनसभाको सम्भावित आधारको रूपमा चिने।
यसरी जर्मानीका चरणहरू विभिन्न साधन र राजनीतिक इनपुटका स्तरहरू भएका राजनीतिक अभिनेताहरूको संयन्त्र प्रणालीमा स्वतन्त्र प्रवृत्तिहरूको संरेखणमा आधारित संयोजक विवरणमा ढल्छन्, जसमा सबै अर्जेन्टिनाको खाद्य–निर्यात शक्तिको रूपमा अन्तरराष्ट्रिय स्थितिको कारणले विदेशबाट आएका नाटकीय शक्तिहरू (विशेष गरी मन्दी र युद्ध) को अधीनमा थिए। तर जर्मानीका चरण सिद्धान्तहरू अर्को कारणले असामान्य छन्—फासीवादका साथै लोकतन्त्रमा, आर्थिक प्रतिगमनको साथै आर्थिक विकासमा पनि चरणहरू हुन सक्छन् भन्ने उनको आग्रह । यहाँ कुनै एकसमान दिशा छैन, जस्तो कि धेरैजसो चरण सोचाइमा हुन्छ। यहाँ केवल शक्ति र नियन्त्रणको निरन्तर पुनर्संरचना छ, कहिलेकाहीं अस्थायी रूपमा स्थिर अधिनायकवादमा पुग्छ, जुन जर्मानीको मुख्य चासो थियो। यदि उनको सारांशमा उनले सर्वसत्तावादमा अनिवार्य रूपमा लैजाने अनुक्रमिक कारकहरूको सूची प्रस्तुत गर्छन् भने, विश्लेषणको सावधानीले ती सूचीहरूलाई खण्डन गर्छ; हृदयमा जर्मानी शुद्ध संयोजकवादी थिए।
जर्मानीको महानगरीय मुख्य धाराबाट दूरी उनले उधारो लिएका विभिन्न अवधारणाहरूको स्वेच्छाचारी प्रयोगमा पनि स्पष्ट छ। यसरी, उनले अर्जेन्टिनामा केन्द्र र परिधिको कुरा गर्छन्, तर उनको मतलब एडवर्ड शिल्सले आदर्श बनाएको समाजको आध्यात्मिक “केन्द्र“ होइन, बरु व्यावसायिक कृषि हृदयभूमिमा परेका आधुनिक तटवर्ती र अधिक रूढिवादी, साना धारक र परम्परागत क्षेत्रहरू बीचको शाब्दिक भौगोलिक उल्टोपन हो। जर्मानीको लागि यो सर्मिएन्टोको फाकुन्डो को “सभ्यता र बर्बरता“ को सम्झना गराउने विपरीतता थियो (जसलाई जर्मानीले पोलिटिका य सोसियदाद मा उद्धृत गरेका थिए)। तर, विशेष रूपमा, जर्मानीले आप्रवासीहरूको क्रिओल प्रकृति, गाईवस्तु ब्यारनहरूसँगको तिनको अनौठो सम्बन्ध, तिनको कम सीप स्तर, र तिनको ट्रेड युनियन संस्कृतिको अभावलाई उल्लेख गरेर त्यो पहिलेको विपरीततालाई जटिल बनाउन जोड दिए।
त्यस्तै, जर्मानीको “एकीकरण“ को परिभाषा टाल्कट पार्सन्स (वा पार्सन्सका गुरु एमिल दुर्खाइम) को भन्दा धेरै कम आध्यात्मिक छ। एकीकरण भनेर जर्मानीको मतलब केवल वर्तमान शासनले प्रदान गरेका च्यानलहरू भित्रको राजनीतिक सहभागिता हो जुन (१) दुवै पक्ष (अर्थात् शासन र सहभागी) द्वारा वैध रूपमा अनुभव र अनुभूत हुन्छ (पृ. १०७)। एकीकरण एंग्लो–अमेरिकी परम्परालाई पूर्ण रूपमा अस्वीकार्य संस्थागत रूपहरू—जस्तै दंगा र प्रदर्शनहरू—मार्फत पनि हुन सक्छ। यही कारणले, जर्मानीका संमिलन र असंमिलनका अवधारणाहरू धेरै व्यापक छन्। मतदान अर्जेन्टिनामा राजनीतिक प्रभावको धेरै संस्थागत साधनहरू मध्ये एक मात्र थियो, हड्ताल, कर्पोरेट कारबाही, जन मार्च, चर्च राजनीति आदिका साथै। राजनीतिक सहभागिताको यो व्यापक अवधारणाले जर्मानीलाई पारम्परिक महानगरीय राजनीतिक विज्ञानबाट बलियो रूपमा अलग गर्छ, जसको गहन ध्यान मतदानमा थियो। (सबै अर्जेन्टिनीहरूलाई थाहा थियो कि अन्ततः मतदान प्रणाली निराशाजनक रूपमा भ्रष्ट थियो ।)
यो पनि विशेष रूपमा उल्लेखनीय छ कि जर्मानीले संमिलन जति असंमिलनमा पनि ध्यान केन्द्रित गर्छन्। किनभने उनले देख्छन्, राजनीति मौसम जस्तै निरन्तर परिवर्तन हुन्छ, तर कहिलेकाहीं शान्त दिनहरू पनि हुन्छन्। तर त्यसै समयमा, जर्मानीको लागि असंमिलन जबरजस्ती पनि हुन सक्छ; समूहहरूलाई राजनीतिक पहुँचबाट वञ्चित गर्न सकिन्छ जस्तै तिनीहरूले प्राप्त गर्न सक्छन्। र त्यसैले कुनै पनि शासन स्थायी हुन सक्दैन। उनको विश्व निरन्तर परिवर्तनको हो।
जर्मानीको काम पद्धतिमा उल्लेखनीय रूपमा संयोजित छ। मैले पहिले नै उनको व्यापक जनसांख्यिकीय विश्लेषणहरू उल्लेख गरिसकेको छु। वास्तवमा, अर्जेन्टिनी सामाजिक संरचनाको उनको पहिले प्रकाशित सारांश त्यस प्रकारको पहिलो थियो। तर उनले नयाँ अनुमानात्मक तथ्यांक पनि प्रयोग गरेः यहाँ समीक्षा गरिएको काममा एल पेरोनिज्मोको वर्ग उत्पत्तिको अनुसन्धान गर्ने पारिस्थितिक स्तरमा प्रतिगमनहरू देखा पर्छन्। यी परिमाणात्मक र अनुभवजन्य दृष्टिकोणहरूसँगै, तथापि, सुरुचिपूर्ण व्याख्यात्मक विश्लेषणहरू पनि छन्। उदाहरणका लागि, आर्थिक उदारवाद कसरी अर्जेन्टिनामा शुरूमा रूढिवादीको रूपमा परिभाषित भयो र, सायद अझ महत्वपूर्ण, कसरी लोकतन्त्र धेरै अर्जेन्टिनीहरूको लागि नकारात्मक शब्द बन्यो, किनभने महानगरीय लोकतन्त्रहरूको शत्रुतापूर्ण व्यापार नीतिहरूले देशको अर्थतन्त्रलाई गम्भीर रूपमा प्रभावित ग¥यो भन्ने बारेमा उत्कृष्ट चर्चा छ। जर्मानीले अभिजात वर्गको संस्थागत र संरचनात्मक विश्लेषणमा पनि धेरै समय खर्च गर्छन्, विशेष रूपमा युनियन नेताहरूमा केन्द्रित छन् जसको विभाजन र छनोटहरू सन् १९४३ र १९४५ बीचका निर्णायक वर्षहरूमा पेरोनको हातमा खेल्नेछन् (पृ. १७४–१८५)।
यी सबै संस्थागत र व्याख्यात्मक विश्लेषणहरूले परिमाणात्मक विश्लेषणहरूलाई पूरक बनाउँछन्, जसले पुस्तकको अनुभवजन्य खण्डहरूलाई एकल रूपमा प्रभावशाली बनाउँछ। तर जर्मानीको आफ्नै जीवनको सन्दर्भमा, सायद सबैभन्दा प्रभावशाली अध्याय अन्तिम हो, युवाहरूको फासीवादी शिक्षाको विचारशील विश्लेषण, जसले इटालीमा केन्द्रित छ, तर स्पेनलाई छोटो तुलनात्मक अवस्थाको रूपमा व्यवहार गर्छ। जर्मानीले फासीवादी शिक्षाको आत्म–पराजयी गुणमा जोड दिन्छन्। एकातिर फासीवादीहरूलाई युवाहरूको गतिशीलता र उत्साह आवश्यक थियो, जुन खुला छलफल र बहसले मात्र मुक्त गर्न सकिन्थ्यो। (“चर्चा फासीवादी कर्तव्य हो,“ फासीवादी प्रेसबाट आएको एक आश्चर्यजनक उद्धरण पृ. २५९)। अर्कोतिर, तिनीहरूलाई निहित स्वार्थहरूको संरक्षण र निम्न वर्गलाई असंमिलन गर्ने तिनको सामान्य परियोजनासँग अनुरूपता चाहिन्थ्यो। मानौं यो दुविधा पर्याप्त थिएन, फासीवादीहरूसँग युवाहरूलाई पार्टीको पदानुक्रममा ल्याउने कुनै संस्थागत योजना पनि थिएन। परिणामस्वरूप अस्पष्टता र अवरोधले युवाहरूलाई उदासीनता, संरचनावादी अलगाव, र—युद्ध शुरू भएपछि—भूमिगत विरोधतर्फ धकेल्यो।
जर्मानी आफैंले त्योभन्दा धेरै पहिले इटाली छोडेका थिए। उनले भने जस्तै, उनले जीवन भनेको हाँसो, आँसु, चिन्ता, रिस, झगडा र आवाजहरू हो भन्ने विश्वास गर्थे, र उनको आफ्नै आवाज सन् १९२० को उत्तरार्धका फासीवादीहरूको लागि धेरै भएको थियो। तर उनको आवाज हार्वर्डको लागि पनि एक धेरै—वा कम्तीमा धेरै ठूलो—हुन सक्छ। पुस्तकमा संयुक्त राज्य अमेरिकाको कुनै आदर्शीकरण छैन, जस्तो कि शीतयुद्ध सामाजिक विज्ञानमा धेरै थियो। जर्मानीले टिप्पणी बिना एक फासीवादीको भनाइ उद्धृत गर्छन् कि संयुक्त राज्य अमेरिकामा अभिजात प्रतिस्थापन लूट प्रणालीमार्फत हुन्छ। उनले अमेरिकाको निम्न वर्गको आकार (पृ. ६२) उल्लेख गर्छन्, अमेरिकी राजनीतिक र सैन्य हस्तक्षेपको प्रभुत्व र हानिकारक प्रकृतिलाई स्वीकार गर्छन् (पृ. ७२, ११३), र अमेरिकी “लोकतन्त्र“ को लागि उल्लेखनीय रुपले अधिनायकवादी समर्थन रहेको टिप्पणी गर्छन् (पृ. ९३)। अमेरिकी राजनीतिको उनको निर्णय सम्भवतः हार्वर्ड समाजशास्त्र विभागको उनको निर्णयसँग मेल खान्छः प्रेरणाहीन, भावनाहीन, असंलग्न—विचारहीन र एकैसाथ प्रभुत्वशाली ।
तर अन्तमा, जर्मानीको आफ्नै राजनीति पनि मायावी छ। उनले स्वतन्त्रता र समावेशीकरणको पक्ष लिए। तर उनले आफ्नो सीमान्त व्यक्तिको जीवन उल्लेख नगरी सीमान्तताको बारेमा पूरा पुस्तक लेखे। उनले द्वन्द्व र आवाजहरूको पक्ष लिए, तर आफ्नो जीवन धेरै लड्ने ठूला आवाज भएका व्यक्तिहरूलाई विश्लेषण गर्न बिताए। जर्मानी एक प्रवासी थिए, र हामी उनको कथा सुन्छौं तर उनको उत्पत्ति र गन्तव्य वास्तवमा थाहा नपाईकनै पनि । उनको काम त्यही मौनताको लागि झनै शक्तिशाली छ।
जिनो जर्मानीको यो पुस्तकको समीक्षा वर्तमान विश्व राजनीतिका सन्दर्भमा बहस भइरहेका विषयहरुसँग सान्दर्भिक देखिएकाले यसको भावानुवाद दिइएको हो । )
स्रोतः Pike, F. B. (1980). Review of The Hispanic American Historical Review, Vol. 60, No. 1 (Feb., 1980), 148-149. Duke University Press. Retrieved from
प्रतिक्रिया दिनुहोस्