हारुकी मुराकामी एक औसत विद्यार्थी थिए। जीवनमा पछि उच्च उपलब्धि हासिल गर्ने धेरै मानिसहरू जस्तै, भविष्यका उपन्यासकारलाई शिक्षकहरूले ध्यान दिन भनेका कुराहरूमा ध्यान दिन गाह्रो हुन्थ्यो, र उनले आफूलाई रुचि लाग्ने कुराहरू मात्र पढ्न सक्थे। तर उनी कलेज पुगे, र स्नातक हुनुभन्दा केही क्रेडिटअघि उनले टोकियोमा एउटा सानो ज्याज क्लब खोले। धेरै मेहनतपछि, उनले बिलहरू तिर्न, कर्मचारी राख्न र ठाउँ खुला राख्न सके।
सन् १९७८ मा, मुराकामी जापानको मेजी जिंगु स्टेडियममा बेसबल खेल हेर्दै र बियर पिउँदै थिए। उनको टिम, याकुल्ट स्वालोजको पहिलो ब्याट्सम्यानले बललाई बायाँ फिल्ड लाइनमा प्रहार ग¥यो। ब्याट्सम्यान दोस्रो बेसमा पुग्दा, मुराकामीको दिमागमा एउटा विचार आयोः “तिमीलाई थाहा छ? म एउटा उपन्यास लेख्ने प्रयास गर्दै छु।“
उनले आफ्नो ज्याज क्लब बन्द भएपछि लेख्न थाले र अन्ततः एउटा साहित्यिक पत्रिकामा पाण्डुलिपि पठाए—यति लापरवाही ढंगले कि उनले पत्रिकाले हराएको खण्डमा आफ्नो लागि प्रतिलिपि पनि राखेनन्। त्यसले पुरस्कार जित्यो र अर्को गर्मीमा प्रकाशित भयो। उनले बार बेच्ने निर्णय गरे, जुन उनको एकमात्र भरपर्दो आयको स्रोत थियो, र लेखनलाई पछ्याए। “म त्यस्तो व्यक्ति हुँ जसले जे गर्छ, त्यसमा पूर्ण रूपमा प्रतिबद्ध हुनुपर्छ,“ उनले आफ्नो २००८ को संस्मरणमा लेखे।
अब बार चलाउने शारीरिक रूपमा कठिन काम नगर्दा, उनको तौल बढ्न थाल्यो। उनले खेलकुद अपनाउने निर्णय गरे, र दौडनु एउटा राम्रो विकल्प जस्तो लाग्योः उनको घर नजिकै ट्र्याक थियो, यसमा महँगो उपकरणको आवश्यकता थिएन र उनी एक्लै त्यो काम गर्न सक्थे।
उनले आफ्नो पूर्ण प्रतिबद्धताको प्रवृत्तिको बारेमा झूट बोलेका थिएनन्। २००० को दशकको अन्त्यसम्म, उनी वर्षको हरेक हप्ता, हप्ताको छ दिन, दिनको छ माइल दौड्थे, र २३ म्याराथनमा दौडिसकेका थिए, साथै धेरै अन्य लामो दूरीका दौड, एक अल्ट्राम्याराथन र केही ट्रायथलनमा पनि भाग लिएका थिए।
जवान छँदा पनि उनको समय उत्कृष्ट थिएन, र धेरै समय उनी दुखी हुन्थे। उनको संस्मरण, “व्हाट आई टक अबाउट व्हेन आई टक अबाउट रनिङ,“ मा उनले एकपछि अर्को दौडमा आफ्नो पीडालाई वर्णन गर्ने वाक्यहरूले भरिएको छः “यो दौड दौड्दा, मलाई लाग्यो कि म फेरि कहिल्यै यो अनुभव गर्न चाहन्न।“ वाः “२३ माइलको वरिपरि म सबै कुरासँग रिसाउन थाल्छु।“ वाः “अन्ततः म अन्त्यमा पुग्छु। अचम्मको कुरा, ममा कुनै उपलब्धिको भावना छैन। मलाई लाग्ने एकमात्र कुरा भनेको पूर्ण राहत हो कि मलाई अब दौड्नु पर्दैन।“ वाः “यो शारीरिक रूपमा निकै थकाउने थियो, जसको तपाईं कल्पना गर्न सक्नुहुन्छ, र त्यसपछि केही समय मलाई लाग्यो कि म फेरि कहिल्यै दौड्नेछैन।“
मेरो दिमागमा पहिलो प्रश्न आउँछः उनी किन यस्तो कुरा गर्छन् जसले उनलाई नियमित रूपमा दुखी बनाउँछ? तर वरिपरि हेर्दा तपाईं धेरै मानिसहरूलाई अप्रिय कुराहरू गर्ने छनोट गरेको देख्नुहुन्छ। म यहाँ केवल ती साहसिक प्रेमीहरूको कुरा गरिरहेको छैन जसले माउन्ट एभरेस्ट चढ्न, अन्टार्कटिका पार गर्न वा एट्लान्टिक महासागरमा डुङ्गा खियाउन जर्वजस्ती महसुस गर्छन्—यद्यपि ती सबै कुराहरू साँच्चै दुखदायी लाग्छन्। म हाम्रा सामान्य जीवन बिताउने हामी, नियमित मानिसहरूको कुरा गरिरहेको छु।
हाम्रो वरिपरि त्यस्ता मानिसहरू छन् जो भायोलिन सिक्नको लागि एकनासको कष्ट सहन्छन्, स्केटबोर्ड सिक्दा बारम्बार सीढीको रेलिङबाट खस्छन्, वैज्ञानिक समस्याको समाधान गर्न कठिन मानसिक श्रम गर्छन्, अरूलाई व्यवस्थापन गर्ने जागिर लिन्छन् (जुन साँच्चै गाह्रो छ) वा व्यवसाय सुरु गर्छन् (जुन पागलपनको हदसम्म गाह्रो छ)।
मेरो आफ्नै छनौटको दुख लेखन हो। अवश्य पनि, यो अब मेरो जीविकोपार्जनको तरिका हो, त्यसैले म लेखनबाट बाह्य पुरस्कार कमाउँछु। तर म पैसा संलग्न हुनुभन्दा पहिले पनि लेख्थें, र म पक्का छु कि म पछि पनि लेख्नेछु, र पैसा आफैंमा पर्याप्त प्रेरणा होइन।
हरेक बिहान, हप्ताको सात दिन, म ब्यूँझन्छु र तुरुन्तै मेरो कार्यालयमा गएर १,२०० शब्दहरू लेख्छु—४० वर्षभन्दा बढी समयदेखि एउटै दैनिक दिनचर्या। मलाई लेख्न मन पर्दैन। यो धेरैजसो समय कठिन र चिन्ताले भरिएको हुन्छ। एउटा लेखको सही संरचना पत्ता लगाउनु अविश्वसनीय रूपमा गाह्रो छ र अनुभवसँगै सजिलो हुँदैन।
मलाई लेख्न मन पर्दैन तर म लेख्न चाहन्छु। बिहान उठेर कार्यालयमा जानु मेरो दैनिक काम हो। यो दैनिक गतिविधिले जीवनलाई संरचना र अर्थ दिन्छ। म यसको आनन्द लिंदिन, तर म यसको ख्याल राख्छु।
हामी कहिलेकाहीं सोच्छौं कि मानिसहरू सुखवादी वा उपयोगितावादी तर्कबाट सञ्चालित हुन्छन्। हामी सुख खोज्छौं र दुखबाट बच्न खोज्छौं। हामी कम लागत र उच्च पुरस्कार भएका गतिविधिहरू खोज्छौं। प्रयास गर्न गाह्रो हुन्छ, त्यसैले हामी चीजहरूमा लगाउने प्रयास कम गर्न खोज्छौं—प्रायः पर्याप्त रूपमा, चीजहरू सोच्ने प्रयास पनि।
र मलाई लाग्छ कि हामी धेरै समय त्यस्तै तर्कबाट सञ्चालित हुन्छौं—तर हाम्रो जीवनका सबैभन्दा महत्वपूर्ण कुराहरूमा भने होइन। हामीलाई साँच्चै ख्याल लाग्ने कुराहरू—पेशा, परिवार, पहिचान, जसले हाम्रो जीवनलाई उद्देश्य दिन्छ—त्यसमा हामी फरक तर्कबाट सञ्चालित हुन्छौं, जुन उत्कट इच्छा र प्रायः पीडादायी प्रयासको तर्क हो।
म यसलाई अर्को तरिकाले भन्छुः हामी लागत–लाभ विश्लेषण प्रयोग गर्छौं जब हामी सामान्य मनस्थितिमा हुन्छौं। तर मलाई लाग्दैन कि कुनै महान कुरा सामान्य मनस्थितिमा सम्पन्न भएको छ। मानिसहरू ठूला परियोजनाहरूमा प्रतिबद्ध हुन्छन्, कठिन चुनौतीहरू सहन्छन्, किनभने उनीहरू मन्त्रमुग्ध हुन्छन्, मोहित हुन्छन्। कुनै धारणा वा गतिविधिले उनीहरूलाई समात्छ, उनीहरूभित्र जरा गाड्छ, कुनै सम्भावना जगाउँछ, कल्पनालाई प्रज्वलित गर्छ।
मोहको क्षण यति सूक्ष्म र कोमल हुन सक्छ—एउटा बेसबल खेलाडीले डबल हिट गर्छ र मुराकामीले उपन्यास लेख्ने विचार गर्छन्, उनको घर नजिकै ट्र्याक छ, त्यसैले सायद उनी दौड्न थाल्छन्। तर, अनायासै, लगभग अनिच्छापूर्वक, एउटा प्रतिबद्धता बन्छ—कुनै गतिविधि वा आदर्शप्रति—एउटा शान्त जोश प्रज्वलित हुन्छ। कुनै कठिन यात्रा सुरु हुन्छ।
यो एउटा महान र कम मूल्यांकन गरिएको प्रतिभा हो—समातिने क्षमता। केही मानिसहरू जीवनभर बाक्लो छालासहित बाँच्छन्। स्कूल वा करियरले उनीहरूलाई व्यावहारिक, साधनात्मक, दक्षता अधिकतम गर्ने मनस्थिति दिएको हुन्छ। उनीहरू दबाबमा जीवन बिताउँछन्, त्यसैले उनीहरूको टाउको झुकेको हुन्छ; उनीहरू रमाइलोको लागि खुला हुँदैनन्, वा जीवनलाई पुनर्दिशा दिन सक्ने त्यो उत्साहको क्षणको लागि खुला हुँदैनन्। अरूसँग भने केही ग्रहणशीलता हुन्छ।
उनीहरूभित्रको त्यो शान्त, कोमल आवाज सुन्न सक्छन्ः “सायद म एउटा उपन्यास लेख्न सक्छु।“ उनीहरू संवेदनशील, प्रभावशाली, उत्साही, अवशोषक, आतिथ्यशील हुन्छन्। उनीहरू आश्चर्यको लागि खुला हुन्छन्, र जब त्यो रचनात्मक विचलन हुन्छ, उनीहरू रोकिन्छन् र चिन्तन गर्छन्, यहाँ मलाई के गर्न बोलाइएको छ? हाम्रा धेरैजसो महान यात्राहरू आश्चर्यबाट सुरु हुन्छन्। डेकार्टले भनेका थिए, आश्चर्य, “आत्माको अचानक आश्चर्य हो।“
जीवन परिवर्तन गर्ने मोहलाई प्रज्वलित गर्न सक्ने अनुभवहरू कस्ता हुन्छन्? केही मानिसहरू एउटा समूहसँग ठोक्किन्छन् जो केवल शान्त लाग्छन्, जो केवल कुनै मूल्यवान कुरा गरिरहेका छन्। उनीहरू सोच्छन्, म उनीहरू जस्तै बन्न चाहन्छु।
मस हार्ट ब्रोन्क्समा बस्ने एउटा दुखी केटो थियो, जसको सक्रिय काल्पनिक जीवन थियो। एक दिन उनले सबवे लिएर ब्रोडवेसम्म गए र थिएटरका मानिसहरूलारई देखे जो आफ्ना कल्पनाहरूलाई मञ्चमा उतारिरहेका थिए र उनीहरूको समूहमा सामेल हुन चाहे। त्यो दिन एउटा नाटककारको जन्म भयो।
अरू मानिसहरूले आफ्नो पेशा सुन्दरतासँगको सम्पर्कबाट पाउँछन्—भविष्यको खगोलशास्त्री विश्वको सुन्दरताबाट मन्त्रमुग्ध हुन्छ, भविष्यको मेकानिक सुचारु रूपमा चल्ने इन्जिनको सुन्दरताबाट मन्त्रमुग्ध हुन्छ। जब उनी ३ वर्षका थिए, येहुदी मेनुहिन भायोलिनवादक लुइस पर्सिन्जरको कन्सर्टमा गए र त्यसपछि आफ्ना आमाबुबालाई भने कि उनले आफ्नो चौथो जन्मदिनको लागि भायोलिन चाहन्छन्। “मलाई सहज रूपमा थाहा थियो,“ उनले दशकौंपछि प्रतिबिम्बित गरे, “खेल्नु भनेको हुनु हो।“
कहिलेकाहीं वैज्ञानिक करियर एउटा सानो अवलोकनबाट सुरु हुन्छः “यो अनौठो छ।“ जब उनी ४ वर्षका थिए, आइन्स्टाइनले आफ्नो हातमा समातेको कम्पासको सुईलाई नियन्त्रण गर्ने विश्वका अदृश्य शक्तिहरू देखे—र अदृश्य शक्तिहरू उनको जीवनको काम बन्यो। केही मानिसहरू सार्वजनिक सेवाको करियरमा जान्छन् किनभने कसैले उनीहरूलाई केही भन्छ, जुन उनीहरूको जीवनलाई समात्ने र सत्य लाग्छ।
जब टोनी वाग्नर २२ वर्षका थिए, उनले गान्धीका एक शिष्यलाई क्रान्तिको परिभाषा सोधे। ती व्यक्तिले जवाफ दिए, “क्रान्ति भनेको व्यक्तिगत गुणहरूलाई सामाजिक मूल्यहरूमा रूपान्तरण गर्ने गतिशील प्रक्रिया हो।“ वाग्नरले तुरुन्तै महसुस गरे कि शिक्षण त्यो प्रक्रियामा उनको सबैभन्दा ठूलो योगदान हुन्छ, र उनले हार्वर्डको ग्रेजुएट स्कूल अफ एजुकेसनमा चेन्ज लिडरशिप ग्रुपको स्थापना गरे।
यी सबै अवस्थामा प्रज्वलनको क्षण हुन्छ, बाहिरको कुराले भित्रको गहिरो कुरालाई छुन्छ, नयाँ व्यक्तिगत सम्भावनाहरू खुल्छन्। म यिनलाई घोषणा क्षणहरूको रूपमा सोच्छु, जब कसैलाई बोलाइन्छ, जसले जीवनमा धेरै कुराहरूको पूर्वसंकेत गर्छ। “तिम्रो आत्मा कहाँ पाइन्छ?“ अस्ट्रियाली कवि ह्युगो भोन हफम्यान्स्थालले सोधे। “सधैं तिमीले अनुभव गरेको सबैभन्दा गहिरो मोहमा।“
हामी यी क्षणहरूलाई प्रारम्भिक सम्बोधनका घिसेपिटे भनाइहरूले घेर्छौं—आफ्नो जोश पछ्याऊ, आफ्नो हृदय पछ्याऊ। तर ती वाक्यांशहरू यति अस्पष्ट छन् कि तिनको कुनै अर्थ छैन। म थप स्पष्ट रूपमा बुझ्न चाहन्छु कि जब कसैलाई नियन्त्रण गर्ने इच्छाले समात्छ, तब के हुन्छ। कसरी ठ्याक्कै कुनै उत्कट प्रतिबद्धता बढ्छ, तिम्रो जीवनलाई कब्जा गर्छ र तिमीलाई स्वेच्छिक पीडा लिन प्रेरित गर्छ?
मलाई लाग्छ यो प्रक्रिया रहस्यबाट सुरु हुन्छ। प्रेममा झर्ने जस्तै, यी प्रज्वलन क्षणहरू हाम्रो अचेतनको गहिरो तहमा हुन्छन्—त्यो अँध्यारो क्षेत्र जहाँ रुचिहरू प्रज्वलित हुन्छन्, इच्छाहरू बन्छन्, हाम्रो अस्तित्वको प्रेरक मूल । यो मेरो, त्यो हिस्सा हो, जसमा मलाई सजिलै देख्न सक्दिन। मलाई खगोलशास्त्रमा किन रुचि छ तर भूविज्ञानमा छैन? मलाई थाहा छैन। म रेम्ब्रान्टबाट किन मन्त्रमुग्ध हुन्छु तर एल ग्रेकोबाट चिसो हुन्छु? मलाई थाहा छैन। म उनलाई किन माया गर्छु तर अर्कोलाई गर्दिन ? मलाई थाहा छैन। हामी जीवनको मेनुबाट के अर्डर गर्छौं भनेर निर्णय गर्न सक्छौं, तर हामीलाई के मन पर्छ भनेर निर्णय गर्न सक्दैनौं।
कुनै पनि प्रकारको प्रेममा झर्ने जस्तै, यो हृदयको जंगलीपनमा हुन्छ। कुनै पनि प्रकारको प्रेममा झर्ने जस्तै, यो सूक्ष्म पूर्वधारणाबाट सुरु हुन सक्छ, तर चाँडै नै आश्चर्यजनक ऊर्जाहरू जगाउँछ। कुनै पनि प्रकारको प्रेममा झर्ने जस्तै, यो उदात्त तर्कहीनतातर्फ लैजान सक्छ। जब तिमी कुनै व्यक्ति, सहर वा गतिविधिसँग प्रेममा पर्छौ, यो तिमीले गणना गरेर त्यहाँ पुगेको होइन; यो किनभने कुनै ज्वाला तिम्रो तर्कसंगत दिमागभन्दा ठूलो, गहिरो र जोशपूर्ण शक्तिले प्रज्वलित भएको छ; यो तिमीलाई उदाङ्गा पार्छ, तिमीलाई जित्छ र त्यसप्रतिको आज्ञाकारिता आह्वान गर्छ।
कुनै पनि आह्वान वा पेशाको अर्को चरण जिज्ञासा हो। जब तिमी कसैसँग प्रेममा हुन्छौ, तिमी उनको बारेमा सोच्न छोड्न सक्दैनौ। तिमी सबै कुरा जान्न चाहन्छौ। जिज्ञासा दिमागको कामुकता हो, एक प्रेरक शक्ति। यो यति बालसुलभ लाग्न सक्छ। इतिहासभरि मानिसहरू जिज्ञासाको वरिपरि नतमस्तक भएका छन्। तिमीलाई कहिल्यै थाहा हुँदैन यसले कहाँ लैजान्छ। भ्लादिमिर नाबोकोभको एउटा पात्रले यसलाई विद्रोहको शुद्धतम रूप भनेका थिए। जिज्ञासाले तिमीलाई त्यो अँध्यारो गुफा अन्वेषण गर्न डो¥याउँछ तिमीलाई तल जाने डर भए पनि। जिज्ञासा तिमीले बसेको आरामदायी ठाउँभन्दा अगाडि उफ्रिन्छ र तिमीलाई अज्ञाततर्फ तान्छ।
उनको एउटा उपन्यास, “वान क्यू–एट्टी फोर,“ मा मुराकामीले त्यस्तो समस्याग्रस्त जिज्ञासालाई वर्णन गरेका छन्ः “म नक्सा हेर्दै छु र कुनै ठाउँ देख्छु जसले मलाई सोच्न बाध्य गर्छ, ’म जसरी भए पनि यो ठाउँमा जानैपर्छ।’ र धेरैजसो समय, कुनै कारणले, त्यो ठाउँ टाढा हुन्छ र पुग्न गाह्रो हुन्छ।“
आइन्स्टाइनले तर्क गरे कि सैद्धान्तिक भौतिकी यति कठिन छ कि यो केवल उत्कट जिज्ञासाले मात्र संचालित हुन सक्छ। वैज्ञानिकको “धार्मिक भावनाले प्राकृतिक नियमको सामंजस्यमा रमणीय आश्चर्यको रूप लिन्छ,“ उनले लेखेका छन् । रिचर्ड डकिन्सले लेखेः “विज्ञानले हामीलाई दिन सक्ने विस्मयको भावना मानव मनले अनुभव गर्न सक्ने उच्चतम अनुभवहरू मध्ये एक हो। यो संगीत र कविताले दिन सक्ने उत्कृष्टताको बराबरी गर्ने गहिरो सौन्दर्यपूर्ण जोश हो।“
कुनै पनि जोश जस्तै, जिज्ञासालाई कच्चा वृत्तिबाट व्यवस्थित कौशलमा रूपान्तरण गर्नुपर्छ। जब उनीहरू आफ्नो उत्कृष्ट अवस्थामा हुन्छन्, स्कूलहरूले विद्यार्थीहरूलाई आफ्नो जिज्ञासा जगाउन र अनुशासित हुन सिकाउँछन्। प्रभावकारी जिज्ञासु मानिसहरूसँग संज्ञानात्मक उत्साह (उनीहरूलाई रहस्यहरू अन्वेषण गर्न र नयाँ कुराहरू सोच्न मन पर्छ), संज्ञानात्मक आत्मविश्वास (उनीहरू कठिन समस्याहरूसँग जुध्न पर्याप्त साहसी हुन्छन्) र संज्ञानात्मक जटिलता (उनीहरू साधारण रूढिवादीमा अडिग रहँदैनन्) हुन्छ।
सुख भनेको प्रायः तिमीले चाहेको कुरा पाउनु वा सजिलोसँग बाँच्नु होइन; यो एक घण्टादेखि अर्को घण्टासम्म, ठीक व्यवस्थापन गर्न सकिने कठिनाइको स्तरमा बाँच्नु हो।
जोशपूर्ण जीवनको अर्को चरणमा पुग्न धेरै समय लाग्दैनः असमानता । खोजकर्ताले आफूलाई कुनै विषयको बारेमा थाहा भएको र जान्न चाहेको कुराबीचको ठूलो असमानता देख्छ, उनी कुनै गतिविधिमा कति राम्रो छिन् र कति राम्रो हुन चाहन्छिन्। चाहे त्यो ब्याले, इन्जिनियरिङ वा अभिभावकत्व होस्, खोजकर्ता आफू कहाँ कमजोर छिन् भनेर देख्न पर्याप्त विनम्र हुन्छिन्, उच्च आदर्श राख्न पर्याप्त प्रेरित हुन्छिन् र त्यो खाडललाई कम गर्न आफ्नो क्षमतामा विश्वस्त हुन्छिन्।
चाहना असमानताको भावनाबाट बग्छ। विभिन्न मनोवैज्ञानिकहरूको कामको आधारमा, हामी भन्न सक्छौं कि कम्तीमा चार आधारभूत मनोवैज्ञानिक आवश्यकताहरू छन्ः स्वायत्तता, सम्बन्ध, क्षमता र अर्थ। तीमध्ये, क्षमताको लागि ड्राइभले पर्याप्त प्रचार पाउँदैन। गतिविधि जतिसुकै सानो भए पनि, धेरैजसो मानिसहरूलाई त्यसमा राम्रो बन्ने जन्मजात आवश्यकता महसुस हुन्छ—चाहे त्यो बच्चाहरू डबल डच सिक्दै होस्, म जस्तै ड्राइभवेमा बास्केटबल शूट गर्दै होस् वा अरू कसैले प्यानकेक फ्लिप गर्नमा कति राम्रो भइरहेको छ भनेर गर्व गर्छ। जब तिमी सुधारको खोजीमा हुन्छौ, तिमी आफ्नो क्षमताको किनारमा राख्छौ, जीवनको खतरनाक चट्टानको किनारमा, र प्रत्येक उपलब्धिसँगै थोरै निर्मित रोमाञ्च आउँछ।
त्यसपछि पहिलो स्वादको महारत आउँछ। जब उनले चलचित्र “द सोशल नेटवर्क“ लेखे, आरोन सर्किनले मार्क जुकरबर्गलाई फेसबुक सुरु गर्न किन प्रेरित भए भनेर व्याख्या गर्नुप¥यो। उनले अनुमान गरे कि सायद जुकरबर्ग हराएको प्रेमको पीडामा थिए। तर जुकरबर्ग आफैंले थप विश्वासिलो व्याख्या दिएः “उनीहरूले कसैले कुनै कुरा बनाउन सक्छ किनभने उनीहरूलाई बनाउन मन पर्छ भन्ने विचारलाई बुझ्न सक्दैनन्।“ सायद कोडरहरू कोड लेख्ने उन्मादमा जान्छन् किनभने उनीहरूलाई कोड गर्न मन पर्छ। चाहे त्यो कोडिङ, खाना पकाउने वा बागवानी होस्, मानिसहरू आन्तरिक रूपमा आफ्नो शिल्पमा उत्कृष्टता हासिल गर्न चाहन्छन्।
यो बनाउने, सिर्जना गर्ने र कुनै कुरामा थप सक्षम बन्ने इच्छा नै हो जसले बेन्जामिन फ्र्याङ्कलिनलाई पत्रिका लेखहरूलाई कवितामा अनुवाद गरेर र त्यसपछि गद्यमा फर्काएर लेख्न सिकायो। यो नै हो जसले बिल ब्राडलीलाई आफ्नो चश्माको तल कार्डबोर्ड टाँसेर बास्केटबल ड्रिबल गर्न सिकायो ताकि उनले दृष्टिभन्दा बढी सहजतामा निर्भर गर्न सकून्। यो नै हो जसले मार्सेल प्राउस्टलाई मृत्युशैय्याबाट “रेमेम्बरेन्स अफ थिङ्स पास्ट“ का भागहरू पुनर्लेखन गरायो। पीडामा पनि, आफ्नो अन्तिम सास फेर्दै गर्दा, उनले आफ्नो कामलाई राम्रो बनाउन चाहन्थे, त्यसलाई ठीक गर्न चाहन्थे।
जब तिमी मानिसहरूलाई उनीहरूको शिल्पमा डुबेको देख्छौ, तिमीले प्रायः उनीहरूले मेरो विचारमा जोन–भाग दुईको जीवन बिताइरहेका हुन्छन् भन्ने देख्छौ, व्यायामको प्रवृत्तिपछि। उनीहरू उन्मादी हुँदैनन्, उनीहरू दृढ हुन्छन्। उनीहरू उन्मत्त ऊर्जाले जलिरहेका छैनन्, तर उनीहरू दिन प्रतिदिन आफ्नो खेत जोतिरहेका हुन्छन्, अलिकति अगाडि।
उनीहरू आक्रामक भावनासहित बाँच्छन्। उनीहरू कुनै सकारात्मक आकर्षणले तानिएका हुन्छन्, असफलताको डरले संचालित हुँदैनन्। उनीहरूका राम्रो दिनहरूमा, उनीहरूले आफूलाई सही स्तरको कठिनाइमा नियुक्त गरेका हुन्छन्। सुख भनेको प्रायः तिमीले चाहेको कुरा पाउनु वा सजिलोसँग बाँच्नु होइन; यो एक घण्टादेखि अर्को घण्टासम्म, ठीक व्यवस्थापन गर्न सकिने कठिनाइको स्तरमा बाँच्नु हो।
जब तिमी शिल्पकारको दर्जामा पुग्छौ, तिमीले उत्पादन मात्र होइन, प्रक्रिया, साना अनुशासनहरू, लामो समय, अथक कामलाई पनि माया गर्छौ। तिमी रक स्टार बन्न चाहन्छौ, तर यदि तिमीलाई संगीत बनाउने र भ्रमण गर्ने कठिन प्रक्रिया मन पर्दैन भने, तिमी सफल हुँदैनौ। शिल्पकारले क्षेत्रको ज्ञानलाई आत्मसात गरेको हुन्छ, ताकि उनले सहजताका साथ काम गर्न सक्छिन्, आफ्नो चालको संग्रह प्रयोग गरेर, नियमहरूमा होइन, अनुमानमा भर परेर। डब्ल्यू.एच. औडेनले यो पूर्ण रूपमा समातेः
तिमीले कसैले के गरिरहेको छ भनेर देख्नु पर्दैन
यो उसको पेशा हो कि होइन भनेर जान्न,
तिमीले केवल उसको आँखा हेर्नुपर्छः
रसोइया सस मिसाउँदै, शल्यचिकित्सक
प्राथमिक चिरा बनाउँदै,
लिपिकले लदानको बिल पूरा गर्दै,
एकै मन्त्रमुग्ध अभिव्यक्ति लगाउँछन्,
आफूलाई काममा बिर्सेर।
यो कति सुन्दर छ,
त्यो वस्तुमा–केन्द्रित नजर।
जब मानिसहरू यो चरणमा पुग्छन्, उनीहरू फुर्सदको जीवन बिताइरहेका हुन्छन्। आजकल हामी “फुर्सद“ लाई काम नगर्दा गर्ने आरामको रूपमा सोच्छौं। तर ऐतिहासिक रूपमा मानिसहरूले फुर्सदलाई त्यसरी परिभाषित गरेका थिएनन्। उनीहरूका लागि, फुर्सद भनेको हामीले आन्तरिक रूपमा गर्न चाहेको कुरा गर्दा हाम्रो मनको अवस्था हो। “स्कूल“ शब्द “स्कोले“ शब्दबाट आएको हो, जुन ग्रीकमा फुर्सदको अर्थ हो। स्कूल भनेको कुनै पनि ठाउँ हो जहाँ मानिसहरू ज्ञानको जोशपूर्ण खोजीमा संलग्न हुन्छन्। आफ्नो संस्मरणमा, मुराकामीले लेखनलाई काम र दौडलाई फुर्सदको रूपमा व्यवहार गर्दैनन्। ती दुवै फुर्सदका परस्पर सम्बन्धित रूपहरू हुन्। भ्यान गगले आफ्नो भाइलाई लेखेको पत्रमा चित्रकला बारे लेख्दा फुर्सदको मनस्थितिमा थिए, “म खोजिरहेको छु, म प्रयास गरिरहेको छु, म यसमा मेरो पूरै हृदयले संलग्न छु।“
फुर्सदमा रहेको व्यक्ति प्रभावशाली बन्न चाहने व्यक्तिको विपरीत हुन्छ। उनी आन्तरिक प्रेरणाले संचालित हुन्छन्, बाह्य प्रदर्शनको लागि होइन। जब त्यो तिम्रो मानसिकता हुन्छ, यसले वृद्धिको प्रक्रियामा संलग्न पीडाप्रतिको तिम्रो दृष्टिकोण बदल्छ। कामको एकाङ्गीपन तिम्रो स्वभावको खुलासा जस्तो लाग्छ—एउटा रसोइया अनन्त रूपमा तरकारी काट्दै, एउटा इँट्टा लगाउने अनन्त रूपमा इँट्टा राख्दै। व्यक्ति आफ्नै विशेषताको लयमा झर्छ।
“कुनै कार्य जतिसुकै साधारण लागे पनि,“ मुराकामीले लेखे, “यसलाई पर्याप्त समयसम्म गरिरहँदा यो चिन्तनशील र ध्यानमग्न कार्य बन्छ।“ यो विश्वमा बाँच्ने तिम्रो प्राकृतिक तरिका बन्छ। माइकलएन्जेलोले एक पटक भनेका थिए कि उनीसँग सबै ठीक, तब मात्र हुन्छ, जब उनले आफ्नो हातमा छिनो समातेका हुन्छन्।
प्रयास आफैंमा पुरस्कार बन्छ। पहाड चढ्नेहरू प्रायः पहाडको शिखरमा पुग्ने सबैभन्दा सजिलो मार्ग छान्दैनन्, उनीहरूले व्यवस्थापन गर्न सक्ने सबैभन्दा कठिन मार्ग छान्छन्, किनभने उनीहरू चुनौती, वृद्धि र कठिन प्रयासको फललाई मूल्यवान ठान्छन्।
म एक पटक मध्य पेन्सिलभेनियाको किराना पसलमा थिएँ जब मैले देखेँ कि हरेक शेल्फका हरेक जार सावधानीपूर्वक मिलाइएका थिए। कसैले यो ठीकठाक पारेर राख्नुको आनन्दको लागि अतिरिक्त प्रयास गरेको थियो। म यो कुरा सधैं सोच्छु—हाम्रो जीवन कसरी दैनिक उत्कृष्टताले मिठासपूर्ण हुन्छः किराना पसलमा तिमीलाई सहज र हँसिलो ढंगले चेक आउट गर्ने व्यक्ति वा होटलको स्वागत डेस्कमा तिमीलाई चेक इन गर्ने व्यक्ति जस्तै।
जब तिमी कुनै ठूलो परियोजनामा प्रतिबद्ध हुन्छौ, तिम्रो पीडासँगको सम्बन्ध बदलिन्छ। मुराकामीले स्पष्ट रूपमा पीडा सहन सक्ने आफ्नो क्षमतामा गर्व र सन्तुष्टि लिन सिकेका छन्। “पीडा अपरिहार्य छ,“ उनले लेखे। “दुख वैकल्पिक हो। मानौं तिमी दौडिरहेका छौ र सोच्न थाल्छौ। यो दुख्छ, म यो सहन सक्दिन। दुख्ने भाग अपरिहार्य वास्तविकता हो, तर तिमीले यो थप सहन सक्छौ कि सक्दैनौ भनेर दौडने व्यक्तिमा निर्भर हुन्छ। यो म्याराथन दौडको सबैभन्दा महत्वपूर्ण पक्षको सार हो।“ जस्तो कि भिक्टर फ्र्याङ्कलले दशकौं अघि उल्लेख गरेका थिए, मानिसहरूले आवश्यक पीडा सहन सक्ने क्षमताबाट अर्थ निकाल्न सक्छन्।
सन् २०१२ को हाइडेलबर्ग विश्वविद्यालयको अध्ययनले पत्ता लगाए अनुसार खेलाडी र गैरखेलाडीहरूको पीडा थ्रेसहोल्ड, जुन बिन्दुमा उनीहरूले पीडा महसुस गर्छन्, समान हुन्छ, तर खेलाडीहरूको पीडा सहनशीलता, उनीहरूले सहन सक्ने पीडाको मात्रा, उच्च हुन्छ। र त्यो सहनशीलता प्रशिक्षणको प्रक्रियामा निरन्तर आफूलाई पार गर्नबाट आउँछ—पीडा अनुभव गर्न, सीमाहरूको सामना गर्न र त्यसलाई पार गर्न। मुराकामीले रिपोर्ट गर्छन् कि उनी दौडमा अरूलाई हराउनभन्दा आफैंसँग प्रतिस्पर्धा गर्न बढी ऊर्जाशील हुन्छन्।
नित्सेले प्रसिद्ध रूपमा लेखेका थिए– जोसँग बाँच्नको लागि किन छ, उसले जस्तोसुकै जसरी पनि सहन सक्छ। यदि तिमी गहिरो इच्छाले समातिएका छौ भने, तिमी अवरोधहरूलाई सहन सक्छौ तर दृढतापूर्वक अगाडि बढ्छौ।
मानिसहरूले सबैभन्दा गम्भीर चुनौतीहरू कसरी सहन्छन् र सबैभन्दा आकर्षक प्रलोभनहरूलाई कसरी पार गर्छन्? यो सामान्यतया वीर इच्छाशक्ति र आत्म–नियन्त्रणबाट हुँदैन। (यदि ती संकायहरू पर्याप्त बलियो भए, डाइटहरू काम गर्थे, र नयाँ वर्षका संकल्पहरू पूरा हुन्थे।) हामी सामान्यतया पीडा र कठिनाइलाई तब मात्र सहन सक्छौं जब हामी थप समात्ने इच्छाले ग्रस्त हुन्छौंः म मेरो बच्चालाई माया गर्छु, त्यसैले म धूमपान छोड्छु। म मेरो देशलाई माया गर्छु, त्यसैले म मरीन कोर बुट क्याम्पमा समर्पण गर्छु।
आत्म–नियन्त्रण प्रायः ठूलो इच्छालाई प्रयोग गरेर सानो इच्छालाई जित्ने कला हो। एक पटक तिमीले कुनै विशाल सम्भावनामा प्रतिबद्धता जनायौ—आफ्नो बच्चा, देश वा ईश्वरलाई माया गर्न—केही कम आकर्षक विकर्षणहरू र प्राथमिकताहरू (जस्तै हर हालतमा पीडाबाट बच्न) कम आकर्षक लाग्न थाल्छन्।
मुराकामीले तर्क गर्छन् कि कुनै पनि लेखकका लागि तीनवटा सबैभन्दा महत्वपूर्ण गुणहरू प्रतिभा, फोकस र सहनशीलता हुन्। सायद यो प्रेरणाले भरिएको क्षेत्रहरू जस्तै उपन्यास लेखन वा सिम्फनी रचना गर्नमा सही क्रम हो, तर हाम्रा धेरैजसो पेशाहरूमा, सहनशीलता, वा स्टामिना, सबैभन्दा महत्वपूर्ण हुन्छ।
दशकौंसम्म रे क्रकले एकपछि अर्को उद्यमको प्रयास गरे—कागजका कप बेच्ने, रियल इस्टेट र मिल्कशेक मेसिनहरू, र पियानो बजाउने। अन्ततः, आफ्नो ५० को दशकमा उनले म्याकडोनाल्ड्स नामको रेस्टुरेन्टको बारेमा सुने, देशको आधा भाग ड्राइभ गरेर त्यहाँ भेट्न गए र त्यसको वृद्धिलाई जुनूनी रूपमा निरीक्षण गरे। उनको दृढता, उनले लेखे, यो भनाइमा मूर्त रूप लियोः “विश्वमा कुनै पनि कुराले दृढताको स्थान लिन सक्दैन। प्रतिभाले सक्दैन; प्रतिभा भएका असफल पुरुषहरूभन्दा सामान्य कुरा केही छैन। प्रतिभाले सक्दैन; पुरस्कार नपाएको प्रतिभा लगभग कहावत हो। शिक्षाले सक्दैन; विश्व शिक्षित परित्यक्ताहरूले भरिएको छ। दृढता र संकल्प मात्र सर्वशक्तिमान छन्।“ यो अतिशयोक्ति हो, तर धेरै होइन।
काममा सबैभन्दा राम्रा सहकर्मीहरू पूर्ण रूपमा दृढ खोजकर्ताको मनोवृत्ति राख्छन्ः म यो पत्ता लगाउँछु, जे भए पनि। र त्यस्तो स्टामिना केवल यति स्थिर इच्छाबाट बग्छ कि यो लगभग बुझ्न सकिँदैन। मुराकामी आफ्नो संस्मरणमा सबैभन्दा प्रभावशाली तब हुन्छन् जब उनी ५० को दशकमा पनि म्याराथन दौडिरहेका हुन्छन्। उनको दौड्ने समय बिस्तारै बढिरहेको छ यद्यपि उनी कडा प्रशिक्षण लिइरहेका छन्; उनको खुट्टाको मांसपेशीहरू क्र्याम्पको शिकार हुन्छन्, दौडहरू थप पीडादायी र प्रायः निराशाजनक हुन्छन्, र तैपनि उनी दौडमा आफ्नो जीवनमा भएकोमा धेरै खुसी छन् र मृत्युसम्म यो गर्न चाहन्छन् भन्नेमा जोड दिन्छन्। हामी प्रतिभाशाली नवप्रवेशी देखा पर्दा चकित हुन्छौं, तर पुराना अनुभवीहरूले खेलमा रहन आफ्नो चतुराई प्रयोग गरेको देख्नु पनि अत्यन्तै हृदयस्पर्शी हुन्छ। मुराकामी अब ७६ वर्षका छन्, र निस्सन्देह अझै पनि हरेक दिन दौडिरहेका छन्।
मैले हामीलाई यो यात्रामा ल्याएको छु किनभने म बुझ्न चाहन्थें कि मानिसहरूले किन स्वेच्छिक पीडा छान्छन् । तर मैले हामीलाई यो यात्रामा गहिरो कारणले पनि ल्याएको छु, किनभने यो कठिन जीवन नै बाँच्नको लागि सबैभन्दा राम्रो जीवन हो भन्ने बढ्दो भावनाको कारणले। अमेरिकाको आधा जस्तै, मैले यो हप्ता नेटफ्लिक्समा “एडोलेसेन्स“ हेरिरहेको छु। त्यो शोले सामाजिक सञ्जालको युगमा किशोर हुनु कति गाह्रो छ भन्ने क्रूर विवरणमा देखाउँछ। यसले तिमीलाई यसको रोमान्टिक धारणाबाट निको पार्छ कि जेले तिमीलाई मार्दैन, त्यसले तिमीलाई बलियो बनाउँछ—कहिलेकाहीं आघातले जीवनलाई अपरिवर्तनीय रूपमा खराब बनाउँछ।
तिमी यी बच्चाहरूसम्म पुग्न र भार हल्का गर्न, तनाव कम गर्न, सबै कुरा सजिलो बनाउन चाहन्छौ। र तैपनि मैले विरोधाभाष पाएको छु– जब तिमी कठिनाइहरूबाट बच्न खोज्नुको सट्टा तिनलाई अपनाउँछौ, जीवन सहज हुन्छ। मानिसहरू तब बढी शान्त हुन्छन् जब उनीहरू कतै गइरहेका हुन्छन्, जब उनीहरूले आफ्नो जीवनलाई एक बिन्दुमा ल्याएका हुन्छन्, एउटा महत्वपूर्ण लक्ष्यतर्फ एक दिशामा जाँदै गरेर । मानवहरू खोजीमा जानको लागि बनाइएका हुन्, र तिनका बीचमा बढी तनावले प्रायः बढी सन्तुष्टि ल्याउँछ, कम्तीमा त्यसको उच्चतम स्तरमा नपुगेसम्म। मनोवैज्ञानिक क्यारोल ड्वेकले कतै लेखेकी छन्ः “प्रयास जीवनलाई अर्थ दिने चीजहरू मध्ये एक हो। प्रयासको मतलब तिमीलाई कुनै कुराको ख्याल छ।“
यो सबै परिश्रम वास्तवमा म्याराथन पूरा गर्ने, अखबारको लेख वा किराना पसलको राम्रोसँग भण्डार गरिएको शेल्फको बारेमा होइन। यो बिस्तारै आफूलाई तिमीले बन्न चाहेको बलियो व्यक्तिमा ढाल्ने बारेमा हो। यो चुनौतीमार्फत आफूलाई विस्तार गर्न, अनुशासनमार्फत आफूलाई बलियो बनाउन र समझ, क्षमता र अनुग्रहमा बढ्नका लागि हो। सबैभन्दा ठूलो उपलब्धि भनेको यात्राको उत्साहमार्फत तिमी आफू बन्ने व्यक्ति बन्नु हो।
आत्म–सम्मान आन्दोलन असफल भयो किनभने यसले मानिसहरूलाई चापलुसी गरेर र सकारात्मक शब्दहरू दिएर उनीहरू महान छन् भनेर मनाउन खोज्यो। मानिसहरू मूर्ख छैनन्, हामीलाई वास्तविक चीजहरू हासिल गरेको, वास्तविक चीजहरू सिकेको, वास्तविक मापदण्डहरूमा बाँचेको देख्न आवश्यक छ। आफ्नो संस्मरणको अन्त्यमा मुराकामीले लेखेका छन् उनको चिहानको ढुङ्गामा उनलाई लेखक र दौडने व्यक्तिको रूपमा पहिचान गरियोस् भन्ने चाहन्छन्, र त्यसपछि यसो भनियोस्ः “कम्तीमा उनले कहिल्यै हिँडेनन्।“
त्यसैले, पक्कै पनि, सतही स्तरमा हामी हाम्रो जीवन सुख र पीडाको चक्रमा बिताउँछौं। तर गहिरो स्तरमा, हामी तीव्रता र बहावको बीचको चक्रमा बाँच्छौं। विकास वा ईश्वर वा दुवैले हामीमा अन्वेषण गर्न, निर्माण गर्न र सुधार गर्नको लागि प्रारम्भिक आग्रह राखेका छन्। तर जीवन तब उच्चतम हुन्छ जब जोशले हामीलाई विकासले माग गर्नेभन्दा धेरै टाढा लैजान्छ, जब हामी कुनै उपयोगितावादी तर्कभन्दा पर कुनै कुरामा प्रतिबद्ध हुन्छौं।
हामी प्रेममा हुन चाहन्छौं—आह्वानहरू, परियोजनाहरू र मानिसहरूसँग। प्रेमको विपरीत घृणा होइन, उदासीनता हो, र उदासीनता सहन गर्नु एकदमै खराब अवस्था हो। मलाई लाग्छ कि केही मानिसहरूले सबैभन्दा माथि शान्ति चाहने अधिकार कमाएका छन्, पछाडि बसेर उनीहरूले हासिल गरेको समृद्धिको आनन्द लिन। तर म यस्ता मानिसहरूलाई विरलै भेट्छु, अबकासपछिको जीवनमा पनि।
केही महिना अघि, मैले १०० वर्षको एक व्यक्तिको छेउमा रात्रिभोज खाएँ। उनको कुराकानी उनले पढिरहेका किताबहरू, उनले सुन्ने व्याख्यानहरूले भरिएको थियो। मलाई शंका छ कि उनको जीवनका धेरै इच्छाहरू—प्रतिष्ठा, यौन—हराइसकेका थिए, तर उनी अझै पनि सिक्न चाहन्थे, समझमा बढ्न चाहन्थे।
हामी हाम्रो जीवनलाई नाटकको रूपमा देख्न चाहन्छौं, र नाटकको सार भनेको एक व्यक्तिको ठूलो अवरोधको सामना गर्ने तीव्र इच्छा, र त्यो अवरोधलाई पार गर्ने संघर्ष हो। यदि तिमी कुनै पात्रलाई बुझ्न चाहन्छौ, नाटकमा वा जीवनमा, सोध, “उनी कस्ता पीडाहरू सहन तयार छन् ?“ केहीले मेडिकल स्कूलको पीडा छान्छन् वा पुरोहितको वा प्रहरी सेवाको, तर संघर्षमार्फत कम्तीमा हामी अभिनय गरिरहेका हुन्छौं, हाम्रा सीपहरू सुधारिरहेका हुन्छौं।
“जुरासिक पार्क“ मा एउटा दृश्य छ जसमा केही आगन्तुकहरूले टी. रेक्सलाई बाख्राको रूपमा खाजा खुवाइरहेको हेर्छन्। स्याम नीलको पात्रले एउटा अवलोकन गर्छ जसले पूरै चलचित्र सुरु गर्छ। टी. रेक्स, उनले भन्छन्, “खुवाइन चाहँदैन। उसले शिकार गर्न चाहन्छ।“
मलाई यो लेखनको पीडा मेरो जीवनबाट कसैले हटाइदियो भने घृणा लाग्छ। मलाई शंका छ कि धेरैजसो म्याराथन दौडनेहरूलाई ती अन्तिम केही माइलको पीडा कसैले हटाइदियो भने घृणा लाग्छ। हाम्रो मित्र मिस्टर डोपामाइन सधैं अगाडि उफ्रिरहेको हुन्छ, सधैं सकारात्मक पुरस्कारको अपेक्षा गरिरहेको हुन्छ, सधैं अर्को रिजको ठीक पर केही राम्रो छ भन्ने अनुभव गरिरहेको हुन्छ। त्यो मानव अस्थिरतामा आशीर्वाद निहीत छ।
मानिसहरूले यहाँ मैले वर्णन गरिरहेको मोहको बारेमा कुरा गर्दा मेलोड्रामाटिक हुने गर्छन्, तर उनीहरू पूर्ण रूपमा गलत छैनन्। मूर्तिकार हेनरी मूरले अतिशयोक्ति गरे तर पनि आवश्यक बिन्दु समातेः “जीवनको रहस्य भनेको एउटा कार्य हुनु हो, जुन तिमीले आफ्नो सम्पूर्ण जीवन समर्पण गर्छौ, जसमा तिमीले हरेक कुरा ल्याउँछौ, तिम्रो जीवनको हरेक दिनको हरेक मिनेट। र सबैभन्दा महत्वपूर्ण कुरा—यो त्यस्तो कुरा हुनुपर्छ जुन तिमीले सम्भवतः गर्न सक्दैनौ!“
मार्च २७, २०२५, न्यूयोर्क टाइम्सबाट
प्रतिक्रिया दिनुहोस्