
अँध्यारोमा एक सय डलरको नोट जलिरहेको छ।
राष्ट्रपति ट्रम्पले आफ्नो अविवेकी योजनामा विश्वमाथि कर लगाउने कुरामा धेरै हदसम्म पछि हट्दा मसँग धेरै प्रतिक्रियाहरू छन्, तर समग्रमा एउटा प्रतिक्रिया बारम्बार मेरो मनमा आइरहन्छः यदि तपाईंले जोकरहरूलाई भाडामा लिनुभयो भने, तपाईंले सर्कसको अपेक्षा गर्नुपर्छ। मेरा प्रिय अमेरिकीहरू, हामीले जोकरहरूको समूह भाडामा लिएका छौं।
ट्रम्पः उनको प्रमुख मूर्ख हावर्ड लुटनिक (वाणिज्य मन्त्री): उनको सहायक प्रमुख मूर्ख स्कट बेसेन्ट (अर्थमन्त्री) : र उनको उप–सहायक प्रमुख मूर्ख पीटर नाभारो (शीर्ष व्यापार सल्लाहकार) ले विगतका हप्ताहरूमा हामीलाई बारम्बार के भनिरहेका थिए भनेर सोच्नुहोस् त ? ट्रम्प यी करहरूबाट पछि हट्ने छैनन् किनभने—तपाईंले आफ्नो रोजाइ लिनुहोस्—उनलाई फेन्टानाइलबाट हाम्रा बच्चाहरूलाई जोगाउन यी आवश्यक छन्, उनलाई भविष्यका कर कटौतीको लागि राजस्व जुटाउन यस्तो गुर्नै पर्छ, र उनलाई विश्वलाई हामीबाट बढी सामान किन्न दबाब दिन यसो गर्नु आवश्यक छ। र उनलाई वाल स्ट्रीटका धनी साथीहरूले आफ्नो शेयर बजार घाटाको बारेमा के भन्छन् भन्ने कुराको कुनै मतलब थिएन।
यी दृढ ‘सिद्धान्तहरू’ मा उभिएर बजारमा हलचल मच्चाएपछि—निस्सन्देह धेरै अमेरिकीहरूलाई डरले कम मूल्यमा बेच्न बाध्य पारेर—ट्रम्पले बुधबार धेरै कुरा उल्ट्याए, चीनबाहेक अधिकांश देशहरूमा निश्चित करहरूमा ९०–दिनको स्थगनको घोषणा गरे।
विश्वलाई—र चिनियाँहरूलाई सन्देशः ‘मैले यो ताप सहन सकिनँ।’ यदि यो किताब भएको भए, यसको नाम ‘द आर्ट अफ द स्क्विल’ हुन्थ्यो।
तर एक सेकेन्डको लागि पनि नसोच्नुहोस् कि हराएको सबै पैसा मात्र हो। अमूल्य विश्वासको ठूलो ढेर पनि धुवाँमा उड्यो। पछिल्ला केही हप्ताहरूमा, हामीले विश्वका हाम्रा सबैभन्दा नजिकका मित्रहरूलाई—सेप्टेम्बर ११ पछि, इराक र अफगानिस्तानमा हामीसँग काँधमा काँध मिलाएर उभिएका देशहरूलाई— भनेका छौं कि उनीहरू कुनै पनि हिसाबले चीन वा रूसभन्दा फरक छैनन्। उनीहरू सबैमाथि एउटै सूत्रअन्तर्गत कर लगाइने छन्—मित्र र परिवार छुटको अनुमति छैन।
के तपाईंलाई लाग्छ कि यी पूर्व नजिकका अमेरिकी सहयोगीहरूले यो प्रशासनसँग फेरि खाडलमा उभिने विश्वास गर्नेछन् ?
यो बाइडेन प्रशासनको अफगानिस्तानबाट भएको असफल निकासको व्यापारिक समकक्ष जत्तिकै थियो, जसबाट त्यो कहिल्यै पूर्ण रूपमा रिकभर भएन। तर कम्तीमा जो बाइडेनले हामीलाई महँगो जितविहीन युद्धबाट बाहिर निकाले, जसबाट मेरो विचारमा अमेरिका अहिले धेरै राम्रो अवस्थामा छ।
ट्रम्पले हामीलाई जितविहीन युद्धमा धकेले।
कसरी ? हामीसँग चीनसँग व्यापार असन्तुलन छ, जसलाई सम्बोधन गर्न आवश्यक छ। ट्रम्प त्यसमा सही छन्। चीनले अहिले विश्वव्यापी उत्पादनको एक तिहाइ नियन्त्रण गर्छ र यदि यो अनुमति दिइयो भने एक दिन सबैका लागि सबै कुरा बनाउने औद्योगिक इन्जिनहरू हुन्छन्। यो हाम्रा लागि, युरोपका लागि वा धेरै विकासशील देशहरूका लागि राम्रो होइन। यो चीनका लागि पनि राम्रो होइन, किनभने निर्यात उद्योगहरूमा यति धेरै स्रोत लगाएर उसले आफ्ना जनताको कमजोर सामाजिक सुरक्षा जाल र झन् कमजोर सार्वजनिक स्वास्थ्य सेवा प्रणालीलाई बेवास्ता गरिरहेको छ।
तर जब तपाईंसँग चीन जस्तो ठूलो देश छ—१.४ अर्ब जनसंख्या—जससँग प्रतिभा, पूर्वाधार र बचत छ, वार्ता गर्ने एकमात्र तरिका भनेको हाम्रो पक्षमा लाभ उठाउनु हो। र लाभ प्राप्त गर्ने सबैभन्दा राम्रो तरिका भनेको ट्रम्पले युरोपेली संघ, जापान, दक्षिण कोरिया, सिंगापुर, ब्राजिल, भियतनाम, क्यानडा, मेक्सिको, भारत, अष्ट्रेलिया र इन्डोनेसियाका हाम्रा सहयोगीहरूलाई एक संयुक्त मोर्चामा भर्ती गर्नु पथ्र्यो। यसलाई सम्पूर्ण विश्व बनाम चीनको वार्ता बनाउनका लागि।
त्यसपछि तपाईं बेइजिङलाई भन्नुहुन्छः हामी सबैले आगामी दुई वर्षमा तपाईंको निर्यातमा करहरू क्रमशः बढाउनेछौं ताकि तपाईंलाई आफ्नो निर्यात अर्थतन्त्रबाट बढी घरेलु–उन्मुख अर्थतन्त्रतर्फ जान दबाब दिइयोस्। तर हामी तपाईंलाई हाम्रा देशहरूमा कारखाना र आपूर्ति शृंखलाहरू बनाउन पनि आमन्त्रण गर्नेछौं—५०–५० संयुक्त उद्यमहरू—तपाईंले हामीलाई आफ्नो विशेषज्ञता हस्तान्तरण गर्न बाध्य गर्नुभएको जस्तै हामीले तपाईंलाई फिर्ता गर्नेछौं। हामी विभाजित विश्व चाहँदैनौं। यो सबैका लागि कम समृद्ध र कम स्थिर हुनेछ।
तर सम्पूर्ण औद्योगिक विश्वलाई चीनविरुद्ध खडा गर्नुको सट्टा, ट्रम्पले यो अमेरिकाविरुद्ध सम्पूर्ण औद्योगिक विश्व र चीन खडा गरे ।
अब, बेइजिङलाई थाहा भएको छ कि ट्रम्पले न केवल विच्काए, तर उनले हाम्रा सहयोगीहरूलाई यति टाढा पुर्याए, उनको वचनमा एक सेकेन्ड पनि भरोसा गर्न नसकिने प्रमाणित गरे, उनीहरूमध्ये धेरैले हामीसँग चीनविरुद्ध उस्तै तरिकाले कहिल्यै लामवद्ध नहुन सक्छन्। बरु, उनीहरूले चीनलाई हामीभन्दा राम्रो, दीर्घकालीन स्थिर साझेदारको रूपमा हेर्न सक्छन्।
कस्तो दयनीय, लज्जास्पद प्रदर्शन! मुक्ति दिवसको शुभकामना!!
न्यूयोर्क टाइम्सबाट भावानुवाद
थोमस एल फ्राइडम्यान विदेश मामिला विचार स्तम्भकार हुन्। उनले सन् १९८१ मा यो पत्रिकामा सामेल भएयता तीन पटक पुलित्जर पुरस्कार जितेका छन्। उनी सातवटा पुस्तकका लेखक हुन्, जसमा ‘फ्रम बेरूत टु जेरुसेलम’ चर्चित छ।
प्रतिक्रिया दिनुहोस्