एक्लै अघि बढेर, राष्ट्रपति ट्रम्पले व्यापार नीतिको दिशा तय गर्ने अमेरिकी इतिहासको २०० वर्षभन्दा लामो परम्परालाई तोडेका छन्।
जसरी यो व्यापारिक कथा अगाडि बढिरहेको छ, एक व्यापार युद्धका प्रारम्भिक झडपहरू सुरु भइसकेका छन्।
यदि राष्ट्रपति ट्रम्पका शुल्क घोषणाहरू तपाईँलाई अनौठो लागिरहेका छन् भने, त्यसको एक राम्रो कारण भनेको —यस्तो पहिले कहिल्यै भएको थिएन।
यो धारणा डार्टमाउथका आर्थिक इतिहासकार डग्लस इरविनको हो, जसको सन् २०१७ मा प्रकाशित “Clashing Over Commerce: A History of US Trade Policy” भन्ने पुस्तक व्यापार नीतिमा प्रमुख कृति मानिन्छ। मैले उनलाई यसको पृष्ठभूमिका बारेमा जान्नका लागि फोन गरेँ। उनले भने—हामीले जुन अनुभव गरिरहेका छौं, त्यो ऐतिहासिक मान्यताबाट धेरै टाढा छ।
एक व्यक्तिले मात्र झन्डै १९३० को दशकपछि पहिलो विश्वव्यापी व्यापार युद्धको जोखिम उठाएका छन्, र त्यो पनि एक शताब्दीयताकै उच्च स्तरको शुल्क लगाएर । राष्ट्रपति ट्रम्पका कार्यहरू, उनले भने, “इतिहाससँगको ठूलो विच्छेद” हो।
ट्रम्पले केही शुल्कहरू ९० दिनको लागि स्थगित गरितापनि — जसमा प्रायः सबै आयातमा १० प्रतिशतको आधार शुल्क कायम छ — उनको एकल निर्णय क्षमता नै ठूलो मोड हो। अब जे भए तापनि, यो व्यापार युद्धको पहिलो झडप २१औँ शताब्दीमा थालिएको छ, जुन महामन्दीको समयको डर लाग्दो सम्झना हो।
यसका नतिजाहरू विस्तारै खुल्दै छन्, तर दाउ ठूलो छ — विश्वव्यापी मन्दीको सम्भावना, भू–राजनीतिक फेरबदलहरू, जुन सम्भवतः अमेरिकी हितमा नहुन सक्छन् — यी सबै राष्ट्रपति ट्रम्पका छिट्छिटो बदलिँदै गएका निर्णयहरूका कारण सम्भव भएका छन्।
इतिहासबाट विचलन
प्रोफेसर इरविन भन्छन्, व्यापार नीतिको मार्ग परिवर्तन गर्न दशकौँसम्म सहमति निर्माणका लागि समय लाग्थ्यो। सन् १९३० को दशकमा राष्ट्रपति लाई व्यापार सम्झौता गर्ने अधिकार सुम्पिँदा पनि, त्यसको दिशा भने कांग्रेसले निर्धारण गथ्र्यो — जसमा शुल्कहरू घटाउने नीतिहरू प्रमुख थिए।
तर अहिले, राष्ट्रपतिले आफैँ अमेरिकालाई नयाँ र जोखिमपूर्ण मार्गमा लगेर गएका छन्। “यो ऐतिहासिक महत्वको विषय हो,” प्रोफेसर इरविन भन्छन्।
अघिल्ला समयमा युद्धले नीतिमा परिवर्तन ल्याउँथ्यो। गृहयुद्ध र पहिलो विश्वयुद्धपछि लामो छलफल गरेर शुल्कहरू बढाइएका थिए, जुन आफैँमा “इतिहाससँगको ठुलो विच्छेद” थियो।
प्रोफेसर इरविन भन्छन्, तर अहिले, “हामी शान्तिपूर्ण अर्थतन्त्रमा छौं, बेरोजगारी केवल ४ प्रतिशत छ, समाजमा व्यापारसँग सम्बन्धित ठूलो समस्या छ भन्नेमा सहमति छैन — तर एउटै व्यक्तिले अमेरिकी व्यापार नीतिको दिशा पूर्णतः परिवर्तन गरिरहेका छन्।”
परिणामहरू
शेयर बजारमा तीव्र उतारचढाव भएको छ — केही दिनको गिरावटपछि बुधवार केही शुल्कहरू स्थगित भएको खबरमा हर्षित उछाल देखियो। S&P ५०० सूचकांक ९.५ प्रतिशतले उकालो लाग्यो, जुन सन् २००८ को वित्तीय सङ्कटपछि सबैभन्दा ठूलो एक–दिने उकालो हो। तर बिहीबार फेरि उत्साह घटेर ३.५ प्रतिशतको गिरावट आयो।
अब बजारले पुनः उकालो लिन्छ वा चिन्तामा पुनः डुब्छ भन्ने कुरा ट्रम्पले शुल्क नीतिलाई कसरी अगाडि बढाउँछन् भन्ने कुरामा भर पर्नेछ — जुन अर्थशास्त्रीहरूले प्रायः एकमतले गलत र गम्भीर खतरनाक मानिरहेका छन्।
बुधवारभन्दा अगाडि, ट्रम्पका श्रृंखलाबद्ध घोषणाहरूले घरधुरी र व्यवसाय दुवैका लागि मुल्यवृद्धिको आशंका बढाएको थियो, जसले विश्वव्यापी व्यापार युद्ध फैलिन सक्ने, र त्यसले अमेरिकालाई मन्दीमा धकेल्ने सम्भावना निम्त्याएको थियो।
ट्रम्पले केही शुल्क स्थगित गरेपछि गोल्डम्यान स्याक्सले अमेरिकामा मन्दी हुने अनुमान हटायो। तर तिनको नयाँ अनुमान पनि निराशाजनक थियोः “हामी गैर–मन्दी ०.५ प्रतिशत जीडीपी वृद्धिको पूर्ववत आधारमा फर्किरहेका छौं, तर मन्दीको सम्भावना अझै ४५ प्रतिशत छ।”
चीनले बदला स्वरूप आफ्ना शुल्कहरू बढाएको छ। बिहीबारसम्म अमेरिकी सामानमाथि चिनियाँ शुल्क १२५ प्रतिशत पुगेको छ, र अमेरिकाले चिनियाँ वस्तुमा १४५ प्रतिशत शुल्क लगाइसकेको थियो।
धेरै देशहरूसँग वार्ता भैरहेको छ, तर चीनसँग छैन। अमेरिकी अर्थमन्त्री स्कट बेसन्टले भने, “प्रतिकार नगर्नुहोस्, तपाईंलाई पुरस्कृत गरिनेछ।” युरोपेली संघले भने ९० दिनसम्म बदला स्वरूपका योजना स्थगित गर्ने निर्णय लिएको छ।
कांग्रेसमा राष्ट्रपति ट्रम्पको व्यापार नीतिविरुद्ध प्रतिरोध सुरु भएको छ, जसमा डेमोक्र्याटिक सांसदहरूले राष्ट्रपति द्वारा घोषणा गरिएको “राष्ट्रिय आपतकाल” समाप्त गर्ने प्रयास गरिरहेका छन्। तर, त्यो प्रयास सफल हुने सम्भावना न्यून छ।
यदि त्यो प्रस्ताव सिनेटमा पारित भयो भने पनि प्रतिनिधिसभामा पुग्ने निश्चित छैन। र प्रतिनिधिसभाबाट पास भए पनि राष्ट्रपति ट्रम्पले भिटो गर्नसक्छन्, र त्यसलाई उल्ट्याउन दुई तिहाइ मत आवश्यक पर्छ — जुन हालको राजनीतिक स्थितिमा सम्भावना कम छ।
ऐतिहासिक परिप्रेक्ष्य
जति अनौठो ट्रम्प प्रशासनको शुल्कका मोड छ, यो सम्भव भएको कारण कांग्रेसले बिस्तारै व्यापार अधिकार राष्ट्रपतिमा हस्तान्तरण गरेको कारणले भएको हो, यसको सुरुवात सन् १९३४ देखि भएको हो ।
अमेरिकी संविधानको पहिलो अनुच्छेदको आठौँ धारा अनुसार, शुल्क लगाउने अधिकार स्पष्ट रूपमा कंग्रेसको हो।
तर १९३० को स्मूट–हाउली शुल्क ऐनले वैश्विक व्यापार युद्ध निम्त्याएर महामन्दी बढाएपछि स्थिति फेरियो। त्यतिबेला पनि, अर्थशास्त्रीहरूले चर्को विरोध गरेका थिए, तर राष्ट्रपति हर्बर्ट हूभरले ऐनमा हस्ताक्षर गरेकै कारण विनाशकारी परिणाम भयो।
त्यो ऐतिहासिक गल्ती “लगरोलिङ” को नतिजा थियो — जसमा सांसदहरूले आ–आफ्नो क्षेत्रका हित संरक्षणका लागि आपसी सम्झौतामा मतदान साटासाट गर्थे।
१९३० को दशकमा अमेरिकाले आफ्ना उद्योगलाई बचाउन शुल्क बढायो, तर वैश्विक असरबारे गम्भीर सोचविचार गरिएन।
भर्जिनिया विश्वविद्यालयका प्राध्यापक डेल कोपल्यान्डका अनुसार, त्यसबेलाका शुल्कहरू विश्व इतिहासको घातक मोड बने । ब्रिटेन र फ्रान्सले आफ्नो उपनिवेशमै सीमित व्यापार गरे, जापानले भने चीन र दक्षिण एसियामा साम्राज्य विस्तार गर्न थाले।
“स्मूट–हाउली लागू भएको एक वर्षभित्र जापानले व्यापार गुमायो, त्यसैले उनीहरूले कच्चा पदार्थ र तेल आपूर्ति गर्न नयाँ बाटो खोजे,” उनले भने “शुल्क नीतिले अन्तर्राष्ट्रिय तनाव र विकृत प्रलोभनहरू सिर्जना ग¥यो — जुन पाठ विश्वले पहिले नै सिकेको हो, र अहिले फेरि सिक्नुपर्ने स्थिति आएको छ।”
भू–राजनीतिक सन्दर्भ
नेड डेविस रिसर्चका वरिष्ठ रणनीतिकार एड क्लिसोल्डका अनुसार, शुल्क वृद्धिका भू–राजनीतिक असरहरू गहिरो अध्ययन आवश्यक छन्। “यदि हामीले चीनसँग व्यापार काट्यौँ र अन्य देशहरूमा पनि शुल्क बढायौँ भने, चीन अझ बढी दक्षिण एसियामा केन्द्रित हुनेछ,” उने भनेका छन् ।
बावर्सोक क्यापिटल पार्टनर्सकी प्रमुख एमिली हिल भन्छिन्, “ट्रम्पको व्यवहारमा नियन्त्रण नभएर उनी जथाभावी भू–राजनीतिक चालहरू चालिरहेका छन्।” “अमेरिकाको विश्वस्तरको प्रतिष्ठा बनाउँन दशकौँ लाग्यो। त्यो प्रतिष्ठा, मित्रता र ब्रान्ड नै हाम्रो प्राथमिक बल थियो। तर त्यो गुमाउन धेरै समय लाग्दैन।”
अमेरिकी राष्ट्रपतिहरू सधैं शक्तिशाली थिए, तर कानून, परम्परा र राजनीति उनीहरूलाई बाँध्ने तत्व थिए। तर ट्रम्प, ती सबै बाधाबाट लगभग अप्रभावित देखिन्छन्। अहिले, बजार र विश्व अर्थतन्त्रको दिशा धेरै हदसम्म राष्ट्रपतिको मुडमा निर्भर छ।
(जेफ सोमरले बजार, वित्त र अर्थतन्त्रसम्बन्धी साप्ताहिक स्तम्भ ‘स्ट्राटेजीज’ लेख्छन्।
प्रतिक्रिया दिनुहोस्