अधिकतम दबाबलाई व्यक्तिगत कूटनीतिमा कसरी रूपान्तरण गर्ने ?

शनिबार, अप्रिल १२ मा, अमेरिकी र इरानी अधिकारीहरूले तेहरानको आणविक कार्यक्रमलाई सीमित गर्ने विषयमा वार्ता पुनः शुरू गर्नेछन्। यो वार्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मार्चको शुरूमा इरानी सर्वोच्च नेता अली खामेनीलाई पत्र लेखेर वार्ताको प्रस्ताव गरेपछि शुरू भएको हो। ट्रम्पले वार्ताको घोषणा गर्दै भनेका छन् “हामीसँग एउटा ठूलो बैठक हुँदैछ। हेरौं के हुन सक्छ।“
ट्रम्पको प्रयास सफल हुने केही आधारहरू छन्। उनमा सम्झौता गर्ने लगभग स्वाभाविक रुचि छ, र उनले इरानलाई पुनः समृद्ध बनाउन चाहेको बताएका छन्। तर, चिन्ताका कारणहरू पनि छन्। ट्रम्प प्रशासनले वार्तालाई अंगीकार गरे पनि तेहरानमाथि दबाब बढाएको छ। प्रशासनले इरानलाई आर्थिक रूपमा टाट पल्टाउने उद्देश्यले प्रतिबन्धहरू कडा गरेको छ र यमनमा इरान–समर्थित हुथीहरूमाथि हवाई हमलाहरू शुरू गरेको छ। ट्रम्पले इरानलाई आणविक सम्झौताका लागि दुई महिनाको कडा समयसीमा पनि दिएका छन्, र असफल भएमा हमला गर्ने प्रष्टै धम्की दिएका छन्।
इरान र अमेरिकाबीच युद्ध कसैले चाहँदैन। यदि वाशिंगटनले तेहरानका आणविक सुविधाहरूमाथि हमला ग¥यो भने, यसले कार्यक्रमलाई अस्थायी रूपमा रोक्न सक्छ, तर इरानले आणविक हतियार बनाउने प्रयासलाई दोब्बर बनाउन सक्छ। इरानले क्षेत्रीय हमलाहरू मार्फत तुरुन्तै जवाफ दिनेछ, जसले मध्यपूर्वलाई थप अस्थिर बनाउनेछ। ट्रम्पले पनि भनेका छन्, “सबैजना सहमत छन् कि सम्झौता गर्नु स्पष्ट विकल्पभन्दा राम्रो हुन्छ।“
तर वार्ता शुरू गर्नु र सम्झौतामा पुग्नु फरक कुरा हो। अमेरिकाले इरानमाथि आर्थिक दबाबमार्फत ठूलो क्षति पु¥याउन सक्छ, जुन ट्रम्पको पहिलो कार्यकाल र उनले पुनर्जनन गरेको “अधिकतम दबाब“ प्रतिबन्धहरूमा स्पष्ट थियो। तथापि, कूटनीतिक फल प्राप्त गर्न ट्रम्पले तेहरानबाट पूर्ण समर्पणको अपेक्षा गर्नुको सट्टा प्राप्त गर्न सकिने लक्ष्यहरू पछ्याउनुपर्छ। इरानी अधिकारीहरू विश्वास गर्छन् कि अमेरिकी प्रतिबन्धहरूको सामना गर्नुभन्दा अधिकतम मागहरूमा झुक्नु खतरनाक छ।

दबाबको भूमिका र यथार्थवादी लक्ष्यहरू
इरानसँग कूटनीतिमा दबाबको कुनै स्थान नभएको होइन। इरान ट्रम्प प्रशासनसँग बाइडेनसँग भन्दा बढी वार्ता गर्न इच्छुक छ, किनभने प्रतिबन्धहरूको संचयी प्रभावले इरानी अर्थतन्त्रलाई गम्भीर संकटमा पारेको छ र इरान दशकौंदेखि सबैभन्दा कमजोर अवस्थामा छ। इजरायलसँग १८ महिनाको युद्धले इरानका सहयोगीहरूको सञ्जाललाई कमजोर बनाएको छ र यसको हवाई रक्षा प्रणालीलाई कमजोर बनाएको छ।
तर अमेरिकी दबाब यथार्थवादी लक्ष्यहरूसँग जोडिनुपर्छ। सन् २०१५ को आणविक सम्झौता केवल अतिरिक्त प्रतिबन्धहरूको कारणले मात्र भएन, बरु अमेरिकाले तेहरानले आफ्नो आणविक कार्यक्रम पूर्ण रूपमा बन्द गर्नुपर्ने माग छोडेर इरानको युरेनियम र प्लुटोनियम भण्डारलाई कडाइका साथ सीमित र निगरानी गर्ने शर्तमा सहमति जनाएको थियो। यदि ट्रम्पले साँच्चै सम्झौता गर्न चाहन्छन् भने, उनले इरानजस्तै केही हदसम्म लचिलो हुन तयार हुनुपर्छ। उदाहरणका लागि, उनले इरानलाई आफ्नो आणविक वा मिसाइल कार्यक्रमका केही तत्वहरू कायम राख्न अनुमति दिँदै प्रतिबन्धहरू हटाउने, इरानको तेल व्यापारमा राहत दिने, र फ्रिज गरिएको सम्पत्तिमा पहुँच दिने प्रस्ताव गर्नुपर्छ। अन्यथा, वार्ता भाँडिन सक्छ, जसले कसैले नचाहेको क्षेत्रीय युद्ध निम्त्याउन सक्छ।
अन्तिम गणना
सन् २०१५ को इरान आणविक सम्झौता जटिल भए पनि सरल आदान–प्रदान थियो। इरानले आफ्नो आणविक कार्यक्रममा प्रतिबन्ध र पारदर्शिता स्वीकार ग¥यो, र बदलामा प्रतिबन्धहरू हटाइयो। सम्झौताले इरानको मिसाइल कार्यक्रम वा मध्यपूर्वमा गैर–राज्य अभिनेताहरूलाई समर्थनलाई सीमित गरेन, किनभने तेहरानले यी विषयहरूलाई वार्तामा समावेश गर्न अस्वीकार ग¥यो। तैपनि, सम्झौताले इरानको व्यवहारमा गम्भीर सीमाहरू लगायो। इरानले युरेनियम संवर्धन र भण्डारणलाई सीमित ग¥यो र आफ्ना आणविक सुविधाहरूलाई कडा अन्तर्राष्ट्रिय निगरानीका लागि खोल्यो।
तर सन् २०१८ मा ट्रम्पले सम्झौता त्यागेपछि इरानको आणविक विकास तीव्र भयो। आज, तेहरानले आणविक हतियारका लागि आवश्यक फिसाइल सामग्री केही दिनमै उत्पादन गर्न सक्छ र उससँग धेरै हतियार बनाउन सकिने भण्डार छ। अनुमानहरू अनुसार यदि इरानले चाह्यो भने, उसले केही महिनामै कार्यात्मक बम बनाउन सक्छ। अर्थात्, इरान विश्वको दशौं आणविक शक्ति बन्ने सीमामा छ।
इरानका धेरै राजनीतिक अभिजातहरूले देशले आणविक हतियार बनाउनुपर्ने माग गर्न थालेका छन्। इरानको क्षेत्रीय सहयोगीहरूको सञ्जाल—तथाकथित “प्रतिरोधको अक्ष“—वर्षौंदेखि कमजोर भएको छ, जसले इरानलाई इजरायल र अमेरिकालाई धम्की दिन गाह्रो बनाएको छ। विशेष गरी लेबनानमा हिजबुल्लाहको कमजोरी इरानका लागि ठूलो झट्का हो। इरानले हिजबुल्लाहलाई इजरायलविरुद्धको प्रमुख निवारक ठान्थ्यो, तर इजरायलले हिजबुल्लाहको मिसाइल भण्डार नष्ट ग¥यो र यसका शीर्ष कमाण्डरहरूलाई मा¥यो। तेहरानका कट्टरपन्थीहरूले आणविक हतियारले इरानलाई सुरक्षित राख्ने तर्क गर्छन्। खामेनी भने अझै आणविक कार्यक्रमलाई वार्ताको लाभका रूपमा हेर्छन्। तर तनाव बढ्दै जाँदा उनले आन्तरिक दबाबको सामना गर्नुपर्नेछ।
समय पनि सकिँदै छ। सन् २०१५ को सम्झौतामा “स्न्यापब्याक“ संयन्त्र थियो, जसले सम्झौताका पक्षहरूलाई अन्तर्राष्ट्रिय प्रतिबन्धहरू पुनः लागू गर्न अनुमति दिन्छ। यो प्रावधान अक्टोबरमा समाप्त हुँदैछ। यदि इरानको आणविक प्रगतिलाई शान्तिपूर्ण रूपमा रोक्ने समाधान भएन भने, फ्रान्स, जर्मनी, र बेलायतले स्न्यापब्याक शुरू गर्नेछन्। चीन र रुसले यसलाई रोक्न खोज्ने हुन सक्छ्, तर संयुक्त राष्ट्र सुरक्षा परिषदको भिटो शक्ति यहाँ लागू हुँदैन।
इरानले प्रतिबन्धहरू फर्किएमा आणविक अप्रसार सन्धिबाट बाहिरिने धम्की दिएको छ, जसले उसको कार्यक्रमको औपचारिक निगरानीलाई लगभग समाप्त गर्नेछ। ट्रम्पलाई इजरायली नेताहरू र वाशिंगटनका कट्टरपन्थीहरूबाट हमला गर्न दबाब बढ्नेछ। इजरायलले एक्लै हमला गर्ने विचार गर्न सक्छ, जसले अमेरिकालाई पनि तान्नेछ।
तर ठूलो अमेरिकी र इजरायली हमलाले पनि इरानको आणविक कार्यक्रमलाई पूर्ण रूपमा समाप्त गर्न सक्दैन। इरानसँग धेरै समृद्ध सामग्री र उन्नत सेन्ट्रीफ्युजहरू छन्, जुन धेरै ठाउँमा भण्डार गरिएको छ। इरानका आणविक विशेषज्ञहरूले कार्यक्रमलाई पुनर्जनन गर्न सक्छन्। अमेरिकी खुफिया अनुमानले पनि सैन्य हमलाबाट कार्यक्रममा केवल केही महिनाको अवरोध हुने प्रक्षेपण मात्र गरेको छ। बल प्रयोग गरेर कार्यक्रम रोक्न अमेरिकाले बारम्बार हमला गर्नुपर्ने वा शासन परिवर्तनको अभियान चलाउनुपर्ने हुन्छ, जसका परिणाम अनिश्चित र विनाशकारी हुनेछन्।
इरानमाथि हमलाले क्षेत्रीय तनावमा वृद्धि निम्त्याउन सक्छ। इरानका सहयोगीहरू कमजोर भए पनि हुथीहरू र इराकमा इरान–समर्थित समूहहरू मार्फत जवाफी कारबाही गर्न सक्छ। इरानले इजरायल र अमेरिकी सम्पत्तिहरूमाथि हमला गर्न सक्छ र खाडीको तेल पूर्वाधारलाई निशाना बनाएर तेलको मूल्य बढाउन सक्छ।
सहमतिमा पुग्ने बाटो
यी तथ्यहरू निराशाजनक छन्, तर अमेरिका–इरान युद्धबाट कसैलाई फाइदा हुँदैन। त्यसैले कूटनीतिलाई अवसर छ।
ओमानमा हुने आगामी वार्ताले कुरालाई सकारात्मक दिशामा लैजान सक्छ। दुवै पक्षले दुई लक्ष्यहरू प्राप्त गर्न प्रयास गर्नुपर्छः संलग्नताको ढाँचा स्पष्ट गर्ने र अन्तिम लक्ष्यको व्यापक दायरा रेखांकन गर्ने। तेहरानले अमेरिकी अधिकारीहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्ने कि नगर्ने भन्नेमा अनिश्चित छ, जुन अव्यवहारिक र अक्षम छ। समय कम छ, त्यसैले इरानले आमने–सामने संलग्नताबाट बच्नु हुँदैन। अमेरिकाले वार्तालाई इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले प्रस्ताव गरेको “लिबिया मोडेल“ जस्तो इरानको आणविक पूर्वाधार पूर्ण रूपमा विघटन गर्ने मागले असफल हुने सम्भावना बुझेर अघि बढ्नुपर्छ। प्रतिबन्ध र पारदर्शिताले भने काम गर्न सक्छ र इरानको कार्यक्रमलाई आणविक सीमाबाट टाढा राख्न महत्त्वपूर्ण भूमिका खेल्न सक्छ।
वार्ता सफल हुन तेहरान र वाशिंगटनले एकअर्काको कूटनीतिक आवश्यकताहरूलाई मान्यता दिनुपर्छ। वाशिंगटनले बन्दूक तेस्र्याएर इरानले राम्रोसँग वार्ता गर्दैन। ट्रम्पले इरानी राष्ट्रपति मसूद पेजेशकियनसँग प्रत्यक्ष, व्यक्तिगत कूटनीति कुरा गर्न चाहन्छन्, जुन उनका पूर्ववर्तीहरूलाई अस्वीकार गरिएको थियो। दुवै पक्षले वार्तामा एकअर्काको दृष्टिकोणलाई बुझ्नुपर्छ।
ओमान वार्ताको गति बढाउन र बिथोल्ने प्रयासहरूबाट जोगाउन ट्रम्पले कूटनीतिक प्रक्रियामा प्रत्यक्ष हस्तक्षेप गर्नुपर्छ। उनको पहिलो कार्यकालले उनलाई इरानप्रति कठोर देखायो। यदि आणविक सम्झौता सम्भव छ भने, ट्रम्पले अमेरिकी कट्टरपन्थीहरूलाई समर्थन गराउन सक्छन्, जसरी रिचर्ड निक्सनले चीन भ्रमण गरेर बेइजिङ र वाशिंगटनबीच सम्बन्ध सुधारेका थिए । ट्रम्पले युरेनियम संवर्धन अस्थायी रूपमा रोक्ने बदला अधिकतम दबाब प्रतिबन्धहरू अस्थायी रूपमा निलम्बन गर्ने साधारण तर महत्वपूर्ण सम्झौता गरेर प्रक्रियालाई अघि बढाउन सक्छन्। यसले नै ट्रम्पले लामो समयदेखि खोजेको राष्ट्रपति–स्तरीय बैठकको बाटो खोल्न सक्छ। यदि वार्तालाई अघि बढाउन गम्भीर छन् भने, ओमान, साउदी अरब, संयुक्त अरब इमिरेट्स वा ट्रम्पले सम्मान गर्ने अन्य मध्यस्थले यस्तो व्यवस्था प्रस्ताव गर्नुपर्छ।
इरान र अमेरिकाबीच कटु शत्रुता र अविश्वासको खाडल छ। कूटनीतिले यो खाडललाई पूरै जोड्न गाह्रो छ। तर सम्झौता सम्भव छ। इरानलाई सम्झौता चाहिएको छ। ट्रम्पले चाहेका छन्। र असफल वार्ताको विकल्प विनाशकारी हुनेछ।
कम्फर्ट इरो , अन्तर्राष्ट्रिय संकट समूहकी अध्यक्ष र सीईओ हुन् ।
अप्रिल ११, २०२५, फरेन अफेयर्सटबाट
प्रतिक्रिया दिनुहोस्