ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

समृद्धि तर्फ पाइला चाल्दै ‘दोधारा–चाँदनी’


admin
१२ चैत्र २०७४, सोमबार   २ : ५७   बजे

भीमदत्तनगर, १२ चैत।  धेरैले अझै पनि पश्चिममा महाकाली नदीलाई नेपाल–भारतको सीमा नदी मान्छन् । तर कञ्चनपुरसित सीमा जोडिएको क्षेत्रमा महाकाली नदीलाई पश्चिमतर्फको सीमा मान्नुभयो भने त्यो अन्याय हुन्छ । कारण महाकाली नदीपारिको दोधारा–चाँदनी भएर बग्ने अर्को नदी जोगबुढाभन्दा पनि केही परसम्म नेपाली बस्ती छन् । जहाँ प्रदेश नं ७ कै सुख्खा बन्दरगाह निर्माणको प्रक्रिया अघि बढाइएको छ ।

विसं २०६० को दशकसम्म महाकाली नदीमा एउटा पुलसम्म नहुँदा महाकाली नगरपालिकावासी (दोधारा–चाँदनी) भोग्नुपरेको पीडा शब्दमा वर्णन गर्न कठिन छ । झण्डै पाँच दशकअघि बसेको दोधारा–चाँदनीको बस्ती अहिले आइपुग्दा विकासका दृष्टिले कुनै अन्य क्षेत्रको तुलनामा पछि छैन ।
विसं २०६१ सम्म जिल्लाको सदरमुकाम महेन्द्रनगरसँग जोडिन नसकेको दोधारा–चाँदनीका लागि महाकाली नदीमा बनेको झोलुङ्गे पुल एउटा दरिलो माध्यम बन्न पुग्यो ।

“झोलुङ्गे पुल बन्नु अघिसम्म मैले २० वर्ष महाकाली नदीमा किस्ती चलाएर स्थानीवासीलाई ओहोर–दोहोर गराएँ ।” महाकाली नगरपालिका–४ का ६८ वर्षीय भीमबहादुर सिंहले भन्नुभयो, “अहिले त विकासको क्रम अन्य नगरपालिकाको भन्दा यहाँ बढी नै भइरहेको छ ।” स्थानीय तहको निर्वाचनमा वडा सदस्यसमेत निर्वाचित भएका सिंहले प्रतिव्यक्ति रु पाँच लिएर वर्षात्को समयमा यात्रुहरु ओसारेको विगत सुनाए ।

“अहिले भन्दा कथा जस्तो लाग्छ” विसं २०३३ मा बाजुराबाट बसाइँ सरी दोधारा–चाँदनी आउनुभएका सिंहले भन्नुभयो, “कैयन रातहरु वर्षात्मा घर छाडेर अग्लो गाउँमा बितायौँ ।”

विसं २०२२ देखि दोधारा–चाँदनीमा बसोबास रहे पनि २०६० सालपछि मात्रै यहाँ विकासले गति लिएको उहाँको भनाइ छ । “भारतीय सीमावर्ती शहर वनवासामा कुटानीपिसानी गरेर भोक टाथ्र्यौं ।” उहाँले भन्नुभयो, “वनवासा पुलमा आवातजावत गर्दा भारतीयबाट धेरै हेपाइथिचाइ हुन्थ्यो ।”

आफ्नै भूमिमा जाँदा भारतको बाटो भएर जानुपर्ने बाध्यता पनि झोलुङ्गे पुल बनेपछि हटेको उहाँले बताउनुभयो । “वारि ओदालीमा किस्ती(डुंगा)मा यात्रु लिएर नदी तर्दा करिब पाँच किलोमिटर तल गएर दोधारातर्फ ओर्लिने गथ्र्यौं” सिंहले भन्नुभयो, “एकपटक ४० क्विन्टलसम्म किस्तीमा तार्न सकिन्थ्यो ।”

त्यो बेला दोधारा–चाँदनीवासीको सहजताका लागि दुईवटा किस्ती महाकालीमा चल्ने गरेको सिंहले जानकारी दिनुभयो । “हिउँदमा नदीमा पानी नहँुदा पैदल हिँडेर ओहोदोहोर गर्ने गरेका थियौँ ।” उहाँले भन्नुभयो, “अब निर्माणाधीन चार लेनको पक्की पुल बने यहाँको स्वरुप नै परिवर्तन हुन्छ ।” पुल बने नेपाल–भारतको व्यापारिक नाकाका रुपमा पश्चिमी नाका विकास भएसँगै त्यसको सबैभन्दा बढी फाइदा दोधारा–चाँदनीवासीलाई नै पुग्नेमा दुविधा छैन ।

पुलको निर्माण थालिएसँगै दोधारा–चाँदनीमा जग्गाको कारोवारसमेत बढेको स्थानीयवासीको भनाइ छ । प्रदेश नं ७ को सुख्खा बन्दरगाह पनि महाकाली नगरपालिका–७ कञ्चनभोजमा निर्माण गर्ने प्रक्रिया अघि बढेको छ । सुख्खा बन्दरगाहसँगै महाकालीको चार लेनको पुल, एशियाकै दोस्रो लामो झोलुङ्गे पुल दोधारा–चाँदनीका समृद्धिका ढोका हुन् ।

(दोधारा चाँदनी जोड्ने महाकाली पुल)

विसं २०२२ मा बझाङबाट बसाइँ सरी महाकाली नगरपालिका–२ आउनुभएका ७० वर्षीय उजेली दमाईंले पनि विगतका कष्टकर दिन सम्झँदै भन्नुभयो, “अहिले त स्वर्गजस्तै बन्दैछ, दोधारा–चाँदनी ।” “पूरै जंगल र झाडीमात्रै थियो ।” उहाँले भन्नुभयो, “अहिले जताततै विकास भइरहेको देख्दा खुशीको सीमा नै छैन ।” किस्तीमा जोखिमपूर्ण यात्रा गर्दा पूर्णागिरि माताको नाम लिएर विगतको यात्रा गरेको उहाँले सुनाउनुभयो । “गाउँमा अरुको घर हेर्नु परे रुखमा चडेर छिमेकीको घरको उज्यालो देखिन्थ्यो” उहाँले भन्नुभयो, “अहिले तर घर घरमा पक्की सडक पुग्दैछन् ।”

झोलुङ्गे पुल स्थानीयवासीलाई आवागमनसँगै आन्तरिक तथा बाह्य पर्यटकको पनि आकर्षक गन्तव्य बनेको छ । कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ मा पर्ने दोधारा–चाँदनी पछिल्ला निर्वाचनमा चुनावी प्रचारको प्रमुख गन्तव्य बन्ने गरेको छ ।

बाइस हजार मतदाता रहेको महाकाली नगरपालिकाबाट प्रदेश नं ७ को प्रदेशसभा सदस्यमा दोधारा–चाँदनीकै मानबहादुर सुनार निर्वाचित हुँदा उच्च राजनीतिक तहमा प्रतिनिधित्व पाएको स्थानीयवासीको बुझाइ छ ।

महाकाली नगरपालिकामा स्थानीय वीरबहादुर सुनार नगरप्रमुख रहनुभएको छ । दोधारा–चाँदनीमा बस्ती बस्दादेखि नै भारतीय नोटको बढी कारोवार हुने गरेको उजेली दमाईंको भनाइ छ । “पछिल्ला वर्षहरुमा त नेपाली नोटको कारोवारले प्राथमिकता पाएको छ ।” उहाँले भन्नुभयो, “तर नेपाली नोट दिए पनि भारतीय मूल्यमै कारोवार भने यथावत् नै छ ।”

महाकाली नगरपालिकामा केही वर्षयता पक्की सडक, खानेपानी, पुल निर्माणलगायत पूर्वाधार निर्माणका काम तीब्र गतिमा भइरहेका छन् । “एउटा मलेरिया नालामा मात्रै नौ वटा पुल बन्दैछन् ।” स्थानीय भीमबहादुर सिंहले भन्नुभयो, “व्यापारिक ‘हब’ बन्ने भएपछि यहाँ बाहिरबाट समेत जग्गा खरिद गर्न दिनहुँ आइरहेका छन् ।”

कुनै समय भारतीय सीमावर्ती बजार वनवासा र खटिमाको भरमा दोधारा–चाँदनीको दैनिकी चल्ने गरेको भए पनि सुरक्षा निकाय, सरकारी कार्यालय, स्वास्थ्य केन्द्र र स्कूल खुलेको उहाँले बताउनुभयो । दोधारा–चाँदनीमा सिँचाइका लागि पनि नहर निर्माणको कामलाई प्राथमिकतामा राखिएको छ ।

महाकाली नगरपालिका–७ स्थित बाबाथाम बजार व्यवस्थापन समितिका सचिव मानबहादुर ओलीले दोधारा–चाँदनीमा खानेपानी, सडक पूर्वाधार, सञ्चार, शिक्षालगायत सबै पूर्वाधार पुगिसकेको बताउनुभयो । विसं २०३० मा सुर्खेतबाट यहाँ आउनुभएका ओलीले दोधारा–चाँदनी समृद्धितर्फ दु्रत गतिमा अघि बढिरहेको बताउनुभयो । सडक डिभिजन कार्यालय कञ्चनपुरले महाकाली नगरपालिकामा चालू आवमा चारवटा सडक कालोपत्रे र आधा दर्जनभन्दा बढी पुल बनिरहेको जनाएको छ ।

साविक दोधारा र चाँदनी गाविस मिलेर बनेको महाकाली नगरपालिकामा बैतडी, दार्चुला, बझाङ, बाजुरा, दैलेख र सुर्खेतबाट बसाइँ सरी आएकाको बसोबास बढी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group