काठमाडौं, १५ चैत । आकर्षण: पृथक परिचय भएको प्रदेश नम्बर ५ पर्यटनका बहु आयामहरुको उत्कृष्ट गन्तव्य हो, युद्धभूमि देखि बुद्धभूमिको गन्तव्य हो, पिस टुरिज्म देखि मेमोरी टुरिज्मको गन्तव्य प्रदेश ५ प्रकृति र संस्कृतिका अनुपम गन्तव्यले समृद्ध छ । धवलागिरी हिमश्रृंखलामा पर्ने चुरेन (७,३७१ मी), पुथा (७,२४६मी), दोगरी (६,५३६ मी) र सिस्ने (५,९११मी. श्रोत एनएमए) जस्ता हिमाली टाकूराहरुको काखमा फैलिएको प्रदेश, तराइका विशाल मैदानी भागदेखि दाङ देउखुरी जस्ता विशाल उपत्यका समेत छन् । कमलताल,यार्शा गन्तव्य पुपाल, जलजला र ढोरपाटन जस्ता उच्च पहाडी पाटनमा पाइने रेडपाण्डादेखि बर्दियामा पाइने दुर्लभ वन्यजन्तु कृष्णसार समेतको बासस्थान हो प्रदेश पाँच । चुरे, महाभारत र हिमाली क्षेत्रको भौगलिक बनावटमा फैलिएको प्रदेश, गौमुखीको मनोरम जलभूमिदेखि विशाल राप्ती, बबई र तिनाउ जस्ता जलाधारले सुसज्जित छ ।
विश्व सम्पदा सूचिमा सुचिकृत भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीदेखि स्वर्गद्धारी, जितगढी मणिमुकुन्द, पाल्पा दरबार, रिडीधाम,रिहार, गुरिल्लापदमार्ग र धारापानी लगायतका पवित्र धार्मिक तथा ऐतिहासिक सम्पदाहरुको साथै बर्दिया राष्ट्रिय निकुन्ज, बाँके राष्ट्रिय निकुन्ज, जलजला संरक्षित क्षेत्र, ढोरपाटन शिकार आरक्ष जस्ता प्रकृतिका मनोरम गन्तव्यले सजिएको छ प्रदेश पाँच । यी मुख्य गन्तव्यहरुलाई जोडेर लुम्बिनी सिस्ने टुरिज्म सर्किटको अवधारणा अविलम्ब कार्यान्वयन गर्ने नीति बन्नु पर्छ ।
करिब ४५ लाख मानिसको बसोबास रहेको प्रदेश पाँच, बहु जाति बहुसंस्कृतिले निर्माण भएको छ,किङडम अफ मगर कल्चर र किङडम अफ थारु कल्चरको जननी प्रदेश संस्कृतिको क्षेत्रमा पनि निकै अब्बल छ, मगर र थारु सभ्यता, कृषिमा आधारित जीवन प्रणाली, लोक कला संस्कृतिले धनी प्रदेशको अर्वान र रुरल टुरिज्मका बलिया तागत हुन् । मुलुक यतिबेला संघात्मक व्यवस्थामा गैसकेकोले प्रदेश पाँचको पर्यटकीय गन्तव्यहरुको एकिकृत संजालको प्रवद्र्धनको नीति र कार्यक्रम ल्याउन प्रदेश सरकारले ल्याकत देखाउनै पर्छ ।
प्रथमतः गन्तव्यहरुको एकिकृतरुपमा संभावना अध्ययन र त्यहाँसम्म पुग्न सकिने सडक, पदमार्ग या हवाई मार्ग, बन्दोबस्तका लागि होटेल होमस्टे र आकर्षणको विषयमा बिस्तृत अध्ययन गरि नीतिगत योजना तयार पार्नु पहिलो शर्त हुन आँउछ ।
पर्यटकीय गन्तव्यसम्मको आकर्षण पहुँच र बन्दोबस्तलाई ध्यानमा राखेर सर्किट बनाउन सकिन्छ, विशेष गरि स्थानीय सरकारसंगको सहकार्यमा प्रदेश सरकारले लुम्बिनी सिस्ने टुरिज्म सर्किटको संभाव्यता अध्ययन गरि अबिलम्ब कार्यान्वयनमा लैजान सक्नुपर्ने विज्ञहरुको मत छ । बहुआयामिक भौगलिक संरचनाले बनेको प्रदेशमा, वर्षभरि आन्तरिक तथा बाह्य पर्यटकलाई घुमाउन र बास बसाउन लुम्बिनी सिस्ने टुरिज्म सर्किटको प्रस्ताव अगाडि आउन सके, पर्यटनको क्षेत्रको राजमार्ग कोरिने उनीहरुको तर्क छ ।
पर्यटकीय योजनालाई पहिचान, प्रचार प्रशार र प्रवद्र्धनको रणनीतिबाट अगाडि बढाउन सकेमा पर्यटनले नयाँ गति लिन सक्नेछ । प्रदेश पाँच यानिकी प्रस्तावित लुम्बिनी प्रदेशलाई समृद्ध बनाउने बलियो आधार पर्यटन भएको सर्वविदीतै छ, यसर्थ यसको आकर्षण, पहुँच, बन्दोबस्तसंगै पर्यटन प्रडक्ट र बजारीकरणको नीति बनाउदै लुम्बिनी सिस्ने प्रादेशिक टुरिज्म सर्किटको अवधारणा आउनु आवस्यक छ, । प्रदेशका मुख्य गन्तव्यहरुलाई समेटेर सर्किट बनाउन सकियो भने प्रदेश पाँचले पर्यटन क्षेत्रमा अन्य प्रदेशलाई उछिन्न सक्छ ।
पहुँच
हवाई पूर्वाधार : पछिल्लो समयमा भैरहवमा निर्माणाधिन गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल पहुँच बिस्तारको बलियो आधार बन्न सक्छ, एडिबीको सहयोगमा रु ६ अर्वको लागतमा विमानस्थल निर्माण हुदैछ, सन २०१९ मा निर्माणकार्य सम्पन्न हुनेछ, लुम्बिनीलाई जिरो गन्तव्य मानेर लुम्बिनीदेखि सिस्नेसम्मको यात्रालाई तय गर्न सकिन्छ, मािथल्लो हिमाली क्षेत्रको अध्ययन अवलोकनदेखि मगर संस्कृतिको अध्ययन गर्नका लागि पर्यटकलाई पुराउन सकिन्छ । यसैगरि नेपालगंजमा संचालनमा रहेका विमानस्थललाई अर्काे हवाई रुटको रुपमा संचालनमा ल्याउन सकिन्छ, त्यसैगरि टरिगाँउ तुल्सीपुर, प्रस्तावित दाङको अन्तराष्ट्रिय विमानस्थल, प्यूठान, रोल्पा, गुल्मी लगायतका आन्तरिक साना उडानका विमानस्थललाई संचालनमा ल्याउन सकिन्छ । हवाई पूर्वाधारमा भएका विलम्बतालाई प्रदेश सरकारले पहलकदमी लिन सके हवाई मार्ग पनि प्रदेश पाँचको पर्यटनको भरपर्दाे आधार हो ।
सडक संजाल: प्रस्तावित लुम्बिनी प्रदेश सडक संजालमा अन्य प्रदेश भन्दा बढी सुविधायुक्त प्रदेश हो, पूर्व पश्चिम राजमार्ग र मध्यपहाडी लोकमार्गले जोडिएको प्रदेश पोखरा जस्तो नेपालकै टप पर्यटकीय नगरीसंग पनि नजकिै पर्दछ, उत्तर दक्षिणमा सडक संजाल बिस्तार भएपछि ड्राइभ टुरको ढोका खुलेको छ, कालीगण्डकी करिडोर,कोइलाबास–गौमुखी त्रिदेशीय मार्ग, शहिदमार्ग, बुटवल रिडीमार्ग आदिका कारण सडक पहुँच बलियो छ, ड्राइभ टुरको माध्यमबाट बाह्रया या आन्तरिक पर्यटकलाई समग्र प्रदेशको प्रकृति संस्कृतिसंगै हिमाली पाटन, वन्य जन्तु लगायतको अध्ययन अवलोकनको प्रवल संभावना छ ।
पदमार्गको विकास: पछिल्लो चरणमा सडकको तीव्र विकास भएपछि पदमार्गको प्रवद्र्धन खासै नभएपनि गुरिल्लापदमार्ग प्रदेश पाँचको महत्वपूर्ण पदमार्ग हो, तत्कालीन माओवादी विद्रोहताका प्रयोगमा आएका बाटाहरुलाई जोडेर पदमार्गको रेखाँकन गरिएको हो सन २०१२ मा , म्याग्दीको बेनीबाट आरम्भ भएर ढोरपाटनहुदै, सिस्ने, जलजला र रुकूम(पश्चिम) मुसिकोटसम्म पदमार्ग जोडिएकोछ, युद्धकालीन सम्पदा तथा संस्कृति र प्रकृतिको अध्ययन अवलोकन गर्नको लागि यो पदमार्ग निकै उत्तम मानिन्छ, अमेरिकन अनुसन्धानकर्ता एलेन्ज लिअनसले गुरिल्ला पदमार्गको अध्ययन अनुसन्धान तथा प्रकाशन गरेका थिए ‘द गुरिल्ला ट्रेक’ नामक पुस्तक । पुस्तकमा प्रकाशित भए अनुसार पदमार्गमा तीनवटा रुट रहेका छन् ती रुट पुरा गर्न २७ दिन लाग्नेछ ।
बन्दोबस्त :
होटेल होमस्टेको प्रवद्र्धन: शहरी तथा ग्रामीण बस्तीले सजिएको प्रदेश पाँच ऐतिहासिक प्राकृतिक तथा सांस्कृतिक गन्तव्य भएको विषय अब नौलो रहेन, तर, यी महत्वपूर्ण गन्तव्यसम्म पाहुना ल्याउने र बसाउने विषय भने हाम्रा लागि अझै नौला नै छन्,सबै भन्दा बढी द्धन्द्धले प्रभावित भएको हालको प्रदेश पाँचमा औद्योगिक तथा पर्यटकीय शहर बुटवल नेपालगंज जस्ता मेघासिटीउन्मुख शहरहरु छन् । यसैगरि मध्यमस्तरका शहरहरु घोराही तुल्सीपुर तौलिहवा, तानसेन लगायतका रहेका छन् ।
पछिल्लो समय यस प्रदेशमा नेपालगंज र बुटवलमा प्रत्येक वर्ष करिब २ अर्बको होटेल क्षेत्रमा लगानी बढ्दै गएको छ, भने मध्यम शहरहरुमा पनि करिब वार्षिक ३० करोडको हाराहारीमा लगानी थपिदै गएको अनुमान गरिएकोछ । त्यसैगरि प्रदेश पाँचमा अमलटारी, डल्ला, ओखरकोट, गुरुङगाँउ, तकसेरा लगायतका ग्रामीण बस्तीमा होमस्टे संचालनमा रहेका छन् । शहरी र ग्रामीण पर्यटनका आधार होटेल र होमस्टेले हजारौ मानिसलाई रोजगारी समेत दिएका छन्, देशभर होटेल होमस्टेले सवा ४ लाख मानिसलाई रोजगारी दिएको तथ्याँक सार्वजनिक समेत भएको थियो ।
स्थानीय उद्यमको प्रवद्र्धन: प्रदेश नम्बर पाँच बहुमूल्य यार्शाको गन्तव्य पनि हो, यार्शा ट्रेलको प्रवद्र्धनबाट पर्यटनको विकास गर्न सकिन्छ नै, जडिबुटी तथा वनस्पती, कृषिजन्य उद्यमको विकास गर्न सकिन्छ, स्थानीय सीप कलाको प्रवद्र्धन गरि पर्यटन बजारमा स्थानीय उत्पादन पुराउन सकिन्छ ।
अल्लो, निगालो, गुराँस,बाँस, साल, सिसौ, खयर, सल्लो, धुपी लगायतका स्थानीय उद्योगका लागि आवस्यक वनस्पतिजन्य कच्चा पदार्थ उपलब्ध हुने भएकोले स्थानीय सीप र प्रविधिको आधारमा साना तथा घरेलु उद्योग संचालनमा ल्याउन सकिन्छ । स्थानीय तहमा उद्योग धन्दा संचालनमा आउन सके स्थानीय रोजगारी दिन सकिन्छ नै, बहुसंस्कृति, बहुभाषी, विविधतायुक्त भूगोलका कारण ग्रामीण पर्यटनको आधार होमस्टे संचालन गरि पाहुना सत्कारसंगै स्थानीय उपजको बिक्री बितरण संभव छ ।
यससंगै औद्योगिक गन्तव्य पनि प्रदेश पाँच भएकोले नेपालगंज र बुटवललाई ठूला औद्योगिक नगरीको विकास गरि औद्योगिक हब समेत बनाउन सकिने भएकोले यी क्षेत्रमा यसअघि नै सरकारले प्रस्ताव समेत गरेको छ, यद्यपि प्रभावकारि कार्यान्वयनको अभावमा प्रगति खासै हुन भने सकेको छैन ।
पर्यटन सूचना केन्द्र तथा अध्यावधिक : पर्यटनको बजारीकरणको भरपर्दाे माध्यम भनेको नै सूचना प्रविधि हो, सूचना प्रविधिको अधिकतम प्रयोग विना हाम्रो पर्यटनले बजार कदापी भेटाउन सक्दैन। पर्यटकीय गन्तव्य, पहुँच, बन्दोबस्त, थप सेवा सुविधाको पाहुनालाई जानकारी दिन सूचना प्रविधि अत्यन्तै महत्वपूर्ण छ । अर्थात सूचना प्रविधि पर्यटनको मेरुदण्ड नै हो।
सूचना प्रविधि पाहुनालाई सूचनामूलक जानकारी दिन मात्रै होइन, प्रदेशमा कति पर्यटक भित्रिए ? उनीहरुको बसाई कति लामो रह्यो ? उनीहरुको खर्च क्षमता कस्तो भयो ? उनीहरु दोहोरिए या दोहोरिएनन् ? गतवर्ष कति आए चालु आवमा कति आए ? उनीहरुको मुख्य रुचीको विषय के के हुन् ? पर्यटन प्रडक्टको मार्केटिङ कस्तो छ ? होटेल होमस्टको सेवा सुविधा कस्तो छ ? यावत विषयलाई अध्यावधिक गर्न स्थानीयदेखि प्रदेश तहसम्मका पर्यटन सूचना केन्द्रको विकास र विस्तार गर्ने नीति र योजना बन्नुपर्छ ।
पर्यटन आगमन निगमन,बसाई, खर्च औसत इत्यादी थाहा पाउन सूचना प्रविधिमा आधारित टुरिज्म एकाउन्ट सेटेलाइटको समेत योजना लागु गरिनुपर्छ, जसबाट आगमन निगमन बसाई र खर्चको यथार्थ तथ्याँक पाउन सकिन्छ, एकाउन्ट सेटेलाइटको व्यवस्था नहुँदा पर्यटन उद्योगको यथार्थ तथ्याँक बाहिर आउन सकेको छैन, पछिल्लो तथ्याँक अनुसार बाह्य पर्यटकको बसाई १३ दिन बढी र खर्च करिब ४२ सय रुपैया प्रतिदिन खर्च हुने गरेको अनुमानित तथ्याँक छ, भने कुल ग्राहस्थ उत्पादनमा पर्यटनको १० प्रतिशत योगदान भएपनि ५ प्रतिशत मात्र रहेको भन्ने तर्क हुदै आएका छन् यसर्थ सूचनाप्रविधिको समय सापेक्ष प्रयोग हुनु नितान्त जरुरी छ । यतिमात्र होइन पर्यटन क्षेत्रको अध्यवाधिकसंगै अनुगमन निरिक्षणका साथै गुणस्तरीय सेवाको विषयमा जानकारी लिन पनि आवस्यक सूचना प्रविविधि तथ्याँकहरुको संकलन र विश्लेषण जस्ता अत्यन्तै महत्वपूर्ण पक्षको व्यवस्था हुन सकेमा नीतिगत सुधारसंगै कार्यक्रममा परिमार्जन गरि थप परिस्कृत गर्न सकिने भएकोले पर्यटन र सूचना प्रविधि अन्तरसम्बन्धित छन् ।
पर्यटन प्रडक्ट र पर्यटन बजारीकरण: पर्यटन प्रडक्ट भन्नाले पर्यटकले हेर्न, अवलोकन गर्न, अध्ययन गर्न,मनोरन्जन लिन इत्यादी भौतिक या अभौतिक पर्यटकीय उत्पादन नै हुन्, यीनै उत्पादित वस्तु वा सेवासम्म पाहुनालाई आकर्षित गर्ने र बढी भन्दा बढी वस्तु तथा सेवाको उपभोग गराउने आर्थिक कला नै पर्यटन बजारीकरण हो ।पर्यटन सेवामूलक विशाल उद्योग भएकोले बजार सबै भन्दा महत्वपूर्ण हुन्छ, आर्थिक गतिविधिसंग प्रत्यक्ष जोडिएको सन्दर्भमा टुरिज्म प्रडक्ट र टुरिज्म मार्केटिङको सवाल महत्वपूर्ण हुने गर्दछन् ।
पर्यटन क्षेत्र अन्य उद्योग भन्दा भिन्न छ, किन कि अन्य उद्योगको उत्पादन सम्बन्धित ग्राहक सेवा क्षेत्रसम्म पुराइन्छ, भने यसको उपभोगका लागि ग्राहक स्वयं टुरिज्म प्रडक्ट क्षेत्रमै आउने गर्दछन् । विशुद्ध पाहुना सेवामा निर्धारित उद्योग भएकोले यसलाई अत्यन्तै संवेदनशिल उद्योग भनेर समेत भन्ने गरिन्छ, मानवीय व्यवहार आचारण र प्राकृतिक बाताबरणले सिधा प्रभाव पार्ने भएकोले पाहुनासंगको व्यवहारमा सचेतता अपनाउनेसंगै सहि सूचना र जानकारीका साथ गुणस्तरीय सेवाको निकै अर्थ रहन्छ पर्यटन बजारमा ।
प्रदेश पाँच यानिकी प्रस्तावित लुम्बिनी प्रदेशलाई समृद्ध बनाउने बलियो आधार पर्यटन भएको सर्वविदीतै छ, यसर्थ यसको आकर्षण, पहुँच, बन्दोबस्तसंगै पर्यटन प्रडक्ट र बजारीकरणको नीति बनाउदै लुम्बिनी सिस्ने प्रादेशिक टुरिज्म सर्किटको अवधारणा आउनु आवस्यक छ, । प्रदेशका मुख्य गन्तव्यहरुलाई समेटेर सर्किट बनाउन सकियो भने प्रदेश पाँचले पर्यटन क्षेत्रमा अन्य प्रदेशलाई उछिन्न सक्छ ।
(लेखकः नेपाल पर्यटन पत्रकार संघ(एन्टोज) का केन्द्रीय अध्यक्ष हुन्। )
प्रतिक्रिया दिनुहोस्