काठमाडौं, २० चैत । गत मंसिरयता महिला हिंसा, वलात्कार र वलात्कार जन्य घटना बढेका छन् । प्रहरी प्रधान कार्यालयले मातहतका निकायहरुलाई परिपत्र जारी गरी महिला हिंसाका घटना नियन्त्रण नभएको भन्दै परिपत्रै जारी गरेको छ । महिला नेतृहरु र अधिकारकर्मीहरुले महिला हिंसाका दोषीलाई कारवाही गर्न विद्यमान कानुन परिमार्जनको माग गरेका छन् । राज्य पीडकलाई कारवाही गर्न कमजोर भएको आरोप लाग्दै गएको छ । घटनाक्रमले निरन्तर महिलामाथि आक्रमण र वलात्कारका घटनाको पारो बढ्दै गएको देखाउंछ । अझ, बालिका वलात्कार र वलात्कार प्रयासका घटना दिनदिनै बढ्दै जांदा समाज मनोविज्ञान कति विकृत भैसकेछ भन्ने पुष्टि हुन्छ ।
८ मार्चमै वलात्कारको प्रयास
हरेक वर्ष मार्च ८ मा नारीमाथि हुने विभेद, अन्याय र शोषण अन्त्यका लागि भनेर देशभर महिलाविरूद्ध थुप्रै अभियान सञ्चालन भए । तर महिला हिंसाविरुद्ध जति नै आवाज उठाइने गरे पनि खासै औचित्यपूर्ण हुन सकेको पाइएको छैन । गत फागुन २४ गते पनि ललितपुरमा एक युवती आफन्तबाटै यौन हिंसाको शिकार भइन ।
फागुन २४ गते देशमा १०८ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवश मनाइदै थियो, नाराहरु लाग्दै थिए ‘आर्थिक सशक्तीकरण सहितको सामाजिक जागरण, ग्रामीण तथा शहरी महिलाको जीवनस्तर रुपान्तरण” तर यो आवाज शहरका केही चोक र सेमिनार हलमा नारामा मात्रै सिमित भयो । अचम्मै मान्नुपर्छ, महिलामाथि हुने हिंसाका घटनाको अविराम श्रृंखला यहीदिनबाट सुरु भयो ।
गत फागुन २४ गते ललितपुरको बडिखेल ४ मा एक १९ वर्षिया युवती यौन दुव्र्यवहारको शिकार भइन् । घर नजिकैको छिमेकी त्यसमाथि नाताले मामा ससुरा पर्ने ३२ वर्षिय सानुभाइ पहरीले उनलाई जर्बजस्ती करणी प्रयास गरे । बिहान ११ बजेको थियो । शनिबारको दिन भएकोले सरसफाइ गर्न र कपडा धुन भनेर साबुन किन्न भनि जानुका पहरी (नाम परिवर्तन) मामाससुरा सानुभाइ पहरीको पसलमा गईन् ।
होटलका रुपमा सञ्चालन गर्दै आएका पहरीको पसलका केहि सामान पनि राखिएकोले उनि त्यहा पुगिन् पुगेलगत्तै मामा ससुरा पहरीले निर्माणधीन भवनमा काम गर्ने मजदुरहरुलाई खान पस्किएर दिन जानुकालाई भने । जानुकाले पनि मामालाई सहयोग गर्न भनेर खान पस्किन प्लेट र कचौरा लिन भित्र पसिन् । सानुभाइ पहरी पनि उनिसंगै भित्र गए र कोठामा लगेर हात समाउदा जानुका भागेर बाथरुम पसिन । तर बाथरुमभित्रै पसेर पहरीले उनलाई जर्बजस्ती गरेको पिडितले दुखेसो पोखिन् ।
घटना लगत्तै छरछिमेक र घरपरिवारले थाहा पाएर प्रहरीकोमा खबर गरे । त्यसपछि ललितपुरको बाडेगाउ प्रहरीले दोषीलाई पक्राउ गरि जर्बजस्ती करणी उद्योगमा मुद्धा दर्ता गरि थप अनुसन्धानको लागि सातदोबाटो प्रहरी वृत्त पठायो । महानगरिय प्रहरी वृत, सातदोवाटोले पनि पिडितको बयानका आधारमा दोषीलाई जर्बजस्ती करणी उद्योगमा अदालतमा मुद्दा दर्ता गर्यो । ललितपुर जिल्ला अदालतमा किटानीसहित मुद्दा पुगेपनि अन्ततः आरोपित सानुभाइ पहरी धरौटीमा रिहा भएका छन् ।
बिवाह भएको जम्मा २ वर्ष मात्र भएको थियो । घरपरिवारसंग राम्रो सम्बन्ध चलिरहेकै थियो । तर अकस्मात सानुभाई पहिरी बज्रपात बनि यो परिवारमा आएर बज्रियो र अहिले यो परिवारै यतिबेला मानसिक विचलनमा परेको छ । पिडितका श्रीमान सामान्य ज्याला मजदुरी गरेर जिविका चलाउछन् । जिल्ला अदालत ललितपुरले धरौटीमा रिहा गरे पनि अब उच्च अदालतको ढोका पुनः ढक्ढकाउने उनले बताए ।
पीडितका परिवार र स्थानीयले दोषीलाई कडा कारवाहीको माग गरेका छन् । उनीहरुले गाउका कोही चेलीमाथि यस्ता घटना नदोहारिउन् भनि दोषीलाई कडा कारवाही गराउन प्रहरीलाई आग्रह गरेका छन् ।
दोषीलाई कारवाही गर्न स्थानीय जनताले पनि माग गरेका छन् । जानुकालाई दुव्र्यवहार गर्ने व्यक्ति रिहा भएका छन् । जानुकाको परिवारले उच्चअदालतमा पुनरावेदन गर्ने जनाएको छ ।
मंसिरदेखि बढ्दै हिंसाका घटना
प्रहरी प्रधान कार्यालयको २०७० र ७१ यताका तीन वर्षमा देशभरको रेकर्डमा बलात्कारका ३ हजार ५ वटा घटना दर्ता भएका छन् । जसअनुसार प्रत्येक दिन औसतमा ३ वटा बलात्कारका घटना भएका देखिन्छन् । यो त प्रहरीमा दर्ता भएका घटनाको मात्र तथ्यांक मात्र हो । प्रहरीका अनुसार दर्ता वा सार्वजनिक नभएका घटना पनि जोड्ने हो भने कहालीलाग्दो तथ्यांक भेटिन्छ । प्रहरी प्रधान कार्यालयका अनुसार आर्थिक वर्ष २०७०/७१ मा ९ सय ३५ वटा बलात्कारका घटना प्रहरीमा दर्ता भएका थिए । त्यसयताका वर्षमा यो संख्या बढ्दो देखिन्छ । २०७१/७२ मा ९ सय ८१ वटा बलात्कारका घटना दर्ता भए भने २०७२/७३ मा बढेर एक हजार ८९ पुगेको देखिन्छ । यता २०७३/७४ मा एक् हजार १ सय ३१ बलत्कारका घटना दर्ता भएका छन् । ७४/७५ को फागुन मसान्तसम्म ७ सय ९५ घटना दर्ता भएको छ ।
गत मंसिरदेखि वलात्कार र वलात्कारजन्य घटना बढेको भन्दै प्रहरी प्रधान कार्यालयले नियन्त्रणका लागि अपराध अनुसन्धान र जनचेतना जगाउन मातहतका निकायलाई परिपत्र जारी गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार २०७४ फागुन १ देखि चैत १३ भित्र काठमाडौंमा जबरजस्ती करणीका २६ उजुरी परेका छन् ।
दृष्टान्त १
नक्कली डाक्टर बनेर बिरामीका आफन्तलाई बलात्कार गर्ने एक पूर्व सैनिक प्रहरीबाट पक्राउ। पीडित महिलाको जाहेरीका आधारमा पाल्पा तानसेन–११ घर भइ हाल काठमाडौं–२६ बस्दै आएका २७ वर्षीय अर्जुन कोइरालालाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जले पक्राउ गर्यो । कोइरालाले काठमाडौं गंगालाल अस्पतालमा आमाको उपचार गर्न आएकी एक महिलालाई बलात्कार गरेको अभियोग लागेको छ ।
दृष्टान्त २
चैत ६ गते ललितपुर बागमती गाउँपालिका–४, प्युटारकी ७ वर्षीया बालिकालाई आफ्नै नाता पर्ने कृष्ण बमजनले करणी गर्न खोजेको आरोपमा पक्राउ । अदालतबाट थुना म्याद थपि, चापागाउँ प्रहरी वृत्तले अनुसन्धान जारी । घटना लगत्तै फरार बमजनलाई प्रहरीले मकवानपुरबाट समातेर ल्याएको थियो । हाल घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
दृष्टान्त ३
ललितपुर सुनाकोठीमा ७ वर्षीया बालिकालाई ज्यामी काम गर्ने तराई मूलका एक व्यक्तिबाट फागुन अन्तिममा बलात्कार प्रयास । चापागाउँ वृत्तको रेकर्डअनुसार गोदावरीमा ११ वर्षकी र शंखुमा १३ वर्षकी बालिका बलात्कारमा परे । ‘कतिपय आरोपीमाथि अनुसन्धान चलिरहेको छ त कुनै पीडक जेल चलान भइसकेका छन् । साउनयता जावलाखेल प्रहरी परिसरमा नौ वटा बलात्कारका घटना दर्ता भएका छन् । जावलाखेल प्रहरी परिसरका डीएसपी नरेन्द्र चन्दका अन’सार असार मसान्तयता नौ महिनामा ललितपुर जिल्लाभर २४ वटा बलात्कारका घटना भएका छन् ।
दृष्टान्त ४
चैत ८ गते सातदोबाटो प्रहरी वृत्तनजिकै राजेश बराइलीबाट ५ वर्षीया बालिका बलात्कार प्रयास । घटनाको केही बेरमा प्रहरीले पीडकलाई घरैबाट पक्राउ । अहिले उनी प्रहरी हिरासतमा छन् ।
दृष्टान्त ५
ललितपुरकै बाँडेगाउँमा चैत ६ गते दीपेश्वर शाह चक्रवर्तीले ७ वर्षकी बालिकालाई बलात्कार प्रयास । चक्रवर्तीले बालिकालाई ललाइफकाई कोठामा लगी जबर्जस्ती करणी प्रयास गरेका थिए भने उनलाई प्रहरीले पक्राउ गरि अनुसन्धान गरिरहेको छ ।
दृष्टान्त ६
चैत ८ गते ललितपुरको बडीखेलमा सानुभाइ पहरीले आफ्नै भान्जी जानुका पहरीलाई निर्माणाधिन घरमा काम गर्ने मजदुरहरुलाई खान पस्किदिन भने । भान्जी जानुका भाँडा लिन जाँदा जर्बजस्ती तान्न खोजेपछि जानुका भागरे बाथरुमभित्र गइन् । सानुभाइले उनलाई बाथरुमभित्रै पसेर जर्बजस्ती करणी प्रयास गरे । जानुकाले प्रतिकार गरिन् त्यसक्रममा उनको कपडा समेत च्यातियो । घटनाबारे सातदोबाटोस्थित प्रहरी वृत्तमा जाहेरी दर्ता भयो भने जर्बजस्ती करणी उद्योगमा मुद्दा दर्ता गरिएको छ ।
दृष्टान्त ७
त्यस्तै गोदावरीमा ११ वर्षकी र शंखुमा १३ वर्षकी बालिका बलात्कारमा परेका छन् । प्रहरीका अनुसार कतिपय आरोपीमाथि अनुसन्धान चलिरहेको छ त कुनै पीडक जेल चलान भइसकेका छन् ।
यसरी बलत्कारका घटनाले निरन्तरता पाउनुमा नैतिक सकट, शिक्षाको कमि, मादक पदार्थ सेवन जस्ता कारण रहेको प्रहरी प्रवक्ताको भनाई छ ।
बलात्कारका घटना कमी गर्न अभिभावकले छोराछोरीमाथि निगरानी बढाउने, विभिन्न सरकारी निकार्यहरुबीच समन्वय गरी सामाजिक जनसचेतचना फैलाउन काम गरेमा कमि आउने प्रहरीको भनाइ छ ।
के हो कारण ?
पछिल्ला सयमयमा बलात्कार बढ्नजुमा सामाजिक अराजकता नै मुख्य दोषी हो । पश्चिमी संस्कृतिको देखासिकी सामाजिक सञ्जालहरुको अनुपक्त प्रयोग पनि अर्को कारण हुन । अनि शहर बजारमा अध्ययन, पेशा, रोजगारी तथन व्यवसाय गरि बस्नेहरुका बीचमा एफटर म्यारिज लिभिङ टुगेदर गरी बर्षौसम्म बस्ने र अन्त्यमा घर परिवार र समाजबीच घुलमिल हुन नसकि आपशी विवाद वलात्कारको रुप लिंदै प्रहरीसम्म उजुर पुग्ने गरेको बास्तविकता पनि छ ।
अन्य विभिन्न किसिमका अपराधका घटना जस्तै बलात्कारको घटनामा पनि आवश्यक अनुसन्धान गरेर प्रमाण जुटाउने जिम्मेवारी प्रहरीको हो । तर, प्रहरीले नै अदालतमा मुद्दा चलाउनुको साटो गैर जिम्मेवार भएर प्रस्तुत भईदिन्छ । पैसाको ठूलै चलखेल हुने भएकाले यस्ता घटनामा प्रहरीकै मिलेमतो हुने गरेको देखिन्छ । पीडित पक्ष अदालत नै जाने निश्चित भएपछि केही प्रहरी अधिकारीहरु मुद्दा कमजोर बनाउन लागि पर्छन् ।
नेपालमा प्रहरीकै कारण पीडितले न्याय नपाएको उदाहरण धेरै छन् । कानुन कडा भएपनि कार्यान्वयन गर्ने निकायहरु जिम्मेवार नभईदिंदा अपराध बढेको अधिकारकर्मीहरु बताउँछन् ।
पीडितले गुनासो गरेपनि नसुनिदिने भएकाले समस्या बल्झेको कानुनविद्हरुको भनाई छ । नेपालको नयाँ संविधानमा महिला हिंसा सम्बन्धी कानुन कडा बनाएको बताउँछन् काननुविद् लब मैनाली । उनले कानुन कडा भएपनि प्रहरीले कमजोर तरिकाले मुद्दा दर्ता गर्ने गरेकाले पीडितले न्याय पाउन नसकेको बताए ।
यता, बलात्कारका घटना बढ्नुमा मनोवैज्ञानिक कारण पनि हावी हुने गरेको अपराधशास्त्रीको ठहर छ । कसैप्रति डर मान्नु नपर्ने संस्कृति झाङ्गिएको, आधुनिक जीवनशैली, सामाजिक सञ्जालको दुरुपयोग बलात्कारजन्य घटनाको कारकतत्व भएको अपराध शास्त्रीहरुको तर्क छ । सामाजिक सञ्जाल र सञ्चारका नया माध्यमहरुको दूरुपयोग बढेकाले अपराध बढेको अपराध शास्त्री माधव शर्माको भनाई छ ।
यस किसिमका अपराध रोक्न राज्यपक्ष कटिबद्ध भएर लाग्नुपर्ने, बालबाललिका, महिला, तथा युवतीहरुको सुरक्षा संवेदनशिलतामा प्रहरी प्रशासन चनाखो हुनुपर्ने अपराधशास्त्रीको भनाइ छ । बलात्कार भइसकेपछि अपराधीलाई दण्ड सजाय दिनुको साटो उल्टै पीडित पक्षलाई दोषी देखाउने प्रवृत्तिले पनि घटनाहरु बढेको जानकारहरु बताउँछन् ।
सत्य तथ्य पत्ता लगाई दोषीलाई कानुनी दायरामा ल्याउनका लागि राज्य पक्ष गम्भीर नबनेको भन्दै महिला नेतृहरुले तत्काल विद्यमान कानुनमा परिमार्जन गर्न सरकारको ध्यानाकर्षण समेत गराएका छन् ।
समाजमा अपराध हुनै नदिनका लागि अपराधका कारण पत्ता लगाई यसको समाधानको उपाय खोज्नुपर्ने र यसका लागि आवश्यक पर्ने कार्यक्रमहरु सशक्त ढंगले अगाडि बढाउनुपर्ने जरुरी छ । सूचना तथा प्रविधिको विकास सँगै नयाँ–नयाँ अपराधको जन्म हुने, अपराधको कारण, संलग्नता, शैली, उद्देश्यसमेत नयाँ तरिकाले हुने हुँदा यस किसिमका अपराधहरुको रोकथामका लागि सम्बन्धित निकायहरु सक्रिय भएर लाग्नुको विकल्प नरहेको अपराधशास्त्रीहरुको भनाई छ ।
सूचना प्रविधिका कारण समाजमा अहिले अपराधका घटनाहरु बढेका छन् । त्यसमा पनि महिला माथि हुने गरेका महिला हिंसाका घटनाहरु बढी नै आईरहेका छन् । सामाजिक सञ्जालले यस किसिमका हिंसाका घटनाहरु जन्माउन मद्दत गरेको छ । सामाजिक सञ्जालको बढ्दो दुरुपयोगले समेत महिलाहरु माथि यौनजन्य हिंसाका घटनाहरु बढेको पाईन्छ । अहिले पछिल्लो समय बलात्कारका घटनाहरु बढ्नुको पछाडि कतै न कतै सामाजिक सञ्जालले पनि भूमिका खेलेको छ । केटा केटीबीच सामाजिक सञ्जालबाट चिनजान हुने र साथी बन्ने भएपछि यसले अन्तत बलात्कारको घटना गराउन भूमिका खेलेको कुरा नकार्न सकिंदैन । त्यसैले यस्ता घटनाहरु दोहोरिन नदिन राज्यका सबै निकायहरु गम्भीर भएर लाग्नु पर्दछ ।
प्रतिक्रिया दिनुहोस्