सुन्दरताको भण्डार सारा
के खनाया यसै रारामा
रारा कि अप्सरा ?
यो कविताको अंश हो, तत्कालीन राजा महेन्द्रको । पहिलो पटक राराको अवलकोन भ्रमण गर्न रारा पुगेका महेन्द्रले राराको सुन्दरताले लठ्ठिएर यसरी कविता कोरेका थिए । राजकीय शान र सौख भएका राजा महेन्द्रलाई रारा यति सुन्दर होला भनेर कल्पना पनि थिएन तर जब उनी रारा पुगे धुपीको बोटमुनि बसेर राराको सुन्दरताको बखान कविताको माध्यमबाट गर्न भ्याएका थिए । चारैतिर सेताम्मै हिमाल अनि तिनै हिमालको काखमा विशाल कोणधारी जंगलको बीचमा सागर जस्तै बनेर लम्पसार बनेको छ रारा ।
समुद्री सतहबाट करिब तीन हजार मिटर उचाईमा रहेको धर्तीको स्वर्ग रारा लाखौं पाहुनाको पर्खाईमा छ । करिब १० वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको राराको सुन्दरता अद्भुत किसिमको छ । यसको सुन्दरतामा नलठ्ठिने को होला र ? पर्यटकीय सुन्दरताले समेत रारा संसार भरि चिनिन थालेको छ ।
चारैतिर घनाजंगल अनि तिनै जंगलमा बास बस्ने जीवजन्तु र चराचुरुङगीको आश्रय स्थल रारा बन्न पुगेको छ । पलपलमा आफ्नो बैसालु रंग फेर्दै आफ्नै सामुन्नेका सैपाल हिमश्रृंखलामा पर्ने दर्जनौं हिमाललाई जिस्काइरहेको छ राराले । १ सय ६७ मिटर गहिराई रहेको रारा जलक्रिडामा मस्त बन्दै छालसंग रमाई रहेको छ । रारामा पुगेपछि जो कोही पनि मोहित हुने गर्दछ । सुन्दरताको कामुकताले प्रकृतिका अनुपम आयामहरुलाई स्पर्श गरिरहेको छ राराले । आफ्नो अदभुत सुन्दरताले स्वदेशी तथा विदेशी पाहुनालाई मोहित बनाउन रारालाई हतार छ यतिबेला ।
मुगु जिल्लामा पर्ने रारा ताल, हाल छायानाथ रारा नगरपालिकामा पर्दछ । सैपाल हिमालको काखमा ५ किलोमिटर लम्बाई र तीन किलोमिटर बढी चौडाईमा निलो मसी झै पोखिएको छ रारा । कोणधारी घनाजंगलले अंगालो मारिएको रारामा विभिन्न प्रजातिका चरा पाइन्छन् । नेपालमा पाइने ८६७ मध्ये २ सय ३६ प्रजातिका चराचुरुङ्गीको बसोबास हुने गर्दछ यहा । मुगुमै पर्ने, देशकै सानो राष्ट्रिय निकुन्जको आडमै मुस्कुराइरहेको देशकै ठूलो ताल रारामा साइबेरियन चरासमेत पुग्ने गर्दछन् र भारत तिब्बत हुदै साइबेरिया आउजाउ गर्ने प्रजातिका चरा हांस, जलेवा र क¥याङकुरुङ जस्ता प्रजातिका चरा जलक्रिडामा मस्त हुने गर्दछन् । रारामा तीन प्रजातिका असला माछा समेत पाइन्छन्, यी प्रजातिका माछा संसारमा कतै पाइदैनन् । जैविक विविधता प्राकतिक मनोरमको संगम बनेको रारा अनेकौ रंग फेर्दै पाहुनाको प्रतिक्षामा छन् ।
सुन्दरताको बयान गरेर साध्य नहुने रारालाई पर्यटन बजारमा पुराउन केही प्रयास हुदै नआएका पनि होइनन् । तर यतिबेलासम्म भएका प्रयासले सार्थकता पाउन सकेको छैन । पछिल्लो समय कर्णाली प्रदेशले कर्णाली रारा भ्रमणवर्ष २०७५ आयोजना गरेर रारामा वार्षिक ५ लाख पर्यटक भित्र्याउने उदघोष त गरेको छ, मुलुकको कार्यकारी प्रमुख प्रधानमन्त्रीलाई निम्तो दिएर । संघीय सरकारको समेत उपस्थितिमा गरिएको भ्रमणवर्षले सार्थकता कति पांउछ त्यो भने केही समय कुर्नै पर्ला ।
विश्कै उत्कृष्ट गन्तव्यको हैसियत राख्ने प्रकृतिका अनुपम छटाले सिंगारिएको छ, रारा । राराको सुन्दरताको बयान जति गरेपनि सकिंदैन । प्रकृतिको सुन्दर मनोरम दृष्यको खानी नै हो रारा । तर रारामा कसरी धेरै भन्दा धेरै स्वदेशी र विदेशी पाहुनाहरु पु¥याउन सकिन्छ ? भनेर सरकारले काम गर्ने बेला आएको छ । केबल अभियान र घोषणा गरेर मात्रै राराको सार्थकता पुरा हुँदैन । सरकारले रारा सम्म जानका लागि पूर्वाधारको विकास गर्नु अति आवश्यक भईसकेको छ ।
विसं २०२० सालमा तत्कालीन राजा महेन्द्रले राराको भ्रमण गरेपछि यसको चर्चा हुदै आएपनि रारा पुग्न अझै कठिन छ । यद्यपी पछिल्लो समय कर्णाली लोकमार्ग निर्माणाधिन चरणमा छ, भने मुगुको ताल्चा विमानस्थलमा साना विमानहरु पुग्ने गरेका छन् । तर पर्याप्त ढंगले हवाई सेवा पुग्न सकेको छैन । हवाई यातायातमा पनि सडकमै जत्तिकै दादागिरी छ नै । एकातिर प्रतिकुल भूगोल, अर्काेतिर ठूला विमानस्थल नहुनु, साना जहाजले ठूलो सेवा दिन नसक्नु र सडकमार्गले पूर्णता पाउन नसक्नु राराको पर्यटन प्रबद्र्धनमा ठूलो चुनौति बनेको छ । राराले विश्व पर्यटन बजार अझै भेटाउन नसकेको धेरैको भनाई छ ।
काठमाडौबाट सिधा हवाई सेवा छैन मुगुमा । काठमाडौबाट नेपालगंज या सुर्खेत ओर्लिएर मात्रै ट्वीनटरबाट ताल्चा पुग्न सकिन्छ । ताल्चाबाट करिब ३ घण्टाको पैदलमार्गबाट रारा पुग्न सकिन्छ । यद्यपी सुर्खेतबाट कर्णाली लोकमार्ग हुदै कालिकोटको मान्मा अनि जुम्लाको सल्लीचौरसम्ममा सडकमार्गबाट पुग्न सकिन्छ । सल्लीचौरबाट पैदलमार्गबाट करिब ३ घण्टाको हिडाईपछि रारा पुग्न सकिन्छ । एकसाताको प्याकेज बनाउन सक्यो भने राराको मनोरम सुन्दरतामात्रै होइन, रारा पुग्नु अगावै मनोरम ग्रामीण बस्ती, सेताम्मै हिमशिखरको अवलोकन अध्ययन गर्न सकिन्छ । जल, जमिन र हिमाली सम्पदाले भरिपूर्ण मुगु देशकै सबै भन्दा गरिब र कम औसत आयू भएको जिल्लाको रुपमा चिनिएको छ । तर रारासहितका अथाह सम्पदाले देशकै अब्बल जिल्ला बन्नेमा कुनै दुई मत छैन ।
मुगु र मुगुभित्रका श्रोत साधनलाई अधिकतम उपयोग गर्ने आधारको पहिलो शर्त पर्यटन क्षेत्र हो । विश्वका सुन्दर तालको सूचिमा पर्ने रारा यसको आसपासको अथाह जलाधार क्षेत्र, जडिबुटीले भरिभराउ वन क्षेत्र मुगालीको आर्थिक समृद्धिका आधार मात्रै नभएर मुलुकको दर्विलो श्रोत पनि हो ।
विसं २०१३ सालदेखि नेपालमा योजनावद्ध विकासको आरम्भ भएपनि मुगुलाई सडक छुन कयौ वर्ष कुर्नु प¥यो, भने हवाई सेवा पनि भरपर्दाे छैन । निजी एयरलाईन्सले सेवा दिएपनि मनपरीतन्त्रलाई कसैले थाम्न सकेको छैन । सरकारी विमान नेपाल एयरलाइन्स घिटिघिटीको अवस्थामा गुज्रिरहेको छ । सडकले मुगुको गमगढीसम्म भर्खरै पाइला टेकेको छ । तर सडकमाथि पनि उस्तै दादागिरी छ ।
पर्यटनको महत्वपूर्ण आधार होमस्टे र होटेलको अझै विकास हुन सकेको छैन, स्थानीय उपजले पनि मुगु निकै वैभवशाली छ । स्थानीय उत्पादनको प्रर्वद्धन गर्न सकेमा सिंगो मुगुको गरिबी घट्ने धेरैको बुझाई छ । तर अहिलेसम्म राज्यका निकायहरुले यो गर्ने त्यो गर्ने भनेर आश्वासन मात्रै बाड्न सफल भएको छ ।
कर्णाली प्रदेशको सरकारले पर्यटन वर्षको घोषणा गरेर कर्णालीमा आन्तरिक तथा बाह्य पर्यटक पुराउने उदघोष गरेको छ । तर सडक र हवाई सेवालाई पर्यटनमैत्री बनाउन नसकिएमा र पूर्वाधारमा सुधार गर्न नसकेमा धर्तीको स्वर्ग भनेर जुन उपमा लिईन्छ रारालाई केबल त्यो कुरा शब्दमा मात्रै सीमित हुनेछ ।
समुद्री सतहबाट करिब ३ हजार मिटरको उचाईमा अवस्थित रारा ताल प्रकृतिको अनुमप सुन्दरताले ठांटिएको छ । चारैतिर सेता हिमालले घेरिएको मनोरम घना कोणधारी जंगलभित्र सुन्दरता पोख्दै लठ्ठिएकी धर्तीकी अप्सरा जस्तै कसैको प्रतिक्षामा छ रारा ताल । अनेकौ रंगमा ती कसैलाई मोहनी लगाउन रारा यतिबेला आतुर छ । हालको कर्णाली प्रदेशमा पर्ने रारा ताल मुलुकको मात्रै होइन विश्वभरका मानिसहरुको आकर्षक गन्तव्य बन्न हतारिएको छ । हालको कर्णाली प्रदेशमा पर्ने रारा ताल मुलुकको मात्रै होइन विश्वभरका मानिसहरुको आकर्षक गन्तव्य हो ।
हुन त आन्तरिक तथा बाह्य पाहुनालाई मन्त्रमुग्ध बनाउने रारा गन्तव्यको प्रवद्र्धन तथा बजारीकरण गर्ने प्रयास नभएका त होइनन् । विसं २०२० साल चैत्रमा तत्कालीन राजा महेन्द्रले अवलोकन भ्रमण गरेपछि रारालाई संरक्षण गर्ने अभ्यास थालिएको पाइन्छ । राजा महेन्द्रको भ्रमणपछि विसं २०३२ सालमा रारा राष्ट्रिय निकुन्ज स्थापना गरि संरक्षण गर्न थालिएको हो । करिब १० बर्गकिलोमिटरमा फैलिएको रारामा विभिन्न प्रकारका वन्यजन्तु चराचुरुङगीले बास बस्ने गर्दछन् । रारा लगायत अन्य पर्यटकीय गन्तव्यको प्रवद्र्धन गर्न भन्दै कर्णाली पर्यटन प्रवद्र्धन विकास समिति पनि गठन गरिएकै हो । राराको अदभुत सुन्दरताले निकै मन्त्रमुग्ध बनेका राजा महेन्द्रले कविता नै कोरे ।
तत्कालीन सरकारले राराको बहुआयामिक सुन्दरता जोगाउन रारा राष्ट्रिय निकुन्ज स्थापना समेत गर्यो । राज्यद्वारा संरक्षित क्षेत्रमा राज्यले जिम्मा लिएपछि रारा आसपासको बस्ती नै सारेर नेपालगंज नजिकै स्थानान्तरण गरियो । राराबासीलाई स्थानान्तरण बांके गरिएपछि रारालाई संरक्षण गर्न निकुन्जको प्रकृया अघि बढे । अनि रारा यतिबेलासम्म पनि भर्जिन गन्तव्यको हैसियत कायम गर्न सकेको हो ।
प्रकृतिको अदुभुत कलाले सिंगारिएको कर्णालीमा रारा मात्रै छैन, डोल्पाको शे–फोक्साण्डो ताल, सिन्जा सभ्ययता, अपी सैपाल हिमाली क्षेत्र लगायतका गन्तव्यहरुको संरक्ष्ँण सम्वद्र्धनसंगै तत्कालीन कर्णाली अंचलको पर्यटन प्रवद्र्धन गर्न कर्णाली पर्यटन विकास समिति समेत गठन गरि कार्य सम्पादन भए । तर सबै राजनीतिक भर्तिकेन्द्रका कारण दीर्घ रोगले थलिए । कर्णालीलाई पर्यटनबाट उभो लगाउन सकेन तत्कालीन कर्णाली पर्यटन विकास समितिले पनि ।
पछिल्लो समय मुलुक संघात्मक व्यवस्थामा गैसकेपछि कर्णाली प्रदेशको रुपमा सिंगो कर्णाली यतिबेला समृद्धिको सपना बोकेर पर्यटन विकास गर्ने महत्वकांक्षाको साथ अघि बढेको छ । कर्णालीका मुख्य पर्यटकीय गन्तव्यहरु रारा, शेफोक्सोन्डो ताल, द ग्रेट हिमालयन ट्रेल, सिन्जा सभ्यता, सुर्खेतको कांक्रेविहार, दैलेखको पादुका, पन्चदेवल किर्तीस्तम्भ र श्रीस्थान, दुर्लभ वन्यजन्तु रेडपाण्डा पाइने जाजरकोट आदि क्ष्ँेत्रमा स्वेदेशी तथा विदेशी पाहुना पुराउने दाउ छ कर्णाली प्रदेशको । समग्र कर्णालीको अथाह जलस्रोत र पर्यटनका आयामहरुको विकास र प्रवद्र्धन गरी बिपन्न कर्णालीलाई उकास्न प्रदेश सरकार निकै कस्सिएको छ । गत फागुनमा बनेको प्रदेश सरकारले बैशाख १ देखि नै कर्णाली रारा पर्यटन वर्ष २०७५ को शुभारम्भ गरि अभियान छेडेको छ । अभियान अन्तरगत कर्णाली रारा पर्यटन विकास प्राधिकरणको अवधारण अगाडि ल्याएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमख आतिथ्यतामा राराबाटै प्राधिकरणको योजना अगाडि आएको हो । अन्य प्रदेश भन्दा बढी कृयाशिल बनेको कर्णालीका करिब १६ लाख मानिसको जीवनस्तर पर्यटनबाट सुधार्ने सपनाका साथ प्रदेश सरकार लागेको छ ।
संघीय सरकारको दुइकिनाराको साक्षित्वमा प्रदेश सरकारले कर्णाली रारा पर्यटन विकास प्राधिकरणको अवधारणा अघि सारेको छ । प्राधिकरणको गठनपछि कर्णाली वृहत पर्यटन विकासको गुरुयोजना कार्यान्वयन हुने अपेक्षा गरिएको छ ।
संरक्षणमा आधारित पर्यटन उद्योगको प्रर्वद्धनसंगै हाइड्रो टुरिज्म एग्रो टुरिज्म लगायतका अन्य पर्यटनका आयामहरुको प्रवद्र्धन गरी मुलुकको सबैभन्दा गरिब प्रदेशलाई धनी प्रदेश बनाउने सपना बांडिएको छ, प्राधिकरणको माध्यमबाट । तर प्राधिकरण कस्तो मोडालिटी हुन्छ, विगतमा झै राजनीतिक किचलोले प्राधिकरण अछुतो रहला या नरहला ? समृद्ध कर्णाली बनाउने सपनाको साथ प्राधिकरण यथार्थमा आउन सक्ला या नसक्ला यी प्रश्नले यतिबेला कर्णाली प्रदेश निकै चर्चामा छ ।
हो, सैद्धान्तिक हिसाबले प्रदेश सरकारले सारेको प्रस्ताव अर्थपूर्ण छ । तर कार्यान्वयनको चरणमा भने ढुक्क भैहाल्ने अवस्था छैन । यद्यपी जिम्मेवाहरु भने प्राधिकरणको माध्यमबाट कर्णाली प्रदेशको पर्यटन विकास गरिने दावी गर्छन् । बाइट
अन्य प्रदेशलाई उछिन्दै पर्यटनको क्षेत्रमा पनि कर्णाली आफूलाई अब्बल बनाउने दौडमा छ । प्राकृतिक श्रोत साधनले वैभव भएर पनि सधै गरिबीको परिचय बोकेको प्रदेशले अगाडि सारेको प्रस्ताव कस्लाई सान्दर्भिक नलाग्ला र ? तर विगतमा भएका राजनीतिक किचलोले कर्णालीलाई उभो लाग्न नदिएको तितो यथार्थ भएकोले प्रदेश सरकारको प्रस्ताव पनि कतै तुहिने त होइन भन्ने आम नागरिकलाई शंका गर्न सुविधा छ ।
प्रतिक्रिया दिनुहोस्