एजेन्सी, १२ वैशाख । भारतीय धर्मगुरु आसाराम बापूलाई जोधपुरको अदालतले नाबालिकालाई बलात्कार गरको मुद्धामा दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको छ ।
आसाराम बाहेक शिवा, शरतचन्द्र, शिल्पी र प्रकाश यो मुद्धामा अभियुक्त थिए । अदालतले शिल्पी र शरतचनद्रलाई २०-२० वर्षको कैद सजाय सुनाएको छ । सोही मुद्धाका अभियुक्तहरु प्रकाश र शिवालाई भने अदालतले रिहा गरेको छ ।
शरत छिन्दवाडा आश्रमका निर्देशक थिए जहाँ नाबालिका केटी पढ्ने गर्थिन् । शिल्पी छिन्दवाडा आश्रमकी वार्डन थिइन् । प्रकाश आसारामको आश्रमको कुक हुन् । त्यसैगरी शिवा आसारामका निजी सचिव हुन् ।
७७ बर्षका आसारामलाइ आरोप लागेको थियो की जोधपुर नजिकै बनाइएको आश्रममा बर्ष २०१३ मा उनले एक १६ बर्षे किशोरीलाई बलात्कार गरेका थिए । बाबा गुरमीत राम रहीमलाई सजाय सुनाउँदा हरियाणामा भएको जस्तै हिंसा हुन नदिनका लागि प्रहरी प्रशासन सचेत देखिएको छ ।
आशारामसँग जोडिएका तथ्यहरु
अप्रिल १९४१ मा हाल पाकिस्तानको सिंध इलाकाको बेरानी गाँउमा जन्मेका आसारामको असली नाम असुमल हरपलानी हो । सिंधी व्यापारी समुदायसँग सम्बन्धित आसारामको परिवार १९४७ मा भएको विभाजनपछि भारतको अहमदावादमा आएर बसेको थियो । ६० को दशकमा उनले लीलाशाहलाई आफ्नो आध्यात्मिक गुरू बनाए । लिला शाहले नै उनको नाम आसाराम राखेका थिए ।
१९७२ मा आसारामले अहमदावाददेखि १० किलोमिटर पर मुटेरा कस्बे भन्ने ठाउँमा साबरमती नदीको किनारमा आफ्नो पहिलो कुटी बनाए । यहीबाट सुरु भएको आसारामको आध्यात्मिक प्रोजेक्ट बिस्तारै–बिस्तारै गुजरातका अन्य शहर हुँदै देशका अलग–अलग राज्यमा फैलियो ।
सुरूमा गुजरातको ग्रामिक इलाकाबाट आउने गरीब, विपन्न र आदिवासी समूहलाई आफ्नो प्रवचन, घरेलु औषधी र भजन किर्तनको तिकडमबाजी बाट लोभ्याएका आसारामले पछि विस्तारै–विस्तारै शहरका मध्यम वर्गीय इलाकामा पनि आफ्नो प्रभाव जमाउन थाले ।
सुरूवाती बर्षहरूमा प्रवचन सकिएपछि प्रसादको नाममा वितरण गरिने निःशुल्क खानाले उनको भक्तहरूको संख्या तेज रुपमा बढाउन मद्यत ग-यो ।
आसारामको आधिकारीक वेबसाइटका अनुसार अहिले विश्वभर उनको चार करोड अनुयायी छन् । आफ्नो छोरा नारायण साईंको सहयोगमा उनले देश विदेशमा गरेर आफ्नो ४०० आश्रम स्थापना गर्न पनि सफल भए ।
भक्त र आश्रमको संख्या बढेसँगै आसाराम आर्थिक रुपले पनि सवल हुँदै गए । उनीसँग अहिले झण्डै १० हजार करोड रुपैंयाँको सम्पत्ति छ । जसको अनुसन्धान अहिले केन्द्रिय र गुजरात राज्यको कर विभागले गरिरहेको छ । यो जाँचमा आश्रम निर्माण गर्नका लागि गैरकानुनी तरिकाले जमीन हडपेको मुद्दा पनि सामेल छ ।
आसारामको राजनीतिक प्रभाव
आसारामको भक्तहरूको संख्या बढ्दै गएपछि नेताहरुले पनि उनीमार्फत ती व्यक्तिहरुमाथि भोटको राजनीति गर्ने प्रयास सुरु गरे । १९९० देखि २००० को दशकमा उनको भक्तको सूचीमा भारतका पूर्वप्रधानमन्त्री अटल विहारी बाजपेयीसँगै भारतीय जनता पार्टी९भाजपा०का नेता लालकृष्ण आडवाणी र नितिन गडकरी जस्ता दिग्गज नेता सामेल भइसकेका थिए । यो सूचीमा दिग्विजय सिंह, कमल नाथ र मोतिलाल वोरा जस्ता काँग्रेस नेता पनि सामेल भए । साथै भाजपाको वर्तमान र पूर्वमुख्यमन्त्रीको एक लामो फेहरिस्त आसारामको दर्शनका लागि जाने गर्दथे । यो फेहरिस्तमा शिवराज चौहान, उमा भारती, रमण सिंह, प्रेमकुमार धूमल र बसुंधरा राजेको नाम अग्र पंक्तिमा आउँछ ।
यीनीहरु बाहेक २००० दशकको सुरुवाती बर्षमा आसारामको ‘दर्शन’ का लागि जाने सबैभन्दा महत्वपूर्ण नाम भारतका वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीको छ ।
तर २००८ मा आसारामको मुटेरा आश्रममा २ बालबालिकाहरुको हत्याको मामिला आउनासाथ राजनीतिक दलका नेताहरुले उनीसँग दुरी बनाउन थाले ।
२००८ को मुटेरा आश्रम काण्ड
५ जुलाई २००८ मा आसारामको मुटेरा आश्रमको बाहिर १० बर्षीय अभिषेक वाघेला र ११ बर्षीय दीपेश वाघेलाको अर्ध जलेको अवस्थामा फेला परे । अहमदावादका यी दुई दाजुभाइको केही दिनअघि मात्र उनका अविभावले आसारामको ‘गुरुकुल’ नामक स्कुलमा भर्ना गरेका थिए । यो मामिलाको जाँचका लागि तत्कालीन राज्य सरकारले डीके त्रिवेदी आयोग गठन ग¥यो । तर, त्यो आयोगको प्रतिवेदन अहिलेसम्म सार्वजनिक गरिएको छैन । यसबीचमा २०१२ मा राज्य पुलिसले मुटेरा आश्रमका ७ कर्मचारीउपर गैर–न्यायीक हत्याको आरोप दर्ता ग-यो । अहमदावादको न्यायलयमा यसको सुनुवाई अहिले पनि जारी छ ।
के हो जोधपुर मामिला ?
अगष्ट २०१३ मा आसारामविरुद्व बलात्कारको मामिला दर्ता गर्ने शाहजहाँपुर निवासी पीडितको परिवार घटनाभन्दा पहिला उनको कट्टर भक्त थिए । पीडितका बाबुले आफ्नै खर्चमा शाहजहाँपुरमा आसारामको आश्रम बनाएका थिए । ‘संस्कारवान शिक्षा’को आशामा उनले आफ्ना दुई बच्चा आसारामको छिंदवाडास्थित गुरुकुलमा पढाउनका लागि पठाए ।
७ अगष्ट २०१३ मा पीडितको बाबुलाई छिंदवाडा गुरुकुलबाट एउटा फोन आयो । फोनमा उनलाई उनकी १६ बर्षीया छोरी विरामी छिन भनेर खबर दिइएको थियो । दोस्रो दिन जब पीडितका आमाबाबु छिंदवाडा गुरूकुल पुगे तब उनीहरुलाई छोरीमाथि भूत–प्रेत सवार भएको र त्यसलाई आसारामले नै ठिक गर्छन् भनेर भनियो ।
१४ अगष्टमा पीडितको परिवार आसारामलाई भेट्न जोधपुर आश्रम पुगे । दायर मुद्दाको ‘चार्ज सिट’ अनुसार आसारामले १५ अगष्टको रात १६ बर्षीय बालिकालाई निको पार्ने नाममा आफ्नो कुटीमा बोलाएर बालात्कार गरे । पीडित परिवारलाई त्यो घटना उनीहरुको भगवान भक्षकमा बदलिएको दिन थियो । घटनापछि पछिल्लो पाँच बर्ष उनीहरुले आफ्नो घरमा नजरबन्दक जस्तै भएर बस्नु परेको छ । परिवारका मुताविक बालिकाको अविभावकलाई आर्थिक प्रलोभन दिनेदेखि ज्यान मार्ने सम्ममा धम्कीहरू दिइएको छ । तर, पनि उनीहरुले आफूभन्दा कयौं गुणा शक्तिशाली आसारामविरुद्व आफ्नो न्यायीक लडाईँमा डटिरहेका छन् ।
साक्षीहरुको हत्या र हत्या प्रयास
२८ फेब्रुवरी २०१४ को विहान आसाराम र उनको छोरा नारायण साईंमाथि बलात्कारको आरोप लगाउने सूरत निवासी दुई बहिनी मध्येका एकका पतिलाई सूरत शहरमा ज्यान मार्ने उदेश्यले हमला भयो ।
१५ दिनभित्र दोस्रो हमला राकेश पटेल नामका आसारामको भिडियोग्राफरमाथि भयो । दोस्रो हमलाको केही दिनपछि नै दिनेश भगनानी नामक तेस्रो साक्षीमाथि सूरतको कपडा बजारमा तेजाब फ्याँकियो । यी तीनै साक्षी ज्यान मार्ने गरि आक्रमण हुँदा पनि बाँचे ।
यसपछि २३ मे २०१४ मा आसारामको निजी सचिवको रुपमा काम गरिसकेकी अमृता प्रजापति माथि चौथो आक्रमण भयो । गोली लागेकी अमृताको १७ दिनपछि मृत्यु भयो । त्यसपछि अर्को निशाना आसाराम मामिलामा १८७ समाचार लेखेका शाहजहाँपुरका पत्रकार नरेन्द्र यादवमाथि लगाइयो ।
जनवरी २०१५ मा अर्का साक्षी अखिल गुप्तालाई मुजफ्फरनगरमा गोली हानेर हत्या गरियो । ठिक एक महिनापछि आसारामको सचिवको रुपमा काम गरिसकेका राहुल सचानमाथि जोधपुर अदालतका बयान दिए लगत्तै अदालत परिसरमै आक्रमण भयो । राहुल त्यो घटनामा त बाँचे तर २५ नोभेम्बर २०१५ देखि अहिलेसम्म बेपत्ता छन् ।
बीबीसी
प्रतिक्रिया दिनुहोस्