पोखरा, २३ साउन । पोखरामा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थलको परिकल्पना नयाँ होइन । विमानस्थलका लागि २०३२ सालमै परिकल्पना गरिएको थियो । तर, २०३२ साल यताको ४२ वर्षसम्म अन्तराष्ट्रिय विमानस्थल परिकल्पनामै सिमित रहयो । विमानस्थल निर्माणको विषय धेरैका लागि सत्ता उक्लने भर्याङ बन्यो । विमानस्थल भने अझै बन्न सकेको छैन । ढिलो चाँढो त्यस्तै हो । अब भने, विमास्थल बन्ने पक्का भएको छ । पछिल्लो सयमय विमास्थल निर्माणको जिम्मा चिनियाँ कम्पनीले पाएको छ । कम्पनीले काम समेत सुरु गरिसकेपछि पोखरावासीमा खुशीलायाली छाएको छ । निरन्तर काम भए अबको चार वर्षपछि पोखरामा अन्तराष्ट्रिय विमान अवतरण हुनेछ ।
आजभदा ४२ वर्ष पहिले २०३२ सालमा पोखरा अन्तराष्ट्रिय विमानस्थलको परिकल्पना गरिएको थियो । तर, यतिका वर्ष वितिसक्दा समेत पोखरामा अन्तराष्ट्रिय विमानस्थल बन्न सकेको छैन । अहिले पोखरालाई आन्तरिक विमानस्थलले नै धानेको छ । तर, ४२ वर्ष पछि भने चीन सरकारको सहयोगमा पोखरामा अन्तराष्ट्रिय विमानस्थल पन्ने पक्का भएको छ । पोखरा अन्तराष्ट्रिय विमानस्थलको निर्माणको जिम्मा चिनयाँ कम्पनी सिए एमसी इन्जीनियरिङले पाएको छ । कम्पनीले ११ जुलाई २०१७ बाट काम शुरु गर्ने अनुमति पाएको छ । खुशीको कुरा चाहिँ के हो भने काम सुरु गर्नुपर्ने मितिभन्दा अगाडी नै निर्माण पक्षले काम सुरु गरेको छ ।
निर्माण कम्पनीको प्रतिवद्धता
कम्पनीले १० जुलाई २०२१ सम्ममा विमानस्थल निर्माण सम्पन्न गर्नुपर्ने छ । केही दिन अगाडी पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माण कार्याको औपचारिक उद्घाटन समेत गरिएको छ । तर, हाम्रो देशमा निर्माण कम्पन्नीहरुका बेइमानीका कारण ठूला–ठूला परियोजनाहरु अलपत्र पर्ने गरेका छन् । त्यसैले पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल पनि समयमै सम्पन्न होला भनेर ढुक्क हुने अवस्था नहुनसक्छ । तर, विमाानस्थल निर्माणको जिम्मा पाएको चिनियाँ इन्जीनियरिङ कम्पनी सिए एमसी इन्जीनियरिङका प्रोजेक्ट म्यानेजर इन्जीनियर याङ जेरी भने आफुले पाएको जिम्मेवारी समयमै सम्पन्न गर्ने प्रतिवद्धता जनाउँछन् ।
मुआब्जा समास्था यथावत
ठूला–ठूला आयोजमा सुरु गर्दा सधै मुआवजा समस्या हुने गरेको छ । पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल निर्माणमा पनि मुआब्जा समस्या अझै सुल्झिएको छैन । विमानस्थल निर्माणका लागि सरकारले अघिग्रहरण गरेको जमिन मध्ये कतिपय स्थानीयले अझै पनि मुआब्जा पाइसकेका छैनन् । तर, निर्माण कार्य भने सुरु भइसकेको छ । विमानस्थल प्रभावितलाई मुआब्जा वितरण नगरी निर्माण शुरु गरिएकाले कुनै पनि बेला समस्या आउनसक्ने विमानस्थल सरोकार समितिका अध्यक्ष बलराम कुँवर बताउँछन् ।
विमानस्थलले अधिग्रहण गरेको जमिनधनी सबैले मुआव्जा नपाएको भने होइन । धेरै जग्गाधनीले मुआब्जा पाइसकेका छन् । तर, केहीले भने अझै पनि पाउन सकेका छैनन् । मुआब्जा वितरणमा ढिलाइ भए विमानस्थल निर्माणमा कुनै पनि समय अवरोध आउनसक्ने सम्भावना रहन सक्छ । त्यति मात्र होइन, विमानस्थलको दक्षिण क्षेत्रमा पर्ने प्रभावित क्षेत्रका वासिन्दाले समेत ढल निकास लगायतका क्षेत्रमा निर्माण पक्षले काम गर्नुपर्ने माग राखेका छन् । यतिका ठूलो परियोजनामा मुआब्जा समस्या तत्कालका लागि ठूलो होइन । तर, समयमै व्यवस्थापन हुन नसके पछि ठूलो विवादको विषय पनि बन्न सक्छ । त्यसैले समयमै मुआब्जा समस्या समाधान गरिनुपर्छ ।
लामो समयसम्म परिकल्पनामै सिमित रहेको पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल बन्ने पक्का भयो । तोकिएको समयमै काम सम्पन्न हुने हो भने अबको चार वर्ष पछि पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थलमा अन्तराष्ट्रिय उडानको जहाज अवतरण हुनेछ । पोखरामा अन्तराष्ट्रिय उडान अवतरण गर्न थालेपछि सिंगो चार नम्बर प्रदेशको आर्थिक क्षेत्रमा ठूलै परिवर्तन हुने सम्भावना छ । किनकी, नेपाल आउने धेरै पर्यटक पोखरा भेगका पर्यटन क्षेत्र घुम्न चाहन्छन् । ति पर्यटक समेत सिधै पोखरा पुग्छन् । त्यति मात्र होइन, अहिलेको एक मात्र अन्तराष्ट्रिय विमानस्थल त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलको चाप समेत घट्नेछ । तर, पोखरा क्षेत्रिय विमानस्थाल संचालनमा ल्याउन विभिन्न समस्या पनि छन् ।
हवाइ रुटका लागि पहल भएन
पोखरामा ढिलै भए पनि अन्तराष्ट्रिय विमानस्थल बन्ने त पक्का भयो । निर्माण कम्पनीले समेत काम सुरु गरिसकेकाले अब पक्कै विमानस्थल बन्छ । तर, विमानस्थाल बनेर मात्र हुँदै । मुख्य कुरा हवाइ रुट हो ।
पोखरा आउने ठूला जहाजले भारतको हवाइ रुट प्रयोग गर्नु पर्ने बाध्यता छ । यदी, भारतले हवाइ रुट उपलब्ध नगराएको खण्डमा पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल संचालनमा हुन सक्दैन । पोखरा आउने कुनै पनि अन्तराष्ट्रिय उडाने भारतको दिल्ली, मुम्बइ, र कलकत्ता क्षेत्रको भारतीय आकाश प्रयोग गर्नुपर्ने हुन्छ । तर, अहिलेसम्म पनि भारतीय पक्षसँग हवाइ रुटका बारेमा छलफल भएको छैन ।
पोखरामा अन्तराष्ट्रिय विमानस्थल बनेपछि चार नम्बर प्रदेशका कोही पनि नागरिक विदेश जान काठमाडौं पुग्नु पर्ने छैन । त्यति मात्र होइन, पोखरालाई आधार मानेर नेपाल घुम्न आउने विदेशी पर्यटकलाई काठमाडौंमा ओलर्नुपर्ने बाध्यताको पनि अन्त्य हुनेछ । विमानस्थल निर्माण त सुरु भइसकेको छ । तर, पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थलले प्रयोग गर्ने हवाइ रुट अझै पनि टुङ्गो लाग्न सकेको छैन ।
पोखरा आउने कुनै पनि अन्तराष्ट्रिय उडाने भारतको दिल्ली, मुम्बइ, र कलकत्ता क्षेत्रको भारतीय आकाश प्रयोग गर्नुपर्ने हुन्छ । तर, विमानस्थल निर्माण सुरु भइसक्दा समेत भारतीय पक्षसँग हवाइ मार्गको बारेमा अनुमति लिने काम भएको छैन ।
भारतसँग हवाइ मार्गको अनुमति नलिने हो भने पोखरामा बन्ने विमानस्थल प्रयोग विहीन हुने बताउँछन्, नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी । विमानस्थल निर्माण सुरु भइसकेकाले हवाइ रुटका लागि तत्काल पहल थालिनुपर्ने पूर्व अध्यक्ष मुल्मीको भनाइ छ ।
पोखरेली नेता प्रतिवद्ध
व्यवस्थापिका संसद अन्तरगतको विकास समितिका सभापति तथा पोखरेली नेता रविन्द्र अधिकारी भने हवाइ रुटको विषयमा सरकारले पहल गरिरहेको बताउँछन् । विमानस्थल निर्माण कार्य अघि बढिसकेले अब हवाइ रुटका लागि ढिला गर्न नहुने भन्दै सभापति अधिकारीले समितिले समेत यो विषयलाई मिहिन रुपमा हेरिहरको बताउँछन् ।
पोखरामा लामो समयदेखी आन्तरिक हवाइ रुट समेत मिल्न सकेको छैन । पोखराबाट कुनै पनि जहाज काठमाडौं बाहेक अन्य क्षेत्र जान सक्दैनन् । अन्य क्षेत्र जानका लागि पोखराबाट जहाज चढेका यात्रु काठमाडौं आउने पर्ने बाध्यता छ । यस्तो अवस्थामा अन्तराष्ट्रिय उडानका लागि हवाइ रुट मिलाउन झनै समस्या छ । तर, नागरिक उड्डयन प्राधिकरण अन्तरगतको पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल निर्माण आयोजना प्रमुख प्रदिप अधिकारी भने आन्तरिक र अन्तराष्ट्रिय दुबै उडानका लागि हवाइ रुट मिलाउन पहल भइरहेको बताउँछन् ।
पोखरा विमानस्थलका लागि हवाइ रुट छिमेकी देश भारतसँगको सम्बध्नमा निर्भर हुन्छ । नेपाल–भारतीबचको सम्बन्ध सबै स्थिर हुन सकेको छैन । बेला–बेला सम्बन्ध राम्रो भएको आभास भए पनि भारतीय पक्षबाट हुने व्यबहारले कुनै न कुनै रुपमा नेपालले सास्ती खेप्नु परेको वास्ताविकता लुक्न सक्दैन । त्यसैले, भारतले पोखरा क्षत्रिय अन्तराष्ट्रिय विमानस्थलका लागि सहजै हवाइ रुट दिन्छ भन्न सक्ने अवस्था छैन । त्यसैले संयम्का साथ कुटनितिक रुपमा हवाइ रुटका लागि नेपाल सरकारले पहल गर्नु पर्ने देखिन्छ । भदौमा प्रधानमन्त्री शेरबहादुर देउवाले भारतको भ्रमण गर्दैछन् । भ्रमणको बेला प्रधानमन्त्री देउवाले हवाइ कनेक्टिभीटीको विषयलाई समेत छलफलको एजेण्डा बनाउन सके राम्रो हुनेछ ।
कुटनीतिक पहल आवश्यक
पोखरामा विमानस्थल त बन्ने नै भयो । तर, हवाइ मार्ग अबको समस्या हुनसक्छ । समयमै पहल गर्ने हो भने यो समस्या पनि समाधान नहुने कुरा होइन । हुनसक्छ । तर, चिनियाँ सरकारको सहयोगमा विमानस्थल बन्ने भएकाले कतै भारतले हवाइ रुट दिन नमान्ने हो की भन्ने आशंकाहरु पनि छन् । यो समस्या कुटनीतिक तवरबाट समाधान गर्न सकिन्छ । तर, समयमै पहल हुन आवश्यक छ । पोखरामा अन्तराष्ट्रिय विमानस्थल बनेपछि त्यस क्षेत्रको आर्थिक अवस्थामा त पक्कै सुधार हुने नै छ । तर, विमानस्थल बन्दैमा सबै राम्रो हुन्छ भन्ने होइन । विमानस्थलसँगै अन्य भौतिक पूर्वाधारको विकास पनि आवश्यक छ । पोखराका पर्यटन व्यवसायी सडक लगायतका भौतिक संरचनाको विकास पनि आवश्यक ठान्छन् ।
भौतिक संरचना विकासमा जोड
त्रिभूवन अन्तराष्ट्रिय विमानस्थल हाम्रो देशको एक मात्र अन्तराष्ट्रिय विमानस्थल हो । तर, एक मात्र अन्तराष्ट्रिय विमानस्थको अवस्थमा पनि नाजुक छ । पहिलो पटक नेपाल ओर्लने जो कोही विदेशी नागरिकले विमानस्थल यस्तो पनि हुन्छ ? भनेर प्रश्न गर्छन् । विमास्थलबाट बाहिरिएपछि नेपाल आउने पर्यटको मानचित्र नै फेरिन्छ । किनकी, हाम्रो देशको भौतिक संरचना अस्त व्यवस्त छ ।
पोखरामा पनि अन्तराष्ट्रिय विमानस्थल त बन्दै छ । तर, पोखरा क्षेत्रको भौतिक संरचना काठमाडौंको जस्तै अस्त व्यस्त छ । पोखरामा अन्तराष्ट्रिय विमानस्थल बन्ने भएपछि पोखराका पर्यटन व्यवसायी खुशी छन् । तर, संगै भौतिक संरचना समेत विकास गर्नुपर्नेमा उनीहरुको जोड छ ।
नेपालकै दोश्रो ठूलो पर्यटकीय क्षेत्र पोखरामा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल बन्ने भएपछि पोखराका पर्यटन व्यवसायीमा खुशी छाएको छ । तर, विमानस्थल संगै भौतिक संरचना विकासमा समेत उनीहरुले जोड दिएका छन् । अन्तराष्ट्रिय विमानस्थल बनाउने काम त सुरु भयो । तर, चार नम्बर प्रदेशका कुनैपनि सडक व्यवस्थित हुन सकेको छैनन् । विमानस्थलबाट ओर्लेपछि पर्यटकले प्रयोग गर्ने बाटो राम्रो नहुँदा अन्तराष्ट्रिय क्षेत्रमा नकारात्मक सन्देश जानेमा पर्यटन व्यवसायी चिन्तित छन् ।
पर्यटन व्यवसायीहरुले विमानस्थल निर्माणसँगै पोखरा–बुटवल, पोखरा–बाग्लुङ र पोखरा–मुग्लिन सडक खण्डको स्तरउन्नती गर्नुपर्ने माग आवाज उठाउँदै भएका छन् । पोखराका पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई विमानस्थल निर्माणसँगै पोखरालाई जोड्ने सडकहरु फराकिलो बनाउनुपर्ने बताउँछन् ।
अर्का पर्यटन व्यवसायी पश्चिमाञ्चल होटल संघका अध्यक्ष बिकल तुलाचन पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल निर्माण कार्यको थालनी हुनु पर्यटन व्यवशायीका लागी मात्र नभइ समग्र चार नम्बर प्रदेशका लागि गौरवको कुरा रहेको बताउँछन् । पोखरा क्षेत्रको पर्यटन बिकासका लागि नीजि क्षेत्रका ठूलो योगदान छ । पछिल्लो समय व्यवस्थित होटलहरु बन्ने क्रम बढ्दो छ । विमानस्थल बन्ने भएपछि अन्य व्यवसया समेत फष्टाउने भएकाले सबै क्षेत्रको व्यवस्थापन आयश्वक रहेको अध्यक्ष तुलाचनको भनाइ छ ।
पोखरा जोड्न सडकहरुको अवस्था राम्रो छैन । तर, अन्तराष्ट्रिय विमानस्थल नै बन्ने भएपछि सडकको स्तरोन्नती आवश्यक रहेको कुरामा संसदको विकास समितिका सभापति रविन्द्र अधिकारी पनि सहमत छन् । विमानस्थल निर्माण अवधि, चार वर्षको दौरानमा पोखरालाई जोड्ने राजमार्गहरुको स्तरोन्नती गराउने कामलाई प्राथमिकता दिइने उनको भनाइ छ ।
पोखरामा अन्तराष्ट्रिय विमानस्थल बनेपछि पोखराका पर्यटन व्यवशायीलाई मात्र नभएर समग्र चार नम्बर प्रदेशवासीलाई नै फाइदा हुने छ । तर, त्यो भन्दा पहिले विमानस्थल निर्माणकै क्रममा धेरै युवाले रोजगारी पाउनेछन् । यसरी हेर्दा चिन सरकारको २२ अरब लगानीमा बन्न लागेको विमानस्थलबाट पोखरावासीले तात्कालिक र दिर्घकालिन रुपमा धेरै अवसर र सुविधा पाउनेछन् ।
पोखरामा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल बन्ने कुरामा आशंका नगर्दा हुन्छ । तर, विमानस्थ मात्र बनेर हुँदैन । विमानस्थलसँगै पोखराको भौतिक संरचना बिकासमा समेत ध्यान दिनइनु पर्छ । त्यति मात्र होइन विमानस्थल निर्माणका क्रममा अनेकौ समस्याहरु आइलाग्ने छन् । सबै समस्याहरुलाई संयमका साथ व्यवस्थापन गरिनु पर्छ ।
पोखरामा २५ सय मीटर रनवे भएको डी मोडेलको विमानस्थल बन्न लागेको हो । तर अहिले भने २ हजार मिटर मात्र जमिन अधिग्रहण गरिएको छ । जनकारहरु भने ३ हजार मिटरको ई मोडेलको रनवे बनाउनु पर्ने बताउँछन् । यसलाई आधार मान्ने हो भने विमानस्थल निर्माणका लागि अझै जमिन अधिग्रहण गर्नुपर्ने देखिन्छ । जमनि अधिग्रहण लगायतका धेरै समस्याहरु छन् । ति, समस्याहरुलाई पनि समयमै व्यवस्थापन गर्न सके मात्र विमानस्थल निर्माण कार्य समयमै सम्पन्न हुने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्