काठमाडौं,५ जेठ । ६ दशकदेखि गुटफुटमा रुमल्लिएको कम्युनिस्ट आन्दोलन ‘ब्रेक’ गर्दै ठूला दुई वाम दल एमाले र माओवादी केन्द्रले ३ जेठ (मदन–आश्रित स्मृति दिवस)मा पार्टी एकीकरण गरेर नेपाल कम्युनिस्ट पार्टी गठन गरेका छन् । एकीकरणलाई एकीकृत पार्टीले कम्युनिस्ट आन्दोलनको पुनर्गठनका रूपमा अथ्र्याएका छन् । यहाँसम्म पुग्ने भने झन्डै १४ वर्ष लागेको छ ।

नेकपा गठनसम्म पुग्न सम्बन्ध सुधारको सुरुवात ०६१ बाटै भएको देखिन्छ । त्यतिवेला तत्कालीन एमाले महासचिव माधवकुमार नेपाल र माओवादी अध्यक्ष प्रचण्डबीच लखनउ, गोरखपुर र दिल्लीमा छलफल भएका थिए । त्यसकै आधारमा रोल्पामा माओवादीसँग सातबुँदे सहमति भयो । त्यसमा वामदेव गौतम र युवराज ज्ञवालीको महत्वपूर्ण भूमिका थियो ।

त्यही सहमतिको जगमा भारतको दिल्लीमा सम्पन्न १२ बुँदे सहमतिबाट लोकतान्त्रिक गणतन्त्र र शान्तिको यात्रा अघि बढ्यो । त्यसो त, लामो समयसम्म एक–अर्कालाई उग्रपन्थी र दक्षिणपन्थी आरोपको बिल्ला भिराउँदै आएका दुई दल ०६२/६३ आन्दोलनदेखि दूरी घटाउँदै ल्याएका थिए ।

यसबीचमा एमाले र माओवादी पाँचपटक संयुक्त सरकारमा सहभागी भए । संयुक्त सरकारमा सहभागी भए पनि प्रतिस्पर्धा र सहकार्य जारी नै रह्यो । एमाले र माओवादी सहकार्य हुँदा सरकारमा सहभागी र तिक्तता बढ्दा एक–अर्कालाई गालीसमेत गर्न पछि पर्दैनथे ।

गत वर्षको स्थानीय तह निर्वाचनमा कांग्रेस र माओवादी तालमेल थियो भने एमाले एक्लै निर्वाचनमा गएको थियो । जब, प्रदेश २ मा तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा माओवादीले एमालेलाई उछिन्यो, त्यसले एमालेलाई झड्का लाग्यो । प्रदेश र प्रतिनिधिसभामा निर्वाचनमा सोचेजस्तो नतिजा आउने नदेखेपछि एमालेले तालमेलका लागि माओवादीलाई प्रस्ताव ग-यो ।

यता माओवादी पनि स्थानीय तह निर्वाचनमा कांग्रेससँगको सहकार्यबाट सोचेअनुसार नतिजा ल्याउन नसकेपछि विकल्प खोजीमा थियो । यसैक्रममा एमालेले ६०/४० प्रतिशतका आधारमा प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा तालमेल गर्ने प्रस्ताव राख्यो । जुन, प्रस्ताव वामदेव गौतमले ल्याएका थिए ।

तर, एमाले–माओवादी तालमेलबाट मात्रै राम्रो भोट आउने नदेखेपछि एकता गर्ने विषयले प्रवेश पाएको नेकपा नेता जनार्दन शर्माले बताउँछन् । ‘बाहिर तालमेलसँगै एकता गर्ने विषय अपर्झट रूपमा आयो, तर सुरुमा एमाले–माओवादी तालमेल गर्ने विषयले मात्रै प्रवेश पाएको थियो ।

पार्टी एकीकरणमा रूपान्तरित भइहाल्ने विश्वासमा एमाले–माओवादीका नेताहरू पनि थिएनन् । प्रतिनिधिसभा तथा प्रदेश सभामा चुनावी तालमेलले मात्रै कांग्रेसलाई जित्न नसकिने देखिएपछि एकताको रणनीति अघि सारिएको थियो ।

राम्रो भोट नआउने देखिएपछि दसैँको टीकाका दिन एमाले–माओवादीबीच तालमेलसहित एकता गर्ने विषयमा सहमति भएको थियो,’ शर्मा भन्छन्, ‘एकता गर्ने विषय अध्यक्ष प्रचण्ड र मैले राखेका हौँ ।’

एकताको विषयमा छलफल गर्न एमालेबाट वामदेव गौतम र माओवादीबाट जनार्दन शर्माले पाएका थिए । तर, एकताको अन्तिम चरणमा वामदेव गौतमको ठाउँमा एमालेले विष्णु पौडेललाई अघि सारेको थियो । त्यसपछि, एकताको विषयमा एमालेबाट पौडेल र माओवादीबाट शर्माले एकतालाई टुंगोमा पु¥याउने अवसर पाएका थिए । जुन, संसदीय राजनीतिमा एमाले–माओवादीको १२ वर्षको सहकार्यबाट एकतामा परिणत भयो ।

६ बुँदेको जगमा एकीकरण
केपी ओली नेतृत्वको सरकारबाट माओवादी बाहिरिएपछि चिसिँदो सम्बन्ध दुवै पार्टीका दोस्रो तहका नेताहरूको प्रयासबाट सकारात्मक दिशामा अघि बढेको थियो । तर, सम्बन्ध सुधारको त्यो प्रयास पार्टी एकीकरणमा रूपान्तरित भइहाल्ने विश्वसामा नेताहरू थिएनन् । माओवादीको सहयोगमा ओली सरकार बनेपछि दुवै पार्टी चुनावी तालमेल गर्दै अघि बढ्ने सोचमा थिए ।-नयॉं पत्रिकाबाट