म्याग्दी, ६ असार । म्याग्दीको प्रमुख पर्यटकीय स्थानमध्येको एक प्राकृतिक सुन्दरता र जैविक विविधताले युक्त टोड्केस्थित प्रशिद्ध धार्मिकस्थल स्वर्गद्वारी आश्रम विकासको पर्खाइमा छ ।
मालिका, रघुगंगा गाउँपालिका र बेनी नगरपालिकाको सिमानामा अवस्थित उक्त आश्रम आध्यात्मिक चिन्तनको उपयुक्त स्थान मानिन्छ । प्यूठानमा रहेको प्रशिद्ध धार्मिक स्थल स्वर्गद्वारीको शाखा मानिने यस आश्रममा स्वर्गद्वारी महाप्रभुले तपस्या गर्नुभएको धार्मिक विश्वास छ ।
प्राचीनकालमा विभिन्न ऋषि महर्षीले तपस्या गरेको यस स्थानमा विसं १९३५ मा त्रिशूली बाबाले तपस्या गरेर यहाँ निर्माण गर्नुभएको शिव मन्दिर र धर्मशालालगायतका केही संरचना अहिलेसम्म पनि रहेको उक्त आश्रमस्थित शिव मन्दिरका पुजारी शिवप्रसाद पन्थीले बताउनुभयो ।
उहाँका अनुसार प्यूठान स्वर्गद्वारी आश्रमका महन्त भागवतानन्द गिरीले यहाँ आएर सात दिनसम्म एउटा खुट्टाले मात्र टेकेर सातदिनसम्म श्रीमद्भागवत् पाठ गर्नुभएको थियो ।
त्यसैगरी जन्मेको छैटौँ दिनदेखि आमाको स्तनपान नगर्नुभएका हंशानन्द गिरीले तपस्या गर्नुभएको र त्यसैबेलादेखि यो क्षेत्रलाई स्वर्गाश्रम क्षेत्र भन्न थालिएको उहाँले जानकारी दिनुभयोे ।
विसं १९१६ श्रावण पुत्रदा एकादशीका दिन जन्मनुभएका स्वर्गद्वारी महाप्रभुले लामो समय यहाँ बसेर तपस्या गर्नुभएको थियो । त्यसपछि यस क्षेत्रलाई स्वर्गद्वारी क्षेत्र भनिन थालिएको हो ।
स्वर्गद्वारी महाप्रभुपछि यहाँ अन्य धेरै ऋषि महात्माले तपस्या गरेका थिए । अठार रोपनी क्षेत्रफलमा फैलिएको स्वर्गाश्रम क्षेत्र धार्मिक र आध्यात्मिक दृष्टिकोणबाट मात्रै होइन, प्राकृतिक र जैविक महत्वका दृष्टिले पनि अत्यन्त सम्भावनायुक्त क्षेत्र मानिन्छ ।
पहाडको टुप्पोमा घना जंगलको बीचमा अवस्थित स्वर्गद्वारी क्षेत्रबाट धौलागिरि, अन्नपूर्ण, नीलगिरि, मानापाथीलगायतका हिमाल, दुई दर्जनबढी गाउँहरु देख्न सकिन्छ । यहाँसम्म पुग्नका लागि सडकको पहुँच भएकाले यातायातका साधनबाट पनि जान सकिन्छ ।
यहाँ रहेको शिव मन्दिरमा स्वर्गद्वारी महाप्रभुले लगाउनुभएको खराउ ९काठका चप्पल०, शिवलिङ्ग, शिवजीको मूर्ति, बसाहा, शालिग्राम आदि रहेका छन् । शिवजीको मन्दिरलाई हालसालै मात्र पुरानै संरचनामा पुनःनिर्माण गरिएको छ । यहाँ एउटा धर्मशालामा सात वटा गाई पालिएको छ । मन्दिरमा बिहान बेलुका गाइको दूधले अभिषेक हुने गर्दछ । पुजारीलाई तलब प्यूठानको स्वर्गद्वारी आश्रमले नै दिने गरेको छ ।
अत्यन्त मनमोहक र आत्मशुद्धिका लागि उपयुक्त स्थान हुँदाहुँदै पनि यस क्षेत्रको विकासका लागि सम्बन्धित निकायले कुनै ठोस योजना बनाउन नसक्दा यहाँको सम्पदा ओझेलमा परेको स्थानीय शालिग्राम रिजालले बताउनुभयो ।
व्यापकरुपमा प्रचारप्रसार गरी यस क्षेत्रको महत्व बुझाउन सक्ने हो भने यो क्षेत्र आध्यात्मिक खोज अनुसन्धानका लागि महत्वपूर्ण क्षेत्र हुने उहाँको भनाइ थियो । यो क्षेत्रको संरक्षणका लागि घेराबार लगाउन र मन्दिरमा आवश्यक पूर्वाधार निर्माण गर्न बजेटको अभाव छ ।
प्रतिक्रिया दिनुहोस्