आफ्नै आँखासामु
सपनाको घर जलिरहेको बेला
आदर्शको जमिन धुजाधुजा फाटेर
स्वाभिमानको धरहरा ढलिरहेको बेला
समयको जग हल्लाउँदै
देशलाई पात बनाएर उडाउने आँधी चलिरहेका बेला
आफ्नै आँगनमा आफ्नो अस्मिता जोगाउन
आमा खुनी पञ्जाहरूसँग लडिरहेका बेला
तिमी पुर्पुरोमा हात राखेर
नयाँ कविता लेख्न खोजिरहेछौ
क्रान्तिको लागि मृत्युको सपथ खाएको युवा
सत्ताको वेश्यालयसँग सपना साटिएपछि
खाडीमा नाडी बजारी रहेको पाएर
जब धिक्कार्यौ उसलाई आफ्नै लाचारीले
नाथे एक थान जिन्दगीलाई
सिलिङ फ्यानमा झुण्ड्याइरहेको बेला
तिमी गीतको अन्तरा कल्पना गरिरहेछौ
मैले मेरो विश्वास जिम्मा लगाएको नेता
मलाई सिकाउन खोज्दै छन
बलिदानी र बेइमानी भनेको उस्तैउस्तै हो
मलाई पढाउन खोज्दै छ
उद्देश्यको सौदाबाजीमा उपयोगको गणित
र अरुको आँसु बेचेर
आफ्नो हाँसोको हिराको हार किन्ने कला
हो, ठीक यतिबेला मस्तिष्कघातको सिकार बनाइएका छन्
विचारको बाटो हिँड्ने सम्झौताहीन चेतनाहरूलाई
तर, तिमी नयाँ उपन्यासको प्लट सोचिरहेछौ
तिनीहरू भन्दै छन्
यो बजार होसबजार
यहाँ जे पनि बिक्छ
फूल बिक्छ
पहाड बिक्छ
नदी बिक्छ
आँसु बिक्छ
हाँसो बिक्छ
सपना बिक्छ
विवेक बिक्छ
बिक्छन् आमाको लहरे खोकी
र बिक्छ सिङ्गो देश पनि
के बिक्दैन यहाँ रु
आदर्श र इमानको कुरै नगर
स्वयं मान्छे बिक्छ यहाँ
तर कानमा कोचेर संवेदनहीनताको कपास
तिमी कोरिरहेछौ आफ्नै अहंकारको आत्मकथा
र म लेखिरहेछु
मान्छेलाई फगत मासुको थुप्रो बनाएर
किनबेचको कारखानाका व्यापारीहरूविरुद्ध
एउटा निर्णायक युद्धको घोषणापत्र !
प्रतिक्रिया दिनुहोस्