आज असार १७ अर्थात् प्रकाश दाहालको जन्मदिन । हरेक वर्ष उल्लास र उत्प्रेरणा बनेर आउने आजको दिन यसपटक भने स्मृतिमै बित्नेछ । गत मंसीर ३ गते आकस्मिक हृदयघातबाट प्रकाशको निधन भएपछि अब असार १७ सधैं स्मृतिमा मात्र सीमित हुनेछ । को थिए प्रकाश दाहाल ? उनको बाहिर र भित्री व्यक्तित्व एउटै थियो वा फरक ? यसबारे आजको दिनमा थोरै भए पनि चर्चा गर्न आवश्यक ठानेका छौं ।
प्रकाश दाहाल नेपालीका लागि परिचय दिइरहनुपर्ने नाम होइन । कतिले उनका प्राविधिक त्रुटीबाटै उनको परिचय दिने कोशिस गरे । तर, ती प्रकाश दाहाल थिएनन्, जसरी प्रचार गरियो वा जस्तो बनाइयो । उनी पर्दामा देखिदा जस्ता प्रचारित थिए, यथार्थ जीवनमा त्यसको ठीक बिपरित थिए । पछिल्लोसमय चोटहरुले उनी स्पात मात्र बनेका थिएनन्, केही गरिछाड्ने संकल्पमा पनि थिए ।
प्रकाश दाहाल अर्थात् नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्डका एक मात्र सुपुत्र । उनको परिचय यतिमै सीमित छैन । शुभेच्छुकहरुका लागि आत्मीय र अभिभावक, देशको भविष्यका लागि चिन्तनशील, बुवाको सफलताको स्वप्नाद्रष्टा, सादा जीवनशैलीका पारखी, कुशल व्यवस्थापनका नायक, वचनका पक्का, उर्जाका खानी, यी सबै प्रकाश दाहालको परिचयका आयाम थिए ।
प्रसिद्ध भारतीय साहित्यकार प्रेमचन्द भन्थे, ‘मान्छेको आयु वर्षमा होइन, कर्ममा नाप्नुपर्छ ।’ २०३८ साल असार १७ गते जन्मिएका प्रकाश दाहाल जम्माजम्मी ३६ वर्ष बाँचे । तर, उनको ३६ वर्ष जीवन भोगाइका सम्पूर्ण अनुभवले भरिएको छ । अनगिन्ती आरोह–अवरोहले भरिपूर्ण उनको जीवनको अन्त्यमा लाखौं शुभेच्छुकहरु खडा भए । उनी जति बाँचे, त्यो जीवन संयोग र वियोगले भरिएको थियो ।
आजकै दिन जन्मिएर ३६ वर्ष बाँचेका प्रकाश दाहाल आफ्नो जीवनकालमा प्रशंसा र आलोचनाको केन्द्रमा रहे । जीवनकालमा प्रकाशले सम्झनयोग्य दर्जनौं काम गरे, उनकै अथक प्रयासले प्रचण्ड सफल प्रधानमन्त्री मात्र भएनन्, देशमा राजनीतिक एवं आर्थिक क्षेत्रमा मानक नै स्थापित भयो । उनका केही प्राविधिक त्रुटीलाई विरोधीहरुले राजनीतिक हतियार बनाए । यसको एक मात्रै उद्देश्य थियो, ‘प्रकाशलाई निशाना बनाएर प्रचण्डमाथि प्रहार गर्नु ।’ यही मिसनले उनी व्यक्तिगत जीवनमा पटकपटक अन्यायको शिकार बने ।
बाबु प्रचण्ड भूमिगत भएपछि प्रकाश दाहालको बाल्यकाल पनि अन्यौलका बीच बित्यो । उनी सामाजिक असुरक्षाका बीच नै हुर्किए । किशोर अवस्था नहुँदै उनी मुक्ति वा मृत्युको सपथ खाँदै जनयुद्धको संग्राममा होमिए । युद्धका कठोर मोर्चाहरुमा उनको प्रत्यक्ष सहभागिता रह्यो । देशको प्रधानमन्त्रीका छोरा भए पनि प्रकाशसँग जिन्दगीका सबै पलहरुको ताजा अनुभव थियो ।
उनी सामान्य जीवन मन पराउँथे । ठेलाको चटपट, चिया र पानीपुरीका पारखी नै थिए । उनको रोजाइँमा सडकपेटीहरु नै पर्थे । उनको जीवनशैली अत्यन्तै सामान्य थियो । शुभेच्छुकहरुका लागि उनी सबैभन्दा प्रिय थिए । अनि, वचनका पक्का पनि । उनी मीठो बोल्दैनथे । तर, जे बोल्थे, त्यो सत्यको नजिक हुन्थ्यो । नसक्ने कुरामा झुटो आश्वासन दिन प्रकाश आवश्यक ठान्दैनथे । जब प्रकाश हुन्छ भनेर आश्वासन दिन्थे, त्यो काम पूरा भएरै छोड्थ्यो ।
प्रचण्ड दोस्रोपटक प्रधानमन्त्री हुँदा प्रकाश स्वकीय सचिवमा नियुक्त भए । धेरैले लेखे, ‘प्रचण्डको पुत्रमोह, अलोकप्रिय निर्णय ।’ तर, जब प्रचण्डले स्वेच्छाले राजीनामा दिए, त्यसबेला बल्ल मान्छेहरुले बुझे, ‘पर्दाभित्रका खेलाडी प्रकाश दाहाल थिए ।’ उनले स्वकीय सचिवको आफ्नो जिम्मेवारीलाई एक सेकेण्ड पनि दुरुपयोग गरेनन् । जति गरे, त्यो सबै देशको समृद्धि र विकासका लागि गरे । त्यसकै प्रतिफल प्रचण्ड सफल प्रधानमन्त्रीमा दर्ज भए ।
प्रचण्डको दोस्रो कार्यकालले नयाँ रेकर्ड बनायो । ०.८ बाट ७.५% आर्थिक बृद्धिदर, संघीय संरचनाको निर्माण र अभ्यास, स्थानीय तहको निर्वाचन, संविधानविरोधी दलहरुलाई राष्ट्रिय मुलधारमा समाहित, राष्ट्रिय गौरवका आयोजनाहरुको प्रगति, वैदेशिक रोजगारीको व्यवस्थापन र उद्दार, सन्तुलित छिमेक सम्बन्ध, लोडसेडिङको अन्त्यजस्ता जति पनि उपलब्धि भए, ती सबै प्रकाश दाहालको कुशल व्यवस्थापनमार्फत् प्रचण्डले हासिल गरेका थिए । प्रचण्डको स्वकीय सचिवका हैसियतले उनले सम्पूर्ण व्यक्तिगत स्वार्थ त्यागे र परिणामका लागि अग्रसर भए । यी कुरा सामान्य पक्कै पनि थिएनन् ।
युवाहरुको भविष्यबारे प्रकाश धेरै नै चिन्तित थिए । साउदी अरब, दुवई, कतार, मलेसियाका नेपाली युवाहरुको प्रकाशसँग निकै घनिष्ट सम्बन्ध थियो । उनीहरुलाई कुनै समस्या पथ्र्यो, प्रकाश दाहाल त्यसको समाधानमा अहोरात्र घट्थे । पछिल्लोपटक उनले आफ्नै व्यक्तिगत पहलमा खाडीमा फसेका हजारौं युवाहरुलाई नेपाल ल्याएका थिए । यति मात्र होइन, वैदेशिक रोजगारीका बेथितिहरुको नीतिगत समाधान खोज्न उनले अथक प्रयास गरेका थिए ।
राजनीतिक दुराग्रह राख्नेबाहेक सबैका लागि उनी प्रिय थिए । प्रकाशको एक मात्र संकल्प थियो, ‘बाबूलाई सफल पार्नु ।’ प्रचण्डको सफलतामा उनले आफ्नो जीवन देख्थे । प्रचण्डका हरेक समस्याको बोझ आफै बोक्न उनी उत्साहित हुन्थे, अनि माओवादी आन्दोलनको उचाई देख्नु उनको एक मात्र लक्ष्य हुन्थ्यो । प्रचण्ड र माओवादीविरुद्ध हुने हरेक गतिविधिको उनी डटेर सामना गर्थे, पछिल्लो समय यसले उनलाई सफल युवा नेताका रुपमा स्थापित गराएको थियो । प्रकाश बाबूको भविष्यका लागि मर्न तयार हुने बिरलै छोरामध्येका एक थिए ।
उनी कुशल प्रशासक र व्यवस्थापक थिए । कुटनीति जान्दैनथे । तर, हर समस्याको समाधान निकाल्ने खुबी प्रकाशमा थियो । सबैसँग सहज सम्वाद गर्न सक्ने, काम लिन र दिन सक्ने, जटिल समस्याको सरल समाधान खोज्न सक्ने र साथीभाइका लागि ज्यान दिन तयार हुने उनको खुबी र शैलीले पछिल्लो समय उनले लाखौं शुभेच्छुक जन्माएका थिए । प्रकाश दाहाल को थिए ? उनी प्रचण्डका छोरा मात्र थिए कि निकै ठूलो सम्भावना बोकेका नेता ? उनीसँग सहकार्य गर्नेहरुले मात्रै विषयको अन्तर्य बुझ्न सक्थे ।
मंसीरको ३ गते बिहान अकस्मात प्रकाशको निधन भयो । हामीले पत्याउन सक्ने कुरै थिएन । त्यसमाथि अहिलेका सामाजिक सञ्जाल प्रयोगकर्ताका गतिविधिले पत्याउन सक्ने कुरा पनि थिएन । तर, अन्ततः सत्यसामू हाम्रो आकांक्षाको केही चल्दैनथ्यो । बज्रपातका रुपमा हामीले त्यो अकल्पनीय वियोगको सामना गर्यौं ।
प्रकाश दाहाल अब हामीसामू छैनन् । तर, उनले छोडेर गएका हजारौं स्मरण र सन्देश हामीसँग छन् । देशका लागि उनले गरेको योगदान इतिहासले चाहेर पनि बिर्सन सक्ने छैन र बिर्सनु हुँदैन । ‘खोलो तरेर लौरो बिर्सने’ संस्कार हामी मान्दैनौं भने प्रकाशले हजारौंलाई ‘गुन’ लगाएका छन् । त्यो ‘गुन’ सत्कर्ममार्फत् नै तिर्नुछ । उनले एकैसाथ धेरै सन्देश छोडेर गएका छन् । ‘सत्य वचन, कर्मप्रतिको निष्ठा, सामाजिक जिम्मेवारीबोध, कुशल प्रशासन र व्यवस्थापन, पिताको सफलतामा आफ्नो भविष्य देख्ने आकांक्षा, शुभेच्छुक र साथीभाइका लागि ज्यान दिनसक्ने समर्पण आदि गुण हाम्रा लागि प्रेरणा बनिरहनेछन् ।
प्रकाश दाहाल वर्षले ३६ वर्ष बाँचे । तर, कर्मले उनको आयु निकै लामो छ । उनले छोडेर गएका स्मरणहरु युगौंयुग जीवित रहने प्रकृतिका छन् । प्रचण्डका छोरा नभएको भए मात्रै उनको वास्तविक परिचय बाहिर आउँथ्यो । आज प्रचण्डले झेलिरहेका समस्याबाटै प्रष्ट हुन्छ, ‘प्रकाश दाहाल बादलले ढाकिएका शिखर थिए ।’ तिनै प्रकाशका सपना र सन्देशको सार्थकताका लागि समर्पित होऔं। प्रकाश दाहालप्रति हार्दिक श्रद्धासुमन ।
प्रतिक्रिया दिनुहोस्