ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘मेडिकल सिन्डिकेट’भित्र जेलिएको ‘इमोशनल सेन्टिमेन्ट’


admin
२ श्रावण २०७५, बुधबार   १ : २९   बजे

मुलुकमा अझै पनि आधारभूत शिक्षा र स्वास्थ्यमा आम नागरिकको सहज पहुँच पुग्न सकेको छैन । अर्थात शिक्षा र स्वास्थ्य हुनेखाने वर्गमा सीमित भएको छ । भएका सरकारी संस्थाहरु अत्यन्तै कम्जोर अवस्थामा छन भने, निजी क्षेत्रले सरकारले दिने सुविधालाई व्यापारमा परिणत गरी स्वयं सरकारलाई घेराबन्दीमा पारेको छ । चिकित्सा क्षेत्रको विकृतिलाई रोक्न र यस क्षेत्रको सुधारका लागि भन्दै वरिष्ठ चिकित्सक डा. गोबिन्द केसी ६ वर्षको अवधिमा १५ पटक अनसन बसेका छन् । शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत डा. केसी पछिल्लो समय असार १६ गतेबाट जुम्लामा अनसनरत छन् । काठमाडौं उपत्यकामा नया“ मेडिकल कलेज खोल्नै नदिने लगायतका डा. केसीको माग छ । उनै केसीका मागको समर्थनमा नेपाल चिकित्सक संघ अस्पतालको सेवा ठप्प पारेर आन्दोलनमा उत्रिएको छ । जसका कारण स्वास्थ्योपचार गर्न पाउने जनताको संविधानप्रदत्त मौलिक हक कुण्ठित भएको छ । मुद्दा नपाएर थन्किएको प्रतिपक्षी दल नेपाली कांग्रेस र अन्य केही साना समूहहरुले केसीको अनसनलाई उपयोग गर्दै सडक आन्दोलन गर्न थालेको छ । कांग्रेसबाटै सुरु भएको चिकित्सा शिक्षामा निजीकरणको समुल अन्त्य गर्ने विषयमा भने डा. केसी मौन छन् । अहिलेसम्म नेपालमा सञ्चालन भएका मेडिकल कलेज सबै कांग्रेस निकट र भारतीय लगानीमा सञ्चालित छन् । ति मेडिकल कलेजको लुट र तिनलाई राष्ट्रियकरणबारे न त केसी बोल्छन्, न त केसीका समर्थकहरु । किनकी, निजीकरणको विरासत एलिट वर्गबाटै सुरु भएको थियो । सामाजिक सञ्जालका समेत भावनामा बग्ने नेपाली मनोविज्ञान यस्तै एलिट वर्गको छायांमा परेको छ ।

केसीको जीवनरक्षाका लागि वार्ताको पहल सुरु भएको छ । वार्ताका सर्तमा सबैभन्दा पहिलो सर्त डा. केसीको जीवन रक्षा हुनुपर्ने हो । तर, कोही व्यक्तिको जीवनमाथि खेल्न चाहनेहरुको घेरावन्दीले वार्ता असफल भएको छ । सरकारी वार्ता टोलीसित वार्ता नगरी मन्त्री र प्रधानमन्त्रीसंग मात्र वार्ता गर्ने अर्को शर्त सुरु भैसकेको छ ।

विवादको चुरो

चिकित्सा क्षेत्र होस या शिक्षा क्षेत्र जुनसुकै क्षेत्रमा भएको बेथितीलाई सरकारी स्तरबाटै अन्त्य गर्नुपर्छ । विगत ६ वर्षको बीचमा वरिष्ठ चिकित्सक डा. गोविन्द केसी बारम्बार आमरण अनसन बसेर चिकित्सा क्ष्ँेत्रको सुधारका लागि भन्दै आन्दोलन गरेका छन् । डा. केसी अहिलेसम्म १५ पटक अनसनमा बसिसकेका छन् । पछिल्लो पटक असार १६ गतेदेखि जुम्लामा गएर अनसनमा बस्दा डा. केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ ।

डा. केसी आफुले उठाएका सबै मागहरु पुरा गर्नुपर्ने अडानमा छन् । हुनसक्छ, कतिपय मुद्दामा केसी ठिक होलान । चिकित्सा क्षेत्र सुधारका लागि केदारभक्त माथेमा कार्यदलले पेश गरेको प्रतिवेदन हुबहु लागू गर्नुपर्ने माग राख्दै अनसन बसेका केसी र उनको नाममा काठमाडौंमा भैरहेको डा.हरुको प्रदर्शनले भने अस्पतालहरुमा लाखौं बिरामीलाई उपचार गर्न पाउने मौलिक अधिकारबाट भने बन्चित गरिएको छ । नेपाल चिकित्सक संघको नाममा चिकित्सा क्षेत्र जस्तो अत्यावश्यक सेवामा हड्ताल गरेर बौद्धिक बर्गमा चिनिने चिकित्सकहरुले रमिता देखाइरहेका छन्, सरकारलाई देखाईदिने नाममा ।

हो, डा. केसीले उठाएका कतिपय माग जायज छन् । तर ति मागका बारेमा अनसन बसेको समयमा बाहेक अन्य समयमा खुल्ला बहस र छलफल हुने गरेका छैनन । आम सर्वसाधारण जनताका छोराछोरीले चिकित्सा विज्ञानमा सहज पढ्न पाउनुपर्ने डा. केसीको माग छ । तर, आफुले भनेको सबै कुरा मान्नुपर्ने र आफ्नो निर्देशनमा सरकार एवं संसद् हिंड्नुपर्ने अड्डी अनि सरकारले केसीका सबै माग पुरा गर्न नसकिने अडानकाबीच चिकित्सा क्षेत्रलाई झन बढी अराजकताको विषय बनाईंदैछ । केसीको माग पुरा गर्नुपर्ने नाममा अत्यावश्यक सेवा भित्र पर्ने चिकित्साक्षेत्रमा हड्ताल गरिएको छ । जुनसुकैबेला पनि तयारी अवस्थामा बस्नुपर्ने डा.हरु आन्दोलनमा उत्रिंदा लाखौं बिरामी उपचार पाउनुपर्ने अधिकारबाट बन्चित गरिएका छन् । डा.हरुको यो काम डा. गोविन्द केसीकै मागको विरुद्धमा छ ।

डा. केसीको हठ र त्यसको पछिपछि नेपाल चिकित्सक संघको नाममा भएको आन्दोलनप्रति वरिष्ठ चिकित्सकहरु नै असहमत छन् । ख्यातिप्राप्त चिकित्सकबाटै उनको आलोचना हुन सुरु भएको छ । चिकित्सकको जागिरे जीवनमा पेशाप्रति जिम्मेवार नभै अनसनमा उत्रिएर डा. केसीले स्वास्थ्य सेवालाई अराजक बनाएको टिप्पणी हुन थालेको छ ।

जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाउन सरकारले वास्ता नगरेको भन्दै डा. गोविन्द केसीले कर्णालीका जनताको सहानुभूति लिन खोजिरहेका छन् । तर, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले ६ वर्ष अघि सम्बन्धन प्राप्त गरेपनि चिकित्सा शिक्षाको स्नातक तह अध्यापन गराउन सकेको छैन । सुविधासम्पन्न तराईका मेडिकल कलेजमा त अध्यापन गर्न जान नचाहने काठमाडौंका प्राध्यापकहरु कर्णालीमा गएर अध्यापन गर्ने सोच्न पनि सक्दैनन् । तिनै प्राध्यापकहरु कर्णालीका लागि अनसनरत केसीको मागका सबैभन्दा बढी प्रवक्ता बन्ने गर्छन् । अनि दोष जति सबै सरकारलाई लाग्ने गर्छ कर्णालीमा एमबीबीएस र बीडीएस शिक्षा सरकारले सुरु गरेन भनेर । सरकारले कर्णालीलाई वास्तै नगरेको हो भने पनि डा. केसीले आफ्ना सहकर्मीहरुलाई मनाउन सक्नुपर्ने हो पढाउन जाउं भनेर । त्यता तिर बल गरेको अहिलेसम्म भेटिएको छैन ।

अहिलेसम्म चिकित्सा विज्ञानमा अध्ययनका लागि सम्बन्धन दिईरहेका त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयले केसीको माग पुरा भए थप कलेजलाई सम्बन्धन दिन सक्दैनन् । यसको मार काठमाडौं उपत्यका मात्र होइन, केसीले भनेअनुसार नै विकेन्द्रित गरी दुर्गममा खोलिएका कलेजलाई पनि पर्छ । सामान्य मेडिकल कलेजको हैसियत लिन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ६ वर्ष लाग्यो भने नयां खुल्ने कलेजलाई झनै मुस्किल छ । काठमाडौंमा सुविधासम्पन्न जीवन विताईरहेका विशेषज्ञ प्राध्यापक चिकित्सक दुर्गममा गएर पढाउंछन भन्ने आधार केसी मात्र होइन कसैसंग पनि छैन । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले अहिलेसम्म भोगेको समस्या यही हो । प्राध्यापकहरु जुम्ला नजाने, जनसंख्याको हिसाबले सयौं बेडमा बिरामी नहुने, यथार्थबीच त्यहां कस्तो चिकित्सा शिक्षाको प्रयोगशाला खडा होला ? यो पनि प्रश्न उब्जिन्छ । कर्णालीमा गएर सहानुभूति प्राप्त गरिरहेका डा. केसीका जाजय माग पुरा गर्न भने निर्णायक तहमा सधैंभर कार्यान्वयन हुनेसम्मका मागहरु पुरा गर्नेगरी सहमति खोजिनुपर्छ ।

तर, केसीका मागको विषयलाई लिएर जुम्लादेखि काठमाडौंसम्मको राजनीति नै दुई धु्रवमा बांढिएको छ । डा. केसी अनसनमा बस्न थालेदेखि कैयौं पटक सत्ताको नेतृत्व सम्हालेको र स्वास्थ्य मन्त्रालयको नेतृत्व लिएको प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले अहिले केसीको नाममा गतिलो राजनीतिक मसला प्राप्त गरेको छ । केसीका माग पुरा गर्नुुपर्ने नाममा सडकमा जुलुस र सदनमा अवरोध पुर्याउंदै आएको कांग्रेसले आफु सत्तासिन हुंदा भने कहिल्यै माग पुरा गरेन । मात्र केसीको अनसन तोड्न ६÷६ पटकसम्म सहमति ग¥यो कार्यान्वयन गरेन । निर्वाचनमा केसी समर्थकको सहानुभूति हासिल गर्न चिकित्सा शिक्षा अध्यादेश ल्याएको पूर्ववर्ति देउवा सरकारको प्रयासले राजनीतिक लाभ प्राप्त हुन सकेन । अहिले कांग्रेस प्रतिपक्षीय राजनीतिको त्यान्द्रो समातेर केसीको मुद्दा उठाइरहेको छ । त्यसरी नै अनसनको दुई साता वितेपछि चिकित्सक संघ पनि जस खोज्ने होडमा देखिएको छ ।

अर्कोतिर, केसीका माग सबै हुबहु कार्यान्वयन गर्ने हो भने देशमा अराजकता मात्र निम्तने बताइरहेका छन् उनका आलोचकहरु । गोविन्द केसीको माग नाजायज रहेको भन्दै कुनै पनि व्यक्तिको निर्देशनलाई सरकारले पालना गर्न आवश्यक नभएको उनीहरुको तर्क रहेको छ । केसीको मागले स्वास्थ्य क्षेत्रमा अर्काे सिन्डिकोटको अवस्था सिर्जना गरेको आलोचकहरु दाबी गर्छन् ।

एउटा कुरा सत्य हो, डा. केसीका कतिपय माग जाजज हुनसक्छन् । जायज माग पुरा गरि नागरिकलाई सेवा सुविधा दिनु सरकारी जिम्मेवारी र दायित्व पनि हो । तर यहा“ हरेक पटक स्वास्थ्य सेवाको भन्दा पनि शिक्षाको विषयमा बहस हुने गरेको छ ।

भावना र यथार्थ

हामी धेरै भावनामा डुबेर सत्य कुरा के हो भनेर बुझि लहैलहैमा लाग्नेहरु धेरै छौं । पछिल्लो समय चिकित्सा क्षेत्रको सुधारको लागि भनेर १५ औ पटक अनसन बनेका डाक्टर गोबिन्द केसीको पक्ष लाग्नेहरुहरु तथ्यमा भन्दा भावनामा बग्नेहरु धेरै छन । चिकित्सा क्षेत्रको सुधार गर्ने भनेको एउटा सिस्टमले हो । सिस्टम राम्रो बनाउने नाममा डाक्टर केसी पटक पटक अनसन बसेका छन् । तर, केसीको अनसनलाई भने कैयौं पात्र र प्रवृत्तिहरुले उल्टै प्रयोग गरेका छन् । बारम्बार केसी अनसनमा बस्छन्, अनसनको जस लिनलाई भने ती प्रवृत्तिहरुले हानथाप गर्नेगर्छन् । यसपटक पनि त्यस्तै देखिन थालिसकेको छ ।

हुन त, अनसन बस्नुको सट्टा बिरामीको उपचारमा खटिएर बौद्धिक ढंगले सरकारी रवैयाको प्रतिवाद गरेको भए केसीको उचाई अझ बढ्थ्यो । अझ, सरकारी जागिर खाएर सरकारकै विरुद्धमा लाग्नु भन्दा सरकारी जागिरबाट राजिनामा गरेर आन्दोलनको नेतृत्व गर्ने हो भने केसीको उचाईले सगरमाथा पार गथ्र्यो । जे भए पनि केसीले जति पटक अनसन बस्छन्, केही सहानुभूति प्राप्त गर्छन् ।

चिकित्सा शिक्षाको सुधारको लागि १५ औ पटकसम्म अनसन बस्दा डाक्टर केसी कार्यरत त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको हाड जोर्नी विभागमा कति सुधार भयो यो प्रश्न भने कसैले खोजेको पाईंदैन । केसी आम जनताका लागि अनसन बस्छन्, केसीको अनसनलाई यौटा पक्षले प्रयोग गर्छ ।

डाक्टर केसीको धेरै मागहरु उत्तम छन् । ती पुरा गर्दा राज्य कमजोर हैन, थप मजबुत बन्छ । मेडिकल कलेजहरु काठमाडौ बाहिर जानु पर्छ, शुल्कलाई निधारण गर्नुपर्छ गरिबका छोरा छोरीले सस्तो मुल्यमा गुणस्तरीय शिक्षाबाट बञ्चित गर्न नपाईने जस्ता कैयौं माग सही हुनसक्छन् । तर ६ वर्ष अघिका यी मागलाई अहिले पनि उही शैली र रुपमा उठाउंदा अनि अर्कातर्फ सरकारी मेडिकल कलेजहरु थप नहुंदा मेडिकल क्षेत्रमा सिन्डिकेट निम्तिने खतरा रहेको कसैले पत्तो पाउंदैन । भैरहेका मेडिकल कलेजहरुलाई राष्ट्रियकरण गरेर निःशुल्क चिकित्सा शिक्षा अध्ययन गराउनुपर्छ भनेर कोही बोल्दैन । स्वयं डाक्टर केसी पनि चिकित्सा शिक्षाको आधारभूत तह एमबीबीएस र बीडीएस निःशुल्क हुनुपर्छ भनेर बोल्दैनन् । बरु स्नातकोत्तर तहमा मात्र निःशुल्क माग गर्छन् उनी ।

मेडिकल कलेज नेपालमा नभएपछि अब स्वदेशमै पढेर डाक्टर बन्ने चाहनाको लागि डाक्टर केसीको आन्दोलन तगारो बन्ने गर्छ । लाखौं खर्चेर चीन, बंगलादेश पुग्छन् चिकित्सा शिक्षाका भोकाहरु । कतिपय अभिभावक पैसाको खोलो बगाउंदै आफ्ना छोराछोरीलाई डाक्टर भएको देख्न चाहन्छन् । उनीहरुका छोराछोरीको इच्छा चाहना डाक्टर बन्ने हुंदैन । विदेशमा पढेर आएकाले व्यावहारिक शिक्षाको मौका प्राप्त गर्दैनन् । अनि, मेडिकल काउन्सिलको परीक्षामा पटकपटक फेल हुन्छन् । मेडिकल शिक्षाका नाममा अबौं रकम विदेशिंदा कसैलाई चिन्ता हुंदैन ।

चिकित्साशास्त्रको अध्ययन पुरा गरेपछि आवासिय चिकित्सकले सरकारले तोकेको क्षेत्र वा स्थानमा गएर पांच वर्ष काम गर्नु पर्ने प्रस्तावलाई घटाएर २ वर्षे बनाउनुपर्ने माग राखेका छन् अनसनरत डाक्टर केसीले । यदि केसीको माग अनुरुप २ वर्षे अनिवार्य सेवाको मात्र व्यवस्था गरियो भने प्रतिभा पलायन ब्रेन ड्रेन अत्यधिक बढ्ने सहजै अनुमान गर्न सकिन्छ । अनौपचारिक ढंगबाट भएका विभिन्न अध्ययनले देखाएबमोजिम विगतमा नेपाल सरकारको छात्रवृत्तिमा स्नातक र स्नात्तोकतर तहको चिकित्साशास्त्र अध्धयन गरेका मध्ये झन्डै दुई तिहाई चिकित्सक हाल नेपालमा कार्यरत छैनन ।

विगतका आयोगले स्वास्थ्य शिक्षा सुधार आयोग बनाउनुपर्नेमा चिकित्सा शिक्षा आयोग बनायो । विस्तृतमा एमबिबिएस, र एमडी एमएसको मात्र कुरा ग-यो । तर नर्सिङ, स्वास्थ्य शिक्षा, फार्मेसी, रेडियोलोजी लगायतको बारेमा न त माथेमा आयोग प्रतिवेदनले न डाक्टर केसीको अनसनले नै चासो राखेको छ । नसिंङ होम भन्दा मेडिकल कलेजको शिक्षण अस्पतालको उपचार सस्तो र गुणस्तरीय हुनेगरेको छ तर पनि, नयां मेडिकल कलेज खोल्न नदिने अनि स्नातकोत्तर निःशुल्क गरिनुपर्ने माग भनेको कतिपय ठूला नर्सिङ होम र निजी अस्पताललाई अध्ययनका नाममा निःशुल्क जनशक्ति उपलब्ध गराउने मात्र हो ।

यता सरकारले नै आर्थिक वर्ष २०७५/०७६ को बजेटमा स्वास्थ्य क्षेत्रलाई सुधार सेवाका विषय पनि समेटेको छ । प्रत्येक स्थानीय तहमा विशेषज्ञसहितको स्वास्थ्यसुविधा पुर्याउने सरकारको लक्ष्य छ । यो लक्ष्यको केही प्रतिशत प्रगति भेट्न पनि वार्षिक सयौंको संख्यामा चिकित्सक उत्पादन हुनुपर्छ । तर, डाक्टर केसी र उनका मागको सम्बोधनका नाममा सधैंभरी कलेज खोल्ने र नखोल्ने विवादमै रुमल्लिेन हो भने मेडिकल काउन्सिल परीक्षा अनुत्तिर्ण हुने ठूलो जमात चिकित्सक तयार पार्न वर्षेनी विद्यार्थीहरु विदेशीनुको विकल्प छैन ।

‘मेडिकल सिन्डिकेट’

चिकित्सा शिक्षा क्षेत्रमा राजनीतिकरण अहिलेको होइन, धेरै वर्ष पहिलेदेखिकै हो । नेपाली कांग्रेसले २०४८ सालमा खुल्ला बजार अर्थतन्त्रको नीति ल्याएर सबैतिर उदारीकरण र निजीकरण ल्याएपछि नै नेपालमा च्याउ सरी मेडिकल कलेजहरु खुल्न थालेका हुन् । लगभग त्यही ताका, कलेज खोल्ने प्रस्ताव लिएर तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाकहां पुगेका डाक्टर सुरेशराज शर्मालाई विश्वविद्यालय नै खोल्ने प्रस्ताव आयो । काठमाडौं विश्विद्यालय स्थापनाको पृष्ठभूमि यही हो । तर, शर्मालाई विश्वविद्यालय स्थापना गर्न बाटो खोलिदिएको कांग्रेसले २०५१ सालमा पोखरामा भारतीय लगानीमा निर्माणाधिन मणिपाल कलेजलाई सम्बन्धन दिन दवाव दियो । काठमाडौं विश्वविद्यालयमा त्यसबेला चिकित्सा विभागसम्म थिएन । तर, प्रधानमन्त्रीकै दबाबमा विश्वविद्यालयले मणिपाललाई मेडिकल कलेजको अनुमति दिएको कुरा पछि शर्माले नै सार्वजनिक गरेका थिए । नेपालको मेडिकल शिक्षा खस्किन थालेको यहींबाट हो ।

कांग्रेसकै उदार नीतिका कारण त्रिवि चिकित्सा विज्ञान अध्ययन संस्थानले निजी मेडिकल कलेजहरुलाई सम्बन्धन दिन थालेको हो । त्रिवि पछि काठमाडौं विश्वविद्यालयले पनि निजी मेडिकल कलेजहरुलाई सम्बन्धन दिन सुरु गरेको हो । सम्बन्धन प्राप्त अधिकांश मेडिकल कलेजहरु पनि कांग्रेस निकट नै रहेका छन् । बीरगन्जस्थित नेशनल मेडिकल कलेजका संचालकबाहेक अन्य मेडिकल कलेजका संचालकहरु कांग्रेस निकट व्यवसायी हुन् ।

त्रिवि शिक्षण अस्पतालमा कार्यरत डाक्टर गोविन्द केसी लामोसमयदेखि चिकित्सा विज्ञान अध्ययन संस्थानका अध्यापक पनि हुन् । तर केसीले कैयौं वर्षसम्म निजी मेडिकल कजेजहरुको बारेमा बोलेनन् । अहिले चिकित्सा शिक्षामा असाध्य चिन्तित डाक्टर केसीले त्यति बेलै सत्याग्रह गरेको भए सायद नेपालको चिकित्सा क्षेत्रमा निजी लगानी भित्रिने नै थिएन । किनकी, यतिबेला डाक्टर केसीको सबैभन्दा ठूलो रक्षाकवच बनेको प्रमुख प्रतिपक्षी कांग्रेस त्यतिबेला सत्ताको सर्वस्व सम्हालेको सबैभन्दा ठूलो पार्टी थियो ।

नेपालमा हालसम्म सञ्चालनमा रहेका अधिकांश मेडिकल कलेज का“ग्रेस निकटस्थहरुको मात्रै रहेको र इतरका अन्य कोहीलाई पनि प्रवेश गर्नै नदिने एक ढंगको सिन्डिकेट अहिले सक्रिय रहेको तथ्य आलोचकहरुले प्रस्तुत गर्न थालेका छन् । केही तथ्यहरुले समेत यो कुरालाई पुष्टि पनि गर्छ ।

विराटनगरको नोबेल मेडिकल कलेज का“ग्रेसनिकट सुनिल शर्माको हो । गत प्रतिनिधिसभाको निर्वाचनमा उनी कांग्रेसबाट उम्मेदवार समेत भएका थिए ।

विराट मेडिकल कलेजका साहुजी डाक्टर ज्ञानेन्द्रमान सिंह कार्कीको सम्बद्धता कांग्रेससंग छ । चितवन मेडिकल कलेजका सञ्चालक डाक्टर हरिश न्यौपाने पनि का“ग्रेसी नै हुन् । गण्डकी मेडिकल कलेजका सञ्चालक खुमा अर्याल पनि का“ग्रेस कार्यकर्ता हुन् । मेडिकल शिक्षाको नाममा यि कलेजहरुबाट सर्वसाधारण जनताका छोराछोरीबाट लाखौं असुल्ने काम जारी नै रहेको छ ।

यसैगरी डा. चन्दा कार्कीले सञ्चालन गरेको काठमाडौं मेडिकल कलेज पनि का“ग्रेसकै पालामा स्वीकृति दिइएको कलेज हो । कार्की पनि का“ग्रेस निकट नै हुन् । नेपालगञ्ज मेडिकल कलेजका साहुजी सरेश कनौडिया समेत का“ग्रेसी कार्यकर्ता हुन् । कनौडिया गत स्थानीय तह निर्वाचनमा नेपालगन्ज उपमहानगरपालिकाको मेयर पदमा पराजित व्यक्ति हुन् । किष्ट मेडिकल कलेजका सञ्चालक बालनरसिंह कार्की अख्तियारका निलम्बित प्रमुख आयु्क्त लोकमानसिंह कार्कीका भाइ हुन् । राजावादी ठानिएका कार्की नेपाली काग्रेससंग निकट छन् । लुम्बिनी मेडिकल कलेजका गोपाल पोखरेल पनि नेपाली का“ग्रेसका नेता तथा कार्यकर्ता हुन् ।

पोखराको मणिपाल मेडिकल कलेजका डा. बीएम नागपाल र कलेल अफ मेडिकल साइन्सेज चितवनका सञ्चालन नागेन्द्र के पम्पाटी समेत का“ग्रेसनिकट नै रहेका छन् । यी कलेजका मुख्य लगानीकर्ताहरु भारतीय हुन् ।

डाक्टर गोविन्द केसी चिकित्सा क्षेत्रमा सुधारका नाममा २०६९ साल असार २१ गतेदेखि अनसन बस्न सुरु गरेका हुन । यो बीचमा केसीले १५ पटक अनसन बसिसकेका छन् । डाक्टर केसीको अनसनले चिकित्सा क्षेत्रमा सुधारका लागि केही प्रगति अवश्य पनि गरेको हो । तर, केसीले अहिले नयां मेडिकल कलेजहरुलाई बन्देज लगाउने नाममा पुराना निजी मेडिकल कलेजहरुलाई संरक्षण गर्न खोजेको आरोप पनि लाग्छ । हामी चाहन्छौं आलोचकहरुको यो आरोप असत्य होस ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

संसद्मा प्रधानमन्त्री बालेन शाहमाथि विपक्षीको तीव्र आक्रमण, ‘श्री ८’ टिप्पणीपछि रास्वपाको नियमापत्ति

पहिरोले बागलुङमा मध्यपहाडी लोकमार्ग अवरुद्ध, पश्चिम नेपाल जाने सवारी अलपत्र

सम्बन्धित

साधारण मानिस हुनुको असह्य चिन्ता

अमेरिका र इरानको अवसरको अनौठो क्षण

शक्ति प्रदर्शनको अनौठो शैली : नागरिक, व्यवसाय र प्रेससँग बढ्दो दूरी

कोही किन ‘आत्महत्या’ वा ‘आत्मदाह’जस्तो अतिवादी बाटो रोज्छन् ?

राज्यको तमासा : सुकुम्वासीको आत्महत्या हुँदै आत्मदाहको त्रसित बाटो

‘नेपालमा आत्मदाहको श्रृङ्खलाः व्यक्तिगत दुःखान्त कि प्रणालीगत सङ्कट ?’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu