जैविक फोहरको उचित व्यवस्थापन गर्र्न २०७३ कात्तिकदेखि कामपा वातावरण व्यवस्थापन महाशाखाले टेकुमा उक्त प्लान्ट सञ्चालन गर्दै आएको थियो । अहिले उक्त प्लान्ट एक महिनादेखि बन्द भएको छ ।
विभागका प्रमुख हरि कुँवरका अनुसार अहिले प्लान्ट बिग्रिएको छ, सञ्चालन गर्नका लागि भारतमा सामान ल्याउनका लागि प्रतिनिधि पठाइएको छ । अबको एक साताभित्र मर्मतको सामग्री आइसक्ने र पुनः ग्यास निकाल्ने काम शुरु हुनेछ ।
कामपाका वडा नं २१, १२, १९ र २० मा संकलन गरी छुट्याइएको कुहिने फोहरबाट दैनिक ६०० टन फोहर प्रयोग गरी बायोग्यास निकालिँदै आएको थियो । यहाँबाट निकालिएको बायोग्यास कामपाको कार्यालयमा प्रयोग हुँदै आएको छ ।
बायोग्यास प्लान्ट राख्न युरोपेली संघकोे ८० र कामपाको २० प्रतिशत लगानी भएको थियो । यसलाई पहिलोे नमूना परियोजना रुपमा लिएको कामपाले सफल भएमा अन्य स्थानमा पनि विस्तार गर्ने भने पनि हालसम्म कामपाभित्र अन्यत्र कतै पनि यस किसिमको योजना शुरु भएको पाइँदैन ।
कामपामा कुहिने र नकुहिने गरी दैनिक ५०० मेट्रिक टन फोहर उत्पादन हुने गरेको छ । काठमाडौँ उपत्यकाबाट एक हजार मेट्रिक टन फोहर निष्कने छ । दैनिक निस्कने फोहरमध्ये ६३ प्रतिशत जैविक छ । करीब एक महिनादेखि उपत्यकामा थुप्रिएको फोहर एक हप्ता पहिले मात्र व्यवस्थापन गरेर सकिएको छ ।
काठमाडौँ उपत्यकाका १८ वटा नगरपालिका, महानगरपालिकाको फोहर व्यवस्थापन गरिँदै आएको स्थान नुवाकोटको सिसडोलमा अब फोहर राख्ने स्थान छैन । तीन महिनापछि पुनः उपत्यकामा फोहर थुप्रनेमा कुनै शंका नभएको फोहरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रका कार्यकारी निर्देशक विश्वमणि ज्ञवाली भन्नुहुन्छ । सिसडोलमा फोहर राख्नका लािग आजभन्दा १२ वर्ष अघि दुई वर्षसम्मको लागि भन्दै सहमति भए पनि हालसम्म फोहर व्यवस्थापन गरिँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्