सानोमा आमाले नै बढी सिकाउनु भयो छोरी भएपछि लजालु हुनुपर्छ । छोरा जस्तो जे पनि गर्ने हुनुहुँदैन । भाइलाई सिकाउने कुरा र मलाई सिकाउने कुरामा आमा र हजुरआमाहरुले नै बढी यस्ता कुरा गर्नुभयो । हजुरबुवा र बाले बरु आमाका कुरामात्र नसुन भन्नुहुन्थ्यो । थाहा थिएन म आफु छोरी भएकै कारण बलात्कृत हुनुपर्छ भन्ने । सबै दुरुस्तै थियो न मेरो भाइलाई थाहा थियो उ छोरा भएर जे पनि गर्न पाउनु पर्छ भन्ने न मलाई थाहा थियो छोरी भएर केही गर्न हुन्नभन्ने सँगसँगै हुर्कियौं ।
हामी दुवैजनालाई पढाउन स्कुल राखियो । जव म हुर्किंदै गए सानो तिनो कामगर्न सक्नेपनि भए । भाइ पनि काम गर्न खोज्थ्यो म सँगसँगै घाँस काटन जान खोज्थ्यो । भान्सामा खाना पकाउन खोज्थ्यो कपडा धुन खोज्थ्यो तर बुवाले भन्दा पनि आमाले नै हामीले गर्ने काम छुटाइदिनु भयो । छोरा भएर सानो तिनो काम गर्ने हैन छोरी मान्छेले जस्तो भनेर भाइलाई म सँग घाँस काट्न जान दिनु भएन । भित्र खाना पकाउन दिनु भएन, लुगा धुन दिनु भएन । साँच्चै भन्दा सानोमा भाइ म भन्दा पनि लजालु थियो । उ पढ्थ्यो खेल्न जान्थ्यो म पढेर आएपछि पनि सबै कामगर्थें । पुरुष प्रधान समाजमा हुर्किएकी आमाले यही समाजको सिको गर्नुभयो भनेर म मान्न तयारै भईन । आजको जमानामा हरेक कुरा परिवर्तनमुखी छ । ब्याचलर सकेकी मेरी आमाले मलाई सानोमा सिकाएको कुरा आज आएर पटक्कै मन परेन,न भाइलाई सिकाएको ।
आज म हुर्किसकेकी छु किताब लिएर स्कुल जादाँ मलाई मेरै भाइ जस्ता केटाहरुले बलात्कार गरे । म रोएँ चिच्याए मेरो वसमा केही पनि थिएन । छोरी मान्छे जस्तो लजालु हैन जे पनिगर्न सक्ने छोरा मान्छे बन्नुपर्छ भन्ने मेरीआमा जस्ता आमाहरुको सिकाइले मात्तिएका केटाहरुले मेरो चिरहरण गरे । म बेहोस भएछु । उठ्दा खेरी सिमसिम पानी परेको थियो । न स्कुल जाउँ न घरमा रगतले लतपतिएको कपडा पानीले भिजेर लछप्पैँ भएको थियो साँच्चै भन्दा म राम्रोसंग उठ्न पनि सकिन । लाग्यो अव म बाँच्नु हुदैन म माथि जे भयो त्यो भोेग्नेले मात्र महशुस गर्नसक्छ । सुनेर महशुस गर्न मेरी आमाले नै सकिन्न । चार दिनपछि मेरो अवस्था बिग्रदै जाँदा आमाले केरकार गरिन मैले सबै कुरा सुनाए, दुइचार भाषण दिन समेत जान्ने समाज सेवी हुँ भन्ने मेरी आमाले नै मलाई चुपरहन भनिन ।
मेरो पीडा भन्दा पनि मेरी आमालाई समाज र इज्जतको चिन्ता भयो । हुन त उनी पनि म जस्तै महिला हुन, कतिखेर कहाँ उनले नै सिकाएको आँटको प्रयोग गरेर कुन लोग्ने मान्छेले उनको चीरहरण गर्ने हो अनविज्ञ नै छिन् । समाज सामाजिक संरचना र यहाँको परिवेशमा मेरो कुरा बाहिर भन्ने हो भने समाजमा बस्नै नहुने र इज्जत जाने भन्दै उनले आफ्नो फैसला सुनाइन र असाध्यै अपमानको नजरले हेरिन । उनको हेराइले लाग्थ्यो मैले सजिलै मेरो शरिर ति आँटिला केटाहरुलाई बुझाउन तयार भए । लजालु बनेर मसक्क पर्दै मैले आफ्नो चिरहरण आफै गराए । छि, समाज र यहाँका महिलाहरुको सोच ? म लाजले आफै रातो भए । तर जे भए पनि म उनकी छोरी थिए, माया त लाग्ने नै भयो । मलाई हस्पिटल लाने देखि अनेक कुराको गोप्यता राख्दै आमाले मेरो हेरचाहत गरिन तर उनलाई डर थियो समाजले थाहापायो भने के भन्ने हो भनेर । आफुलाई निकै जान्ने बुझ्ने हुँ भन्ने मेरी आमाको व्यवहारले झन म शिथिल थिए । बिरामी परेपछि बुवाले चिन्ता गर्नु भयो के भयो भन्नु भयो ।
आमाले कता बालाई आफ्नो कुरा भन्छे भनेर उहाँ सँगसँगै रहनुहुन्थ्यो । तर मैले आफुले सहनुपरेको पीडा र अपमानको कुरा बालाई सुनाउने निर्णय गरिसकेकी थिए । एकदिन आमा नभएको मौका पारेर बालाई सबैकुरा सुनाए । मेरा कुरा सुनिसके पछि मेरो टाउको आफ्नो काखमा राखेर बा निकै रुनु भयो र आक्रोशित पनि बन्नुभयो । म तिनीहरुलाई त्यसै छोड्दिन मेरी छोरीले सहनु परेको पीडाभन्दा ठुलो मेरो इज्जत हुनै सक्दैन बाले मलाई निकैबेर अँगालो मारेर रुनु भयो मेरा सन्तान मेरा आँखाका तारा, तिमीलाई दिएको यातनाको बदला लिएर छोड्नेछु छोरी, म थरथर काँपे आँखाबाट आँशुको भेल बग्यो लामो सासफेरे के हो समाज ? केहो सामाजिक संरचना ? अनि के हो पुरुष प्रधान समाज भनेको म अलमलमा परें । आमाले मञ्चमा उभिएर भाषणमा बोलेका कुरा याद आए । हामी महिलाहरु आफ्नो अधिकारको लागि लड्नु पर्छ पुरुषप्रधान समाजले हामीलाई पछि पारिराखेको छ ।
आमाले आलु बारीमा काम गर्दा बाले चिया पकाएर ओसारेकै थिए । आमा अफिसबाट घर फर्किंदा बाले लिएर आएकै थिए । आमाले भात पकाउदा बाले लुगा धोएकै थिए । आमाले लुगा धुँदा बाले पनि त भात पकाएकै थिए, अनि कहानेर पछि परियो त हामी ? आफु पनि महिला भएको कारण पछि परेका कुराहरु नियाल्दै जाँदा सायद मेरो बालमनले कहाँनेर भनेर ठम्याउन सकेन होला तर सानो छदा आमाले नै अनेक संस्कार सिकाउनु भयो । हजुरबुवा बोलेको त्यति सुनिन तर हजुरआमाले आमा काकीहरुलाई अनेक कुरा भन्नुहुन्थ्यो सुनाउनुहुन्थ्यो । बुहारी भएर ठाडो आँखाले हेर्ने छोराले जस्तो भन्दा त्यतिबेलै म छक्क पर्थे । वल्तीर पल्तीरका काकी फुपुहरु जोडिनुभयो भने पनि एक अर्काको कुरा नगरी नवस्ने फेरि महिलाहरुकै । मलाई त्यतिबेलै लाग्थ्यो के अचम्म हो कति शक्तिसाली हुन यी आमा काकीहरु । तर समाज त यसरी गजडिएको रैँछ यहाँ लोग्ने मान्छेलाई दोष दिएर आइमाइहरुनै जे पनि गर्ने रहेछन् ।
जव बाले मेरो कुरा चौकी सम्म पुर्याउनु भयो मिल्नु पर्छ इज्जत जान्छ भनेर घरमा मेला लगाउने पनि महिलाहरु नै थिए । म अचम्ममा परे भोगाइका अनेक फेहरिस्त पल्टाउंदै जाँदा घरमा कचहरी लाउन आउने सबै आइमाइलाई प्रति घृणा जाग्थ्यो र पनि सोच्थे परापुर्व कालदेखि नै यसरी सिकाइदै आइयो । तर मन मान्न तयार नै भएन । आजको एक्काइसौं शताब्दीमा समेत अनेक कुरा गरेर आफुलाई कमजोर मान्नु के सही हो ? घर समाज र देश चलाउनको लागि उत्तिकै भुमिका निभाउन सक्ने महिलाहरुको मानसिकता आजपनि किन यति तल ? आफैले आफैलाई प्रश्न गर्न नपाउंदै बाले मलाइ बलात्कार गर्नेे सबैलाई जेल हालेको कुरा सुनाए र पनि मनखुशी भएन ।
मैले जे भोगे त्यो अपराधिहरुलाई जेल हाल्नु एउटा पाटो हो तर मेरो भोगाइको अन्त त मेरो सासको अन्त भएपछि मात्र हुनेछ । आफु बलात्कृत भैसकेपछि आफुजस्ता अरु बच्चा बच्चीहरुले मैले जस्तो पीडा सहन नपरोस भन्नेमा म निकै सचेत थिए, र पनि समाज उही ठाउँमा यसरी नै सिकाइरहेको छ, छोरी लजालु हुनुपर्छ , छोरा जे गर्नपनि सक्ने अँंटिलो हुनुपर्छ भनेर । फेरि हातसमाएर सिकाउने ति नै महिलाहरुनै छन् । जुन आँटको प्रयोग गरेर छोराहरुले आज छोरीहरुको चिरहरण गरिरहेको किन देख्दैन समाज ? छोरा छोरी दुवै अनुशासित हुनुपर्छ, सक्षम हुनुपर्छ, आँटिलो हुनुपर्छ , सभ्य हुनुपर्छ । दुवैजनाले घरभित्र खाना पकाउने काम देखी देश चलाउन जान्ने सक्षम लिडर हुन सक्नु पर्छ भनेर किन सिकाउंदैनन आमाहरु आफ्ना सन्तानलाई ? हैन भने हामीलाई बलात्कार गर्नेपनि त हाम्रै भाइ काका मामा जस्तै हुन ।
सुन्छु आज पनि हातमा किताब बोकेर साथीको घरमा पढ्न गएकी छोरी घर नफर्किदा खोजी गर्दा बलात्कृत भएर मारिएकी हुन्छिन् । साना–साना पाँच बर्ष नपुगेका नानीहरुलाई असी बर्षका बुढा हजुरबाले बलात्कार गर्नुहुन्छ । सोह् वर्षको युवाले सत्तरी बर्षकी महिलालाई बलात्कार गर्छन् । स्कुलमा पढाउने शिक्षकले आफ्नै विद्यार्थिलाई बलात्कार गर्छन् । अफिसमा हाकिमले आफ्नै स्टाफ बलात्कार गर्छन घरमा आफ्नै बाउ ले छोरी बलात्कार गर्छन् । प्रेमको नाममा सम्वन्धको नाममा पावर र शक्तिको नाममा हाम्रो चिरहरण भैरहेको हुन्छ हाम्रा छोरी चेलीहरुको चिरहरण भएको हुन्छ आखिर किन सरकार ? मलाई आफै प्रति लाज लागेर आयो छोरी मान्छे भए कै कारण हामी हरेक ठाँउमा असुरक्षित हुन्छौं आखिर किन ? आखिर किन भनेर आफैले आफैलाई प्रश्न गर्दा भन्दा पनि सरकार भनेर जोड्दा झनै लाज लाग्यो । हरेक ठाँउमा हरेक घटनामा सरकारलाई जोड्नु पर्दा अलि न्यायसंगत लागेन र पनि सुरक्षा दिने जिम्मेवारी त सरकारको होनी तर पनि सरकारल मात्र के गरोस जब आफैले जन्माएकी छोरीलाई बाबुले नै बलात्कार गर्छ ? समाजमा रक्षक हौं भन्नेहरुनै भक्षक बनेर निस्किदिन्छन् ।
सुरक्षाको जिम्मा लिएका हरुबाट नै चेलिहरु लुटिन्छन अव सोचांैन कहा कोसग कसरी सुरक्षा र संरक्षणको कुरा गरौं । अस्ति भर्खर एउटा बालिकालाई एकजना महिलाले नै बोलाएर घरमा लगिन उनका श्रीमानले ती बालिकालाई कपाल मुन्डन गरि सडकमा ल्याएर छोडेरे यहा पनि अवैध सम्वन्ध कै कुरा छ । बिहे नगरीकन छोराछोरी जन्माउन पाइने कानुन आयो भनेर केही समय अगाडी अनेक प्रचार भयो कति खुशी पनि भएको सुनियो ।
अचम्म लाग्छ पश्चिमा समाजमा सम्वन्धहरु तहस नहस भएर अनुशासन भएन, डिप्रेसन बढेर आयो भनेर मानिसहरु कसरी परिवारको संरचना बलियो बनाउने भन्नेमा लागेको समयमा हामी झनै पश्चिमा संस्कृति र स्वतन्त्रताको उपभोग भनेर अराजकतालाई लिन्छौं भने हामीले निर्माण गर्ने समाज कस्तो होला ? सुन्दै काँडा उम्रीने घटनाहरुले भोग्नेलाई कति असर पारेको होला कसैले महशुस गर्न सक्छ ? त्यसैले हरेक ठाँउमा महिलाहरु सचेत हुन जरुरी छ ।
घर समाज र सिगो देशमै जब हामी महिलाहरुले आफुले आफुलाई बुझेर अगाडी बढ्न सक्छौं तव मात्र आजको यो विकराल अवस्था पक्कै पनि कम भएर जानेछ । जब घरघरमा महिलाहरु हरेक कुरामा सचेत बन्छन् समाज स्वत सचेत हुनेछ मुखले मात्र अनेक कुरा गर्ने भित्र भित्र महिलाहरुको बिरुद्धमा नै काम गर्ने महिलाहरु पनि हामी देखेका छौं । महिला अधिकार ,बहु–विवाहको अन्त समाजमा सुशासन भनेर हिडेका महिलाहरुबाटै आफुजस्तै अर्को महिलालाई पीडा हुने काम भैरहेका धेरै उदाहरण हाम्रा अगाडी छन् ।
महिलाहरुको सहभागितामा नै महिलाहरु बेचिने बलात्कृत हुने र अनेक यातना भोग्नुपर्ने गरेका घटनाहरु पनि हाम्रो अगाडि नै छन यसको एकमात्र सोलुसन महिलाहरु नै सचेत हुनु हो । जीवन जगत नबुझ्ने अनेक प्रभोलनमा फस्ने र आफुले आफैलाई नबुभेर लिने निर्णयहरुले गर्दा गाँउका भन्दा शहरिया महिलाहरुनै बढी दलालहरुको हातमा पर्ने अनेक अपराधमा फस्ने जस्ता समाचारहरु पनि हामीले पढेका र सुनेका छौं ।
छोरा भए पछि जे पनि गर्न सक्ने आँटिलो र छोरी मान्छे लजालु हुनुपर्छ भनेर सिकाइने कुराले नै कारणनै आज पनि जताततै महिलाहरु असुरक्षित छौं । सबै कुरा गर्न पुरुष प्रधान समाजले केही नगर्ने ? जव अनुशासनको कुरा आउछ, अनुशरणको कुरा आउछ आफुले आफुलाई बदल्ने कुरा आउछ अनि समाजलाई दोष दिन छोडौं । आजैबाट हरेक घरमा जन्मिने सन्तानलाई अनुशासन र अनुशरण सिकाउ दुबैजनालाई हिम्मत र लिडर्सिपको बिषयमा ज्ञान दिउ पुरुष प्रधान समाज हैन सुशासन र सभ्य समाजको निर्माण हुन समय लाग्ने छैन ।
प्रतिक्रिया दिनुहोस्