काठमाडौं, २४ श्रावण । आज नेवार समुदायले गठे मंगल पर्व मनाउदैछन् । श्रावण कृष्ण चर्तुदशीका दिन मनाइने गठे मंगललाई घण्टाकर्ण चर्तुदशी पनि भनिन्छ । यस दिन दुष्ट आत्मा र भुत प्रेत पन्छाउन घरमा सफा सुग्घर गरेर राक्षसी स्वरुपको घण्टाकर्णलाई दहन गर्ने चलन छ । यस दिन दिनभर ठड्याइएको नर्कटबाट निर्मीत गठेमंगललाई घाम अस्ताएपछि टोलका मानिसहरुलाई छ्वालीको चिराग समात्न लगाई तीन पटक परिक्रमा गराई ढालेपछि त्यसैमा बसाई नदीमा लगेर विर्सजन गर्ने परम्परा छ ।
नर्कटको गठेमंगल बनाउने परम्परा रहि आएको छ । धान रोपेर सिद्धीएपछि गठा मुंगको चलनले, घर भित्रका दुषित किटाणुहरु उपीँया, उडुस लुतो भगाउने, भूत भगाउने विश्वासका साथ यस दिन धुप वालेर धुँवाहरु पठाउने गरिन्छ । जसबाट किटाणुहरु भागेर जाने जनविश्वास छ । कृषि व्यवसायमा आश्रितहरुले यो पर्व विशेष रुपले सम्पन्न गर्दछन् । हरेक वर्ष श्रावण कृष्ण चतुर्दशीमा यो पर्व मनाइन्छ ।
नर्कंट, छ्वाली, पराल र विभिन्न घाँस तथा रंगीचंगी थोत्रा कपडाहरुसमेतले अनौठो आकृतिको घण्टाकर्ण, गठे मंगल वा गठामुग बनाई दोबाटोदेखि घिसार्दै, झ्याइकुटी पार्दै खुलाचौर वा नदी किनारामा पुर्याई दाह गर्दछन् । दाह गर्न लैजाँदा लठ्ठीले चुट्दै वा सिस्नुले हिर्काउदै लान्छन् ।
यो दिन कुनैपनि बेला भूतसँग जम्काभेट हुनसक्ने भनी यसबाट बच्नको लागि फलामको औंठी लगाउने चलन छ । यस्तै घरमा भूतप्रेतको आतंक नहोस् भनेर मूलढोकामा विशेष किसिमको त्रिमुखी किला ठोक्ने चलन छ ।
गठे मंगलसँग सम्बन्धित विभिन्न दन्त्यकथा राहेको मध्ये एउटा कथा यस्तो छ । अघि उपत्यकामा यस्तो दैत्य थियो, जसले अरुले भगवानको नाम उच्चारण गरेको शब्द सुन्नुपर्ला भनेर आप्mना दुबै कानमा घण्टा झुण्ड्याएर ठूलो आवाजमा घण्टा बजाउ“दै हि“ड्थ्यो । त्यसैले त्यसको नाम घण्टाकर्ण थियो । त्यो दुष्ट दैत्य बस्तीमा पसेर सबैलाई सताउ“थ्यो । कोही कसैलाई आहारा बनाउनै पथ्र्यो । त्यसको व्यवहारबाट दिक्क भएकाले एउटा तान्त्रिकलाई आफ्नो दुःख बिसाए ।
एकाबिहानै घण्टाकर्ण आहारा खोज्दै बस्तीमा आएकोदेखेर तान्त्रिकले भ्यागुता रुप धारण गरी ‘हे दानव तिम्रो लागि सर्वोत्तम आहारा म भेट्टाइदिन्छु, मेरो पछि आऊ’ भन्दै धापको बाटो लाग्यो । धापको बीचमा त्यो दानव भासियो र निस्कन सकेन । बस्तीका बासिन्दाले ढुड्डामुढा गरेर त्यसको अन्त गरे । त्यसैको सम्झनामा श्रावण कृष्ण चतुर्दशीका दिन घण्टाकर्णको अनौठो विकृति सहितको पुतला बनाई सामुहिक दहन गर्ने परम्परा चलेको हो ।
तर संस्कृतिविद् सुरेन्द्रमान श्रेष्ठका अनुसार गथांमुगः भूतप्रेत जम्मा गर्ने ठाउँ मात्र हो, गथांमुगः आफैं भूतप्रेत भने होइन । नेपालभाषामा गः भनेको शहर र थां भनेको थाम हो । घरघरबाट भूतप्रेतलाई विशेष पुजा सहित टोलटोलमा जम्मा गर्नका लागि संकलन केन्द्रका चिन्हका रुपमा गथांमुगः ठड्याइने चलन रहिआएको हो । पछि त्यो चिन्हलाई नै भूतप्रेतका रुपमा ब्याख्या भएको श्रेष्ठको भनाई छ ।
बैशाख शुक्ल द्वितिया र अक्षय तृतीयाका दिन रोपाईं गर्नुपर्ने घरमा भूत भित्र्याउने नेवारी परम्परा छ । पहिले धेरै खेत भएकाले आफूले मात्र समयमा रोपाईं सिध्याउन नसक्ने हुँदा भूतको समेत सहयोग लिने गरिन्थ्यो । गथांमुगःचह्रय्का दिन भित्र रोपाईं सकाएर भूतलाई घरबाट बाहिर धपाउने दिनका रुपमा गथांमुगःलाई लिने गरिन्छ र घरघरबाट भूतलाई धपाएर गथांमुगः राखिएको ठाउँमा जम्मा गरिन्छ ।
कुमार षष्ठीको दिनदेखि थन्क्याएर राखिएका नेवार बाजागाजाहरु विधिवत् रुपमा पूजाआजा गरी गठेमंगलको दिनदेखि बाहिर निकालेर सिकाउने र चाडपर्वमा बजाउन शुरु गरिन्छ । नेवार समुदायमा हरेक चाडको भोलिपल्ट विवाह भैसकेका छोरी चेलीलाई बोलाएर खुवाउने चलन छ । तर यस चाडमा भने यसरी बोलाईंदैन ।
धेरैले गथांमुग:को शाव्दिक अनुवाद नै घण्टाकर्ण हो भन्ने बुझेका छन्। तर यो सही नभएको संस्कृतिविद् सुरेन्द्रमान श्रेष्ठ बताउनुहुन्छ। नेपालभाषामा ‘गं’ (घण्ट) र ‘ग:’ (सहर)को अर्थ फरक हुन्छ। ‘ग:’लाई ‘गं’ बुझेर गथांमुग:लाई पनि घण्टाकर्णका रूपमा व्याख्या हुनथालेको बताउनुहुन्छ। घण्टाकर्णका रूपमा बढी प्रचार भएपनि नेवारहरूको परम्परा गथांमुग: च:ह्रय् खेती किसानी गर्नेले विशेषरूपमा मनाउने भूत धपाउने दिन वा पर्व मात्रै हो र यसलाई यसरी नै बुझ्नु ठीक हुन्छ।
प्रतिक्रिया दिनुहोस्