नढांटी भन्ने हो भने, नेपालमा हामी मध्ये धेरैलाई रेल सेवा कस्तो हुन्छ भन्नेसम्म जानकारी छैन । किनकी, हामीले प्रत्यक्ष रेल देख्न पाएका छैनौं । यद्यपी, पछिल्ला दिनमा टेलिभिजन र फिल्मी कहानीका रेलको अनुभव लिनसम्म पाएका छौं । तर, दुःखका साथ भन्नुपर्छ, नेपालमा रेलसेवा ९० वर्षअघि देखि नै सुरु भएर पनि संचालनमा निरन्तरता पाउन सकेन । रेललाई यातायातको अनिवार्य साधन बनाउन सत्तामा पुग्ने र पुग्न चाहनेहरुले बनाउन सकेनन् । यसैको प्रभाव हामी रेल नदेख्ने, रेल नचढ्ने नेपाली बन्न बाध्य बनाइयौं । तर, अब भने केही परिवर्तन हुन थाले जस्तो देखिएको छ । रेल नचढेपनि रेलको खास व्याख्या गर्न सक्ने भैसकेका छौं हामी । भारतीय नाकावन्दीको विरोधमा मौलाएको राष्ट्रवादी नेतृत्वले चिनिया मार्ग हुंदै काठमाडौं रेल भित्र्याउने परिकल्पना गरेसंगै अहिले सबै देशबासी धेरै थोरै रेलविज्ञ बनिसकेका छौं । चिनिया रेल काठमाडौंसम्म ल्याउनेबारे अहिले संभाव्यता अध्ययन समाप्त भैसकेको छ । दु्रतगतिको रेल सेवामा विश्वविजेत बनेको चिनिया रेल भन्दा पहिला आफुले काठमाडौंमा रेल पुर्याउंछु भन्दै छिमेकी भारत पनि रक्सौलबाट काठमाडौंसम्म रेलमार्ग विस्तारका लागि अघि सरिसकेको छ । भारत र चीनको प्रतिस्पर्धाकै बीचबाट नेपालमा रेल कुद्छ भन्नेमा भने अब हामी नेपाली थोरै भए पनि आशावादी बन्न सकेका छौं ।
जनकपुर–जयनगर ब्रोडग्रेज रेलमार्गको परीक्षण सुरु भएको छ । भारतीय निमार्ण कम्पनीले जयनगरदेखि आठ किलोमिटर लामो रेल लिकमा भारतीय रेल्वेको इन्जिन चलाएर परीक्षण गरेको छ । अब, कम्तिमा पनि दुई महिनाभित्र पूर्णरुपमा रेल सेवा संचालन हुनसक्ने देखिन्छ । तर आफ्नो रेल इन्जिन र डिब्बा नभएका कारण नेपालले तत्कालका लागि भारतीय भाडाकै रेलको भर पर्नुपर्ने बाध्यता छ ।
लंकामा सुन छ कान मेरो बुच्चै
नेपाल भित्रको रेलवे यथार्थता बताउनुभन्दा अघि चर्चा गरौं उत्तरी छिमेकी मुलुक चीनको रेल्वे विकासबाट । विश्वमै पहिलो शक्तिशाली राष्ट्र बन्ने गतिमा कुदिरहेको चीनमा दशौं हजारौं किलोमिटर लामो दु्रत गतिको रेल सेवा संचालनमा छ । अकल्पनीय विकासका गतिविधिले सिंगो विश्वलाई माथ दिंदै चीन अहिले सुपरसोनिक रेलको परिकल्पना साकार पार्न व्यस्त छ । दु्रत गतिको रेल कुदाउने दौडमा चीनले बांकी विश्वलाई पराजित गरिसकेको छ । केरुङ–काठमाडौं रेलमार्ग बन्ला र चिनिया रेल कुदेको देख्न र प्रयोग गर्न पाउंला भन्ने हामी नेपालीलाई तत्कालका लागि भने चिनियाभूमि भित्रै रेल चढेर सन्तुष्टि लिनुबाहेक विकल्प छैन ।
विश्वमा दू्रत गतिको रेल सबैभन्दा पहिला जापानले कुदायो । अनि जापानी प्रविधिलाई समेत पछि पार्ने गरी चिनले द्रूत गतिको रेलसेवा चीनले सञ्चालन ग¥यो । चीनले निर्माण गरेको अहिलेसम्मकै सबैभन्दा द्रुत गतिको रेल सेवाले चीनको राजधानी बेइजिङ्देखि सांघाई रुटमा चलिरहेको छ ।
चीनमा रेलको गति प्रतिघन्टा बढीमा ४०० किलोमिटर र नियमित वा औषत गति नै ३५० किलोमिटर रहेने गर्छ । दु्रत गतिको रेलसेवाले चीनको आर्थिक र सामाजिक रुपान्तरणमा ठूलो भूमिका निर्वाह गरेको छ । चीनमा रेलसेवा यातायात सेवाका लागि एक अत्यावश्यक र भरपर्दो रेलसेवाका रुपमा स्थापित भएको छ । चीनमा संसारकै सबैभन्दा लामो रेल यातायातको सञ्जाल समेत रहेको छ । सन् २०१६ को अन्त्यसम्ममा चीनभित्र करिब २२ हजार किलोमिटर लामो रेल यातायात सेवा रहेको तथ्याङ छ । यो संसारकै रेल सेवाको करिब ६० प्रतिशत हो । २२ हजार किलोमिटर लामो रेल संजालभित्र दु्रत गतिमा कुद्ने रेलले संसारलाई आकर्षित गरिरहेको छ । यसैकारण, विश्वका कैयौं देशले चिनिया रेल्वे प्रविधिलाई भित्र्याइरहेका छन् ।
यतिबेलासम्म चीनमा भएका रेलमार्गको लम्वाई विश्वलाई नै एक फन्को मार्ने पुग्ने भन्दा बढि छ । यहा“ एक सहरदेखि अर्को सहरसम्म पुग्नको लागि पनि रेलमार्ग नै प्रयोग हुने गर्छ । दु्रत गतिको रेल प्रयोग गर्दा लाग्ने भाडा केही बढी भएपनि समयको अत्याधिक बचत हुंदा त्यो भाडाको मूल्य कमजोर सावित हुन्छ । पहाडी क्षेत्रमा सुरुङ मार्ग, नदी र खोला क्षेत्रमा पुल तथा शहरी क्षेत्र तथा बस्तीहरुमा आकासे पुल र भूमिगत सुरुङहरु पार गर्दै चिनिया द्रूत गतिका रेल अविराम कुदिरहेका छन् ।
नेपालमा अहिले चर्चामा रहेको चिनिया रेल पनि द्रूृत गतिको रेल नै हो । पत्रकार तथा विदेश मामिला जानकार गोपाल खनालले चीनको जनजीवनमा रेलकै कारण आवतजावतमा सहज भएको बताउ“छन् । खनालले नेपालमा पनि यस्तै प्रकारको रेल केरुङ नाका हुंदै नेपालमा कुद्नेमा विश्वस्त छन् ।
चीनकै योजनामा पनि सन् २०१९ को अन्त्यसम्म चीनको सिगात्सेसम्म रेल पु-याइने बताइएको छ । नेपालमा रेल भित्रिदा यसैलाई केरुङको बाटो काठमाडौं ल्याउने हालको सोच हो । नेपाल–चीन सीमा नाका रसुवागढीदेखि काठमाडौं करिब ८० किलोमिटर मात्रै छ । अझ यसमा पर्ने सुरुङ र पुलका आधारमा त यो दूरी घट्ने देखिन्छ ।
विश्वको करिब ६४ प्रतिशत जनसंख्यालाई समेट्ने विश्व संजाल बेल्ट एण्ड रोड इनिसियटिभ बीआरआई एक्काइसौं शताब्दीको सबैभन्दा महत्वाकांक्षी परियोजना हो । बीआरआईको अवधारणाअन्तर्गर रहेर भविष्यमा केरुङ–काठमाडौं रेलमार्गले मूर्तरुप पाउने अवस्थामा चिनिया प्रविधि अत्यावश्यक हुने नै छ । बीआरआईको हस्ताक्षरकर्ता मुलुक भएका नाताले नेपालले चिनिया ज्ञान, प्रविधि र विकासको खोजी गर्न आवश्यक रहेको बताउंछन छेन्दुस्थित सिचुवान विश्वविद्यालयका नेपाल विज्ञ प्रोफेसर ताइ योङहोङ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले केही समयअघि भनेका थिए चिनिया रेल त आयो आयो । चिनिया रेल नेपालको सीमामा थुतुनो मात्र पसार्न हैन काठमाडौंसम्मै आएर पोखरा र लुम्बिनीको गन्तव्य समेत तय गर्ने सपना देखाइएको छ हामी नेपालीलाई । विकास र समृद्धिको नारा दिएको सरकारले यो सपना पुरा गर्न सक्छ कि सक्दैन ? प्रधानमन्त्री ओलीले भनेजस्तै चिनिया रेलको थुतुनो नेपाली सीमासम्म मात्र छिर्छ कि काठमाडौं आइपुग्छ, त्यसका लागि त भोलि नै थाहा होला । अहिलेलाई भने केरुङ–काठमाडौं रेलमार्गका लागि सम्भाव्यता अध्ययन पुरा भएको छ । केरुङ–काठमाडौं मात्र हैन रक्सौल–काठमाडौं र पूर्वपश्चिम रेलमार्ग एवं जयनगर–जनकपुर बर्दिबास रेलमार्गको वास्तविक ग्राउण्ड रियालिटी कस्तो छ त ?
रेल सपनाको ग्राउण्ड रियालिटी
नेपालमा चिनिया रेलको चर्चा केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री भएको बेला गरिएको चीन भ्रमणदेखि हो । भारतीय नाकावन्दीको असैह्य पीडाको बीचमा तत्कालिन प्रधानमन्त्री ओलीबाट त्यतिबेला रेलमार्ग र यातायात पारवहन सम्म्झौताबारे चीनसंग खुलेर कुरा गरेपछि आम नेपालीमा रेलमार्गबारे चासो बढ्न थाल्यो । तर, चिनिया रेलको चर्चा भन्दा धेरै अघिदेखि नै नेपालमा रेल्वे सेवा संचालन भैसकेको थियो भने जयनगर–जनकपुर रेल सेवाको पुनर्निमाण समेत जारी थियो । अहिले, मेची महाकाली रेलमार्गका विभिन्न खण्डमा काम भैरहेको छ । जनकपुर जयनगर मार्गमा केही समयभित्रै रेल सेवा संचालन हुंदैछ भने केरुङ–काठमाडौं र रक्सौल काठमाडौंको संभाव्यता अध्ययन सकिन लागेका छन् । कुल मिलाएर बुझ्दा नेपालमा रेलको सकारात्मक चर्चा उत्तर–दक्षिण, पूर्वपश्चिम सबैतर जारी छ ।
रेल्वे विभाग नै गठन गरेर पूर्व पश्चिम रेलमार्गको सम्भाव्यता अध्ययन सुरु भएको पनि एकदशक पुग्न लागेको छ । तर, केरुङ–काठमाडौंको रेलमार्गको चर्चा जति अरुले पाउन सकेका छैनन् । चिनिया रेल भित्र्याउने बिकासको सपना देखाएर गत आम निर्वाचनमा कम्युनिष्ट गठबन्धनले निर्वाचनमा जनताबाट अत्याधिक बहुमत प्राप्त ग¥यो । एकल पार्टीको झण्डै दुई तिहाई बहुमतबाट पुनः केपी शर्मा ओलीको सरकार बनेपछि नेपालमा चिनिया रेलको चर्चा मात्र होइन सम्भाव्यता पनि दु्रत गतिमा भैरहेको छ । केरुङ–काठमाडौं रेलमार्गको चिनिया पक्षले डीपीआर तयार गरिसकेको छ । यसको अन्तिम रिपोर्ट यही अगष्टको अन्तिम सातासम्म तयार हुने रेल्वे विभागले जनाएको छ ।
चीनसंग नेपाल बढी नै लहसिएको विश्लेषण गर्दै भारतले पुनः नेपालसंग सम्बनध सुधारको रणनीति अख्तियार गरेपछि आफ्नो रेल चीनले भन्दा पहिला काठमाडौं पुर्याउने दाउमा भारत पनि मैदानमा उत्रिएको छ । भारतको दाउ कागजी होइन भने रक्सौलबाट काठमाडौंसम्म भारतीय रेल आउने पक्का छ । प्रधानमन्त्री केपी शर्मा ओलीको गत चैतमा भएको भारत भ्रमणको क्रममा रक्सौल काठमाडौं रेलमार्गबारे सहमति भएको छ भने त्यसलगत्तै भारतीय प्राविधिकहरुले पहिलो सम्भाव्यता अध्ययन गरेका छन् ।
यी मात्र होइन, नेपाल आफैले मेची महाकाली विद्युतीय रेलमार्गको काम समेत विभिन्न खण्ड बनाएर संचालन गरिरहेको छ । मेची महाकाली रेलमार्गको डीपीआर रेल बिभागमा आइसेको छ । सरकारले समेत मेचीमहाकाली रेलमार्गको निर्माण ५ देखि १० वर्षभित्र सम्पन्न गर्ने बताइरहेको छ । यसअन्तर्गत बर्दिबास–बुटवल र बुटवल–लुम्बिनीसम्मको डीपीआरको काम सम्पन्न गरिसकेको छ । पूर्वतर्फ बर्दिबास–इनरुवा र इनरुवा–काकडभिट्टा रेलमार्गको डिपिआर रिपोर्ट समेत बुझाइ सकिएको छ । पश्चिमतर्फ भने बुटवलदेखि बनबाससम्मको फाइनल डीपीआर रिपोर्ट समेत रेल विभागमा आउंदै छ ।
रेल विभागले मेची महाकाली रेलमार्ग ९ सय ४५ किलोमिटर योजना बनाएको छ । जसको लागि विभागले भौलोगिक अवस्था, निर्माण सामग्री, प्राविधिक जनशक्ति लगायतको खर्चको अनुमानित अनुमान एक किलोमिटर रेलमार्ग बनाउन ३५ देखि ४५ करोड रुपैया प्रारम्भिक अध्ययनले देखिएको छ ।
डीपीआर निर्माणको क्रममा धेरैतिर रेखांकन विवाद समेत भएको छ । विशेषगरी बुटवल क्षेत्रका बासिन्दाले मेची–महाकाली रेलमार्गको रेखांकनलाई लिएर सबैभन्दा बढी विरोध गरेका छन् । घनावस्तीको बीचबाट रेलमार्ग लैजान खोजिएको भन्दै उनीहरुले त्यसलाई अस्वीकार गर्ने चेतावनी समेत दिएका छन् ।
जयनगर–जनकपुरको बन्द रहेको रेलमार्ग पुनः सञ्चालनको तयारीमा छ । रेल विभागका अनुसार विक्रम संम्बत १९३७ मा तत्कालीन ईस्ट ईन्डीयाको पहलमा भएको जनकपुर जयनगर ३५ किलोमिटर रेलमार्ग २ महिनापछि सञ्चालन हुने गरी तयारी गरिएको छ । जयनगर–जनकपुर–बर्दिबास खण्ड ७० किलोमिटर रेलमार्ग निमाणको काम भइरहेको छ ।
नेपालमा रेलको चर्चा चुलिएसंगै रेल ल्याउने प्रतिस्पर्धामा छिमेकी चीन र भारत होमिएका छन् । दुई विशाल अर्थतन्त्र भएका छिमेकी मुलुकबीचको प्रतिस्पर्धालाई नेपालले सही ढंगले उपयोग गर्न सक्यो भने नेपालमा रेलको सपना विपनामा रुपान्तरण हुन सक्नेछन् ।
इतिहास
धेरै नेपालीले रेल चढ्न र हेर्नका लागि छिमेकी मुलुक भारत जाने गरेका थिए नेपालमा सन् २००१ सम्म बिजलापुरादेखि भारतको जयनगरसम्म रेल सञ्चालन थियो । त्यसपछि त्यो मार्ग जयनगर–जनकपुरमा खुम्चियो । अमलेखगन्जसम्म पनि रक्सौलबाट रेल आउंथ्यो । त्यस्तै झुम्का–धरान–बराह क्षेत्रमा पनि रेल गुड्थ्यो । तर अहिले जयनगर–जनकपुर बर्दिबास मार्ग भने मर्मत पछि संचालनको पर्खाइमा पुगेको छ । अमलेखगन्ज रक्सौल रेलसेवा त एकादेशको कथा भएको छ ।
नेपालमा रेल संचालन नभएको भने हैन । संचालन गर्ने बुद्धि सत्ता संचालकहरुको नहुंदा रेल सेवा भुत्ते भएको हो । नेपालमा रेलको इतिहास ९० वर्ष पुरानो हो । तर, रेललाई प्रमुख सवारी साधनको रुपमा सरकार संचालनहरुले नदेखेपछि हामी केवल फोटोको इतिहास हेरेर बस्न बाध्य बन्नुपरेको हो ।
राणा प्रधानमन्त्री चन्द्रशमशेरले विक्रम संवत १९८४ मा नेपाल गभर्नमेण्ट रेल्वे ( एनजीआर) का नामबाट रेलसेवा सञ्चालन गरेका थिए । बाराको अमलेखगञ्जदेखि भारत बिहारको रक्सौलसम्म जोडिएको करिब ४७ किलोमिटर लामो रेलमार्ग विक्रम संवत २०२२ मा बन्द भयो । २०१३ सालमा त्रिभुवन राजपथ निर्माण हुनुअघिसम्म अमलेखगञ्ज–रक्सौल रेलमार्ग नै भारत नेपाललाई जोड्ने यातायातको माध्यम बनेको थियो ।
त्रिभुवन राजपथको निर्माण सुरुसंगै रेलमार्गको बिस्तार र संरक्षणमा तत्कालिन सरकारले ध्यान दिन सकेन । फलस्वरूप वि.सं.२०२२ तिर अमलेखगञ्ज रक्सौल रेलमार्गलाई बन्द गरिएको थियो ।
पछिल्लोसमयमा २०६२ सालदेखि वीरगञ्जको सिर्सियास्थित सुख्खा बन्दरगाहसम्म सामान ढुवानी गर्न भारतको रक्सौलबाट छ किलोमिटर लामो रेलमार्ग सञ्चालन भइरहेको छ । जसले यात्रु नभई, वीरगन्ज सुख्खा बन्दरगाहसम्म कार्गो ढुवानी गर्ने काम गर्छ । यसबाहेक जयनगर जनकपुर रेलसेवा पनि धेरै पुरानो सेवा थियो । थोत्रा इन्जिन र मक्किएको पटरी र भत्किएको डिब्बा लामो समयसम्म धर्मराउंदै संचालनमा रहेपनि २०७१ सालमा बन्द भयो । अहिले यो सेवा पुनर्निमार्णको अन्तिम चरणमा पुगेको छ । जयनगर जनकपुर रेलसेवा आगामी दुई महिनाभित्र संचालन हुने जनकपुर जयनगर रेल्वे आयोजनाले जनाएको छ ।
ढिलैभए पनि र हतार हतारमा काम भए पनि जनकपुर जयनगर रेलसेवा विस्तार संचालनमा आउन लागेपछि जनकपुरबासी पुनः उत्साहित भएका छन् । तर, एकपटक थोत्रो रेलबाट आजित भैसकेका जनकपुरबासी रेल चढेर जयनगरसम्म नपुगेसम्म विश्वास गर्न नसक्ने पनि बताउंछन् ।
आजको अवस्थामा, नेपालको कुनै पनि स्थानमा यात्रुवहाक रेल गुड्दैन । । रेल सेवा यातायातको अनिवार्य साधन हो भन्ने तथ्यलाई सरकारले धेरै पछि मात्र बुझ्यो । राष्ट्र विकासको मूल आधार मानिने रेल सेवाको विकास, विस्तार तथा व्यवस्थापन गर्ने उद्देश्यसहित सरकारले २०६७ सालमा मात्र रेल विभाग स्थापना गर्यो । बिगतमा कछुवाको गतिका साथै निष्कृय जस्तो देखिएको रेल बिभाग अहिले भने भारत र चीनले रेलमार्गको लागि सहयोगको प्रतिवद्धताबाट हौसिएको छ ।
र अन्त्यमा
छिमेकी मित्रराष्ट्र चीनले सन् १९५० को दशकमा आफ्नै रेल्वे इन्जिन बनाएपछि कैयौं वर्षसम्म संचालन गर्यो । अहिले सिचुवान प्रान्तको छेन्दुमा त्यो पहिलो रेल्वे इन्जिनलाई मुख्य पर्यटकीय गन्तव्यस्थल बनाइएको छ । हामीले अमलेखगन्ज रक्सौल रेल्वेलाईनलाई विनाश गर्यौं । चिनियाहरु सुपरसोनिक रेलको परिकल्पना साकार पार्दैछन्, हामी भने अझै पनि छुकछुके रेलको प्रतिक्षामा छौं । रेल सेवा राष्ट्रका लागि अपरिहार्य यातायात सेवा हो भन्ने तथ्यलाई राज्य संचालनको बागडोर सम्हाल्नेहरुले बुझ्न नसक्दा त्यसको सोझो प्रभाव हामी जनताले पाएका छौं । आशा गरौं रेलको आशा पुनर्जागित गरेको वर्तमान सरकारले यसलाई साकार बनाउने छ । फेरि एकपटक आशावादी भएरै धैर्य गरौं । अरु त के नै पो गर्न सक्छौ र हामी ।
प्रतिक्रिया दिनुहोस्