ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुपरसोनिकको जमनामा छुक छुके प्रतिक्षा


admin
२४ श्रावण २०७५, बिहिबार   ११ : २७   बजे


नढांटी भन्ने हो भने, नेपालमा हामी मध्ये धेरैलाई रेल सेवा कस्तो हुन्छ भन्नेसम्म जानकारी छैन । किनकी, हामीले प्रत्यक्ष रेल देख्न पाएका छैनौं । यद्यपी, पछिल्ला दिनमा टेलिभिजन र फिल्मी कहानीका रेलको अनुभव लिनसम्म पाएका छौं । तर, दुःखका साथ भन्नुपर्छ, नेपालमा रेलसेवा ९० वर्षअघि देखि नै सुरु भएर पनि संचालनमा निरन्तरता पाउन सकेन । रेललाई यातायातको अनिवार्य साधन बनाउन सत्तामा पुग्ने र पुग्न चाहनेहरुले बनाउन सकेनन् । यसैको प्रभाव हामी रेल नदेख्ने, रेल नचढ्ने नेपाली बन्न बाध्य बनाइयौं । तर, अब भने केही परिवर्तन हुन थाले जस्तो देखिएको छ । रेल नचढेपनि रेलको खास व्याख्या गर्न सक्ने भैसकेका छौं हामी । भारतीय नाकावन्दीको विरोधमा मौलाएको राष्ट्रवादी नेतृत्वले चिनिया मार्ग हुंदै काठमाडौं रेल भित्र्याउने परिकल्पना गरेसंगै अहिले सबै देशबासी धेरै थोरै रेलविज्ञ बनिसकेका छौं । चिनिया रेल काठमाडौंसम्म ल्याउनेबारे अहिले संभाव्यता अध्ययन समाप्त भैसकेको छ । दु्रतगतिको रेल सेवामा विश्वविजेत बनेको चिनिया रेल भन्दा पहिला आफुले काठमाडौंमा रेल पुर्याउंछु भन्दै छिमेकी भारत पनि रक्सौलबाट काठमाडौंसम्म रेलमार्ग विस्तारका लागि अघि सरिसकेको छ । भारत र चीनको प्रतिस्पर्धाकै बीचबाट नेपालमा रेल कुद्छ भन्नेमा भने अब हामी नेपाली थोरै भए पनि आशावादी बन्न सकेका छौं ।

जनकपुर–जयनगर ब्रोडग्रेज रेलमार्गको परीक्षण सुरु भएको छ । भारतीय निमार्ण कम्पनीले जयनगरदेखि आठ किलोमिटर लामो रेल लिकमा भारतीय रेल्वेको इन्जिन चलाएर परीक्षण गरेको छ । अब, कम्तिमा पनि दुई महिनाभित्र पूर्णरुपमा रेल सेवा संचालन हुनसक्ने देखिन्छ । तर आफ्नो रेल इन्जिन र डिब्बा नभएका कारण नेपालले तत्कालका लागि भारतीय भाडाकै रेलको भर पर्नुपर्ने बाध्यता छ ।

लंकामा सुन छ कान मेरो बुच्चै
नेपाल भित्रको रेलवे यथार्थता बताउनुभन्दा अघि चर्चा गरौं उत्तरी छिमेकी मुलुक चीनको रेल्वे विकासबाट । विश्वमै पहिलो शक्तिशाली राष्ट्र बन्ने गतिमा कुदिरहेको चीनमा दशौं हजारौं किलोमिटर लामो दु्रत गतिको रेल सेवा संचालनमा छ । अकल्पनीय विकासका गतिविधिले सिंगो विश्वलाई माथ दिंदै चीन अहिले सुपरसोनिक रेलको परिकल्पना साकार पार्न व्यस्त छ । दु्रत गतिको रेल कुदाउने दौडमा चीनले बांकी विश्वलाई पराजित गरिसकेको छ । केरुङ–काठमाडौं रेलमार्ग बन्ला र चिनिया रेल कुदेको देख्न र प्रयोग गर्न पाउंला भन्ने हामी नेपालीलाई तत्कालका लागि भने चिनियाभूमि भित्रै रेल चढेर सन्तुष्टि लिनुबाहेक विकल्प छैन ।

विश्वमा दू्रत गतिको रेल सबैभन्दा पहिला जापानले कुदायो । अनि जापानी प्रविधिलाई समेत पछि पार्ने गरी चिनले द्रूत गतिको रेलसेवा चीनले सञ्चालन ग¥यो । चीनले निर्माण गरेको अहिलेसम्मकै सबैभन्दा द्रुत गतिको रेल सेवाले चीनको राजधानी बेइजिङ्देखि सांघाई रुटमा चलिरहेको छ ।

चीनमा रेलको गति प्रतिघन्टा बढीमा ४०० किलोमिटर र नियमित वा औषत गति नै ३५० किलोमिटर रहेने गर्छ । दु्रत गतिको रेलसेवाले चीनको आर्थिक र सामाजिक रुपान्तरणमा ठूलो भूमिका निर्वाह गरेको छ । चीनमा रेलसेवा यातायात सेवाका लागि एक अत्यावश्यक र भरपर्दो रेलसेवाका रुपमा स्थापित भएको छ । चीनमा संसारकै सबैभन्दा लामो रेल यातायातको सञ्जाल समेत रहेको छ । सन् २०१६ को अन्त्यसम्ममा चीनभित्र करिब २२ हजार किलोमिटर लामो रेल यातायात सेवा रहेको तथ्याङ छ । यो संसारकै रेल सेवाको करिब ६० प्रतिशत हो । २२ हजार किलोमिटर लामो रेल संजालभित्र दु्रत गतिमा कुद्ने रेलले संसारलाई आकर्षित गरिरहेको छ । यसैकारण, विश्वका कैयौं देशले चिनिया रेल्वे प्रविधिलाई भित्र्याइरहेका छन् ।

यतिबेलासम्म चीनमा भएका रेलमार्गको लम्वाई विश्वलाई नै एक फन्को मार्ने पुग्ने भन्दा बढि छ । यहा“ एक सहरदेखि अर्को सहरसम्म पुग्नको लागि पनि रेलमार्ग नै प्रयोग हुने गर्छ । दु्रत गतिको रेल प्रयोग गर्दा लाग्ने भाडा केही बढी भएपनि समयको अत्याधिक बचत हुंदा त्यो भाडाको मूल्य कमजोर सावित हुन्छ । पहाडी क्षेत्रमा सुरुङ मार्ग, नदी र खोला क्षेत्रमा पुल तथा शहरी क्षेत्र तथा बस्तीहरुमा आकासे पुल र भूमिगत सुरुङहरु पार गर्दै चिनिया द्रूत गतिका रेल अविराम कुदिरहेका छन् ।

नेपालमा अहिले चर्चामा रहेको चिनिया रेल पनि द्रूृत गतिको रेल नै हो । पत्रकार तथा विदेश मामिला जानकार गोपाल खनालले चीनको जनजीवनमा रेलकै कारण आवतजावतमा सहज भएको बताउ“छन् । खनालले नेपालमा पनि यस्तै प्रकारको रेल केरुङ नाका हुंदै नेपालमा कुद्नेमा विश्वस्त छन् ।

चीनकै योजनामा पनि सन् २०१९ को अन्त्यसम्म चीनको सिगात्सेसम्म रेल पु-याइने बताइएको छ । नेपालमा रेल भित्रिदा यसैलाई केरुङको बाटो काठमाडौं ल्याउने हालको सोच हो । नेपाल–चीन सीमा नाका रसुवागढीदेखि काठमाडौं करिब ८० किलोमिटर मात्रै छ । अझ यसमा पर्ने सुरुङ र पुलका आधारमा त यो दूरी घट्ने देखिन्छ ।

विश्वको करिब ६४ प्रतिशत जनसंख्यालाई समेट्ने विश्व संजाल बेल्ट एण्ड रोड इनिसियटिभ बीआरआई एक्काइसौं शताब्दीको सबैभन्दा महत्वाकांक्षी परियोजना हो । बीआरआईको अवधारणाअन्तर्गर रहेर भविष्यमा केरुङ–काठमाडौं रेलमार्गले मूर्तरुप पाउने अवस्थामा चिनिया प्रविधि अत्यावश्यक हुने नै छ । बीआरआईको हस्ताक्षरकर्ता मुलुक भएका नाताले नेपालले चिनिया ज्ञान, प्रविधि र विकासको खोजी गर्न आवश्यक रहेको बताउंछन छेन्दुस्थित सिचुवान विश्वविद्यालयका नेपाल विज्ञ प्रोफेसर ताइ योङहोङ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले केही समयअघि भनेका थिए चिनिया रेल त आयो आयो । चिनिया रेल नेपालको सीमामा थुतुनो मात्र पसार्न हैन काठमाडौंसम्मै आएर पोखरा र लुम्बिनीको गन्तव्य समेत तय गर्ने सपना देखाइएको छ हामी नेपालीलाई । विकास र समृद्धिको नारा दिएको सरकारले यो सपना पुरा गर्न सक्छ कि सक्दैन ? प्रधानमन्त्री ओलीले भनेजस्तै चिनिया रेलको थुतुनो नेपाली सीमासम्म मात्र छिर्छ कि काठमाडौं आइपुग्छ, त्यसका लागि त भोलि नै थाहा होला । अहिलेलाई भने केरुङ–काठमाडौं रेलमार्गका लागि सम्भाव्यता अध्ययन पुरा भएको छ । केरुङ–काठमाडौं मात्र हैन रक्सौल–काठमाडौं र पूर्वपश्चिम रेलमार्ग एवं जयनगर–जनकपुर बर्दिबास रेलमार्गको वास्तविक ग्राउण्ड रियालिटी कस्तो छ त ?

रेल सपनाको ग्राउण्ड रियालिटी
नेपालमा चिनिया रेलको चर्चा केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री भएको बेला गरिएको चीन भ्रमणदेखि हो । भारतीय नाकावन्दीको असैह्य पीडाको बीचमा तत्कालिन प्रधानमन्त्री ओलीबाट त्यतिबेला रेलमार्ग र यातायात पारवहन सम्म्झौताबारे चीनसंग खुलेर कुरा गरेपछि आम नेपालीमा रेलमार्गबारे चासो बढ्न थाल्यो । तर, चिनिया रेलको चर्चा भन्दा धेरै अघिदेखि नै नेपालमा रेल्वे सेवा संचालन भैसकेको थियो भने जयनगर–जनकपुर रेल सेवाको पुनर्निमाण समेत जारी थियो । अहिले, मेची महाकाली रेलमार्गका विभिन्न खण्डमा काम भैरहेको छ । जनकपुर जयनगर मार्गमा केही समयभित्रै रेल सेवा संचालन हुंदैछ भने केरुङ–काठमाडौं र रक्सौल काठमाडौंको संभाव्यता अध्ययन सकिन लागेका छन् । कुल मिलाएर बुझ्दा नेपालमा रेलको सकारात्मक चर्चा उत्तर–दक्षिण, पूर्वपश्चिम सबैतर जारी छ ।

रेल्वे विभाग नै गठन गरेर पूर्व पश्चिम रेलमार्गको सम्भाव्यता अध्ययन सुरु भएको पनि एकदशक पुग्न लागेको छ । तर, केरुङ–काठमाडौंको रेलमार्गको चर्चा जति अरुले पाउन सकेका छैनन् । चिनिया रेल भित्र्याउने बिकासको सपना देखाएर गत आम निर्वाचनमा कम्युनिष्ट गठबन्धनले निर्वाचनमा जनताबाट अत्याधिक बहुमत प्राप्त ग¥यो । एकल पार्टीको झण्डै दुई तिहाई बहुमतबाट पुनः केपी शर्मा ओलीको सरकार बनेपछि नेपालमा चिनिया रेलको चर्चा मात्र होइन सम्भाव्यता पनि दु्रत गतिमा भैरहेको छ । केरुङ–काठमाडौं रेलमार्गको चिनिया पक्षले डीपीआर तयार गरिसकेको छ । यसको अन्तिम रिपोर्ट यही अगष्टको अन्तिम सातासम्म तयार हुने रेल्वे विभागले जनाएको छ ।

चीनसंग नेपाल बढी नै लहसिएको विश्लेषण गर्दै भारतले पुनः नेपालसंग सम्बनध सुधारको रणनीति अख्तियार गरेपछि आफ्नो रेल चीनले भन्दा पहिला काठमाडौं पुर्याउने दाउमा भारत पनि मैदानमा उत्रिएको छ । भारतको दाउ कागजी होइन भने रक्सौलबाट काठमाडौंसम्म भारतीय रेल आउने पक्का छ । प्रधानमन्त्री केपी शर्मा ओलीको गत चैतमा भएको भारत भ्रमणको क्रममा रक्सौल काठमाडौं रेलमार्गबारे सहमति भएको छ भने त्यसलगत्तै भारतीय प्राविधिकहरुले पहिलो सम्भाव्यता अध्ययन गरेका छन् ।

यी मात्र होइन, नेपाल आफैले मेची महाकाली विद्युतीय रेलमार्गको काम समेत विभिन्न खण्ड बनाएर संचालन गरिरहेको छ । मेची महाकाली रेलमार्गको डीपीआर रेल बिभागमा आइसेको छ । सरकारले समेत मेचीमहाकाली रेलमार्गको निर्माण ५ देखि १० वर्षभित्र सम्पन्न गर्ने बताइरहेको छ । यसअन्तर्गत बर्दिबास–बुटवल र बुटवल–लुम्बिनीसम्मको डीपीआरको काम सम्पन्न गरिसकेको छ । पूर्वतर्फ बर्दिबास–इनरुवा र इनरुवा–काकडभिट्टा रेलमार्गको डिपिआर रिपोर्ट समेत बुझाइ सकिएको छ । पश्चिमतर्फ भने बुटवलदेखि बनबाससम्मको फाइनल डीपीआर रिपोर्ट समेत रेल विभागमा आउंदै छ ।

रेल विभागले मेची महाकाली रेलमार्ग ९ सय ४५ किलोमिटर योजना बनाएको छ । जसको लागि विभागले भौलोगिक अवस्था, निर्माण सामग्री, प्राविधिक जनशक्ति लगायतको खर्चको अनुमानित अनुमान एक किलोमिटर रेलमार्ग बनाउन ३५ देखि ४५ करोड रुपैया प्रारम्भिक अध्ययनले देखिएको छ ।

डीपीआर निर्माणको क्रममा धेरैतिर रेखांकन विवाद समेत भएको छ । विशेषगरी बुटवल क्षेत्रका बासिन्दाले मेची–महाकाली रेलमार्गको रेखांकनलाई लिएर सबैभन्दा बढी विरोध गरेका छन् । घनावस्तीको बीचबाट रेलमार्ग लैजान खोजिएको भन्दै उनीहरुले त्यसलाई अस्वीकार गर्ने चेतावनी समेत दिएका छन् ।

जयनगर–जनकपुरको बन्द रहेको रेलमार्ग पुनः सञ्चालनको तयारीमा छ । रेल विभागका अनुसार विक्रम संम्बत १९३७ मा तत्कालीन ईस्ट ईन्डीयाको पहलमा भएको जनकपुर जयनगर ३५ किलोमिटर रेलमार्ग २ महिनापछि सञ्चालन हुने गरी तयारी गरिएको छ । जयनगर–जनकपुर–बर्दिबास खण्ड ७० किलोमिटर रेलमार्ग निमाणको काम भइरहेको छ ।

नेपालमा रेलको चर्चा चुलिएसंगै रेल ल्याउने प्रतिस्पर्धामा छिमेकी चीन र भारत होमिएका छन् । दुई विशाल अर्थतन्त्र भएका छिमेकी मुलुकबीचको प्रतिस्पर्धालाई नेपालले सही ढंगले उपयोग गर्न सक्यो भने नेपालमा रेलको सपना विपनामा रुपान्तरण हुन सक्नेछन् ।

इतिहास
धेरै नेपालीले रेल चढ्न र हेर्नका लागि छिमेकी मुलुक भारत जाने गरेका थिए नेपालमा सन् २००१ सम्म बिजलापुरादेखि भारतको जयनगरसम्म रेल सञ्चालन थियो । त्यसपछि त्यो मार्ग जयनगर–जनकपुरमा खुम्चियो । अमलेखगन्जसम्म पनि रक्सौलबाट रेल आउंथ्यो । त्यस्तै झुम्का–धरान–बराह क्षेत्रमा पनि रेल गुड्थ्यो । तर अहिले जयनगर–जनकपुर बर्दिबास मार्ग भने मर्मत पछि संचालनको पर्खाइमा पुगेको छ । अमलेखगन्ज रक्सौल रेलसेवा त एकादेशको कथा भएको छ ।

नेपालमा रेल संचालन नभएको भने हैन । संचालन गर्ने बुद्धि सत्ता संचालकहरुको नहुंदा रेल सेवा भुत्ते भएको हो । नेपालमा रेलको इतिहास ९० वर्ष पुरानो हो । तर, रेललाई प्रमुख सवारी साधनको रुपमा सरकार संचालनहरुले नदेखेपछि हामी केवल फोटोको इतिहास हेरेर बस्न बाध्य बन्नुपरेको हो ।

राणा प्रधानमन्त्री चन्द्रशमशेरले विक्रम संवत १९८४ मा नेपाल गभर्नमेण्ट रेल्वे ( एनजीआर) का नामबाट रेलसेवा सञ्चालन गरेका थिए । बाराको अमलेखगञ्जदेखि भारत बिहारको रक्सौलसम्म जोडिएको करिब ४७ किलोमिटर लामो रेलमार्ग विक्रम संवत २०२२ मा बन्द भयो । २०१३ सालमा त्रिभुवन राजपथ निर्माण हुनुअघिसम्म अमलेखगञ्ज–रक्सौल रेलमार्ग नै भारत नेपाललाई जोड्ने यातायातको माध्यम बनेको थियो ।

त्रिभुवन राजपथको निर्माण सुरुसंगै रेलमार्गको बिस्तार र संरक्षणमा तत्कालिन सरकारले ध्यान दिन सकेन । फलस्वरूप वि.सं.२०२२ तिर अमलेखगञ्ज रक्सौल रेलमार्गलाई बन्द गरिएको थियो ।

पछिल्लोसमयमा २०६२ सालदेखि वीरगञ्जको सिर्सियास्थित सुख्खा बन्दरगाहसम्म सामान ढुवानी गर्न भारतको रक्सौलबाट छ किलोमिटर लामो रेलमार्ग सञ्चालन भइरहेको छ । जसले यात्रु नभई, वीरगन्ज सुख्खा बन्दरगाहसम्म कार्गो ढुवानी गर्ने काम गर्छ । यसबाहेक जयनगर जनकपुर रेलसेवा पनि धेरै पुरानो सेवा थियो । थोत्रा इन्जिन र मक्किएको पटरी र भत्किएको डिब्बा लामो समयसम्म धर्मराउंदै संचालनमा रहेपनि २०७१ सालमा बन्द भयो । अहिले यो सेवा पुनर्निमार्णको अन्तिम चरणमा पुगेको छ । जयनगर जनकपुर रेलसेवा आगामी दुई महिनाभित्र संचालन हुने जनकपुर जयनगर रेल्वे आयोजनाले जनाएको छ ।

ढिलैभए पनि र हतार हतारमा काम भए पनि जनकपुर जयनगर रेलसेवा विस्तार संचालनमा आउन लागेपछि जनकपुरबासी पुनः उत्साहित भएका छन् । तर, एकपटक थोत्रो रेलबाट आजित भैसकेका जनकपुरबासी रेल चढेर जयनगरसम्म नपुगेसम्म विश्वास गर्न नसक्ने पनि बताउंछन् ।

आजको अवस्थामा, नेपालको कुनै पनि स्थानमा यात्रुवहाक रेल गुड्दैन । । रेल सेवा यातायातको अनिवार्य साधन हो भन्ने तथ्यलाई सरकारले धेरै पछि मात्र बुझ्यो । राष्ट्र विकासको मूल आधार मानिने रेल सेवाको विकास, विस्तार तथा व्यवस्थापन गर्ने उद्देश्यसहित सरकारले २०६७ सालमा मात्र रेल विभाग स्थापना गर्यो । बिगतमा कछुवाको गतिका साथै निष्कृय जस्तो देखिएको रेल बिभाग अहिले भने भारत र चीनले रेलमार्गको लागि सहयोगको प्रतिवद्धताबाट हौसिएको छ ।

र अन्त्यमा
छिमेकी मित्रराष्ट्र चीनले सन् १९५० को दशकमा आफ्नै रेल्वे इन्जिन बनाएपछि कैयौं वर्षसम्म संचालन गर्यो । अहिले सिचुवान प्रान्तको छेन्दुमा त्यो पहिलो रेल्वे इन्जिनलाई मुख्य पर्यटकीय गन्तव्यस्थल बनाइएको छ । हामीले अमलेखगन्ज रक्सौल रेल्वेलाईनलाई विनाश गर्यौं । चिनियाहरु सुपरसोनिक रेलको परिकल्पना साकार पार्दैछन्, हामी भने अझै पनि छुकछुके रेलको प्रतिक्षामा छौं । रेल सेवा राष्ट्रका लागि अपरिहार्य यातायात सेवा हो भन्ने तथ्यलाई राज्य संचालनको बागडोर सम्हाल्नेहरुले बुझ्न नसक्दा त्यसको सोझो प्रभाव हामी जनताले पाएका छौं । आशा गरौं रेलको आशा पुनर्जागित गरेको वर्तमान सरकारले यसलाई साकार बनाउने छ । फेरि एकपटक आशावादी भएरै धैर्य गरौं । अरु त के नै पो गर्न सक्छौ र हामी ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

नयाँ मध्यपूर्वका लागि इरानी दृष्टिकोण

संस्थागत बन्धक : व्यक्तिकेन्द्रित निरंकुशताको खतरा

चीनको एआई रणनीति अमेरिकाको भन्दा फरक

मन्त्री फेरबदलको बहस : नयाँ राजनीतिको परीक्षा कि पुरानै संस्कारको पुनरावृत्ति?

आर्कटिकमा खतरनाक खेल

एल्गोरिदमको लतबाट मुक्ति पाउने मेरो ‘लो-फाई’ उपाय

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu