ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राउटे समुदायको फेरिँदो जीवनशैली


एबीसी न्यूज
३० श्रावण २०७५, बुधबार   ३ : ३२   बजे

दैलेख, ३० साउन । गत बिहीबार मध्याह्न १२ बजे एक टोली राउटे बस्तीमा पुग्यो । जिल्लाबाट गएको टोली समुदायमा पुग्दा नपुग्दै समुदायका मुखिया सूर्यनारायण शाहीले भनिहाले “गाउँपालिकाको अध्यक्ष मेरो मीत हुन्, उनीसँग कुरा गर्नुछ, फोन लगाइदिनुस् ।”

टोलीसँंगै गएका अधिकारकर्मी हीरासिंह थापाले हतार हतार गाउँपालिका अध्यक्षलाई फोन डायल गरे । खाली खुट्टा पिँठ्युमा गादो र शिरमा फेटामा सजिएका मुखिया शाही गुराँस गाउँपालिकाका अध्यक्षसँगै फोनमा गफिए । उनले भने, “अध्यक्ष (मीत) ज्यू, हाम्रो भत्ता कहिले आउँछ ?” गाउँपालिकाका अध्यक्षले फोनबाटै अबको केही दिनभित्रै भत्ता लिएर आउने जानकारी दिए ।

मुखिया सूर्यनारायणले फेरि भने,“ केही दिन अगाडि हामी बसेको ठाउँमा पाँच छ जना नचिनेको मान्छे आएका थिए, हामीलाई ठगेर गए, त्यो कुरा हामीलाई मन परेको छैन, अबदेखि यसरी बाहिरका मान्छेहरुलाई हामीहरुको बस्तीमा आउन नदिनुहोला ।” उनको जवाफमा गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले अबदेखि बाहिरका मान्छेलाई विनास्वीकृति आउन नदिने बताए ।

केही समय अगाडि समुदायमा फोनमा कुरा गर्नु राम्रो मानिँदैनथ्यो तर पछिल्लो समय समुदायमा पुग्ने अधिकारकर्मीमार्फत गाउँपालिकाका अध्यक्ष, प्रदेशस्तरका मन्त्रीदेखि प्रधानमन्त्रीसंँग फोनमा कुरा गराइदिन आग्रह गर्ने गरेका छन् ।

राउटे जाति जिल्लाको गुराँस गाउँपालिका ८ अन्तर्गत गर्चामा रहेको पातलेखोला किनारमा बसोबास गर्दै आएको छ । आफूलाई वनको राजा भन्न रुचाउने कर्णाली प्रदेशका जंगलमा भ्रमणशील जीवनयापन गर्दै आइरहेको राउटे समुदाय नेपालको नागरिकता नलिए पनि नेपाली नागरिक  भनेर गौरव गर्छ ।

फिरन्ते जाति राउटे समुदायको उत्थानका लागि सरकारले हदैसम्म प्रयास गरिरहेको छ । उनीहरुलाई एकै ठाउँमा बस्न सरकारले आग्रह गरिरहे पनि एकै ठाउँ बस्न अस्वीकार गर्दैआएका छन् । राउटे समुदायका प्रत्येक व्यक्तिलाई सरकारले मासिक भत्ताको व्यवस्था गरेको छ ।

समुदायको महाशत्रु हुन्– स्थायी बसोबास, लेखपढ र खेतीपाती । आफ्नो परम्परामा कडा देखिए तापनि आधुनिकतासँगै राउटे समुदायमा परिवर्तनको संकेत देखिएको छ । अहिले उनीहरु कल्याल, रास्कोटी र राजवंशी ठकुरी छन् ।

राउटे समुदायका व्यक्तिलाई नागरिक बनाउन गुराँस गाउँपालिकाले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको परिपत्रअनुसार गत असार ३० गते स्थायी ठेगाना भएको परिचयपत्र प्रदान गरिसकेको छ । विसं २०६८को राष्ट्रिय जनगणनानुसार पश्चिम नेपालमा ४६० राउटे जातिका मानिस छन् ।

लोपोन्मुख राउटे जातिको दैनिक व्यवहार, रहनसहन र कला संस्कृति परिवर्तन हुँदै गइरहेको छ । राउटे पहिलेको तुलनामा रुपियाँ, पैसा र आधुनिक सामग्रीमा बढी प्रभावित हुन थालेको छ ।

विगतमा पशुपालन गर्दा राम्रो नहुने भन्दै तिरस्कार गर्ने राउटे समुदायका व्यक्तिले वनजङ्गल विनाश र मुख्य आहार गुना र बाँदर पाइन छाडेपछि पछिल्लो समयमा चाडबाड नजिँकिदै गर्दा बाख्रा र कुखुरा पाल्ने गरेका छन् । “हाम्रो मुख्य शिकार बाँदर र गुना जंगलमा पाइनै छाडे, चाडपर्वमा मासु खानुपर्छ, त्यसैले बाख्रा र कुखुरा किनेर पाल्ने गर्छौँ”, राउटे पूर्वमुखिया मानबहादुर शाहीले भने ।

राउटे जाति पहिले नयाँ व्यक्ति देख्दा डराउने र बोल्न नचाहने, तस्वीर खिँच्न नदिने, महिलालाई सँगै नहिंँडाउने र मुखियाले भनेका सबै कुरा पालना गर्ने गर्थे तर पछिल्लो समय धेरै परिवर्तन भएको छ । उनीहरु अहिले खुलेरै आफ्ना समस्या राख्ने गर्छन्, महिला प्रतिनिधिलाई सँगै हिँडाउँछन् । युवा पुस्ता पनि आधुनिक संस्कृतिबाट प्रभावित हुन थालेको छ ।

उनीहरु आफ्नो दैनिक जीवनलाई आधुनिक संस्कृतिअनुसार परिवर्तन गरिरहेका छन् । स्थायी रुपमा बस्न नचाहने, वनजङ्गलमा घुमन्ते जीवन बिताउँदै आफ्नै संसारमा रमाउन चाहने राउटे जाति पछिल्लो समयमा आधुनिकतातर्फ मोडिएको छ । राउटेको प्रमुख बासस्थान प्रदेश नं ५,७ र कर्णाली प्रदेशका जिल्ला हुन् ।

औषधोपचारमा विश्वास 

बिरामी भएमा, चोटपटक लागेमा वा शरीरमा घाउ भएमा जडिबुटीको प्रयोग गर्ने राउटे अहिले स्वास्थ्यकर्मीबाट उपचार गर्न थालेका छन् । राउटेहरु चोट लागे खोटो टाँस्ने गर्थे, टाउको दुखे झारपात खान्थे, घस्नुपर्दा खरानी घस्थे ।

झारफुक पनि त्यत्तिकै गर्थे । बिरामी परेमा स्वास्थ्योपचारभन्दा पनि उनीहरु थामी, झाँक्री बसालेर ग्रह काट्ने, भूतको भाग फाल्ने गर्छन् । समुदाय स्वास्थ्य संस्थासम्म नपुगे पनि अहिले औषधोपचारमा विश्वास गर्न थालेको राउटे समुदायमा खटिएका स्वास्थ्यकर्मी (अहेव) विनोदकुमार बिसीले बताए । उनीहरुले सानातिना घाउ–चोटपटक लाग्दा पनि औषधोपचार गर्ने र मल्हमपट्टी लगाउने गरेको बिसीले बताए ।

राउटे जाति अहिले खुट्टाको सुरक्षाका लागि जुत्ताचप्पल लगाउन थालेको छ । आफैँले स्थानीयस्तरमा उत्पादन गर्ने कपडाको मात्रै प्रयोग गर्ने उनीहरु आजभोलि बजारमा पाइने आधुनिक कपडाको प्रयोगतर्फ आकर्षित हुन थालेका छन् । राउटे युवा प्रकाश शाहीले भने, “हामीले कोट पनि राखेका छौँ, अब विस्तारै कोट पनि लगाउँछौ ।”

राउटे युवतीहरुले पनि पछिल्लो समय चुरापोतेलगायत शृङ्गार सामग्री प्रयोग गर्न थालेको राउटे समुदायमा पुगेकी दैलेखकी नेत्री सीता रानाले बताइन् ।

राउटे जातिले अहिले सरसफाइमा ध्यान दिन थालेको छ । उनीहरु पछिल्लो समय साबुनको प्रयोग गरेर नुहाउने, दाह्रीजुँगा काट्ने र आफू बसेका स्थानमा बनाइएका छाप्रो वरिपरि सरसफाइ गर्छन् ।
राउटे परियोजना

एइआइएन लक्जम्बर्गको आर्थिक सहयोगमा गुराँस गाउँपालिका र सोसेक दैलेखमार्फत राउटे परियोजना सञ्चालन भएको छ । परियोजनाले सन् २०२०(विसं २०७७तिर) सम्म रु एक करोड २७ लाख लगानी गर्न लागेको सोसेक दैलेखका संस्थापक अध्यक्ष हीरासिंह थापाले जानकारी दिए ।

उनीहरुलाई नियमित निगरानी गर्न तथा स्वास्थ्य शिक्षा दिलाउन चालू आर्थिक वर्षदेखि शुरु गरिएको गुराँस गाउँपालिकाका अध्यक्ष ओलीले बताए । परियोजनाका तीन कर्मचारीमध्ये एक अहेवले राउटेको स्वास्थ्य क्षेत्र तथा अन्य दुईले आनीबानीमा परिवर्तन, पोषण, बाल संरक्षण र शिक्षाका लागि अनौपचारिक कक्षा सञ्चालन गरेका छन् ।

राति प्रोजेक्टरका माध्ययमबाट समुदायका बालबालिकालाई सन्देशमूलक भिडियो देखाउने तथा पढ्न सिकाउने पनि गरिएको छ ।
गुराँस– ८, गर्चास्थित पातलेखोला किनारमा बसोबास गर्दै आएको राउटे समुदायले निर्माण गर्ने काठका सामग्री सङ्कलन र बिक्री कक्ष स्थापना गरिएको छ ।

जङ्गलमा पाइने कुकाठबाट बनाइएका कोसी, मधुश, आरी र खाटजस्ता सामग्री बिक्री गर्ने राउटे आफूले बनाएका सामग्री विभिन्न गाउँ तथा बजारमा पुगेर अन्नसँग साट्छन् । निकै मेहनत गरी निर्माण गरिएका सामग्री बोकेर गाउँ गाउँ डुल्नुपर्ने बाध्यता भने अब हटेको छ ।

तिनको काठका सामग्री बिक्रीमा सहजता ल्याउन गाउँपालिका– ८, धरमपोखरा बजारमा बिक्री कक्ष निर्माण गरिएको अध्यक्ष ओलीले जानकारी दिए । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेत र काठमाडौँमा समेत सङ्कलन र बिक्री कक्ष बनाउने योजना अघि सारिएको अध्यक्ष ओलीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राप्रपामा कारबाहीको पत्रले थपियो विवाद : ‘चार सांसद पदमुक्त’ प्रकरणमा प्रदेश अध्यक्षकै आपत्ति

 बसपार्क बनाउने कि नागरिकलाई बेघर बनाउने?

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu