चितवन, २० असोज । सङ्कटापन्न अवस्थामा रहेको घडियाल गोहीको संरक्षणमा माछा मार्ने जाल पनि ठूलो तगारो बनेको छ । वर्षेनी जाल मुखमा बेरिएर कैयौँ घडियाल मरेका छन् भने कतिपय गोही लामो समय जालमा बेरिएर बाच्न विवश छन् ।
गत जेठमा मुखमा जाल बेरिएको एउटा गोहीको बुधबार मात्रै जालमुक्त गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काको टोलीले राप्ती नदीको कसरा नजिकैबाट गोहीलाई जालमुक्त गरेको हो ।
गत आर्थिक वर्षमा यस्ता आठ गोहीलाई राप्ती र नारायणी नदीमा जालमुक्त गरिएको थियो । विसं २०७४ को जेठमा नवलपरासीको अमलटारी नजिकै नारायणी नदीमा मुखमा जाल बेरिएर एउटा बयस्क भाले घडियाल मरेको थियो । न्यून सङ्ख्यामा रहेका भाले मरेपछि निकुञ्जले अन्यत्रबाट भाले गोही खोजेर ल्याउनुपरेको थियो ।
जाल बेरिएर जानकारी नआएका कति छन् थाहा नभएको उहाँले बताउनुभयो । १७ वर्षदेखि गोही संरक्षणमा लाग्दै आउनुभएका खड्काका अनुसार माछा मार्नेहरूले साना गोहीसमेत मारेर खाने गर्दछन् ।
ठूला गोही तान्न नसक्ने हुँदा मुखमा जाल बेरिएर भाग्ने गर्दछ । त्यो जालमुक्त गर्न निकै कठिन हुने उहाँले बताउनुभयो । गत जेठमा सौराहामा राप्ती नदीमा जाल बेरिएको अवस्थामा भेटिएको गोही पाँच महीनाको प्रयासपछि बुधबार कसरा नजिकै पुगेर जालमुक्त गर्न सम्भव भएको खड्काले बताउनुभयो ।
खड्काका अनुसार गएको फागुनमा राप्तीमा छोडेको गोही हालै मात्रै बिहारको नहरमा मृत भेटिएको छ । नेपालमा नदीमा जाल अड्किएर छट्पटिँदै त्यहाँ पुगेको अनुमान खड्काको छ ।
जालसँगै गोहीले फूल पार्ने, बच्चा कोरल्ने र घाम ताप्ने ठाउँको गिटी, ढुङ्गा, बालुवाको उत्खनन् र प्रदुषण थप चुनौती बन्दै गएको छ । मुख्य रूपमा गोही रहेका राप्ती र नारायणी नदी तटीय क्षेत्रमा मानव बस्ती बाक्लो हुँदै जाँदा त्यहाँको फोहर यिनै नदीमा जाने गर्दछ । जसको प्रत्यक्ष मारमा गोही परेको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्याल बताउनुहुन्छ ।
राप्ती र नारायणी नदीमा हाल १६५ गोही मात्रै रहेका छन् । ती दुई नदीमा हालसम्म प्रजनन् केन्द्रमा हुर्काएर एक हजारभन्दा बढी गोही छाडिसकिएको छ ।
प्रतिक्रिया दिनुहोस्