रौतहट, २५ असोज । डिभिजन वन कार्यालय रौतहटले वैज्ञानिक वन ब्यवस्थापनको नाममा ठुला–ठुला रुख काट्ने गरेको छ । जिल्लाको उत्तर पश्चिममा रहेको फतुवा विजयपुर नगरपालिकाको एक मात्र सामुदायिक वन र सहजनाथ वन परियोजनाको वन अहिले उखु बारीमा परिणत भएको छ ।
रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिका–११ मा रहेको विपी पुष्पलाल सामुदायिक वनको ६ सय ५० हेक्टर वन अहिले २ सय हेक्टरमा मात्र सीमित भएको छ । सहजनाथ वन परियोजनाको ९ सय ४८ हेक्टर मध्ये अधिकांश क्षेत्र फडानी गरेर केही सिमित ब्यक्तिले उखु खेती गरेका छन् । रौतहट र बारा जिल्लाको एक दर्जन भन्दा बढी गाउँका उपभोक्ताले प्रत्येक्ष रुपमा लाभ लिइरहेका सामुदायिक वन फडानी गरेर स्थानियले अहिले विभिन्न किसिमका नगदे बाली लगाएका छन् । तत्कालिन माओवादी जनयुद्धका बेला जंगल फडानी गरेर बस्ती बसेको र खेती गर्न थाएिको थियो । विगतमा वन उपभोक्ता समितिमा पदकै लागि मरिहत्य गर्ने देखिएको भए पनि अहिलेको उपभोक्ता समितिले वन फँडानी नियन्त्रण गर्न सक्रियता देखाएको भनाइ छ ।
पूर्वमा लाल बकैया खोला, पश्चिम तथा उत्तरमा अडुवा खोला सिमाना भएको ६ सय ५० हेक्टरको क्षेत्रफल ओगटेको विपी पुष्पलाल सामुदायिक वन उपभोक्ता समिति हाल आएर २ सय हेक्टर क्षेत्रमा मात्र सीमित भएको र २ सय ५० हेक्टरमा स्थानियले उखु, तोरी, सुर्ती, मकै लगाएतका खेती गर्ने गरेको सामुदायिक वन उपभोक्ता महासंघ नगर अध्यक्ष उमाकान्त दाहाल बताउँछन् ।
द्वन्द्वकालमा सामुदायिक वन अतिक्रमण गरेर सुकुम्बासीहरुलाई बसाइएको भए पनि सुकुम्बासीहरुले आफ्नो जग्गा अरुस“ग बेच्दै फडानी गर्दै गरेकोले यो वन मासिएको स्थानीय शम्भु भेटवालको भनाइ छ ।
सामुदायिक वन फँडानीबाट यहाँका ३ प्रतिशत व्यक्तिहरुले आफ्नो निजी स्वार्थका लागि फडानी गरेको स्थानीयको भनाइ छ । तर त्यसको असर यहाका ९७ प्रतिशत उपभोक्तामा पर्न गएको विपी पुष्पलाल सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष राधाकृष्ण मैनालीले बताए । उनले द्वन्द्वको बेलादेखि अहिलेसम्म राजनीतिक संरक्षण कारण वन फँडानी भइरहेको बताए ।
सामुदायिक वन फडानी गरी आफ्नो स्वर्थपूर्ति गर्नु राम्रो कुरा होइन । सामुदायिक वनमा भएको क्षतिलाई नियन्त्रण गर्न सम्बन्धित निकायले वेलैमा ध्यान दिनु जरुरी देखिन्छ । तसर्थ दोषीलाई कारबाही गर्दै जिल्ला वन कार्यालय रौतहटले वन संरक्षण गर्न तर्फ लाग्ने हो कि ?
प्रतिक्रिया दिनुहोस्