कञ्चनपुर, ३० असोज । मादलको तालसँगै कम्मर मर्काएर थारु युवतीहरुले दशैंका बेला नाच्ने सखिया नृत्य सामाजिक सद्भाव र धार्मिक भावनाबाट ओतप्रोत छ ।
सामूहिक रुपमा सबैका घरघर गएर नाचिने भएकाले यस नृत्यले समाजमा सद्भाव फैलाउन मद्दत पु¥याएको छ ।
धार्मिक अनुष्ठान र तान्त्रिक विधिबाट मात्रै यो नृत्यको आरम्भ र अन्त्य गर्ने गरिन्छ । यस नृत्यमा कञ्चनपुरका थारु समुदायको अटूट आस्था र धार्मिक विश्वास रहेको पाइन्छ ।
थारु समुदायले कृष्ण जन्माष्टमीको दिनदेखि सखिया नृत्यको शुरुआत गरेर दशैंसम्म निरन्तरता दिने गर्दछन् । तर, आजभोलि गाउँअनुसार अनुकूलता र प्रतिकूलतालाई ध्यानमा राखी सखिया नृत्यको आयोजना गर्ने गरिएको पाइन्छ ।
पहिला कम्तीमा एक महिनासम्म यस नृत्यको आयोजना गरिँदै आइएकामा खर्च बढी लाग्ने र बढी समय खेल्दा नाच्ने युवतीहरुलाई पट्यार लाग्ने भएपछि हाल छोट्याएर दशदेखि पन्ध्र दिनसम्म मात्रै नाच्ने गरिँदै आइएको थारु अगुवाहरु बताउँछन् ।
थारु गाउँका भलादमी, बडघर, गुरुवा, केसौका आदिको बैठक बसी सखिया नृत्यको आयोजनाबारे छलफल गरेपछि नृत्यको व्यवस्थापनको चाँजोपाँजो मिलाइने गरिन्छ ।
गुरुवा (झाँक्री) ले तान्त्रिक विधिद्वारा नृत्यमा सहभागिता जनाउने युवकयुवतीलाई दुष्टात्माको भवितव्यवाट बचाउन पूजा र अनुष्ठान गरेपछि यस नाचको प्रारम्भ गर्ने चलन रहेको शुक्लाफाँटा नगरपालिका ३ जोनापुर गाउँका थारु अगुवा मनिराम चौधरीले बताउनुभयो ।
सखिया नृत्यमा भगवान् कृष्णको जन्मलीलादेखि मृत्युसम्मको वर्णन गरिएको हुन्छ । नृत्यमा चारजना मादल बजाउने मदारीको व्यवस्था गरिएको हुन्छ । नृृृत्यको बीच बीचमा गीतलाई फरक फरक भाका हालेर गाउने गरिन्छ । मादल बजाउने कार्यको अगुवाइ गर्ने व्यक्तिलाई अगुवा मदारी भन्ने गरिन्छ । अगुवा मदारीको तालमा ताल मिलाउँदै मादल बजाउनेलाई पछुवा मदारी भनिने बडघर चौधरीले बताउनुभयो ।
नृत्यमा गीत गाउने महिलाहरुको अगुवाइ गर्नेलाई “मोह्रिन्या” भन्ने गरिन्छ । मोह्रिन्याको सिको गर्दै नाच्ने युवतीहरुलाई जेठ गोहीया र पछगोहीया भन्ने गरिन्छ । नृत्यमा मादलको तालसँगै विभिन्न मुद्रामा युवतीहरु नृत्य पस्कने गर्दछन् जसलाई थारु भाषामा खोट (पैंया) भनिन्छ ।
थारु राजनीतिकर्मी दानसिंह दहितले भन्नुभयो – “पैंया २२ प्रकारको हुने भए पनि हाल मदारीहरुले आफैं सिर्जना गरेर पैंयाको तरीकामा परिर्वतन ल्याएकाले यो बढी पनि हुन सक्छ ।”
यस नृत्यमा मादलको ताल र गीतसँगै नृत्य गर्ने युवतीहरु खुट्टाको पैतलासँगै शरीरलाई मोडेर विभिन्न मुद्रामा प्रस्तुत हुन्छन् । यो नृत्य हेर्न थारु गाउँहरुमा निकै भीड लाग्ने गरेको छ । सप्तमीको दिनसम्म रात्रि समयमा निश्चित स्थानमा गरिने यो नृत्य अष्टमीको रातभर आयोजना गरिन्छ ।
अष्टमीको रात आयोजना गरिने नृत्यलाई भेडुवा जगैना भन्ने गरिन्छ । थारु संस्कृतिका जानकार परदेशी चौधरीले भन्नुभयो – “यस दिन थारु समुदायले कुभिण्डोको भेंडा बनाई बलि दिने चलनसमेत रहेको छ ।”
पञ्चमीको दिन अघि सादा पोशाकमा यस नृत्यलाई पस्किन भए पनि पञ्चमीका दिनदेखि मादल बजाउने मदारीहरुले सेतो धोती र कमिज लगाउने गर्दछन् भने नृत्य गर्ने युवतीहरुले रङ्गिबिरङ्गी ऐना जडान गरिएका लेहंगा, चोल्या, अंगिया, सेतो फरिया र गोन्या लगाउने गर्दछन् ।
हातमा मैजरी लिएर मादलको तालसँगै महिलाहरुले बजाउने समेत गर्दछन् । अष्टमीको दिन पछि राति नाचिइँदै आइएको सखिया नृत्यलाई दिउँसो नाच्ने गरिन्छ ।
दिउँसो नाचिने सखिया नृत्यमा थारु युवतीहरुले कृष्णको लीलालाई यसरी आफ्नै भाषामा बखान गरी गीतमार्फत व्यक्त गर्ने गर्दछन् ।
बचपनसे कान्हा गुल्ली डण्डा (खेलनै रे हाँ)
ओइसे तरपे जीया मोर हाई रे सँवारिया रे हाँ ।
तिरछी बईठी कान्हा (बसिया बजाबै रे हाँ)
ओइसे तरपे जीया मोरे साँबरिया रे हाँ ।
छतिया चिहुरी चिहुरी कान्हा (मामा मरनै रे हाँ)
कन्सा मुवल भैनक हात हाई रे साँबरिया ।
गीतमा कृष्णको जन्मदेखि राधिकासँग रासलीला गरेको र कंस वध गरिएको प्रसंग उल्लेख गरिएको पाइन्छ । यस नाचलाई दशैंका दिन धनी, गरीब, गाउँका मान्यजन सबैका घरघरमा गएर देखाइने भएकाले विगतका रिसराग बिर्सेर सबैले हेर्ने गर्दछन् । बडघरसँग टीका थाप्न जाँदासमेत सखियालगायतका परम्परागत नृत्य लगेर देखाउने चलन यस समुदायमा रहेको छ ।
दशैंपछि गाउँमा नृत्यमा सहभागी सबैजनालाई सहभागी गराई भोज खाने चलन समुदायमा विद्यमान रहेको फुलराम चौधरीले बताउनुभयो । यसलाई थारु भाषामा ‘ख्यारा’ खाने भन्ने गरिन्छ ।
यो नृत्य सामूहिक रुपमा प्रस्तुत गरिने भएकाले यसले समाजमा सामूहिक भावनाको विकास गराउने र गाउँका बासिन्दाबीचको मनमुटाव र झगडालाई हटाई मेलमिलाप गराउने पिपलाडीका वडघर नरेन्द्र चौधरीले बताउनुभयो । धार्मिक मान्यता अनुरुप यो नृत्यको आयोजना गरेमा गाउँमा अन्नबाली बढी फल्ने, रोगव्याधि हट्ने र वर्षभरीका लागि अन्न खान पुग्ने विश्वास थारु समुदायमा रहेको छ । यसलाई अर्को शव्दमा थारु समुदायले धर्ती जाग्ना भन्ने गर्दछन् ।
सखिया नृत्यको आयोजनाले धर्ती जागेर प्रशस्त अन्न फल्ने विश्वास यस समुदायमा रहेको छ । विदेशी पर्यटकहरुलाई समेत यस नृत्यले गाउँसम्म तानेर तस्वीर खिच्न बाध्य पारेको छ ।
थारु समुदायका धार्मिक आस्था बोकेका गीत र नृत्यप्रति युवा वर्गले चासो देखाउन थालेपछि थारु संस्कृतिको संरक्षणमा टेवा पुगेको थारु सामाजिक कार्यकर्ता रेवन चौधरी बताउनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्