दैलेख, ५ कात्तिक । नारायण नगपालिका– ६, भूर्तीका गोपाल खत्री ६ युवाको समूह निर्माण गरेर चार खम्बा बाँसको खोजीमा हिँडे, नवमीको राति उनीसँगै काँडाचौरमा जम्मा भएका युवा र वृद्ध मिलेर बाबियोको पिङ बाट्ने काम सकियो, राति नै बाँस गाडेर लिङ्चे पिङ बनाए ।
देशविदेश रहेका घरमा आउने घरको सबैभन्दा जेठो व्यक्तिबाट टीका लगाएपछि एक पटक धर्ती छाड्नुपर्ने मान्यतासँगै लिङ्चे पिङको ऐतिहासिक मान्यता गाउँघरमा अहिले पनि कायमै छ ।
गाउँ र टोलमा लामो समयदेखि चल्दै आएको लिङ्चे पिङ हाल्ने र खेल्ने परम्परालाई यस वर्ष बडादशैँमा पनि निरन्तरता दिइएको छ । विशेष गरेर काठमाडाँैं पढ्न गएका विद्यार्थी, जागीरको सिलसिलामा बाहिर गएका युवा र विदेश गएका युवा आआफ्नो टोल र गाउँमा जम्मा भएर वनमा पाइने बाबियो काट्ने, बाँसका चार खम्बा ल्याउने र बूढापाकाबाट बाबियो बाट्न सिकेर पिङ बाट्ने काममा सक्रिय भएको महाबु गाउँपालिकाका राजेश हमालले बताउनुभयो ।
साथीभाइसँग जमघट हुने र रमाइलो हुने भएकाले पनि पिङको छुट्टै महत्व गाउँघरमा रहेको हमाल बताउनुहुन्छ । नवमीको रात गाउँका बूढापाका र युवा जम्मा हुने गर्छन्, बूढापाकाले पिङ बाट्छन् । सोही कुरा युवाले अनुसरण गर्छन् । सबै स्थानमा पिङको लागि आवश्यक पर्ने बाबियो र खम्बाका लागि आवश्यक पर्ने बाँस सजिलै पाइने भएकाले पनि गाउँ र टोलमा लिङ्चे पिङ देख्न सकिन्छ ।
सदरमुकामका पाँच स्थानमा पिङ निर्माण गरिएको छ । हरेक गाउँपालिकाका केन्द्र र युवाको जमघट हुने गाउँ मात्र हैन निकै पुराना वर र पीपलका रुखका हाँगामा समेत पिङ हाल्ने प्रचलनसयौंँ वर्षदेखि चल्दै आएको महाबु गाउँपालिका ६० वर्षीय लालबहादुर शाहीले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्