दुनियालाई नै चकित बनाउने गरी तपाईंहरूले गरेको वाम एकताको मन भित्रबाटै सलुट नगर्ने अाज सायद कमै होलान । यो एकतामा कसको भुमिका कति रह्याे र यसका मुख्य सारथीहरू को थिए ? इमान्दार भएर खोज्यो भने इतिहासले पक्कै पनि नामलिन कन्जुस्याईं गर्ने छैन । कतिपय सतहमा देखिने कुरा भन्दा त्यसको गहिराई निकै फरक हुनेगर्छ । मानिसहरूले कल्पना नै गर्न नसकेको छाललाई कहिलेकाहीँ गहिराइले आफ्नो पोल्टामा राखेको हुन्छ र त्यस्ता तमाम किस्साहरू समय र त्यसको सार्थकतासँगै खोलिँदै जान्छन् ।
यो समय सन्दर्भ आवश्यकता र परिस्थितिले नै तय गर्ने कुरा हो । यहाँ कुरा सिंगो वाम एकताको हो, टुक्रा टुक्रमा विभाजित कम्युनिष्टहरूको एकताको हो । साँच्चै भन्नुपर्दा यो विषयमा तपाईंहरूले गरेको यो काम इतिहासकै महवपुर्ण मात्र हैन विश्व कम्युनिष्ट आन्दोलनको लागि पनि ठूलो शिक्षा हो । फुटाउ र राज गर भन्नेहरूको योजनालाई यसपटक तपाईंहरूले जुटेर देश बनाउ भन्ने अभियानमा ल्याएर जुन उडान भर्ने कोशिस गर्नुभएको छ । आगामी दिनमा यसका च्यालेन्ज र चुनौतीहरू निकै ब्यापक भएपनि तत्काल देश र चुनावी अभियानमा जनतासँग गरेका बाचाहरू मध्य यौटा बाचा पुरा गरेर त्यसलाई सफलतामा पुर्याउने कोशिसको यौटा चरण पुरा भएको छ र यो सम्पन्न हुन बाँकी नै छ ।
किनकी माथि तपाईंहरूले यौटै यानमा उडान भर्न गरेको प्रयासमा पहाड फोरेर समथर बनाउने अभियानको थालनी अब गर्दैहुनुहुन्छ । आशा गरौ छिटफुट समस्या आए पनि ती पाहाडहरू समथर बन्नेछन् र यान उडाउन सक्षम पनि बन्नेछन ।
तर अवका दिनमा तपाईंहरूले तय गर्ने वाचाहरू, तपाईंहरूले निर्माण गर्ने नीतिनियम भन्दा पनि व्यवाहारिक रुपमै तपाईंहरूले गर्ने कामको निगरानी हुनेछ । यहाँ मुख्य पाइलट भन्दा पनि को पाइलटहरूको प्रशिक्षण कम भएर दुर्घटना हुने सम्भावना पनि बढी हुन्छ । तपाईंहरूलाई थाहा छ लामो उडान भरेर आएको जाहाज धावनमार्गमै दुर्घटनामा पनि परेको छ । अस्तिभर्खर बंगलादेशबाट सुरक्षित यात्रा गरेको जहान आएर मैदानमै दुर्घटना भयो । सन्दर्भ उडान र यानको भएकोले यो पनि यौटा उदाहरण बन्न सक्छ ।
तपाईंहरूको अगाडि हामीले बोल्नु भन्नु भनेको सानो मुख बढी बात पनि हुनसक्छ । तर कहिलेकाहीँ समय र परिवेशले यस्ता किस्साहरू खोल्नुपर्छ जस्ले पाठ सिकाउँदै अगाडि बढ्न सकियोस । छ महिना अगाडिसम्म यौटाले अर्कोको खिल्ली उडाउने प्रवृतिको अन्त गरेर सिंगो कम्युनिष्ट एकताको लागि तय गरेको यो गन्तब्य पक्कै पनि प्रशंसा गर्न लायक नै बन्यो । तर यान उडाउने पाइलटहरूले आफुलाई सक्षम भनिरहँदा कतिपय कुराहरूमा उनीहरू यहि समाज र सामाजिक संरचनाबाट आएका हुनाले अझै नढाँटी भन्नुपर्दा उनीहरूमा पनि पुर्ण सुझबुझको कमी भएको स्पष्ट देखिन्छ ।
कुरा मसिना मसिना हुन्छन्, तर अर्थ तिनै मसिना कुराले राख्ने गर्छ । जनताले तपाईंहरूको ठुला ठुला कुरा बुझ्न सक्दैनन सक्छन त प्रत्यक्ष आफुलाई सरोकार भएका कुरालाई बुझेर समर्थन तथा विरोध गर्न । तर जुन कुरा तपाईंहरूसँग जोडिएर पनि पुर्ण रुपमा तपाईं आफैभित्र सफा छैनन तिनलाई जनताले बुझ्दिन जरुरी पनि छैन । कामगर्ने मानिसले गल्ती गर्छ । मान्छेबाटै हो गल्ती हुने तर यौटै गल्ती पटक पटक दोहोराएर माफी माग्नु अबका दिनमा तपाईंहरूको नालायकी बाहेक केही हुनेछैन । तपाईंहरूका सिद्यान्त, तपाईंहरूका विचारमा भन्दा पनि जनताले अब तपाईंहरूका मसिना मसिना व्यवहार पनि वाच गर्नेछन । तर नढाँटी भन्नु पर्दा आज पनि तपाईंहरूले त्यसलाई सुधार गरेर अगाडि आउन सकेको देखिएको छैन ।
कुरा देश बनाउने छ कुरा समृद्धीको छ तर व्यवहार आज पनि नित्यान्त पारिवारिक बन्न पुग्यो भने यति धेरै गरेर पनि तपाईंहरूले केही गरेको हुनेछैन । त्यसैले सबभन्दा पहिला आफुले आफैलाई परिवर्तन गर्ने प्रयास गर्नुहोस । आफु वरिपरिको परिवेशलाई परिवर्तन गर्ने प्रयास गर्नुहोस । हो, तपाईंहरूले धेरै गर्नुभएको छ । देशको लागि तपाईंहरूले आजसम्म गरेको योगदानलाई कम आँक्न पक्कै पनि कसैले सक्दैन, तर खोला सफा हुनलाई मुहान सफा हुन जरुरी छ कमरेडहरू ।
सबभन्दा पहिलो कुरा सुशासनको हो, समृद्धिको हो । तर सुशासन र समृद्धिको लागि चालिने कदमहरू कस्ता हुन्छन् त्यसले ठुलो महत्व राख्छ । आजैका दिनमा पनि भन्ने हो भने धेरै पार्टीहरू छन् जस्ले देश बनाउने जनताको लागि काम गर्ने भनेर आएका छन । तपाईंहरू पनि त्यही भनेर नै यहाँसम्म आउनु भयो । तर जुन जोगी आए पनि कानै चिरेको उदाहरणलाई नेपाली जनताले अव बदल्न पाउनु पर्छ । त्यो तपाईंहरूले आफुलाई बदलेर देखाए पछि मात्र सम्भव छ ।
नीति, नेतृत्व भन्दा पनि माथि त्यसलाई कार्यान्वयन गर्ने पक्षको महत्व बढी छ । जब कार्यान्वयनमा उही तरिका अपनाइयो भने उडान उडेर हैन गुडेर ध्वस्त हुन पनि समय लाग्दैन । यौटा सानो उदाहरण भनौ । करिब आठ नौ बर्ष अगाडि मलाई यौटा कम्पनीले म्यानेजरको जागिर दियो । मेरो अन्डरमा पचास साठी जना कर्मचारी हुनुहुन्थ्यो । पुर्व माओवादी भर्खर शान्ति प्रक्रियामा आएको थियो । म अफिस जान्थें कुनै पनि स्टाफ आफ्नो ठाँउमा नहुने, समयमा अफिस पनि नआउने । मैले सोधेँ, किन तपाईंहरू यस्तो गर्नु हुन्छ रु कम्तिमा पनि जागिर खाना आए पछित अफिसलाई समय दिनु पर्यो नी ।
उहांहरूले भन्नुहुन्थ्यो हाम्रो मिटिगं हुन्छ बैठक हुन्छ हामीत माओवादीका मान्छे, सदस्य । तपाईंको सदस्यता छ रु उहाँहरूले मलाई उल्टै प्रश्न गर्नुहुन्थ्यो । के भन्ने के नभन्ने रु त्यो सुन्न र त्यहाँको बेथिती देख्न बाध्य थिएँ म । साँच्चै भन्दा काम नगरिकन शक्तिको भरमा तलब बढाउन बाध्य भएँ म आफै । २० महिना भएपछि मलाई आफैप्रति लाज लागेर आयो यस्तो संस्था, जहाँ कर्मचारीहरू शक्तिको आडमा अनेक बखेडा गर्छन, म बस्नु हुंदैन मलाई त्यहाँ बस्न मेरो नैतिकताले पनि दिएन । किनकी म पनि कम्युनिष्ट थिएँ । माओवादीको नाममा सरकारले पटक पटक बेपत्ता पारेको श्रीमानको श्रीमती थिएँ । तर त्यो संस्कार मैले विद्रोह गरेको संस्कार थियो मैले लिन नसक्ने संस्कार थियो । परिवर्तनको लागि कलम चलाएकै भरमा पटकपटक यातना भोगेका हाम्रा लागि यो संस्कार आफ्नो संस्कार थिएन र अन्ततः मैले जागिर नै छोड्ने निर्णय गरेँ ।
मैले यहाँ भन्न खोजेको के भने प्रवृति र पात्र तपाईंहरूकोमा आज पनि तिनै हुन । जस्लाई काम नगरिकन रातारात धनी हुनमन छ । रिस, डाहा र इष्र्यामा आजको समाज चुर्लुम्म डुबिसकेको छ । सत्ता र शक्तिको धाक देखाएर जनतालाई तर्साउने काममा आजको ठुलो उडान भित्रका प्रशिक्षार्थीहरूले साना मात्र कमजोरी गरे भने पनि उडान भर्न प्रयासरत तपाईंहरूको उडानले धावनमार्ग समाते पनि दुर्घटना हुन बेर लाग्दैन । त्यसैले सबभन्दा पहिले त आफु, आफु वरिपरिको वातावरण उडान भर्न लायक बनाउनुस ।
कहिलेकाहीँ हामीले सानो देखेको चट्टानमै ठोकिएर पनि हाम्रो यात्रा अवरुद्ध हुन सक्छ । तपाईंहरूले देखेका साना साना र केही हुन नसक्ने भनेर सुरक्षित मानेका पहाडहरूले नै तपाईंहरूको यानलाई दुर्घटनामा पुर्याउन सक्छन ।
आम नेपाली जनता केपी र प्रचण्डले साँच्चै जनताको लागि केही गर्छन भन्नेमा नै छन् । तपाईंहरूले पनि गर्न चाहानुभयो भने सक्नुहुन्छ । तर, वातावरण बनाउन नडराउनुस । सत्य एक्लै हुन सक्छ । साँचो कुराको गन्तव्य लामो हुन सक्छ । तर जीत सत्य र साँचोकै हुन्छ । हजार झुठलाई एक सत्यले चकनाचुर पार्न सक्छ ।
संसारभर कम्युनिष्टहरू पतनको बाटोमा गएको समयमा नेपालको कम्युनिष्ट आन्दोलको यो एकता संसारभरका कम्युनिष्टका लागि खुशीको कुरा पनि हो । त्यसैले यो खुशीलाई बनाइ राख्न केही कठिनाइको सामना गर्नुपर्ने हुन्छ । अरु जे होस, देश र जनताको हितको लागि काम गर्दा जस्तासुकै च्यालेन्ज र चुनौतीहरूको सामना गर्न पनि पछि नपर्नुस ।
समस्या आफ्नाहरूबाटै हुन सक्छ । अप्ठ्यारो सिर्जना गर्न आफ्ना बनेर नै आउन सक्छन तर समयमै त्यस्ता कुराहरूलाई बुझ्न सक्नुस । पैसाले मान्छे खरिद बिक्री गर्ने खेलको अन्त गर्न तपाईंहरू आफैबाट झुटा कुरा नगर्नुस । सर्वहाराको पार्टी भनेर नयाँ कमिज किनेर लुकाएर राख्ने र पुरानो कमिज लाएर हिँड्ने प्रवृतिको अन्त गर्नुस । कसैलाई पनि भोलेन्टिएर भनेर काम नगराउनुस । यस्ता नाटकहरूले गर्दा नै देश भ्रष्टचारमा चुर्लुम्म डुबेको छ । सुशासन र समृद्धिको लागि युवालाई काम गरेपछि दाम भनेर उत्पादनमुखी काममा लगाउनुस । मान्छे काटेर आउने र तपाईंहरूलाई पैसा दिए पछि त्यसलाई सजायबाट माफी दिने काम बिल्कुल नगर्नुस । नढाँटी भन्नुपर्दा तपाईंहरूलाई दाम बुझाए पछि अपराधीले पनि छुट पाउने गरेका छन ।
असक्षमहरू सक्षम हुने गरेका छन् । अबका दिनमा तपाईंहरूले यस्ता कुराहरूको अन्त आफैबाट गर्नुस । मान्छे कसैले पनि भोकै काम गर्न सक्दैन । त्यसकारण त्यसै सहयोग गरेको नभन्नुस किनकी आम जनताले थाहा पाइसकेका छन पैसा कमाउन कि राजनीति गर्नुपर्छ कि विजनेस गर्नुपर्छ भन्ने । त्यसैले जनताको सेवा गर्न लागेका हौं हामीले कहाँ पैसा खाएका छौँ र भन्ने नाटकको अन्त गर्नुस ।
आज भ्रष्ट समाजको उदय यस्तैखाले प्रवृतिबाट भएको छ ।
आम मानिसहरूले खान लाउन र बस्न पाउने व्यवस्था गर्नुस । खान लाउन र बस्नको लागि कसैले कसैलाई ठग्न ढाँट्न छल्न नपरोस त्यसको लागि रोजगारी सिर्जना गर्नुस । धेरै टाट पल्टेका मुलुकहरू पनि शासकहरूको सुझबुझको कारण समृद्ध बनेका छन् । तपाईंहरूले इमान्दार भएर एकपटक आफैलाई नियाल्नुस, अनि सोच्नुस के के गर्नु भयो रु के गर्न हुने थियो के गर्न नहुने थियो रु के सुधारगर्दा सिंगो देश लाभान्वित बन्न सक्छ, जनताले प्रत्यक्ष राहत प्राप्त गर्न सक्छन । साँच्चै सुझबुझले काम गर्नुभयो भने तपाईंहरूले निर्माण गरेको यो विशाल यानले सिंगो देशलाई सगरमाथा भन्दामाथि पुर्याउन सक्छ । हैन भने त कमरेडहरू, तपार्ईंहरूको यान धावनमार्ग मै दुर्घटनामा पनि पर्नसक्छ ।
प्रतिक्रिया दिनुहोस्