प्रधानमन्त्रीज्यू ! यो एक दुइ दिनमा सामाजिक संजालमा जे बहस र विवादहरु देखिए पक्कै पनि यि सुहाउँदा छैनन् । मलाई हरेक विषयले आफैंलाई छोएजस्तो लाग्छ । एबीसी टेलिभिजनमा मेरै श्रीमान्ले लिएको तपाईंको संघर्षको कथा हेर्दै जाँदा जब पार्टीले कार्वाही गरिसकेको अवस्थामा तपाईंलाई पुलिसले पक्राउ ग¥यो, त्यसपछि तपाईंलाई कस्तो फिल भयो होला मैले अनुमान गर्नै पर्दैनथ्यो । किनकि हामीले त्यो परिवेशको सामना कयौंपटक गरेका छौं ।
आफैंले प्रत्यक्ष अनुभूति गरेका छौं । हुनत निकै महानता प्रकट गर्नुभयो कुनै फिल भएन भनेर । आज तपाईंसँग आफ्नो परिवेशलाई जोडेर तपाईंको ठाउँमा हामीले आफूलाई उभ्याउनखोज्नु भनेको मूर्खता पनि हुनसक्छ । किनकि काम, कर्तव्य, अनुभव र अनुभुतिका लामा फेहरिस्त पल्टाउदै जाँदा हाम्रा डायरी भरिएलान् तर तपाईंका ठेली नै तयार हुन्छन् र पनि कतिपय भोगाइहरुले यौटै प्रकारका आयाम निर्माण गरेका हुन्छन् भने तिनलाई समावेश गर्नु अन्यथा पनि नहोला ।
जव पार्टीले कार्वाही गरेको समयमा तपाईं पक्राउ पर्नुभयो, तपाईंले कुनै फिल नै नभएको बताउँदै जाँदा मेरो मनले आफूजस्तै अर्को मनको विषयमा सोच्न थाल्यो । व्यवस्था बदल्न घर परिवार छोडेर पार्टी र संगठन भनेर लागेको मान्छे जब पक्राउ पर्छ, न त्यहाँ पार्टी छ, न संगठन छ, छ त बिचार बोकेको यौटा मानवीय आकृति । केही फरक परेन भनेर सोधेको प्रश्नको उत्तर तपाईंले टेलिभिजनको स्क्रीनमा दिंदै गर्दा जब तपाईंका अँंखा पढें, मेरा आँखा रसाएनन् मात्र आँशु नै बगे । खै किन हो संघर्ष र परिवर्तन भनेर हिंडेका ती दिनहरुको सम्झना पनि आयो । सबैभन्दा बढी पीडा त त्यतिबेलाको परिवश सम्झिंदा भयो जतिबेला कलमको माध्यमबाट संसार बदल्न सकिन्छ भनेर पाटी संगठन छोडेर कलम समाएका हामीहरुलाई मानिसहरुले आ–आफ्नो अनुकूलतामा कित्ताकाट गर्दै गए ।
कम्युनिष्टहरु एक हुनुपर्छ, जनताको अवस्था बदलिनु पर्छ भनेर लागेका हामीलाई अनेक सम्बन्धसँग जोडेर प्रहार गरिरहे । कसैले नुनको सोझो गरे, कसैले सुनको सोझो पनि गरे । सुनेकै भरमा विरोध गरे । त्यतिमात्र कहाँ हो र, हामीले लेखेका शब्द शब्दलाई लिएर अनेक ब्याख्या पनि गरियो । कतिले हामीसँग जोडेर हाम्रो विरोध गर्ने नाममा आफ्नै नेताहरुको धज्जी पनि उडाए । समयले हरेक कुराको फैसला अवश्य गर्छ । हिसाब किताब नगरीकन जोडिएका सम्बन्धहरुमा आफ्नैखालको फरकपन पक्कै हुनेरहेछ ।
त्यस हिसाबले हामी सफल पनि भयौं । पैसा हुनेहरु मात्र सफल कहाँ हुन्छन् र ? जस्ले समाज बुझ्ने हैसियत राख्न सक्छन्, ज्ञान, सीप, क्षमता र योग्यताका साथ अगाडि बढ्न सक्छन्, उनीहरु सफल पनि हुन्छन् । आफूले चढ्न थालेको चुचुरोमा पुगेर झण्डा फहराउन सक्नु त्यो यात्रा गर्ने यात्रीको सफलता हो । अरुको कुरा मात्र गर्ने र भट्टीमा बसेर मुखमा फिंज निकाली निकाली विरोध गर्दै आफ्नै आत्मरतिमा रमाउनेहरुको उपस्थिति छ शहरमा आज पनि । रोक्न कहाँ सकिन्छ र ?
प्रधानमन्त्रीज्यू ! शहरमा अनेक विविधता पक्कै पनि छ । मेरै टेलिभिजनमा समृद्धिको एकबर्षे बहसमा मन्त्रीहरुले विकासका कुरा गर्दैगर्दा शहरमा यौटा गीतले तहल्का नै पिट्यो । नढाँटीकन भन्नुपर्दा यो गीत मलाई पनि असाध्यै मनप¥यो । शब्दप्रयोग गरेर कलमले झक्झकाउनेहरुका लागि यो ब्यङ्गयात्मक गीत मैले पनि एकैदिनमा पटक पटक सुनें ।
हिजो राजनीति गर्ने भनेर होलटाइमर बनेका हामीले शिष्टाचारका कुरा ग¥यौं, अनुशासनका कुरा ग¥यौं । विरोध, समर्थन अनेक ग¥यौंं । कति विरोधका शब्दहरु राम्रा थिए होलान्, कति नराम्रा पनि । तर विरोध प्रवृत्तिको ग¥यौं । नढाँटी भन्दा ब्यक्ति नै तोकेर पनि ग¥यौं । गिरिजालाई जस्तो बिरोध नेपालमा आजसम्म शायद कसैलाई पनि भएन । ‘गिरिजा चोर देश छोड्’ भनिरहँदा हामीलाई शिष्टाचारको मुद्दा त्यतिबेला पक्कै लागेन । यौटा नारा आज पनि याद छ मलाई, ‘नुन तेलको सट्टामा देश बेच्न पाइँदैन, नदिनाला बेचेर हेलिकप्टर चाहिंदैन ।
राष्ट्रघाती गिरिजा भारततिर छिरिजा ।’ तर समयसँगै कलम समाउन थालियो । राजनीति पनि कलमकै माध्यमबाट गर्न थालियो । र, पनि मान्छेहरुले मात्र हैन सत्ता र शक्तिहरुले समेत हामीलाई अलि माथि नै राखेर चर्चा गरे । जसको लागि स्पष्टीकरण समयले दिंदैछ । आज पूर्वमाओवादी र एमालेको एकिकरण भएर देशमा कम्युनिष्टको सरकार छ । सबभन्दा पहिले त यो विशाल महासंग्रामको दुइ पाइलटे यानमा हामीलाई कहींकतै नदेख्दा केही मान्छेहरु चकित छन । एदेखि जेडसम्मको कुनै पनि अक्षर र अंकमा नदेखिंदा कतिलाई आज पनि आफ्ना नेतालाई नै गाली गरौं या यी पार्टीमै नभएकाहरुको कुन बिन्दुबाट विरोध गरौं भनेर आङ चिलाएकै छ जस्तो लाग्छ ।
प्रधानमन्त्रीज्यू ! आज पनि हामी कम्युनिष्ट पक्कै हौं तर हाम्रो अहिले पनि कुनै पार्टी छैन । त्यसैले न जनवादी केन्द्रियतालाई मान्न अनिवार्य छ, न गोपनीयताको सिद्धान्तलाई । त्यसैले आजको यो खुला समाजमा आफूले आफूलाई अनुशासनमा राखेर काम गर्ने हो । कसैले सचेत बनाएका कुराको शब्दमा निहुँ खोज्ने हैन । तपाईंले शासन गरेको देशमा कतिपय मान्छेलाई रासन छैन, तपाईंका कतिपय मान्छेको अनुशासन छैन ।
दुइ करोड नेपालीको प्रतिनिधित्व गरेका मान्छेहरुले यति स–साना कुरामा बहस गर्ने हो भने जनताको काम कहिले गर्नुहुन्छ ? हिजो आफ्नै कार्यकर्ताका व्यवहार र आचरणंको कारण पटक पटक नेतृत्वले माफी माग्न परेको विगत देखेका नेपालीले आज वहश भएको गीतका हरफ सुनेर मनोरञ्जन लिएका मात्र छैनन्, प्रत्यक्ष त्यो लुट देखेका छन्, भोगेका छन् । मलाइ लाग्दैन त्यो गीतबाट तर्सिएर तपाईंका मान्छेहरु बिरोधमा उत्रिहाल्नु पर्ने । गीतमा कांग्रेस कम्युनिष्टभन्दा पनि प्रवृत्तिगत व्यङ्गय गरिएको छ । जहाँसम्म डेढ अर्बको हेलिकप्टरको सवाल छ, त्यो समाचारमा आइरहेका कुराहरुप्रतिको ब्यङ्गय हो । मलाई लाग्दैन, यो गीत नियोजित रुपमा लेखिएको हो । अझै धेरै लेख्नुपर्दथ्यो । कम्युनिष्टको सरकार भएकोले उनले यो अवश्य लेखेनन् तर उनले कम्युनिष्ट भन्ने जे पनि गर्ने भनेर अझ कडा रुपमा आउनु पर्दथ्यो ।
प्रधानमन्त्रीज्यू ! तपाईंको चौधवर्षे बन्द काराबास अगाडिको पीडा, हाम्रो यो बीसवर्षे खुला कारावासको पीडा, अनि कलाकार पशुपति शर्माको आजको पीडा– यी अचम्मका पिडाहरुको संयोग हो वर्तमान । जहाँ तपाईंको शासन छ, तर लाग्दैन आफ्नै शासनमा जनता कहाँ कति मारमा परेका छन् भनेर तपाईंलाई जानकारी छ ? यौटा पिरामिडभित्रको वक्ररेखाभित्र तपाईंलाई राखेर देखाइएका मानचित्रहरुभन्दा गरिव नेपालीका दुखका आयतनहरु निकै फराकिला बनेका छन् । साँच्चै हो, यहाँ लुटमाथि लुट मच्चिएको छ ।
त्यसैले लुट्न नसक्ने र नजान्नेलाई आफ्नाहरुले नै नामर्द भन्दैछन् । प्रधानमन्त्रीज्यू, शब्द यौटा पशुपति भन्ने मान्छेले संयोजन ग¥यो तर त्यहि बास्तबिक पीडाले तपाईंका जनता आक्रान्त छन् । तपाईंलाई साँच्चै सहयोग गर्ने मान्छेहरुले तपाईंले गरेका राम्रा कामको सम्मान गर्छ र नराम्रा कामको विरोध पनि गर्छन् । यसका लागि तयार रहन लगाउनुस् आफ्ना कार्यकर्ताहरुलाई । साँच्चै हो तपाईंलाई सिंहासनमा राखेर यमराजले शासन गरिरहेजस्तो लाग्छ यहाँ । न छोरीचेलीहरु सुरक्षित छन् न सुशासन छ । न कार्यकर्ताहरुमा अनुशासन । जताततै लुट छ, प्रधानमन्त्रीज्यू । सानो सानो काम गर्दिएको बहानामा तपाईंका कार्यकर्ता जनतासँग दक्षिणा लिन्छन्, त्यसलाई लुट भन्नेकि टिकाटालो ? हरेक सरकारी कर्यालयमा कमिसनबिना काम नै हुँदैन ।
जग्गा दलालदेखि हरेक ठाउँमा राजनीतिक बिचौलियाहरुको जगजगी छ । शिक्षा र स्वास्थ्यजस्ता जनतासँग प्रत्यक्ष जोडिएका विषयमासमेत अचम्मको कमिसनतन्त्र छ । केही गरौं भन्नेहरुलाई अनेक नाकाबन्दी छ । अनावश्यक विवाद सिर्जना गरिदिएर राजनीति गर्ने हौं भन्नेहरु दुःखसुख लतारिएका संघ संस्थासमेत बन्द गराउने अभियानमा छन् । देशका युवाशक्ति आज पनि विदेशी भूमिमा पसिना बगाएर परिवारलाई दुइ छाकको जोहो गर्न विवश छन् ।
यो विकराल विसंगतिलाई शब्दमा उतारेर कलाकारले ब्यङ्गय ग¥यो भन्दैमा कचहरी लगाउनुको कुनै अर्थ छैन । सबैकुरा एकै चोटी सम्भव पक्कै पनि छैन । विकास विस्तारै हुँदैजाने हो, तपाईंहरुले प्रयत्न पनि गरिरहनु भएको छ । र पनि तपाईंहरुको नाम लिएर आफ्ना धन्दा चलाउनेहरुले साँच्चै देश लुटेका छन्, प्रधानमन्त्रीज्यू । त्यसैले आफ्ना बनेर सिध्याउन खोज्नेहरुसँगसचेत हुनुस् । अनावश्यक चाकरी गरेर आफ्ना पोटली भर्नेहरुको घेराबन्दीबाट बाहिर आएर पशुपतिले समायोजन गरेका शब्दहरुसँग देशको अवस्थाले मेल खान्छ या खाँदैन हेर्नसक्ने, बुझ्नसक्ने, ती समस्याको समाधान गर्नसक्ने हिम्मत राख्नुस् । सुधार गर्नु पर्ने आज पशुपति शर्माका शब्दमा हैन, तपाईंका कार्यकर्ताका व्यवहारमा छ । जब आफूले राम्रो गरिन्छ भने समाज र देशले राम्रोलाई पक्कै पनि राम्रो भन्नेछ । तर फिल्डमा आज राम्रो भन्न सकिने केही देखिंदैन ।
दुइजना पाइलटले बोकेको यो विशाल यानभित्र तितेपाती र ज्यानमारा झारको प्रकोप बढ्दै जाँदा एकताका विम्बहरु समेत ढलमलाउन सक्ने खतरा पनि उत्तिकै छ । देश चलाउनेहरुले जनताको विरोध किन त भनेर आफूहरुलाई सुधार गर्ने, आफ्नो शासकीय संरचना बदलेर जनताको मनजितेर जाने अभियान चलाउने कि शब्दको विरोध गर्ने ?
साँच्चै हो, प्रधानमन्त्रीज्यू, आज पनि गाऊँ शहर अस्तब्यस्त छ । सडकमा ट्राफिक लाइटको बिजोग छ । अख्तियारमा समेत लुट छ । जनताको सुरक्षा गर्नेहरुलाई मनपरी गर्न पनि छुट छ । काम गरेर खानेहरुको बिजोग छ । आफूले टेकेको धरातल बिर्सेर जब राजनीतिलाई मागी खाने भाँडो बनाइन्छ, त्यहाँ शब्दमा लडाइँ हुने गर्छ । जहाँ मनबाटै समर्पित बनेर जनताको सेवा गर्न तत्पर बनिन्छ, त्यहाँ शब्दको लडाइँ हैन, विकास र समृद्धिको बहस हुने गर्छ ।
पशुपति शर्माको गीत त वर्तमान अवस्थाको सानो विम्बमात्र हो । यसको मतलब तपाईंहरुले गलत गर्नु भा’छ भन्ने हैन । तपाईंहरुले जे गर्न खोज्नु भा’छ समाजमा त्यसको उल्टो भैरा’छ । साँच्चै हो, प्रधानमन्त्रीज्यू !! जताततै जेमा पनि लुट छ । आशा छ, हामीले विरोध तपाईंहरुको गलत कामको गर्ने छौं, जसलाई सुधार गरेर देशमा सुशासन र समृद्धि ल्याउने काम तपाईंहरुले गर्नु पर्नेछ । घेरा तोड्ने हिम्मत गर्नुस् प्रधानमन्त्रीज्यू, देश त तपाईंकै साथमा छ ।
प्रतिक्रिया दिनुहोस्