मिर्मिरे उज्यालो हुन लागेको थियो । यसो हेरे उ आफ्नो ठाउँमा सुतिरहेको थिएन । विस्तारै पुरै आँखा खोल्दा सिरानीमा तेर्सो परेर सुतेको थियो । उठ्न खोज्दै थिए फेरि निधाएछु । यतिकैमा विहानको ७ बजेछ । हिजो रातीभर राम्रो सँग सुत्न पनि पाइएको थिएन । प्रायजसो राति उसैको हेरचाहमा वित्ने गर्छ । म पनि आमाको परिवन्दभित्र रमाउदै थिए । रातभरि आफ्नो सन्तानको सेवा र ममतामा सर्मपित यी आँखा दिउसो भने आराम खोज्दै थिए । आमा भएको नविन अनुभव हो यो । एकदिन लुगा धुदै गर्दा मलाई एकजना अंकल पर्नेले सोध्नुभयो तिमीलाई यसरी दिशा हातले छुदा, धुदा घिन लाग्दैन ? मैले हाँस्दै भने लाग्दैन । यहि प्रसंगले मलाई आफ्नो विगतका घटनाक्रम याद आयो । एकपटक छिमेकीको बच्चाले दिशा गरेको रहेछ उसलाई बोक्दा मेरो हातमा लाग्यो । मलाई यति गनायो मैले उल्टी नै गरे । भन्नाले मलाई धेरै घिन लाग्यो । अनि एकदिन हस्पीटलमा डाक्टरलाई कुरेर बसिरहेको थिए । दुई तीन जना आमाहरु आफ्नो साना छोरा छोरी लिएर जचाउन आएका रहेछन । एक जना महिलाको बच्चाले बान्ता गरिहाल्यो अनि उनले हात थापिन । यस्तो दृश्य देख्दा अनौठो लाग्यो । छाद जस्तो कुरा कसरी हातमा थापेको होला भनेर मनमनै सोच्दै थिए । तर मैले त्यो ममतालाई कहाँ बुझेको थिए र । बच्चाले छादे, पादे, जे गरेपनि घिन लागि हाल्थ्यो । तर समय ठ्याक्कै उल्टो भयो । विवाहपछि आमा हुने सौभाग्य मेरो पनि आयो । पेटमा बच्चा हुँदा अनौठो लाग्थ्यो । अनि घरिघरि लात्तले हान्दा त झन म झसंग हुन्थ्ये । कहिलेकहीँ उसले खुट्टाले नहान्दा मलाई टेन्सन हुन्थ्यो । निकै पानी खान्थे । अनि उसको कार्य निरन्तर नै चल्थ्यो । अप्रेसन थियटरमा जब डाक्टरले बच्चाको मुहार देखाए । उतिबेला उसैको बाबाजस्तै लाग्यो । एनेस्थेसियाको डोजले शरिर लगभग लासजस्तै छ । खुट्टा चल्दैनन । डाक्टरहरुले नै पोस्टवार्डमा लान्छन । अनि आफन्त भेट्न आउदा बच्चाको कुरा गर्छन । मलाई त अचम्म लाग्थ्यो । पत्यारै लाग्दैनथ्यो मेरो पनि बच्चा भयो र भनेर । फेरि अप्रेसन गरेको घाउलाई जव एनेस्थेसीयाले छोड्दै गयो तव अलि बेस्सरी दुख्दै जान्थ्यो । पेट रित्तो जस्तो लागेर उतिवेलै घिउ र भात गमगम खाना मन लागेको थियो । पानी पनि खाना नपाइने पो रहेछ । २४ घन्टामा मैले एक पटक पनि बच्चालाई सम्झिन । मात्र मेरो दुखाईतिर ध्यान गयो । मलाई बेडमा सारेपछि अस्पतालले हामीलाई बच्चा दियो । अनिमात्र मैले उसको मुख राम्ररी हेरे । उसलाई दुध खुवाउन थाले अनि म भित्रबाट कता कता आफु आमा भएको अनुभुति आयो । दिनहरु वित्दै थिए । उसले दिनभरी नै आची गरिरहन्थ्यो म उसको आ“ची पुछिरहन्थ्ये र टालो फेरि रहन्थ्ये । बच्चाको दिशा र पिसाव गरेको लुगा फेर्दा फेर्दै दिनरात वित्थ्यो । मलाई आफ्नो बच्चाको दिशा किन हो पटक्कै घिन लागेन । बच्चाले अन्न खाने भएपछि झन गनाउने गर्छ तर मलाई गनाएन । अहिले पनि दिनै दिशा धुन्छु तर मलाई घिन लाग्दैन । उसले उल्टी गरयो भने हात थाप्छु । हाताभरि उसको छाद हुन्छ मलाई त्यसले केही फरक पार्दैन । उसको नाकमा सिगान हुन्छ मलाई पुछिदिन केही घिन लाग्दैन । कसरी यो भयो मलाई अचम्म लाग्छ । अरुको बच्चा र आफ्नो बच्चाको दिशा त दिशा नै हो नि तर अरुको घिन लाग्ने आफ्नो नलाग्ने कस्तो अनौठो अनुभुती हो यो । उसको जिउमा लगाएको तेल अरुलाई सुत्केरी गन्नाउछरे तर मलाई त बासना आउथ्यो । वास्तवमै यो एउटा अचम्मको सम्बन्ध र अनुभुती रहेछ । पहिलो पटक आमा हुनेहरुका लागि यो विल्कुल नया“ अनुभव हो । संसारका हरेक आमाहरुलाई सायद यस्तै लाग्छ होला आफ्ना सन्तानप्रति । जस्तोसुकै तनाव भएपनि बच्चाको मुहारमा झल्केको त्यो बालापन र उसको हाँसो देखेपछि मन प्रफुल्लित हुदो रहेछ । भर्खरै बोली फुट्न लागेको छ । यो त झन कस्तो रमाइलो कुरा । सुरुमै वावा भन्दै उसका बोली फुर्न थालेका छन । काइयो, कलम जे भेटेपनि फोन बनाउने अनि हेलो भनिहाल्ने रमाईलो पक्षले त झन कति रमाईलो लाग्छ । जसलाई देखेपनि ममा भन्ने यस्तै तोते बोलीले आमाहरुलाई अझ निखार बनाउदो रहेछ । अनि म सम्झन्छु मेरी आमालाई । मैले मेरो बच्चालाई जस्तो माया गर्छु, उ विरामी हुँदा जसरी रातभर अनिदो हुन्छु मेरी आमालाई पनि मैले यस्तै दुख दिए होला तैपनी मेरी आमाले अहिलेसम्म मलाई यो वास्तविकता भन्नुभएको थिएन । आज म आफै जब आमा बने अनि बुझ्दैछु आमाको गरिमा,ममता,त्याग । बच्चा ४५ दिनको हुँदा उसलाई खोप लगाउदा मैले उसको रुवाई सहन नसकेर आँशु खसाले । उसलाई लगाएको खोपले मलाई दुख्यो । त्यसैले आमा शब्द नै गहन छ । संसारका आमाहरु प्रति नमन ।
प्रतिक्रिया दिनुहोस्