काठमाडौं, ६ जेठ । देशभरका हरेक जिल्लासहित स्थानीय तहसम्म ‘नेटवर्क ब्याकबोन’ तयार गर्ने लक्ष्यकासाथ सोमबारबाट अप्टिकल फाइबर बिछ्याइँदैछ । सरकारी स्वामित्वको नेपाल टेलिकमले जिम्मा पाएको प्रदेश एक, दुई र तीन अन्तर्गत विभिन्न तीन ठाउँबाट एकैपटक फाइबर बिछ्याउने कार्यक्रम छ ।
सरकारको डिजिटल नेपाल बनाउने योजना साकार पर्न महत्वपूर्ण मानिएको यसको औपचारिक सुरुवात धादिङको गल्छी गाउँपालिकास्थित मासटारबाट प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार दिउँसो १ः०० बजे गर्दै छन् । त्यस्तै सिन्धुलीको खुर्कोट र धनकुटाको हिलेमा पनि सोमबार नै फाइबर बिछ्याउने कामको औपचारिक सुरुवात हुनेछ ।
टेलिकमले पाँचथरको चिवाभञ्ज्याङ्देखि गोरखाको आरुघाटसम्म मध्यपहाडी लोकमार्ग हुँदै दुई हजार ३७६ किलोमिटर फाइबर बिछ्याउनेछ । यसरी बिछ्याइने फाइबर मध्यपहाडी लोकमार्गलाई आधार मानेर तीनवटै प्रदेशका ३२ जिल्ला सदरमुकामसम्म टेलिकमले पु¥याउनेछ ।
के फाइदा ?
अप्टिकल फाइबरमार्फत उच्च गतिको ब्यान्डविथ प्रवाह गर्न सकिन्छ । तामा(कपर)को तारमा भन्दा धेरै उच्च गतिमा इन्टरनेट प्रवाह गर्न सकिने भएकाले अहिले विश्वभर अप्टिकल तार प्रयोग गर्ने प्रचलन छ ।
देशैभर विस्तार गर्न लागिएको ९६ कोरको अप्टिकल तारमार्फत उच्च गतिको(ब्रोडब्यान्ड) इन्टरनेट स्थानीयतहसम्म उपलब्ध गराउन सकिन्छ । सरकारले अहिले ग्रामीण क्षेत्रमा ५ सय १२ केबीपीएस र सहरी क्षेत्रमा ५ एमबीपीएस गतिको इन्टरनेटलाई ब्रोडब्यान्ड इन्टरनेट भनेर परिभाषित गरेको छ । यसरी अप्टिकल मार्फत प्रवाह हुने ब्रोडब्यान्ड इन्टरनेटले डिजिटल माध्यमबाट सरकारी सेवा प्रवाह गर्न सहयोग पुग्नेछ । सरकारी सेवाहरू डिजिटल माध्यमबाट उपलब्ध गराउँदै सेवामा पारदर्शीता ल्याउने उद्देश्य पूरा गर्न यो एउटा बलियो आधार हुनेछ । त्यस्तै ई हेल्थ, ई लर्निङ जस्ता सुविधामा आम जनताको पहुँच पु¥याउन पनि यो सहयोगी हुनेछ । विशेषगरी देशैभर इन्टरनेट प्रवाह गर्न एक किसिमको बाटोको काम अप्टिकलले गर्नेछ । आगामी आर्थिक वर्षदेखि कार्यान्वयनमा आउने डिजिटल नेपालको परियोजना अनुसार काम अगाडि बढाउन अप्टिकल फाइबर बिछ्याउने परियोजनाले मुख्य भूमिका खेल्नेछ ।
प्रतिक्रिया दिनुहोस्