ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इन्काउन्टर


ABC NEWS
१३ असार २०७६, शुक्रबार   ९ : २८   बजे

अचानक चर्को आवाज आयो । मकैबारीबाट चराहरू पनि भुरुरु उडेर माथिमाथि पुगे । आवाज सानो थिएन । बारीमा काम गर्न आएका सबैले एक पटक डिलमा पुगेर यताउता हेरे । तर कतै केही देखिएन ।
बर्खाको समय, सिमसिम पानी परिरहेको थियो । मानिसहरू आआफ्नै धुनमा थिए । छोड्नेले गाउँछोडे । बस्नेहरूकालागि खेतबारी महत्वपूर्ण थियो । काम गरेर खानुपर्ने वर्गकालागि काम प्यारो हुने नै भयो । चाहे त्यो कामको प्रकृति जस्तो सुकै किन नहोस् । बारीमा काम गर्दागर्दै एक्कासि आएको चर्को आवाजका विषयमा अनेकले अनेक लख काट्दै थिए । जनयुद्ध सकिएर मुलुक शान्ति प्रक्रियामा प्रवेश गरेको परिवेशमा समेत बमको यति धेरै चर्को आवाजले मानिसहरूको मथिङ्गल खलबल्याइरहेको थियो । मानिसहरूले अनेक देखेर–भोगेर आएका थिए ।
चर्को आवाजसँगै सबै अनेक बहसमा थिए । मकैभित्रको झार गोड्दै जाँदा खेतालाहरू एक आपसमा विगतदेखि वर्तमानसम्मका विषयलाई कोट्ट्याउँदै समय बिताइरहेका थिए । धेरैले अनेक कुराहरू सम्झे । उनले पनि विगतलाई त्यसरी नै सम्झिन थालिन् । सायद उनको पीडालाई नबुझेका मानिसहरू यो मेलामा कमै थिए । तर ननिकालौँ भन्दा भन्दै पनि कुरा निक्लि हाल्यो । त्यही आवाज थियो कुरा कोट्ट्याउँदै लैजाने पनि । जनताकालागि भनेर देशमा सशस्त्र सङ्घर्ष र जनयुद्ध गरेकाहरू अनि भोकानाङ्गा जनताकालागि लडाइँ लडेकाहरूलाई सजिलै बिर्सन सक्ने अवस्था पनि त थिएन । अनेक डोबहरू यस्ता थिए जति कोट्ट्याउँदै गयो त्यति रक्ताम्य बन्दै जान्थे । न मलमले रगत बग्न रोकिन्थ्यो, न त पट्टीलगाएर रोकथाम गर्न सकिन्थ्यो । बल्लबल्ल बाक्लो पट्टी लगाएर बाँधिएका घाउहरूलाई यस्ता आवाजले निकै मर्माहत बनाइदिन्थे ।
सायद आज उनको बाक्लो पट्टीलाई त्यो आवाजले बढी नै च्याति दियो । मनभित्रको सानो घाउठूलो बन्दै गयो । कल्पनाको महासागरमा पौडी खेल्दै जाँदा तैरिने उपाय नै नभेटिएपछि उनका आँखाका डिलहरू रसाउन थाले । बर्खाको समय, आकासे पानी बढ्दै गएपछि चौरमा फुटेका मूलहरू जस्तै उनका आँखाहरू पनि बग्न थाले । अनेक डिल लगाएर रोक्ने प्रयास गरे पनि ती मूलहरू फुटिरहेका थिए । सँगै काम गरेका साथीहरूलाई पनि अप्ठ्यारो भयो । भुलाउन खोज्ने कुनै उपाय नै थिएन । यति दु्रतगतिमा खोलिँदै गए विगतका दस्ताबेजहरू । सायद जीवनले खेलेको खेल थिएन यो । यो एउटा जानेर र बुझेर गरिएको षड्यन्त्र नै थियो त्यतिबेला ।
भर्खरै दस कक्षा पढ्न झोला बोकेर स्कुल हिँडेको छोराले त्यो दिन कोदोको ढिंडो चपाइचपाई खाँदा उनले उसको भोकभन्दा पनि आफूले पकाएको ढिँडोको स्वाद भनेर मक्ख परेकी थिइन । चारचार छोरीपछि छोरा जन्मिँदा उनका ओठमा देखिएको खुसीको कुनै मूल््य नै थिएन । समाजले छोरा र छोरीप्रति गर्ने चरम विभेद र त्यसमा पनि एउटी आमाप्रति गर्ने घृणाको साक्षी मात्र हैनन उनी । उनी त त्यसको भुक्तभोगी थिइन । छोरा पाउन सक्ने महान आमामा नाम दर्ता गर्न सफल भएकी सुन्दर र सुखी आमा थिइन । समाजका यी र यस्तै कारणहरूले पनि होला औँलामा दिन गनेर हुर्किएको छोरो आज दस कक्षामा पढ्ने भएको थियो । अस्ति मात्र नतिजा निस्केर स्कुलमा तेस्रो स्थान हासिल गरेको छोराकालागि उनी आफँै दमैकोमा गएर स्कुलको पोसाक सिलाइ दिएकी थिइन । देश सशस्त्र सङ्घर्ष अर्थात जनयुद्धको चरम उत्कर्षमा थियो । कमिजको कल्दर अलि नमिलेपछि मिलाइ दिदै उनले छोरालाई भनिन आज त बाबुलाई ढिँडो बढी नै मिठो भयो है ?
ऊ पनि मुसुक्क मुस्कुरायो । सेतो मोजामा कालो जुत्ताको तुना लगाउँदै गर्दा आमाले एक टकले उसको अनुहार हेरिरहिन । छोराको मुहारमा आफ्नो सिङ्गो सपना सजाएकी उनले बेलुकी उसकालागि मिठो चामलको रोटी बनाइदिने भनेर बिदा गरिन ।
न उनले राजनीति जानेकी थिइन नत उनको परिवार नै सक्रिय राजनीतिमा थियो । तर उनको छोरालाई स्कुल नपुग्दै बाटैमा गोली ठोकिएको थियो । घरबाट अलि पर बाटोमा धुवाँको मुस्लो निस्केको थियो । गाउँलेहरू डराएर भित्र पसे । बर्दीवाला रक्षकहरू स्कुलको बाटो हुँदै हिँडेका रहेछन । स्कुल जान हिडेकी राम्रो कद भएको केटालाई सायद उनीहरूले आतङ्ककारी सम्झे । उसको झोला भित्रका किताबलाई उनीहरूले बम र बारुद सम्झे । अनि उसले बोकेको कलमलाई राइफल र उसले बाँधेको टाईलाई फाँसीको फन्दा सम्झे । यसैले ऊमाथि अन्धाधुन्ध गोली प्रहार गरे र इन्काउन्टर र भिडन्तको भ्रम फिँजाए ।
केही भन्न नपाईकन ऊ युद्धको नायक बन्यो । घिरौँलाको झालमा झुन्ड्याइएको रेडियोले समाचार फुक्यो– इन्काउन्टर गरियो । पीडाले थिलथिलो बनेकी उनलाई इन्काउन्टर भन्ने शब्दसमेत थाहा थिएन । पछि मात्र थाहा पाइन । यसरी उनका छोराको इन्काउन्टर भएको थियो ।

आज फेरि पनि भिडन्त र इन्काउन्टर भन्दै मान्छे मारियो । फरक यति मात्र हो हिजो उनको छोराले राजनीति बुझेको थिएन । आज उसले राजनीति बुझेको छ । फरक यतिमात्र हो त्यतिबेला देशमा जनयुद्ध थियो, आज देशमा शान्ति कायम छ । अनि फरक यतिमात्र हो–हिजो यथास्थितिवादीको सरकार थियो । आज कम्युनिस्टको सरकार छ । आखिर इन्काउन्टर त इन्काउन्टर नै हो । पीडा एउटै छ, दुःख एउटै छ । अनि फेक इन्काउन्टरको शैली एउटै छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

सम्बन्धित

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

रास्वपा : न शुद्ध सामाजिक लोकतन्त्र हो, न उदार लोकतन्त्र, न दक्षिणपन्थी पपुलिज्म — ‘असुसंगठित मिश्रण’

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

गोलाप्रथाबाट न्यायाधीशलाई मुद्दा तोक्ने व्यवस्था संविधानबमोजिम छैन, यसले न्यायाधीशको विज्ञताको दुरुपयोग गरिरहेको छः पूर्वप्रधानन्यायाधीश पराजुली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group