काठमाडौं, २१ असार । विसं २०७४ असोज १७ गते तत्कालीन एमाले र माओवादीबीच चुनावी मोर्चाको विषयमा घोषणा भयो । चुनावी मोर्चामा सहकार्य शुभारम्भ भएको एमाले माओवादी अन्ततः पार्टी एकिकरणमा पुगेर नेपाल कम्युनिष्ट पार्टीको निर्माण भयो । एकिकरणपछि विभिन्न घटकमा रहेका कम्युनिष्ट नेता कार्यकर्ताको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गर्नेहरुको होड नै चलेको छ । नेपाल कम्युनिष्ट पार्टीको स्थापना करिब ७० वर्ष लामो छ । तर २००६ सालदेखि २०७६ सम्म आइपुग्दा विभिन्न राजनीतिक आरोह र अवरोहको सामाना गर्दै कम्युनिष्टहरु बीच विभाजन मात्रै देखियो । यसको अन्तर्य विचार र दृष्टिकोण भन्दा पनि व्यक्ति इगो नै प्रधान रहदै आयो । ७ दशकको विभाजन टुटफुटले आक्रान्त कम्युनिष्ट आन्दोलन संविधान जारीपछि बिस्तारै एकिकरणको लयतिर लागेको पाइन्छ ।
विश्व कम्युनिष्ट आन्दोलनको सारभूत विषय भन्दा निषेधात्मक र जडसुत्रवादी चिन्तन र प्रवृत्तिले छिन्नभिन्न भएका कम्युनिष्टहरुलाई एउटै डालोमा राख्ने सजिलो पनि थिएन र छैन पनि । तर सही कार्यनीति दृष्टिकोण र राष्ट्रिय आवस्यकताको सिद्धान्तमूलक सुत्र खोजियो । त्यो सुत्रको प्रयोग २०७५ बैशाख ९ मा परिक्षण गरियो । जसले विभाजन र टुटफूट होइन, एकिकरण, एकता र एकजुट भन्ने भावनाको विकास ग¥यो । आन्तरिक वा बाह्य दबाव प्रभावको बाबजुद पनि नेकपाको पुर्नएकिकरण भएर दक्षिण एशियाकै ठूलो पाटी बनेको छ । तितरवितर कम्युनिष्ट घटकहरु कम्युनिष्ट मुल प्रवाहमा प्रवेश गर्ने लहर नै चलेको छ ।
राष्ट्रिय राजनीतिका दुइ ठूला कम्युनिष्ट पार्र्टीहरु तत्कालीन एमाले र माओवादी मुलुकको स्थायीत्व समृद्धिको शर्तमा २०७५ बैशाख ९ गते औपचारिक रुपमा एक भएका थिए । एकता नै बल हो, एकताबाट मात्रै मुुलुक र जनताको परिवर्तनको चाहानालाई व्यवहारिकरुपमा लागु गर्न सकिन्छ ।
यो राजनीतिकशास्त्रमा सत्य पनि हो । नेतृत्वले जोखिम मोलेर केही असंगति अमिल्दा सन्दर्भहरु हुदा हुदै पनि एकिकरण भयो । पार्टी एकिकरणपछि नेपाल कम्युनिष्ट पार्टी(नेकपा) देशको सबै भन्दा ठूलो बहुमत प्राप्त दल बन्यो, नेपाल कम्युनिष्टको यो नयाँ नौलो परिघटना थियो । २०७४ को पहिलो संघीय निर्वाचनमा स्थानीय, प्रदेश र संघमा नेकपा अत्याधिक बहुमत प्राप्त गरि यतिबेला सत्ता संचालन गरिरहेको छ । लामो समयसम्मको कुशासन भ्रष्टाचार विसंगतिमा सुधार ल्याउन भने सत्तारुढ दल नेकपालाई हम्मेहम्मे छ । तर जनतासंग गरेको बाचा पुरा नगरी सुक्खै छैन । देशभित्र चरम असन्तुष्टि छन् । पार्टीभित्रै पनि नेतानेताहरुबीच असन्तुष्टि छ । जनसरोकारका धेरै समस्याको हल गर्नु पर्नेछ । समस्यै समस्याको पहाडलाई भत्काउन सत्तारुढ नेकपालाई कठिन छ । कठिनको बाबजुद पनि परिवर्तनको उदेश्य पुरा गर्न कम्युनिष्ट विचार र आस्था राख्नेहरुलाई नेकपाको छातामुनि गोलबन्द गर्नु पर्ने दायित्व पनि छ नेकपासंग ।
हुनत, नेकपाको अहिलेको अवस्था शक्तिशाली भएर पनि टिठलाग्दो छ । नेकपाले न त पार्टीलाई राम्रोगरी अघि बढाउन सकेको छ नत, जनअपेक्षाअनुसार सरकार संचालन गर्न नै । तैपनि, स्थानीय, प्रदेश र राष्ट्रिय हैसियत प्राप्त नेता कार्यकर्ता प्रवेशको लहर चलेकै छ । यसले नेकपाको आयात बढाउदै लगेको छ नै, नेकपाप्रतिको जनभरोशा समेत बढेको छ भन्ने बुझ्न कठिन छैन । जसको बढी विश्वास र भरोसा हुन्छ उसैको बढी आलोचना र गुनासो हुन्छ । यो समाशास्त्रीय नियम हो । यसर्थ विशाल नेकपाले आम नागरिकको गुनासा सुन्नै मात्रै होइन जनसरोकारका मुद्दालाई कार्यान्वयन गर्न लाग्नुको विकल्प छैन ।
प्रतिक्रिया दिनुहोस्