ललितपुर, १३ कात्तिक । परम्परागतदेखि सञ्चालन हुँदै आएको ‘कात्तिक नाच’ विश्वकै सबैभन्दा लामो नाट्य महोत्सवका रुपमा चिनिदै आएको छ । मल्लकालीन राजा सिद्धिनरसिंह मल्लको पालादेखि सञ्चालित उक्त नाच देश र जनताको कल्याणार्थ सञ्चालन गरिएको जनविश्वास रहँदै आएको छ । नेपाल संवत् ७६१ तथा विसं १६९७ बाट कात्तिक नाचको प्रारम्भ भएको इतिहासमा उल्लेख गरिएको छ ।
ऐतिहासिक रुपमा साँस्कृतिक एवं तान्त्रिक मूल्य मान्यता बोकेको सो नाचको गरिमा आज पनि उत्तिकै प्रतिष्ठित रहेको छ । बहुचर्चित नाचका सर्जक एवं प्रवद्र्धक राजा सिद्धिनरसिंह मल्लका शिक्षा गुरु हरिवंश उपाध्याय तथा दिक्षा गुरु विश्वनाथ उपाध्यायको उक्त नाचमा तान्त्रिक पक्षमा योगदान रहेको पाइन्छ ।
धार्मिक राजा मल्लले देशमा शान्ति सु–व्यवस्था कायम राख्न र तत्कालीन जनतालाई एकै सुत्रमा बाँधेर मनोरञ्जन प्रदान गर्ने नाचको प्रमुख उद्देश्य रहेको पाइन्छ । यसबाहेक धार्मिक, नैतिक, सामाजिक ज्ञान दिनु नाचको अर्को विशेषता समेत रहेको छ ।
राजा सिद्धिनरसिंह मल्लको पालामा शुरु भएको उक्त नाच प्रथमपटक पाँच दिनबाट थालनी गरिएको इतिहासमा उल्लेख छ । सो नाचमा पछि उनका छोरा श्री निवास मल्लले बाथः प्याँख(लोक नाटक) १० दिन थपेर १५ दिनको पु¥याएको मानिन्छ । यसै नाचलाई श्री निवास मल्लका छोरा योगनरेन्द्र मल्लले उषा हरण तथा माधव वानल लीला थपेर कात्तिक महिनाभरि २७ दिन सञ्चालन गरिएको पाइएको छ ।
सत्ताईस दिनसम्म देखाइने उक्त नाचको विशेषता भिन्न विषयवस्तु तथा भिन्न कथामा आधारित रहेर बेग्लाबेग्लै नाच नदोहो¥याई देखाइने पनि यस नाचको अर्को विशेषता रहेको छ । कात्तिक महिनामा देखाइने भएर यस नाचलाई कात्तिके नाचले नामाकरण गरिएको हो ।
राष्ट्रिय अमूर्त सम्पदा र परम्परागत रुपमा प्रदर्शन गरिने उक्त नाच सिंगो ललितपुरको मात्र नभएर सिंगो नेपालकै रहेको बताइएको छ ।
कात्तिक महिनामा सञ्चालन हुने सो नाच २००६ सालसम्म वर्षमा २७ दिनसम्म सञ्चालन भइरहेको कात्तिक नाच संरक्षण समितिका उपाध्याक्ष प्रतापधर राजोपाध्यायले बताउनुभयो । उहाँका अनुसार विसं २००७ देखि २०३७ सम्म बराह र नृसिंह अवतार गरेर जम्मा दुई दिनका दरले प्रत्येक वर्ष नाच देखाउँदै आएको छ ।
यसैगरी विसं २०३८ देखि २०६९ सम्म प्रत्येक वर्ष आठ दिनका दरले नाच देखाइएको थियो । २०७० सालदेखि २०७१ सम्म प्रत्येक वर्ष १२ दिनसम्म नाच सञ्चालन गरिएको उहाँले बताउनुभयो ।
यस्तै विसं २०७२ मा १० र २०७३ र २०७४ सालमा १२ दिनसम्म नाच सञ्चालन गरिएको उहाँको भनाइ रहेको छ । कात्तिक नाचका कलाकार समेत रहनुभएका राजोपाध्यायका अनुसार प्रत्येक वर्षको कात्तिक कृष्ण प्रतिपदाबाट शुरु भएर कात्तिक शुक्ल पूर्णिमासम्म नाच देखाउनुपर्ने प्रचलन रहेको छ ।
कात्तिक महिनाभरिमा लक्ष्मीपूजा, म्हःपूजा र भाइटीका परेकाले नाच देखाइने समय २७ दिन पर्न गएको उहाँको कथन रहेको छ । समितिका अध्यक्ष एवं नाचका कलाकार किरण चित्रकारका अनुसार यस वर्षको कात्तिक नाच कात्तिक ७ गतेबाट शुरु भएर कात्तिक १८ गतेसम्म सञ्चलान रहनेछ ।
यस अवधिमा सुदामा प्याँख, बाथ प्याँख(कौला खिचा), उषा हरण लिलाअन्तर्गत वानासुरयात सहर्षभूज वरदान, उषा व अनिरुद्र शृृंगार, देवी प्याँख, युद्ध कला र वानासुर्या सहर्षभूज त्वाल्हाइगु नाच देखाइने छ ।
यसबाहेक जल शरण(मधु कटैव बध), बराह अवतार(हिरण्याक्ष बध), नृसिंह अवतार(हिरण्यकश्यपु बध), वस्त्रहरण लीला तथा दधि लीला नाच सञ्चालन गरिने जनाएको छ ।
उक्त नाच विश्व सम्पदा सूचीमा सूचीकृत पाटन दरबार क्षेत्रमा अवस्थित कात्तिक नाच डबलीमा प्रत्येक साँझ ७ बजेदेखि प्रारम्भ भइरहेको अध्यक्ष चित्रकारले बताउनुभयो ।
नाच हेर्न पाटनवासी तथा राजधानीका विभिन्न स्थानबाट दर्शक आउने गरेका छन् । राजा सिद्धिनरसिंह मल्लको पालामा पाटनमा बसोवास गरिरहेका जनतामा आलस्यता तथा स्वःस्फूर्ति नभएका कारण सो नाचको रचना गरिएको किम्बदन्तीमा उल्लेख गरिएको छ । नाचको प्रारम्भपछि जनतामा उल्लासमय छाएको र कल्याण भएको जनविश्वास रहँदै आएको अध्यक्ष चित्रकारले बताउनुभयो ।
समितिका कोषाध्यक्ष एवं कलाकार उत्तमरत्न शाक्यका अनुसार नाचमा सम्मिलित प्रत्येक कलाकारले संगीतको तालमा आफ्नो नाच देखाउनुपर्ने छ । सो नाचमा भाग लिने नयाँ कलाकारले तीन महिनादेखि नाच सिक्नु आवश्यक रहेको उहाँको भनाइ रहेको छ ।
ललितपुर महानगरपालिका–११ बस्ने विजय तण्डुकारका अनुसार २०५७ सालदेखि २०६९ सालसम्म महादेवको द्वारपालका रुपमा रहेको जय र विजयमध्ये जयको भूमिकाको रुपमा नाचमा सहभागी हुँदै आएको छ । समितिका सचिव समेत रहेका तण्डुकार आगामी वर्षबाट कात्तिक नाच २७ दिनसम्म सञ्चालन गर्दै लैजाने लक्ष्य भएको बताउनुहुन्छ ।
सो नाच २७ दिनसम्म सञ्चालन गर्न आर्थिक अभाव रहेको उहाँको गुनासो रहेको छ । परम्परागतदेखि चल्दै आएको नाचको संरक्षण र भावी पुस्ताले सिक्दै जाओस् भन्ने उद्देश्यले यसलाई निरन्तरता दिनुपर्नेमा उहाँको जोड रहेको छ । तण्डुकारकाअनुसार नाचमा संलग्न कलाकारले परम्परागतदेखि चल्दै आएको गरगहना, मुकुट, औँंठी, हातमा लगाउने बाला, कण्ठी, घघंली, जबी, लभकर्णजस्ता पहिरन लगाउने गर्दछन् ।
महानगरपालिका–११ बस्ने पाटनढोकाका कलाकार सुरेश महर्जन नाचमा प्रदर्शन गरिने नृत्य त्यति सजिलो नभएको बताउनुहुन्छ । बाध्यबादनको तालमा नाच देखाउनु निकै कठिन रहेको उहाँको कथन छ ।
प्रतिक्रिया दिनुहोस्