भक्तपुर, २६ पुस । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दुई दलले मंगलबार गठन गरेको कार्यदललाई तत्काल काम शुरु गर्न निर्देशन दिनुभएको छ ।
आज एमाले अध्यक्ष ओली निवास बालकोटमा मंगलबार गठन भएको कार्यदलको सदस्यसहितको सहभागितामा भएको छलफलमा दुई पार्टीका अध्यक्षले कार्यदललाई काम शुरु गर्न निर्देशन दिएको एमालेका नेता एवं कार्यदलका सदस्य शंकर पोखरेलले सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।प्रदेशसभा गठनका सन्दर्भमा निर्वाचनमा प्राप्त गरेको मतभारलाई आधार मान्दै एकताको भावनाले काम गर्ने निर्देशन दिएको उहाँले जानकारी दिनुभयो ।
कार्यदलले राष्ट्रिय सभाको निर्वाचनमा साझा उम्मेद्वार, प्रदेश सरकारको गठन, प्रदेशको मूख्यमन्त्री, सभामुख लगायतका विषयमा साझा धारणा बनाएर पार्टी एकता संयोजन समितिमा रिपोर्ट पेश गर्नेछ । रिपोर्ट तयार पार्दा दुवै दलले प्राप्त गरेको जनमत, व्यक्तिको व्यक्तित्व र योगदान, पार्टी एकताको स्प्रीड र सन्तुलनलाई अधार बनाइने कार्यदलका सदस्य वर्षामान पुनले जानकारी दिनुभयो ।
छलफलपछि कार्यदलका सदस्य बाहिरिएपनि एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालबीच छलफल जारी रहेको छ ।
प्रतिक्रिया दिनुहोस्