काठमाडौं, १ माघ । ब्लड क्यान्सरबाट पीडित आफ्नी चार वर्षीया छोरीको उपचारका लागि निर सुनुवार सहयोगको याचना गरिरहेकै छन् । तर, विभिन्न सञ्चार माध्यममा निरकी चार वर्षीया छोरीको उपचार कुनै व्यापारिक घरानाले गरिदिने भयो भन्ने झुटा खबरले उनी थप पीडामा परेका छन् ।
निरकी चार वर्षीया छोरी क्रिष्टिनाको उपचारका लागि अहिलेसम्म कुनै घरानाले उपचारका लागि सहयोग गर्ने बचन नदिएको निरले बताएका छन् । सहयोगीहरुले केही रकम सहयोग गरिरहेको भन्दै निरले भने– झुटा खबरले मलाई थप पीडित बनायो, लौन यो गलत समाचार दिने को रहेछ ?
आज मात्र हङकङबाट रिस्ता गुरुङको पहलमा एक लाख ८६ हजार रुपैयाँ सहयोग आएको जानकारी दिँदै निर सुनुवारले भने– आफूलाई छोरीको उपचार कसरी गर्ने, कता जोहो गर्ने भन्ने चिन्ता छ, गलत समाचार दिएर सहयोगीहरुलाई भड्काउने काम भएको छ, म अति दुःखी छु ।
केही समाचार माध्यमले निरकी छोरीको उपचार चौधरी ग्रुपले गरिदिने भनेर समाचार प्रसारण गरिदिएकाले आफूहरुलाई सहयोग जुट्न समस्या भएको उनले बताए । अहिलेसम्म आफूलाई कुनै व्यापारीले सहयोग गर्ने बचन नदिएको पनि उनले बताए ।
ब्लड क्सान्सरको उपचारका लागि १५ देखि २५ लाख रुपैयाँ लाग्ने चिकित्सकहरुले बताएको उनी बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्